सुलभ बुढाथोकी : १५ सयको जागिरदेखि दुई दर्जन कम्पनी मालिकसम्म, बिलियन डलरको यात्रामा (भिडियो स्टोरी)
काठमाडौं । नेपालका निजी तथा सरकारी स्कूल/कलेजले विद्यार्थीहरू पाएनौं भनेर रोइकराइ गरिरहँदा सुलभ बुढाथोकीले सञ्चालन गरेका एक दर्जन शैक्षिक संस्थाहरू भरिभराउ छन् । देश बिग्रियो, आर्थिक मन्दी भयो भन्ने आवाज बढिरहँदा बुढाथोकी भने देश बन्छ, बन्दैछ भन्ने आत्मविश्वास बढाइरहेका छन् । धेरैले देशमा वस्तु आयातमात्रै बढ्यो, व्यापार भएन, अब डलर पाउन पनि हम्मेहम्मे हुन्छ भन्ने धारणा राखिरहँदा उनी भने केही वर्षभित्रै देशमा ‘मिलियन्स अफ डलर’ अर्थात् सयौं मिलियन डलर नेपाल भित्र्याउने रणनीति बुनिरहेका छन् । युवाहरू देशमा रोजगारी पाएनौं भनेर पलायन भइरहँदा उनी आफ्नो प्रत्येक विद्यार्थीलाई पढाइसकेको भोलिपल्टै जागिर लगाउँछन् । बुढाथोकी यो किसिमको आत्मविश्वास, यो दृढता र जाँगर कसरी आयो ? हामीले उनलाई सुरुमा यही जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘कसैले तैंले यो काम गर्न सक्दैनन् भन्यो भने मैले त्यो कामलाई जसरी पनि गर्नैपर्छ, एउटा कामको पछि लागेपछि त्यो काम नसकिँदासम्म पछि हट्दिनँ, घरपरिवारले पनि मलाई लिँडे भन्छन्, समस्याबाट भाग्ने बानी ममा छैन, बरु समस्याभित्रै अवसर खोजेर हिँड्छु ।’ सानैदेखि केही पृथक किसिमको काम गर्न रुचाउने बुढाथोकीको जन्म ललितपुरको इमाडोलमा भयो । मीनभवनमा रहेको ईपीएस स्कूलबाट विद्यालय तह पास गरेका उनले सन् १९९४ मा एसएलसी (हालको एसईई) सकाए । शंकरदेव कलेज र मीन भवन क्याम्पसबाट उच्च शिक्षा पुरा गरे । एसएलसी पास गरेदेखि नै सूचना प्रविधि (आईटी) पढ्ने रुचि थियो उनमा । तर त्यतिबेला अहिले जस्तो सूचना प्रविधि पढ्ने कलेज नै खुलेका थिएनन् । सुरुमा बुढाथोकीको परिवारको स्टेशनरी कारखाना थियो । मोटरसाइकल चलाउनैका लागि भएपनि त्यो कारखानामा गइरहने दैनिकी थियो उनको । तर, विडम्बना पछि कारखाना बन्द भयो । त्यो तीतो अनुभव सुलभसँग छुट्टै छ । त्यही बेला उनले आईटी पढ्ने योजना बनाए । त्यतिखेर आईटीको औपचारिक शिक्षा थिएन । विगत स्मरण गर्दै उनी भन्छन्, ‘जमलमा रहेको एनएआईएटी नामक ट्रेनिक इन्स्टिच्युटमा तालिम लिएँ, कम्युटरको आधारभूत ज्ञान पनि थिएन, सरले कम्प्युटर बन्द गर्न लगाउँदा मैले अर्कै बटन थिचेको अहिले पनि सम्झिन्छु । बिस्तारै ट्रेनिङ लिँदै सिक्दै गइयो, कम्प्युटरमा लेवलअप गर्दै अघि बढियो ।’ सिकाइसँगै बुढाथोकी कम्प्युटर ट्रेनिङ सेन्टरमा काम गर्न थाले । मासिक १ हजार ५ सय रुपैयाँ तलब थियो उनको । ल्याबमा काम गर्नु र विद्यार्थीलाई पढाउनु उनको दैनिकी बन्यो । तर, विस्तारै त्यो संस्था पनि वित्तीय रूपमा समस्यामा पर्न थाल्यो । विद्यार्थी तीन जना मात्रै बाँकी रहे । सन् २००२ मा सञ्चालकहरूले संस्था नै बन्द गर्ने निर्णय गरे । त्यतिबेलासम्म बुढाथोकीले भारतको बैंगलोरमा गएर आईटीमा उच्च शिक्षा पनि हासिल गरेका थिए । आईटीमा राम्रो ज्ञान बनाइसकेका उनीभित्र अमेरिका जाने इच्छा पनि पलाएको थियो । तर, त्यो बन्द गर्ने संस्था नै चलाउने कि भन्ने योजना पनि बनाए उनले । ‘मैले अमेरिका जाने साेंच बनाएको थिएँ । तर, देश छोडेर विदेश किन जानु भनेर यही संस्था किन्ने विचार गरेँ । तर, सुरुमा उनीहरूले दिन मानेनन्, पछि म सक्छु भनेर कन्भिन्स गरेपछि मलाई बिक्री गरे,’ उनी विगत सम्झिँदै भन्छन्, त्यतिखेर वित्तीय रूपमा समस्यामा परेको संस्था नै मैले टेकओभर गरेपछि अहिलेको इस्लिङ्टन र आईएनजी बनेको हो ।’ सुरुको डुबेको बिआरएस इन्फोटेक पछि नाम परिवर्तन गरेर इस्लिङ्टन राखिएको बुढाथोकीको भनाइ छ । त्यो संस्था किन्दा उनको परिवार उनीसँग रिसाएका थिए । आईटीमा राम्रो ज्ञान भएको आफ्नो छोरोले राम्रो जागिर खानसक्छ भन्ने आत्मविश्वास उनको आमाबुबामा थियो । उनको बुबाले अमेरिका गए पनि हुन्छ नभनेका होइनन् । किनकि अमेरिकामा उनले राम्रो कमाइ गर्न सक्थे । तर, उनले डुबेको संस्था किने । परिवार भने उनको त्यो निर्णयमा सन्तुष्ट थिएन । २ दर्जन कम्पनी हाँक्दै एक हजार ५ सय रुपैयाँको तलब खाने बुढाथोकी अहिले दुई दर्जन कम्पनीको मालिक बनेका छन् । त्यसमा एक दर्जन शैक्षिक संस्था छन् । तीन जना विद्यार्थी, एक/दुई जना शिक्षक र डुबेको संस्थाबाट सुरु भएको उनको यात्रा लाख बढी विद्यार्थी, सयौं शिक्षक र दर्जन शैक्षिक संस्थामा बिस्तार भएको छ । यो छोटो अवधिमा उनी शिक्षा र सूचना प्रविधिको क्षेत्रमा एक सफल उद्यमीका रूपमा स्थापित भएका छन् । अहिले उनले इनोभेट नेपाल ग्रुप (आईएनजी) मार्फत व्यवसाय बिस्तार गरिरहेका छन् । आईएनजी ग्रुपमार्फत् २५ वटा संस्था सञ्चालित छन् । त्यसमध्ये १० वटा स्कुल तथा कलेज छन् । ती शैक्षिक संस्थामा उच्च शिक्षातर्फ ११ हजार, टेक्नोलोजीतर्फ माई सेकेण्ड टिचरमा झन्डै एक लाखको संख्यामा विद्यार्थी रहेको उनले जानकारी दिए । बुढाथोकीले ती शैक्षिक संस्थामा १७ सय कर्मचारी रहेको सुनाए । ‘हामीले आईएनजी ग्रुपमार्फत एउटा प्रणाली नै विकास ग¥यौं । माई सेकेण्ड टिचरले स्कुल शिक्षा सुधार गर्छ, त्यस्तै ब्याचलर एजुकेशनको लागि पनि हाम्रो आफ्नै इकोसिस्टमले काम गर्छ । ब्याचलर पूरा गरेर निस्किएको जनशक्तिलाई नै प्रयोग गरेर हामी प्रडक्ट मार्केटमा गयौं, अहिले कक्षा ११ र १२ को एकेडेमिक टिम बाहेक ९० प्रतिशत जनशक्ति हाम्रो आफ्नै विद्यार्थीहरू हुन्,’ उनले भने । व्यवसायहरू इस्लिङ्टन कलेज, कमलपोखरी हेराल्ड कलेज, नक्साल इटहरी इन्टरनेश्नल कलेज इन्फोमेरिक्स कलेज, पोखरा विराटनगर इन्टरनेश्नल कलेज काव्य स्कुल, नयाँ वानेश्वर एपेक्स कलेज, मध्येवानेश्वर माई सेकेण्ड टिचर स्किल एकेडेमी आईएनजी कन्सल्टिङ भैरव टेक इनोभेट टेक साइबर साथी आईएनजी फुड वान मोर कप वान