बैतडीमा रास्वपाका हरिमोहनको अग्रता कायमै, एमालेका दामोदरले पछ्याउँदै
बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् । ताजा मतपरिणामअनुसार रास्वपाका भण्डारीले ९ हजार ५३६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दामोदर भण्डारीले ९ हजार ४०३ मत ल्याएका छन् । दुईबीचको मतान्तर १३३ रहेको छ । त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दका ७ हजार ८२३, राप्रपाका भुपेन चन्दले ६ हजार १६६ मत र नेकपाका प्रमानन्द भट्टले ३ हजार ९०० मत प्राप्त गरेका छन् । अहिलेसम्म कुल ३४ हजार १०७ मत गणना भइसकेको छ ।
सर्लाही-२ मा रास्वपाका महतो विजयी
बरहथवा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गरे । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका सरोजकुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमदले दुई हजार २८३ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे ।
कञ्चनपुर–२ मा रास्वपाका बोहोरा विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहोरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा (एमाले) का बचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।
मोरङ–५ मा रास्वपाकी आशा झा विजयी
काठमाडौं । मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् । नेपाली कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित दोस्रो भए । त्यस्तै, तेस्रो स्थानमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डल (केवट)ले ८ हजार ६१४ मत ल्याएका छन् भने नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत ल्याएका छन् ।
कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित
अत्तरिया । कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । कैलाली–५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार ५३९ रहेकामा ६५ हजार ७५२ मत खसेको थियो ।
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
काठमाडौं । एक मात्र क्षेत्र रहेको लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन् । उनले ३३ हजार ८९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत ल्याएर दोस्रो भए । नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ ल्याएका छन् ।
अछाम–१ मा कांग्रेसका भरतबहादुर स्वाँर विजयी, झिनो मतले हारे रावल
काठमाडौं । अछाम–१ मा नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् । उनी १० हजार ७५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल १० हजार २३३ मतले दोस्रोमा सीमित भए। नेकपा एमालेका दीपकबहादुर साउदले सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत ल्याएर चौथो भएका छन् ।