काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनअन्तर्गत आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई संयुक्त बैठक सुरु हुनुअघि अपराह्न ३ः४५ बजेसम्म प्रतिनिधिसभा कक्ष ९बहुउद्देश्यीय कक्ष०, सिंहदरबारमा उपस्थित हुन आग्रह गरेको छ ।
यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका रहेको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइनेछ भने मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे पनि सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत नियम २६० बमोजिम जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
अधिवेशनको प्रारम्भसँगै सरकारले जारी गरेका विभिन्न अध्यादेश संसद्मा पेस गरिनेछ । संसद् सचिवालयका अनुसार ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस गर्ने कार्यसूची रहेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि नीति तथा कार्यक्रममार्फत सरकारका प्राथमिकता, आर्थिक दिशा र विकासका मुख्य योजनाहरु सार्वजनिक गर्ने भएकाले आजको संयुक्त बैठकलाई महत्वका साथ हेरिएको छ ।