मोर बाइट आईएनजी एआरसी आईएनजी स्टुडियो कलेजसँगै आईएनजी ग्रुपले नेपालमा पहिलो पटक अर्थात सन् २०११ मा साइबर सेक्युरटीको पनि पढाइ सुरु ग¥यो । आज देशको सबैभन्दा ठूलो साइबर सेक्युरेटी कम्पनीका रूपमा आईएनजी ग्रुपकै भैरव टेक अगाडि छ । ‘आजभन्दा १३ वर्ष अगाडि नेपालमा पहिलो पटक साइबर सेक्युरेटी पढाउन सुरु गर्यौं, त्यही प्रडक्ट प्रयोग गरेर आईटी उद्योगको सेटअप गर्यौं, आज भैरव टेक नेपालको पहिलो र सबभन्दा ठूलो साइबर कम्पनी भनेर सुन्दा गर्व लाग्छ,’ बुढाथोकीले खुसी हुँदै भने । भैरव टेकले यूरोप, अमेरिकादेखि जापान, अस्ट्रेलिया, बंगलादेश लगायतका विकसित राष्ट्रका ठूल्ठूला कम्पनीसँगै कतिपय क्लाइन्टहरूको लागि साइबर सेक्युरेटी सेवा दिँदै आएको छ । नेपालबाट विदेशको सेक्युरेटी कम्पनीले हेरिरहेको छ । टोयोटा फाइनान्सियल सर्भिसेसको साइबर सेक्युरिटी, युनाइटेड नेशन्स स्विट्जरल्याण्डको एउटा पार्ट, केही समयअघि सम्पन्न भएको पेरिस ओलम्पिकको साइबर सेक्युरिटी यही भैरव टेकले गरेको हो । आईएनजीको इकोसिस्टममा आज विभिन्न ५५ वटा देशमा उपस्थिति रहेको बुढाथोकीले सुनाए । इस्लिङ्टनले थाइल्याण्डको कलेजलाई यहींबाट व्यवस्थापन गरिरहेको पनि जानकारी दिए । एउटा डुबेको संस्थालाई सुधार्न सक्छु भन्ने जुन आँट र जोश उनले लिए, त्यसले सार्थकता मात्रै पाएको छैन, आज ५५ देशमा आफ्नो उपस्थिति देखाएका छन् । ‘समस्यासँग लड्दै र जुद्दै अगाडि बढ्दैछु, कोरोना महामारीको बेला धेरै मानिस घरभित्रै बसे, हामीले सबै कलेजलाई अपग्रेड ग¥यौैं, माई सेकेण्ड टिचरको ग्रोथ कोरोनाकै बेला भएको हो, चुनौतीको बेला अरू सुते, हामीले १८ घण्टा काम ग¥यौं, आज यो सफलता मिलेको छ,’ बुढाथोकीले सुनाए । अहिले आईएनजीले काठमाडौंसँगै पोखरा, विराटनगर र इटहरीमा कलेज चलाइरहेको छ । काठमाडौंमै प्रविधिबाटै शिक्षा दिने काभ्या स्कूल पनि सञ्चालित छ । माई सेकेन्ड टिचर अहिले देशका एक सयभन्दा बढी विद्यालयमा चलिरहेको छ । एक लाख विद्यार्थीले यसैको प्रविधिबाट पढिरहेका छन् । विद्यार्थी नै बिजनेस पाटर्नर बुढाथोकीले विद्यार्थीलाई पढाएर मात्रै आफ्नो ड्युटी सकियो सोचेका छैनन् । पढेका विद्यार्थीलाई काम दिनुलाई उनले आफ्नै जिम्मेवारी ठाने । ‘यस वर्ष १ हजार ९५७ जनाले स्नातक उत्र्तीण गरे । ‘ग्र्याजुएट भएको एक महिनाभित्र १९०० जनालाई जब जागिर दिलायौं । सम्पर्कमा नआएकाले ५७ जनालाई काम लगाउन बाँकी छ । मेरा विद्यार्थीमध्ये एक जनालाई मात्र जब प्लेसमेन्ट गर्न बाँकी थियो भने तपाईंसँगको अन्तरवार्ता मेरो प्राथमिकतामा पर्दैन थियो,’ उनले भने । विद्यार्थीसँगको सहकार्यमा बुढाथोकीले अर्को राम्रो अभ्यास गरेका छन् । आफ्ना विद्यार्थीहरूलाई सकेसम्म आफ्नै व्यवसायमा जागिर दिने । व्यवसाय गर्न चाहनेलाई व्यावसायिक साझेदार पनि बनाउने । उनको यही रणनीतिअनुसार आईएनजी अन्तर्गतको शैक्षिक संस्थामा आवद्ध अधिकांश कर्मचारी सोही संस्थाका पूर्वविद्यार्थी रहेका छन् भने व्यावसायिक साझेदार पनि उनका विद्यार्थीहरू नै रहेका छन् । ‘यो ग्रुपको नेतृत्व मैले गरेको छु । तर, मेरो सवल पक्ष भने पनि मेरो मन, मुटु र मस्तिष्क जे भने पनि त्यो सबै मेरो टिम हो, आज आफ्नो टिम देखेर गर्व लाग्छ,’ उनी भावुक हुँदै भन्छन्, ‘मेरो टिमले मभन्दा बढी दुःख गरेको छ ।’ हाल यो ग्रुपको उच्च शिक्षातर्फको नेतृत्व गरिरहेका प्रकाश श्रेष्ठ आईएनजीकै प्रडक्ट हुन् । बुढाथोकी भन्छन्, ‘प्रकाश हाम्रो संस्थामै पढेको, एकदमै दुःख गरेको व्यक्ति हुन्, उनले पढाइ सक्नासाथ टिचिङ असिस्टेन्टबाट काम सुरु गरेर जुनियर लेक्चरल, लेक्चरल हुँदै हेराल्ड कलेजको सीईओ भएर अहिले सम्पूर्ण उच्च शिक्षाको नेतृत्व गरिरहेका छन् ।’ इटहरी इन्टरनेशनल कलेजका सीईओ सत्यव्रत कोइराला, इस्लिङ्टनको सीईओ रोहित पाण्डे, स्किल एकेडेमीका अभिनव दाहाल र साइवर सेक्यरिटीमा संसार हाँकिराखेका भैरव टेकको सीईओ विजय लिम्बु, माई सेकेण्ड टिचरकी मीरा भट्टराई बुढाथोकीकै विद्यार्थी हुन् । उनीहरू सानोबाट अपग्रेड हुँदै अहिले नेतृत्वमा पुगेका हुन् । ‘यी सबैजना कतैबाट बोकेर ल्याएर नेतृत्वमा राखिदिएको होइन, शून्य अवस्थाबाटै नङ्ग्रा खियाएर दुःख गर्दै माथि पुगेकाहरू हुन्, अरु पनि धेरै जना हुनुहुन्छ मेरो टिममा, ९० प्रतिशत कर्मचारी सानोदेखि नै ग्रुम भएका छन्, उनीहरू नै मेरो भविष्यको बिजनेस पार्टनर हुन्,’ उनले भने । बुढाथोकी टिममा विश्वास गर्छन् । टिम नै आफ्नो स्ट्रेन्थ मान्छन् । ‘स्नातक पास गरेका आफ्ना विद्यार्थीलाई विश्वास गर्दै आउँदा आज अधिकांश ९० प्रतिशत नेतृत्वमा हुनेहरू आफैले पढाएकाहरू छन्, उनीहरू नेतृत्वमा छन्, हामीले एक किसिमको इकोसिस्टम विकास गर्न सफल भएका छौं,’ उनले खुसी हुँदै भने । विद्यार्थी यस कारण रोज्छन् आईएनजी अहिले अधिकांश विद्यालय तथा कलेजहरू विद्यार्थी नपाएर बन्द हुने अवस्थामा हुँदा आईएनजीले सञ्चालन गरेका शैक्षिक संस्थामा भने विद्यार्थी भरिभराउ छन् । यो कसरी सम्भव भयो ? बुढाथोकी यसको जवाफ दिँदै भन्छन्, ‘हामीले विद्यार्थीले चाहेको कुरा सिकायौं, व्यवस्थापन, पाठ्यक्रम समयानुकूल हुनुप¥यो, पुराना पाठहरू घोकाएर अहिलेको विद्यार्थी बस्न सक्दैनन् ।’ स्कुल/कलेजका आन्तरिक व्यवस्थापनदेखि शैक्षिक प्रवृत्तिमा नयाँ जेनेरेशन अनुकूलको वातावरण, अहिलेको पुस्ताको रुचिअनुसारको सिकाइ प्रणाली र सीपयुक्त शिक्षा दिन सकेमा विद्यार्थीहरू विदेश नजाने र विदेश गएकाहरू पनि फर्किने वातावरण बन्ने उनको भनाइ छ । देशभित्रको स्कुल/कलेजमा विद्यार्थीको संख्यामा ह्रास आउने, विदेसिनेले डलरमा खर्च गर्नुपर्ने बाध्यताको पछाडि एउटै कारण रहेको बुढाथोकीले सुनाए । विद्यार्थीलाई नचिन्दा र उनीहरूको अपेक्षा पूरा गर्न मद्दत गर्ने शिक्षा नहुँदा अहिले युवाको रोजाइ विदेश बन्ने गरेको उनको भनाइ छ । ‘अहिलेको ‘जेन जी’ जेनेरेशनका विद्यार्थीलाई उही दशकौं पुरानो शिक्षा पद्धतिमा जवर्रजस्त जोड्न खोजेपछि उनीहरूमा सीप र क्षमता विकास कसरी हुन्छ ?