काठमाडाैं । दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड दक्षिण एसियाली ट्राभल अवार्ड (एसएटीए) २०२६ का लागि नेपालको भिलेज हाइल्याण्ड रिसोर्ट मनोनयनमा परेको छ ।
भक्तपुरको सूर्यविनायक–८ र काभ्रेको पनौती नगरपालिका– १ को बीचमा पर्ने रानीकोटमा रहेको याे रिसोर्ट अत्याधुनिक सुविधा र ग्राहकमैत्री सेवाका कारण पछिल्लो समय ग्राहकहरूको रोजाइमा पर्दै आएको छ ।
दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिने यो अवार्डमार्फत हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी तथा पर्यटन व्यवसायीलाई सम्मान गरिँदै आएको छ । यही क्रममा मनोनयन खुला गरिएको र त्यहाँ सेवा लिएका सेवाग्राहीहरूको अनुभव र रेटिङको आधारमा उत्कृष्ट होटल छनोट गरिने आयोजकले जनाएको छ।
प्रतिष्ठित अवार्डका लागि मनोनयनमा पर्नु रिसोर्टको लागि मात्रै नभएर सिंगो नेपाली पर्यटन उद्योगका लागि समेत गर्वको विषय रहेको रिसोर्टका सञ्चालक रामसुन्दर बाँकेले बताए ।
रिसोर्ट क्षेत्रमा हाइकिङ, नेचर वाक, बर्ड वाचिङ तथा गाउँ पर्यटनको अनुभव लिन सकिने व्यवस्था रहेको छ । यहाँको रानीकोट किल्ला तथा आसपासका धार्मिक तथा प्राकृतिक स्थलहरूको अवलोकन गर्न सकिन्छ ।
रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको छ । रानीकोट क्षेत्रमा अवस्थित रिसोर्टबाट काठमाडौं उपत्यकासहित लाङटाङ हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एसएटीए २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकहरूलाई अनलाइन भोट गर्न आग्रह गरेको छ । दक्षिण एसियाली ट्राभल अवार्ड्स सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । यसमा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली देशका पर्यटन तथा होटल व्यवसायबीच प्रतिस्पर्धा हुने गर्दछ ।