काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।
मंगलबार (आज) बोर्डको रिक्त अध्यक्ष पद पूर्तिका लागि आवेदन माग गरिएको हो । वैशाख २१ भित्रमा आवेदन दिनका लागि ७ दिने सूचना जारी गरिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको दिनदेखि सात दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ९२० बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको लब्धप्रतिष्ठित व्यक्तिले आवेदन दिन सक्नेछन् ।
यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० अनुसार, नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको तथा धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष पेशागत अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका छन् ।
समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।