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘अनि समय सुहाँउदो भविष्य खोज्न वैदेशिक शिक्षा र रोजगारीमा विद्यार्थी पलायन नभएर के गरुन् त ?’ ‘पढाउने शिक्षण संस्थाको हालत हेरौं, चार÷पाँच पुस्ताले प्रयोग गरेको उही पुरानो फर्निचर, त्यसपछिका पुस्ता आउँदा समेत फेरिएको हुँदैन । हालको जेनेरेशन निकै पर साेंचेर बसेका छन्, उनीहरूको सोचलाई बुझेर सन्तुष्टि दिने किसिमका स्रोतसाधन नेपालका स्कुल÷कलेजमा छैनन्, गतिलो कोर्स छैन, विश्वको कुन कुनामा के भइरहेको छ भनेर विद्यार्थीले घरमै थाहा पाउँछन् अनि स्कुल÷कलेजको त्यो हाल देखेपछि विदेश जान उप्रेरित हुनु स्वाभाविक हो,’ उनी थप्छन्, ‘हाम्रा स्कुल÷कलेज विद्यार्थीलाई ९० को दशकको शिक्षा प्रणालीमै तान्न चाहन्छन्, त्यो कसरी सम्भव छ अबको समयमा ?’ बुढाथोकी विद्यार्थीहरूले राम्रो नम्बर ल्याएर पास गरेपछि राम्रो जागिर पाइन्छ भन्ने मानसिकतालाई त्यागेर घोकेर नम्बर ल्याउनेभन्दा आफै बुझेर सिकेर अघि बढ़ने मनोवृत्ति विकास गर्न आवश्यक रहेको बताउँछन् । शैक्षिक प्रणालीको विकास नै नयाँ तवरले गर्न जरुरी रहेको उनको भनाइ छ । अहिले धेरै कम्पनीले सीपयुक्त जनशक्ति नपाएको उनको भनाइ छ । आफूहरूले कम्पनी र विद्यार्थीबीचको दूरीलाई जोड्ने कामको व्यवस्थापन गरिरहेको सुनाए । ‘बालबालिकालाई नम्बरको पछि कुदाएर मात्र सामथ्र्यवान बनाउन सकिँदैन, ‘बच्चाहरूसँग समस्यासँग जुध्न सक्ने क्षमताको विकास गराउन आजको शिक्षाले सकेको छैन, भावनात्मक रूपमा पनि उनीहरू स्वयंलाई सम्हाल्न सक्ने मनोवृत्ति विकास गर्ने शिक्षाको खाँचो छ, त्यसमाथि विश्वविद्यालयसम्म पुगेर डिग्री लिएकालाई पनि डिग्रीको उपयोगिता यो वा त्यो क्षेत्रमा छ भनेर बुझाउनुपर्ने भएको छ । त्यहाँनिर हामी सबैले काम गर्न जरुरी छ,’ उनले भने । विश्वविद्यालयहरूको प्रणाली नै खराब रहेको बुढाथोकी सुनाउँछन् । राजनैतिक नेतृत्व र व्यवस्थापन पक्षले सोंच नै परिवर्तन गर्न नसकेको उनको बुझाइ छ । ‘म आफै पोखरा विश्वविद्यालयमा आवद्ध छु, त्यहाँ पनि सुधार जारी राखेका छौं, यही रफ्तारमा अघि बढे त्यसले नेपालको शैक्षिक प्रणालीमै सुधार ल्याउँछ । तर, हामीले परिवर्तन कहाँ गर्नु पर्छ भने जति धेरै विद्यार्थीलाई विश्वविद्यालयले फेल गरायो उति नै विश्वविद्यालय तगडा हुन्छ भन्ने जुन भ्रम बाहिर छरिएको छ, त्यसलाई जति सक्दो चाँडो चिर्नु आवश्यक छ,’ उनले भने । अर्को यति जनाभन्दा विद्यार्थी पढाउन पाइँदैन भन्ने कोटा सिस्टमको थ्रेसहोल्ड हटाउन आवश्य रहेको उनको बुझाइ छ । अर्बौंको कारोबार, डलर कमाउने रणनीति केही वर्षअघि सिङ्गापुरमा बेलायतका स्कुल/कलेजहरूमा आधुनिकीकरणको शिक्षा के कसरी अगाडि बढाउने, अबको डिजाइन कस्तो हुन्छ भन्ने विषयमा एउटा कार्यक्रम भयो । संयोगवस बुढाथोकी त्यहाँ पुग्ने अवसर पाए । छलफलका लागि फिलिपिन्स, भारत, सिङ्गापुर र भियतनाम लगायतका देशका शिक्षाविदहरू त्यहाँ पुगे । ‘त्यहाँ एउटा डिजाइन तयार भयो । नेपालमा मैले काम गर्छुभन्दा त्यहाँ भएका अधिकांश मानिस हाँसे,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘उनीहरूले हामीलाई नेपाली भनेर पत्याएका थिएनन्, अहिले पनि नेपाललाई आईटीमा अझै पत्याउँदैनन् । त्यो छलफलमा रहेका मुख्य व्यक्ति र मेरो पनि मेन्टर एवं व्यवसायिक पार्टनर पनि भएकोले अन्तिममा प्रोजेक्ट मैले पाएँ, त्यतिबेला मैले आफ्नै स्रोतसाधनबाट सिस्टम बनाएर दिन्छौं भन्ने सर्त थियो ।’ ११ हजार विद्यार्थी, १ हजार ७०० कर्मचारी, २५ वटा कम्पनी, ५५ देशमा आईटी व्यापार गरिरहेको आइएनजी ग्रुपका कार्यकारी अध्यक्ष सुलभ बुढाथोकी आगामी ४ वर्षपछि आफ्नै नेतृत्वमा रहेका कम्पनीले वार्षिक कम्तिमा २०० मिलियन अमेरिकी डलर नेपाल भित्र्याउनेमा विश्वस्त छन् । बुढाथोकी आफैले सिस्टम बनाएर दिने, सोही सिस्टम नेपालमा प्रयोग गर्न पाउनुपर्ने, कपिराइट पनि आफ्नो अधिनमा हुनुपर्ने र रोयल्टी फ्रि चलाउन पाउनुपर्ने सर्त राखे । त्यतिबेला प्रोजेक्टको १० मिलियन डलर भ्यालु थियो । तर, उनले पैसा नलिएर नेपालको शैक्षिक गुणस्तर सुधार गर्ने ठाने । अहिले उनलाई नेपाल मात्र होइन, साउथ एसियाकै स्वामित्व छ । यसरी सुरु भएको हो ‘माई सेकेण्ड टिचर’ । भारतमा कसैले यो नाममा चलाउन चाहन्छ भने बुढाथोकीको अनुमति चाहिन्छ । अहिले ५१ वटा देशले यो सिस्टम प्रयोग गर्छन् । यसको डिजाइनर क्याम्ब्रिज विश्वविद्यालयका शिक्षाविद्हरू हुन् । आईएनजी ग्रुपको वार्षिक ३ सय करोडको कारोबार छ । अहिले इस्लिङ्टन कलेज, हेराल्ड कलेज, इटहरी इन्टरनेशनल कलेज, इन्फोमेरिक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, काव्य स्कुल, एपेक्स कलेज र माई सकेण्ड टिचर लगायतको माउ अर्गनाइजेसन आईएनजी ग्रुप नै हो । ‘हाम्रो वार्षिक कारोबार ३ सय करोडको हाराहारीमा पुग्छ, सेल्फमेड आईटीमा आधारित, शैक्षिक, ट्रेनिङ र सामाजिक उद्यमशीलताबाट बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउने लक्ष्य छ । बिलियन डलर कमाउने युनिकर्न कम्पनी बनाउँछु भन्दा धेरैलाई हाँसो लाग्ला । तर, सपना देख्दा मिडियम साइजभन्दा निकै माथि उठेर देख्नुपर्छ,’ उनी भन्छन्, यो एकदिन पक्कै सम्भव हुनेछ ।’ बुढाथोकीले अहिले पनि विदेशबाट नेपालमा डलर भित्र्याउने काम गरिरहेका बताए । उनी भन्छन्, ‘अघिल्लो वर्ष एक मिलियन डलर हामीलाई आएको थियो, कुनै पनि टेक्नोलोजी प्रडक्टमा आइसकेपछि बजारमा पुगेर साइकल समात्न समय लाग्छ । त्यो साइकल कम्तिमा १० वर्षको हुने रहेछ, हामी अहिले छैटाैं वर्षमा छौं । अबको चार वर्षमा जे जति हामीलाई आउँछ, सायद अहिले नेपालले त्यसको कल्पना पनि गरेको छैन, त्यो लेवलको लाभ हामीलाई हुन्छ ।’ अबको चारदेखि पाँच वर्षको समयावधिभित्र कम्तिमा असफल नै भए भने पनि २ सय मिलियन डलर नेपाल ल्याउने लक्ष्य रहेको बुढाथोकीले सुनाए । त्यो भनेको अहिलेको नेपालको २७ अर्ब बढी हो । ‘हामीले जग बलियो हालेका छौं, डिपीसी बाक्लो छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा गयौं भने टार्गेट पूरा गर्न अर्थात् छत हाल्न धेरै समय लाग्दैन ।’ नेपाल उद्योग परिसंघले आगामी १० वर्षभित्र ३० खर्बको आईटी निर्यात गर्न सकिने प्रक्षेपणसहित सरकारलाई वातावरण बनाउन सुझाव दिएको छ । सरकार पनि सकारात्मक नै देखिन्छ । त्यो लक्ष्य पूरा गर्न निजी क्षेत्रले भरपुर सहयोग गर्ने बुढाथोकीको भनाइ छ । ‘सरकारले देख्दै नदेखेको आईटी क्षेत्रले गत वर्ष सवा खर्बको आईटी निर्यात गरेको छ, आईटीमा लागेर ८/१० लाखको कमाइ गर्ने धेरै छन् । फ्रिलान्सिङ गरेर पनि एक/डेढ लाख रुपैयाँ कमाइ गरिरहेका छन्, त्यसैले आईटी क्षेत्रको भविष्य निकै उज्वल छ, अवसरहरू धेरै छन्,’ उनी भन्छन्, ‘सरकारले आईटी क्षेत्रलाई अब प्राथमिकतामा नराख्नुको विकल्प छैन ।’ पहिला आफै सस्टेन भएर समाजलाई रिटर्न दिने सामाजिक उद्यमशीलताको मोडलमा आफू लागिरहेको उनको भनाइ छ । ‘शिक्षातर्फ कलेजहरूको नाफाबाट माई सेकेण्ड टिचर बनायौं, आईटीमा भैरवलाई ग्रोथ गरायौं । अबको पाँच वर्षपछि यी दुई संस्थाले २ सय मिलियन डलर नेपाल भित्र्याउँछन्,’ उनी भन्छन्, ‘त्यसपछि युवाहरू किन विदेश जानु प¥यो ?’ ‘हामीले एउटा इकोसिस्टम बनाएका छौं, अब नेपालमै युवाहरूलाई रोजगारी दिएर राख्छौं । युवा सक्षम हुनासाथ उसको परिवार सुखी हुन्छ, उनीहरू सक्षम भएपछि समाजलाई कुनै न कुनै रूपमा सेवा गर्छन्, त्यसरी नैं अघि बढ्दै जाने हो भने देश बन्छ । मैले गर्न चाहेको सामाजिक उद्यमशीलता पनि यही नै हो,’ उनी भन्छन्, ‘आपसमा जोडिएर आफू पनि ग्रोथ गर्ने समाजलाई पनि हेर्ने योजना छ।’ देशमा भविष्य छैन भनेर पलायन भइरहेका विद्यार्थीका लागि एउटा उदाहरण हुन् बुढाथोकी जसले सुरुमा अमेरिका जाने योजना बनाएर पछि आफ्नै देशमा केही गर्ने प्रण गरे । डुबेको संस्थालाई किनेर एउटा ब्राण्ड स्थापित गरे । ‘विद्यार्थी भाइबहिनीलाई नेपालमै अवसर छ भन्ने सन्देश हामीले दिएका छौं, स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दैछौं, हामीसँग जोडिएका विद्यार्थीलाई ग्रुम गर्दै अगाडि बढाइरहेका छौं, आईएनजी आफू सफल हुँदै गर्दा स्टेक होल्डर्सलाई समेत सफल बनाउन काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘परिवर्तन छिट्टै देखिने छ ।’ व्यवसायीप्रतिको दृष्टिकोण नेपालमा व्यवसायीलाई हेर्ने हेय दृष्टिकोणले धेरै व्यवसायी तथा उद्यमी आजित छन् । व्यवसायमा सफल भएकाहरूलाई माफियाको ट्याग लगाउने समाजले उनीहरूलाई निरुत्साहित बनाउँछ । तर, बुढाथोकी यो भाष्य चिर्नतर्फ लागेका छन् । ‘मिहिनेत गरेर सफल हुँदा पनि माफिया भइन्छ, व्यापारी जति सबै ठग हुन् भन्ने भ्रम चिर्न जरुरी छ, त्यसको पहल राज्यले नै गर्नुपर्छ,’ उनी भन्छन्, ‘पहिलो कुरा त राज्यले व्यापारीजतिलाई एउटै टोकरीमा राख्यो, यो विलकुल गलत हो । व्यापारी को पनि वर्ग छुट्याएर प्रस्ट्याउन सकियो भने सुधार हुन्छ ।’ म्याद नाघेका वस्तुलाई जालझेल गरेर बेच्दै हिँड्नेहरू पनि व्यापारी बनेका छन्, नराम्रो बाटोमा लागेका पनि व्यापार गरेकै छन् । राज्यले सबैलाई एउटै टोकरीमा राख्दा समस्या सिर्जना भएको उनको बुझाइ छ । ‘समाज र राज्यलाई सेवा दिएर त्यहींबाट आर्जन गर्छु, देशमै रोजगारी सिर्जना गर्छु, समाजलाई नि बनाउँछु आफू पनि बन्छु भनेर लागेका पनि होलान् नि,’ उनी भन्छन्, ‘यसैका लागि अब व्यवसायीको पनि वर्ग छुट्याउनुपर्छ ।’ देश बनाउने जिम्मा राजनीति गर्नेहरूको मात्र हो भन्ने गलत भाष्य पनि समाजका लागि खतरा हो । निजी क्षेत्रबाट लागेका व्यवसायीको देश निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ । राजनीतिक दलका शीर्ष नेतालाई गाली गरेर पनि केही नहुने बुढाथोकीको तर्क छ । ‘उहाँहरूले आफ्नो काम गरिसक्नु भएको छ, कुनै बेलाको बन्द समाजलाई उहाँहरूले खुल्ला बनाइदिनुभयो, प्रजातन्त्रदेखि लोकतन्त्र-गणतन्त्र ल्याइदिनु भयो, संविधान बनाइदिनु भयो, डेलिभर गर्नुपर्ने जति गरिसक्नु भयो, अब पनि त्यही पुस्तासँग हामीले अपेक्षा गर्ने होइन,’ उनी भन्छन्, ‘एउटै जमातसँग हामीले भएभरको विकासको आशा र अपेक्षा धेरै गरेर मात्र त्यो पूरा हुँदैन, अब देश निर्माणका लागि हामी आफै जाग्नुपर्छ ।’
हजारबाट अर्बौंको यात्रा, सफल उद्यमी उमेशको कथा (भिडियोसहित)
काठमाडौं । भोजपुरको एउटा सामान्य परिवारमा जन्मिएका उमेश श्रेष्ठ कसरी अर्बपति बने ? आउनुहोस् आज यही विषयमा चर्चा गरौं । उमेश श्रेष्ठ २०१२ माघ २० गते भोजपुरमा जन्मिए । स्कुले जीवन भोजपुरमै पुरा गरेका उनी थप अध्ययनका लागि एसएलसीपछि काठमाडौं आए । सानै देखि मिहिनेती थिए उनी । काठमाडौंमा फुपु र फुपाजुसँग बसे । शंकरदेव क्याम्पसबाट १२ कक्षा पास गरे । कक्षा १२ पास गरेपछि उनी छुट्टै कोठा लिएर भाडामा बस्न थाले । त्यतिखेर उनले मासिक एक सय रुपैयाँ कोठा भाडा तिर्थे । १२ कक्षा पास गरेपछि ललितपुरको पाटन क्याम्पसबाट स्नातक पास गरे । मानविकी अध्ययनपछि उनले एक वर्षे बीएड गरे । श्रेष्ठले वि.