सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की ३६ हजार ३१० मतान्तरसहित निर्वाचित
काठमाडौं । सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ प्राप्त गरेका छन् । यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले ६ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन् । यहाँ ७९ हजार २०७ मत खसेको थियो ।
कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन् । जोशीले २० हजार ३५९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भीम बडुवालले ९ हजार ७०६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याएका छन् भने नेकपा एमालेका गौरीशंकर चौधरी ४ हजार ७५२ मतसहित पछि परेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र समाजवादी पार्टी (राप्रसप) का वीरेन्द्रबहादुर बमले २ हजार ३४७ मत प्राप्त गरेका छन् । अन्तिम मतपरिणामसँगै कैलाली-३ मा रास्वपाका जोशी विजयी भई प्रतिनिधिसभामा पुग्न सफल भएका छन् ।
सिन्धुली-१ मा धनेन्द्र कार्की र २ मा आशिष गजुरेल विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)० का उम्मेदवार निर्वाचित भएका छन् । सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ६६८, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार २, नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का रामनारायण अधिकारीले ४९८ मत प्राप्त गरेका छन् । सिन्धुली-१ मा कुल खसेको ५९ हजार ३०२ मतमध्ये ५६ हजार २० मत सदर भएको र ३ हजार २८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सिन्धुली-२ मा गजुरेल विजयी सिन्धुली क्षेत्र नं २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचित भएका गजुरेल यातायात विज्ञका रुपमा चिनिन्छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापाले ११ हजार ६०६, नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा कुल ५६ हजार ८०३ खसेकामा ३ हजार १४२ मत बदर भएको छ ।
सर्लाही-४ मा रास्वपाका अमरेश सिंह अघिअघि गगन थापा पछिपछि
काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले मतगणनामा बलियो अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उनलाई पछ्याइरहेका छन् । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले २१ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने गगन थापाले १२ हजार ९ सय ९३ मत पाएका छन् । दुवैबीचको मतान्तर अहिले ८ हजार ३ सय ८४ रहेको छ । यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेका थिए । तीमध्ये ७७ हजार ९ सय ३१ मत खसेको थियो । हालसम्म ४६ हजार २ सय १ मत गणना भइसकेको छ भने अझै ३१ हजारभन्दा बढी मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी
काठमाडौं । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले ६ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले १ हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनलाई हराउँदै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी
काठमाडौं । झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरले निर्वाचित भएका छन् । ३७ वर्षीय पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे ८ हजार ९ सय ९९ मतका साथ तेस्रो स्थानमा रहे भने एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गरे ।
रुपन्देही १ मा सुनिल लम्साल र ५ मा तौफिक अहमद खान विजयी
काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । रुपन्देही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरे । यस क्षेत्रमा १ लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए । यस्तै, रुपन्देही-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।
ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की विजयी
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । कार्कीले उनको प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् । यसअघि २०७९ को निर्वाचनमा पनि कार्की विजयी भएकी थिइन् । कार्कीको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । साथै तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् ।