काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्षहरूले बदलिँदो सामाजिक र आर्थिक परिवेश अनुसार लघुवित्त क्षेत्रको लक्ष्य र नीतिमा व्यापक पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन् ।
संघको १९ औं वार्षिक साधारणसभामा बाेल्दै उनीहरूले लघुवित्त क्षेत्रमा देखिएका समस्या र सरकारको पछिल्लो कदमबारे धारणा राखेका हुन् ।
संघका पूर्वअध्यक्ष प्रकाश शर्माले लघुवित्त संस्थाहरूको वर्तमान अवस्थालाई नयाँ ढंगले हेर्नुपर्ने बताए ।
‘३४ वर्षअघिको समाज र आर्थिक स्थिति अहिले पूर्ण रूपमा परिवर्तन भइसकेको छ,’ उनले भने, ‘समय फेरिएकाले अब लघुवित्तका लक्ष्य र नीतिहरूमा पनि पुनरावलोकन गर्ने बेला आएको छ ।’
यस्तै, वित्तीय अराजकता फैलाउनेहरूलाई फौजदारी कानुन अनुसार कारबाही गर्ने सरकारको तयारीप्रति उनले खुसी व्यक्त गरे । यस कदमले लघुवित्त क्षेत्रमा उत्साह जगाएको उनको भनाइ थियो ।
अर्का पूर्वअध्यक्ष वसन्त लम्सालले सरकार र नियामक निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। लघुवित्तले सामाजिक कार्य गरोस् भन्ने अपेक्षा गरिए पनि नियमनमा अत्यधिक कडाइ गरिएको उनले गुनासो गरे ।
‘नयाँ सरकार आएपछि लघुवित्तप्रतिको बुझाइ झनै साँघुरो बनेको छ । सरकारले सहकारी र लघुवित्तलाई एउटै बास्केटमा राखेर हेर्नु दुःखद हो,’ लम्सालले भने ।
उनले हालसम्म कुनै पनि निकायले लघुवित्तका समसामयिक समस्याबारे गम्भीर छलफल नगरेको समेत उल्लेख गरे ।
त्यसैगरी, पूर्वअध्यक्ष राजचन्द्र जोशीले लघुवित्त संस्थाको सफलतामा कर्मचारीको मुख्य भूमिका हुने बताए । तर, हाल लघुवित्तकर्मीहरूकै कारण कर्मचारीहरू त्रासमा बस्नुपर्ने वातावरण सिर्जना भएकोमा उनले चिन्ता व्यक्त गरे।
विपन्न वर्गलाई आयआर्जनमा जोड्नु चुनौतीपूर्ण रहेको बताउँदै जोशीले भने, ‘यदि संस्थाले सदस्यहरूको आम्दानी बढाउनेतर्फ ध्यान दियो भने खराब कर्जा आफै घट्दै जान्छ ।