सं २०३० सालमा क्षेत्रीय शिक्षा निर्देशनालयमा प्राथमिक स्कुल सुपरभाइजरको जागिर पाए । विभिन्न विद्यालयहरूमा गएर निरीक्षण गर्नुपर्ने जिम्मेवारी थियो उनको । त्यही समयमा विद्यालयमा पढाउने काम पनि गरे । त्यतिखरे देशमा शिक्षा क्षेत्रले प्रगति गर्न सकेको थिएन, शिक्षामा सरकारी लगानीमात्रै थियो, निजी लगानी भएका विद्यालय सीमित थिए। उमेशले त्यतिबेलै शिक्षामा धेरै काम गर्न सकिने सम्भावना देखे । त्यतिखेर सरकारले पनि निजी क्षेत्रले शिक्षामा लगानी बढाउनुपर्ने नीति लिँदै थियो । काम गर्ने मौका यही हो भन्ने योजनाका साथ श्रेष्ठले स्थायी सरकारी जागिर छोडे । काम पाउन मुस्किल भइरहेको त्यो समयमा सरकारी जागिर छोड्ने उनको त्यो साहस असाधारण थियो । तर, उमेशले हुँदाखाँदाको जागिर छोडिदिए । त्यसपछि सुरु भयो लिटिल एञ्जल्स श्रेष्ठमा मैले केही गर्न सक्छु भन्ने आत्मविश्वास र दृढता थियो । विद्यालयमा पढाएको र विभिन्न विद्यालयमा गएर निरीक्षण गरेको अनुभव थियो उनीसँग । सरकारले पनि निजी क्षेत्रलाई शिक्षामा आकर्षित गर्ने नीति लिइरहेको बेला उनले लिटिल एञ्जल्स स्कुल सुरु गरे । विसं २०३७ सालमा दुईजना साथी मिलेर खोलेका लिटिल एञ्जल्स स्कुलको स्थापना भयो । स्कुलको भाडा थियो– दुई हजार रुपैयाँ । सुरुको वर्षमा ६५ जना विद्यार्थी भर्ना भए । ६५ हजार रुपैयाँ पुँजीमा नै स्कुल खोलियो । व्यवसाय सुरुवात गर्दाका दुःख र संघर्षहरू श्रेष्ठको मानसपटलमा अझै पनि ताजै छन् । एउटा थोत्रो साइकल चढेर पछाडि साथीलाई राखी विद्यार्थी खोज्न हिँडेका संघर्षका दिनहरू सम्झिँदा उनी अहिले पनि भावुक बन्छन् । बिहानै उठेर स्कुलमा सरसफाइ गर्ने र पछि विद्यार्थीलाई पढाउने श्रेष्ठको दैनिकी हुन्थ्यो । विस्तारै स्कुलले एउटा लय समात्यो । अभिभावकले विश्वास गर्न थाले । स्थापनाको दोस्रो वर्ष १०५ जना, तेस्रो वर्ष ३ सय जना, चौथो वर्ष ६ सय र पाँचौं वर्ष १२ सय विद्यार्थी पुगे । स्कुलको कमाइ बढ्न थाल्यो । उनको मिहिनेतको रफ्तारले थप गति लिन थाल्यो । आत्मविश्वासले थप उचाइ लिन थाल्यो । उनी मनमनै आफूलाई भन्थे ‘तँ गर्न सक्छन्, अगाडि बढ् ।’ स्कुलले कमाइ गर्न थालेपछि श्रेष्ठले विद्यार्थीलाई बोक्न गाडी किने । तर, चालक आफै बने । उनीसँग अहिले पनि भ्यान, बस, ट्रकको चालक अनुमति पत्र (लाइसेन्स) छ । ‘आफै स्कुल सफा गर्ने, आफै गार्डको काम गर्ने, भ्यान चलाउने, आफै पढाउने, जेजस्तो भएपनि काम गर्नुपर्छ भन्ने मानसिकता थियो,’ उनी संघर्षका सुरुवाती दिनहरू स्मरण गर्दै भन्छन्, ‘स्कुलले एउटा उचाइ लिन थालेपछि भारत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत देशमा पुगेर त्यहाँको शैक्षिक संस्थाहरू हेरियो, बुझियो, त्यहाँको सिकाइ नेपालमा लागू गर्ने प्रयास गरेँ ।’ सफलताका लागि मिहिनेत गर्नुपर्ने राय श्रेष्ठको छ । ‘सपना ठूलो देख्नुपर्छ, दूरदर्शी बन्नुपर्छ,’ उनी भन्छन्, ‘मल्टिप्लाई हुने क्षेत्रमा लगानी गर्नुपर्छ ।’ साढे चार दशकअघि स्थापना भएको लिटिल एञ्जल्स अहिले देशको गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ । हजारौं विद्यार्थी यो संस्थाबाट पासआउट भएका छन् । अहिले लिटिल एञ्जल्सअन्तर्गत १० वटा शैक्षिक संस्था सञ्चालित छन् । १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ५ सय जना कर्मचारी कार्यरत छन् । चार सय बढी विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । गुणस्तरीय शिक्षा, अत्याधुनिक पूर्वाधार, सेवा सुविधाहरू र ठूलो संख्यामा विद्यार्थी भर्नाको हिसाबले लिटिल एञ्जल्स देशको एक प्रतिष्ठित शैक्षिक संस्था बन्न सफल भएको छ । एउटा फ्ल्याटबाट सुरु भएको स्कुल आज सयौं रोपनी जग्गामा फैलिएको छ । ‘जीवन नै शिक्षामा बिताएँ, मैले पाएको उपलब्धि नै शिक्षा हो, शिक्षा देश विकासको मेरुदण्ड हो,’ लिटिल एञ्जल्सका संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘एउटा व्यक्तिले शिक्षामा यति धेरै काम गर्न सक्छ भने सिंगो देश लाग्यो भने परिवर्तन सम्भव छ ।’ प्याब्सन र हिसानको नेतृत्वमा पनि सफल लिटिल एञ्जल्स स्कुलको सफल उडान गरिरहेका श्रेष्ठलाई बजारले हेर्ने दृष्टिकोण पृथक बनिसकेको थियो । उनले गर्न सक्छन् भन्ने विश्वास धेरैमा थियो । त्यही विश्वासमा उनले निजी विद्यालयहरुको संगठन (प्याब्सन) को नेतृत्व गर्ने अवसर पाए । प्याब्सनमा पनि उनी चुप लागेर बसेनन् । निजी विद्यालयहरुको सुधारमा उनी लागिरहे । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । रणधीर सुब्बा आयोगले २०३९ सालमा प्लस टुको अवधारणा बनाइसकेको थियो । तर, लागू भएको थिएन । त्यो अवधारणा कार्यान्वयन गराउनका लागि श्रेष्ठले ठूलो मिहिनेत गर्नुप¥यो । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को पनि अध्यक्ष बने । तीन कार्यकाल सफलताका साथ सम्पन्न गरे । सरकारले प्लस टुको अवधारणा ल्याएपश्चात् प्याब्सनले कक्षा १० सम्म मात्र समेटेकोमा कक्षा ११ र १२ कक्षलाई समेत समेटिने गरी हिसान स्थापना आफ्नै पहलमा भएको उनी बताउँछन् । साढे चार दशकअघि स्थापना भएको लिटिल एञ्जल्स अहिले देशको गौरव गर्न लायक शैक्षिक संस्था बनेको छ । हजारौं विद्यार्थी यो संस्थाबाट पासआउट भएका छन् । अहिले लिटिल एञ्जल्स अन्तर्गत १० वटा शैक्षिक संस्था सञ्चालित छन् । १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ५ सय जना कर्मचारी कार्यरत छन् । ‘प्याब्सन र हिसानलाई गति दिन ठूलो मिहिनेत गर्नुप¥यो, आज दुवै संस्था जति ठूलो बनेका छन्, त्यसमा मेरो पनि उत्तिकै योगदान छ, यी दुवै संस्थालाई हुर्काउन निकै कठीन भयो, अधिकांश लगानीकर्ताहरू भाग्ने अवस्था बन्यो, त्यो सकसको समयमा पनि ठाउँ-ठाउँमा पुगेर संस्था विस्तार गर्ने काम गरियो,’ उनी भन्छन्, ‘निकै पापड बेलेर शिक्षाको ज्योति फैलाइयो ।’ देशमा निजी विद्यालय सुरुवात गर्ने व्यक्तिमध्येमा आफू पनि रहेको श्रेष्ठको दाबी छ । पछिल्लो चार दशकमा देशको शिक्षा क्षेत्रमा ठूलो प्रगति भएको उनको बुझाइ छ । यद्यपि, अपेक्षाकृत काम भने अझै पनि हुन सकेको छैन । अपेक्षाकृत काम नहुनुको कारण सरकारको नीति र अस्थिर राजनीति रहेको उनको भनाइ छ । ‘शिक्षामा तीन धार आवश्यक पर्छ, एउटा- स्कुल एजुकेसन, दोस्रो- टेक्निकल भोकेसनल र तेस्रो- उच्च शिक्षा । हामीले यी तीन धार बनाउनै सकेनौं, शिक्षा र स्वास्थ्यमा संसारभर नै पैसा छ । तर, हामीले यही क्षेत्रलाई वेवास्ता ग¥यौं,’ उनी भन्छन् ‘परिणामस्वरूप युवाहरू विदेसिन बाध्य भए ।’ वातावारण र प्राकृतिक सम्पदाका हिसाबले शिक्षामा नेपाल ठूलो हब हुन सक्ने विश्वास श्रेष्ठको छ । उनी स्थानीय तह, प्रदेश र संघीय सरकार मिलेर शिक्षामा लगानी गर्न र आकर्षित गराउन भूमिका खेल्नुपर्ने धारणा राख्छन् । युवालाई प्राविधिक शिक्षा सिकाई सीपयुक्त बनाएर स्वदेशमै रोजगार बन्न सक्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनको जोड छ । सय बढी कम्पनी, अर्बौंको सम्पत्ति उमेश श्रेष्ठलाई चिनाउने भनेको शिक्षा क्षेत्र हो । लिटिल एञ्जल्सबाट सुरु भएको यात्रा अहिले एक सयभन्दा बढी कम्पनीमा लगानी गर्दै उनले व्यावसायिक सञ्चालनलाई व्यापक बनाएका छन् । अहिले उनले शिक्षासँगै स्वास्थ्य, होटल, जलविद्युत, कृषि र जडिबुटीमा पनि लगानी गरेका छन् । व्यवसाय गरेर उनले अर्बौं कमाइसकेका छन्, कमाउँदै छन् । तर, उनी आफूभन्दा पनि देशलाई धनी बनाउने यात्रामा रहेको बताउँछन् । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला र बझाङसम्म उनले लगानी विस्तार गरेका छन् । श्रेष्ठले एक दर्जन शैक्षिक संस्था, एक दर्जन हाइड्रोपावर कम्पनी र एक दर्जन बढी कृषि कम्पनीहरूमार्फत् आफ्नो लगानी विस्तार गरिरहेको बताए । साथै उनले दुइटा वाणिज्य बैंक, चारवटा अस्पताल, आधा दर्जन होटलमा लगानी विस्तार गरेका छन् । ‘स्वास्थ्य क्षेत्रमा मैले सोंचजस्तो राम्रो गर्न सकिनँ, त्यस क्षेत्रमा मैले सफलता पाउन सकेको छैन, अरू सबै क्षेत्रमा राम्रो भइरहेको छ’ उनी बताउँछन् । श्रेष्ठले बझाङको सानीगाड हाइड्रो पावर, कालङ्गा हाइड्रो, बुङ्गल हाइड्रो, रामेछापको भिजन इनर्जी, म्याग्दीको माउन्टेन इनर्जी र पाँचथरको पाँचथर पावरलगायत एक दर्जन जलविद्युत कम्पनीमा लगानी गरेका छन् । उनी अब हाइड्रोबाट नै देशको विकास हुने र यो क्षेत्रमा धेरै सम्भावना रहेको सुनाउँछन् । ‘देशलाई धनी बनाउनका लागि जलविद्युत आवश्यक छ । तर, यहाँ बनाउने वातावरण नै छैन, स्थानीयको अवरोध एकातिर छ भने ट्रान्समिसन लगायत सरकारको नीतिगत अवरोध अर्कै छ, अहिले ३५ सय मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको छ । बनाउनु पर्ने ३५ हजार मेगावाट हो,’ उनी भन्छन्, ‘सबैको सहकार्य भयो भने देशलाई जलविद्युतबाट नै माथि उठाउन सकिन्छ ।’ श्रेष्ठले अन्नपूर्ण स्क्वायर, सिद्धार्थ भिलासा वनवस, होटल सिद्धार्थ भिलासा, हिमालयन दृश्य रिसोर्ट, होटल सिराइचुली, होटल सेन्ट्रल पार्क र तनहुँको घाँसी हेल्थ रिसोर्ट लगायत होटलमा लगानी गरेका छन् । उनले पर्यटनमा पनि प्रचुर सम्भावना देखेका छन् । पर्यटनमा पनि नयाँ अध्ययन र अनुसन्धान नभएको सुनाउँछन् । अब यो क्षेत्रमा पनि विधागत पर्यटनका क्षेत्रहरू छुट्याएर काम गर्नुपर्ने धारणा उनको छ । ‘हामी आयात गरेर खान्छौं तर देशमै भएको सम्भावना देख्दैनौं, व्यवसायी पनि कसरी छिटोभन्दा छिटो पैसा कमाउने भन्नेमा केन्द्रित छन्, व्यापारमै केन्द्रित छन् । देश बनाउने, राजस्व तिर्ने सुरसार छैन । अहिले ४० प्रतिशतभन्दा बढी ग्रे मार्केटबाट सामान आइरहेको छ, ‘उनी प्रश्न गर्छन्, ‘अनि कसरी बन्छ देश ?’ श्रेष्ठले पछिल्लो समय अस्पतालमा पनि लगानी विस्तार गरिरहेका छन् । सिल्भरलाइन अस्पताल बालाजु, पुष्पाञ्जलि अस्पताल चितवन, हेलोइस अस्पताल एकान्तकुना र महेन्द्रनारायणनिधि अस्पतालमा उनको लगानी छ । तर, अस्पतालको नतिजाप्रति भने उनी अझै पनि सन्तुष्ट छैनन् । आफूले अस्पताललाई सेवामूलक ढंगले अगाडि बढाउन नसकेको उनले गुनासो गरे । तर, उनले हार भने खाएका छैनन् । श्रेष्ठले लिटिल एञ्जल्स एजुकेसन ग्रुपअन्तर्गत ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल, लिटिल एन्जल्स कलेज अफ मेनेजमेन्ट, ललितपुरको झम्सिखेलस्थित आइडियल मोडेल स्कुल र चितवनको कल्याणपुरस्थित स्मल हेभन स्कुल र हात्तीवनमै रहेको मिलेनियम पब्लिकेसनमा लगानी गरेका छन् । उनी सरकारले पनि शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरेको तर्क गर्छन् । प्राइम कमर्सियल बैंक र प्रभु बैंकमा पनि श्रेष्ठको ठूलो लगानी छ । उनी ललितपुरको गोदावरीस्थित हिमालयन लोरा, अर्किड फार्म, संखुवासभाको सगरमाथा टी स्टेट, भोजपुरको डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र र दोलखाको जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्र लगायत कम्पनीहरूमार्फत व्यवसाय विस्तार गर्नतर्फ लागिरहेका छन् । उनी चितवनको शुभकामना हाउजिङ एन्ड रियल इस्टेटका पनि अध्यक्ष हुन् । रामेछाप, खोटाङ, दोलखा, भोजपुर, धनकुटा, बझाङ, मुस्ताङ, जुम्ला, संखुवासभामा ठूलो परिमाणमा उनले कृषि गर्ने तयारीमा छन् । अधिकांश ठाउँमा कृषि सुरु भइसकेको छ । श्रेष्ठ कृषिमा ठूलो सम्भावना रहेको धारणा राख्छन् । त्यसैले आफू अहिले कृषिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ, स्रोतसाधन पर्याप्त छ, हामीले यसको प्रयोग गर्न जानेका छैनौं । रुखहरू नकाटेर मलेसियाबाट आयात गर्नुपर्ने अवस्था छ, नयाँ प्रविधिबाट रुख २० वर्षमै काट्न मिल्ने बनाउन सकिन्छ । पुराना रुखहरू काट्दै र नयाँ रोप्दै गयौं भने नेपाल वनजंगलबाटै धनी बन्न सक्छ, सही नीति र काम गर्ने आँट मात्रै हुनुपर्छ,’ उनी भन्छन्, ‘यहाँ काम गर्नेभन्दा पनि काम गर्नेको खुट्टा तान्ने प्रवृति बढी भएकोले अहिले समस्या भएको हो ।’ लिटिल एञ्जल्सबाट सुरु भएको श्रेष्ठको यात्रा अहिले सय बढी कम्पनीसम्म पुगेको छ । अहिले उनले शिक्षासँगै स्वास्थ्य, होटल, जलविद्युत, कृषि र जडिबुटीमा पनि लगानी गरेका छन् । उनले सय बढी कम्पनी खडा गरेर व्यवसाय गरिरहेका छन् । ती कम्पनीहरूबाट उनले अर्बौं कमाइसकेका छन्, कमाउँदै छन् । तर, उनी आफूभन्दा पनि देशलाई धनी बनाउने यात्रामा छन् । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिको दार्चुला र बझाङसम्म उनले लगानी विस्तार गरेका छन् । श्रेष्ठ अबको केही वर्षमै मध्यपहाडी राजमार्गका क्षेत्रले काँचुली फेर्नेमा विश्वस्त छन् । गाउँघर रित्तिँदै गएको प्रसंगलाई जोड्नै उनी अबको २० वर्षमा गाउँघरहरू भरिने सम्भावना देखिरहेका छन् । ‘भोलिको दिनको लागि मैले अहिले संघर्ष गरिरहेको छु, गाउँघरमा ३५ हजार रुपैयाँमा एक रोपनी जग्गा पाइन्छ, त्यहीं कृषिकर्म गर्न सकिन्छ, सम्भावना त्यहीं छ,’ उनी भन्छन्, ‘मैले अधिकांश जिल्लाहरूमा जग्गा किनेको छु, मैले त्यहाँ ठूलो सम्भावना र अवसर देखेको छु ।’ सूचना प्रविधि, सोलार र हाइड्रोजनमा पनि उनले ठूलै सम्भावना देखिरहेका छन् । ‘मैले एक सय बढी कम्पनीमा लगानी गरिसकेको छु, म ५० वर्षपछिको अवस्था कस्तो हुन्छ भनेर अहिले नै सोच्छु, त्यही अनुसारको लगानी गर्छु, एउटा लगानीकर्ता दूरदर्शी बन्नुपर्छ,’ उनी भन्छन्, ‘अनुसन्धान पनि महत्वपूर्ण विषय हो ।’ जिल्ला-जिल्लामा जग्गा अब कृषिमा क्रान्ति गर्ने उद्देश्यका साथ श्रेष्ठले व्यावसायिक रणनीतिहरू बनाइरहेका छन् । कृषियोग्य ठाउँ–ठाउँमा गएर किसानलाई भेटिरहेका छन् । अहिले पनि उनलाई घरमा भेट्न आउने कृषकहरूको भीड लाग्छ । कृषिको सम्भावना देखेका ठाउँमा सयौं÷हजारौं रोपनी जग्गा खरिद गरेका छन् । त्यो जग्गालाई विभिन्न व्यक्ति तथा कम्पनीको नाममा राखेका छन् । ‘म जग्गाबाटै बनेको हुँ, देशभर धेरै जग्गा किनेको छु, काठमाडौंमै ५०० रोपनी जग्गा किनेको थिएँ । तर, अहिले हाइड्रोमा लगानी गर्नको लागि केही जग्गा बिक्री गरेँ, अझै पनि धेरै बाँकी छन्, सम्भावना भएको जिल्लामा अझै पनि जग्गा किनिरहेको छु, उनी भन्छन्, ‘अब कृषिमा नै क्रान्ति गर्ने हो ।’ सरकारी नीतिका कारण धेरै जग्गा किन्न पनि समस्या रहेको श्रेष्ठले सुनाए । ‘कतिवटा कम्पनी खोलेर कतिवटाको नाममा जग्गा राख्नु, त्यसैले केही जग्गा बिक्री गरेँ, काठमाडौंमा ३५ रोपनीभन्दा बढी जग्गा राख्यो भने हदबन्दी लागिहाल्छ, त्यसैले काठमाडौं बाहिर विभिन्न जिल्लाका विभिन्न ठाउँ-ठाउँमा १५ सयदेखि २ हजार रोपनीसम्म जग्गा किनेको छु,’ उनले भने । श्रेष्ठले टी स्टेट, कागती, स्याउ, किबी, जडिबुटीलगायत अन्य अन्नबालीका लागि विभिन्न जिल्लामा जग्गा खरिद गरेका छन् । ‘मैले हजारौं रोपनी जग्गा लिएको छु, यो भविष्य हो, मान्छेले देख्दैनन्, पहाडबाट बसाइँ सरेर सहरमा झर्छन्, अबको केही वर्षभित्र त्यहीं पहाड स्वर्ग बन्छ, त्यसपछि मान्छे फेरि गाउँ फर्किन्छन् ।’ श्रेष्ठले सम्वृद्धि खोजेका छन् । देशमा सबै धनी होऊन् भन्ने चाहन्छन् उनी । ‘म गाउँबाट आएको एउटा सामान्य व्यक्ति जसले एक्लै यति ठूलो परिवर्तन गर्न सक्छ भने सिंगो देशले चाह्यो भने किन हुँदैन ? नेताले चाह्यो भने नेपाल १० वर्षमा कायापलट हुन्छ, उनी दुखेसो पोख्दै भन्छन्, ‘यहाँ नेताहरू पनि इमान्दार भएनन्, खल्तीका नेता बने ।’ वार्षिक ३ खर्बको पुँजीगत बजेटले देशको विकास नुहनेमा उनी प्रष्ट छन् । राजनीतिमा पनि भाग्यमानी व्यवसायमा सफल उद्यमीको छवि निर्माण गरेका श्रेष्ठ राजनीतिमा पनि उत्तिकै भाग्यमानी बने । उनी यसमा पूर्ण सन्तुष्ट छन् । राजनीतिमा प्रवेश गरेको छोटो अवधिमा उनले सांसददेखि मन्त्रीसम्म बन्ने अवसर पाए । अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको कोषाध्यक्षको रूपमा काम गरिरहेका छन् । नेपाली राजनीतिमा यो किसिमको ‘छक्का’ प्रहार गर्ने व्यक्ति सायदै होलान्, राजनीतिमा उनले नयाँ किसिमको ‘कोर्स क्रिएट’ गरे । श्रेष्ठ विसं २०७० सालमा संविधान सभा सदस्य बने भने २०७४ सालमा पनि समानुपातिक सांसद बने । उनी आर्थिक समिति, शिक्षा तथा स्वास्थ्य समिति, विभिन्न उपसमिति संयोजक र नेपाली कांग्रेसको लेखा समिति संयोजक बनिसकेका छन् । ‘नेपाली कांग्रेसमा लागेको १२ वर्ष भयो, अहिलेसम्म जति पाएँ, यसमा सन्तुष्ट छु, अब योभन्दा माथिल्लो तहमा जाने कुनै महत्वाकांक्षा पनि छैन, बरु अरूलाई सहयोग गर्छु, अब देश कसरी बनाउने ? उद्योग कसरी चलाउने ? शिक्षामा कसरी लगानी बढाउने भन्ने गरी काम गर्छु, उनले भने, ‘यसमा पार्टी नेतृत्वको पनि साथ छ ।’ सुरुमा पार्टीका नेता कार्यकर्ताले आफ्नो आलोचना गरेपनि अहिले सबैले आफूप्रति विश्वास गर्ने श्रेष्ठको भनाइ छ । ‘अहिले सबै मप्रति सकारात्मक पनि हुनुहुन्छ, सुरुसुरुमा पार्टीमा मलाई हेर्नै चाहँदैनथे, सबैले यसको मान्छे उसको मान्छे भन्थे । तर, अहिले पार्टीमा चिनीजस्तै घुलित भएर गएको छु,’ उनले भने, ‘सबैको मान्छे भएर काम गरिरहेको छु ।’ श्रेष्ठ राजनीतिलाई पेसा बनाउन नहुने तर्क राख्छन् । ‘सुरु गरेदेखि नमरुन्जेलसम्म राजनीति गर्नुहुँदैन, राजनीति भनेको विकास र सम्वृद्धि लागि गर्ने हो,’ उनी भन्छन्, ‘जब राजनीति गर्नेले यसलाई पेसा ठान्छ, देशको विकास हुनै सक्दैन ।’ जहाँ जोखिम, त्यहीं लगानी श्रेष्ठको लगानीको आफ्नै रणनीति र मन्त्र छ । उनी सुरक्षित ठाउँमा लगानी गर्दैनन् । जहाँ जोखिम देख्छन्, जहाँ अन्यले लगानी गर्ने आँट गरेका छैनन्, त्यहीं लगानी गर्छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको समयमा धेरै व्यवसायी सुस्त बने । थप लगानी विस्तार गर्ने र नयाँ व्यवसाय थाल्ने आँट कसैले गरेनन् । तर, उनले त्यही समयमा अस्पतालमा लगानी गरे, कृषिमा लगानी गर्न अग्रसर भए । ‘मैले जहाँ जोखिम देख्छु, त्यहीं लगानी गर्छु, जीवनमा जोखिम नलिए अवसर हुँदैन, अहिले मान्छेहरूमा निराशा छ, बैंकमा पैसा थुप्रिएको छ, यही बेला लगानी गर्ने जोखिम लिन सक्नुपर्छ,’ उनले भने । श्रेष्ठले शिक्षामा ठूलो सम्भावना भएपनि निजी क्षेत्रले यसमा प्रवेश गर्ने आँट नगरेकोमा गुनासो गर्छन् । ‘मैले एउटै कम्प्लेक्सभित्र तीनवटा स्कुल बनाउँदै छु, जहाँ गरिब, मध्यम वर्ग र उच्च वर्गको विद्यार्थीले एउटै सुविधा पाएर पढ्न सक्छन् । गरिबले पनि म कहाँ आएर न्यून शुल्कमा शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्छु । मैले अन्य व्यवसायबाट कमाएको पैसा त्यहीं लगानी गर्छु,’ उनले आफ्नो आगामी योजना सुनाए । नेपालमा राम्रो काम गरिरहेकाहरूलाई पनि नराम्रो काम गर्नेको बास्केटमा राख्ने प्रवृतिले समस्या सिर्जना गरिरहेको श्रेष्ठले सुनाए । ‘म देश बनाउने मान्छे परेँ । देश बनोस् भन्ने भावनाका साथ काम गरिरहेको छु, मेरो नेपाल बाहेक जाने ठाउँ छैन । मैले नेपालमै खुट्टा टेकेको छु । तर, अरू उद्योगी व्यवसायी नेपालमा पनि खुट्टा राख्छन् र सिंगापुर, दुवई भारत र अमेरिका लगायतका देशहरूमा पनि लगानी गर्छन्, जति मैले पैसा कमाएको छु, म यही देशमा खर्च गर्छु,’ उनले दृढताका साथ भने । श्रेष्ठ देश बन्छ भन्नेमा आशावादी छन् । व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थमा आफू लागिरहेको उनको भनाइ छ । उनले अब आफ्नो आमा लीलादेवी श्रेष्ठ र स्व. बुबा बद्रीप्रसाद श्रेष्ठको नाममा पनि ट्रष्ट खोल्ने तयारी गरेका छन् । आफ्नो सम्पत्तिको ५० प्रतिशत त्यहीं राख्ने उनको योजना छ । ‘म खाली खुट्टा आएको, खाली खुट्टा जान तयार छु, एउटा राम्रो फाउन्डेसन खोल्छु, त्यो फाउन्डेसनले काम गर्छ । अहिले पनि बिहान ५ बजे उठेर काम गर्छु, राति १० बजेसम्म काम गरिरहेको हुन्छु । अनुशासित ढंगले सबैले काम गर्यो भने देश बन्छ, देश बनेपछि सबै धनी हुन्छन्,’ उनी भन्छन्, ‘सबैले साँच्चिकै देशको लागि काम गर्यो भने १० वर्षमा नेपाल कायापलट बन्छ ।’
सहकारीको सीईओ कसरी बने बैंकको अध्यक्ष ?
काठमाडौं । सहकारी क्षेत्रको एकमात्रै बैंक राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको नेतृत्वको विषयमा अहिले चौतर्फी बहस हुन थालेको छ । विगतमा सरल र सहज रूपमा सदस्यहरूको मतदानमार्फत् नेतृत्व चयन गर्ने अभ्यास गर्दै आएको राष्ट्रिय सहकारी बैंकले यस पटक बैंकको बैठक कक्षबाट नेतृत्वको घोषणा गरेपछि यो विषय सहकारी क्षेत्रमा थप पेचिलो र रहस्यमयी बनेको हो । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीलाई बैंकको अध्यक्ष बनाएसँगै अध्यक्ष चयन प्रक्रियामाथि नै प्रश्न उठेको हो । बैंक सञ्चालक समितिको बैठकले गिरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । सो निर्णयलाई गत शनिबार भएको बैंकको साधारणसभाले अनुमोदन गरिसकेको बैंकको दाबी छ । अध्यक्ष बन्नुअघि उनी सो बैंकको सञ्चालक सदस्य थिए । तर, अध्यक्ष चयनका लागि बैंकले अवलम्बन गरेको प्रक्रिया र एउटा सहकारी संस्थाको कर्मचारीलाई बैंकको अध्यक्ष बनाउने सञ्चालक समितिको नियतमाथि सहकारी क्षेत्रमै गम्भीर सवाल सिर्जना भएको छ । सहकारी ऐन २०७४ ले समेत कुनै पनि सहकारीको सञ्चालक वा कर्मचारी अर्को संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गरे पनि त्यसलाई नजरअन्दाज गर्दै गिरीलाई अध्यक्ष बनाउने प्रयत्न गर्नुलाई बैंक सञ्चालक समिति, नियामक नेपाल राष्ट्र बैंक र सहकारी विभागको भूमिकालाई पनि शंकास्पद रूपमा लिइएको छ। सहकारी ऐनको दफा ४१ को उपदफा ४ मा कुनै सहकारी संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्थाबाहेक अर्को कुनै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको छ । तर, वार्षिक दुई करोड रुपैयाँभन्दा कमको कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकले त्यस्तो सहकारी संस्थामा कर्मचारीको रूपमा काम गर्न बाधा नपर्ने पनि उल्लेख छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था भने अर्बौं रुपैयाँको कारोबार गर्ने सहकारी संस्था हो । सो ऐनको दफा ४१ को उपदफा ६ मा कुनै व्यक्ति एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक वा कर्मचारी रहन नपाउने व्यवस्था छ । तर, यो व्यवस्थालाई नजरअन्दाज गर्दै गिरीलाई अध्यक्ष बनाइएको विषयले अहिले सहकारी क्षेत्रमा तरंग मच्चिएको छ । नेपाल राष्ट्र बैंकको टिमले गत असारमा राष्ट्रिय सहकारी बैंकमा स्थलगत निरीक्षण गरेको थियो । बैंकको बिग्रिँदाे वित्तीय अवस्था तथा बढ्दो खराब कर्जाको अनुपातकाे कारण राष्ट्र बैंकले तत्काल ऋण असुल गर्न निर्देशन दिएको थियो भने ऋण नतिर्ने बैंककै सञ्चालकलाई पनि हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सहकारीको बचत ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अध्यक्ष केबी उप्रेतीसहित अन्य पाँच जना सञ्चालकलाई सञ्चालकलाई हटाइसकेको छ । अध्यक्षबाट उप्रेतीलाई हटाउने निर्णय पनि सञ्चालक समितिको बैठकले नै गरेको हो । तर, बैंकले त्यसलाई साधारणसभाबाट अनुमोदन गरिसकेको दाबी गरेको छ । सहकारी ऐन २०७४ को दफा ४५ ले सञ्चालकलाई पदबाट हटाउन सक्ने व्यवस्था गरेको छ । सो दफा ४५ को उपदफा २ मा कुनै सञ्चालकलाई समितिको पदबाट हटाउने निर्णय गर्नुअघि त्यस्तो सञ्चालकलाई साधारण सभा समक्ष सफाई पेस गर्ने मनासिब माफिकको मौका दिइने उल्लेख छ । सो दफाको उपदफा ५ मा कुनै सञ्चालक पदबाट हटेमा त्यस्तो पदमा साधारण सभाले बाँकी अवधिको लागि अर्को सञ्चालकको निर्वाचन गर्ने सक्ने व्यवस्था गरिएको छ । तर, बैंकले कुनै पनि चुनावी प्रक्रिया अगाडि नबढाइ राष्ट्र बैंकको निर्देशनअनुसार अन्य बैंक तथा वित्तीय संस्थासरहको नीति अवलम्बन गरेको छ । राष्ट्र बैंकको नियमनभित्रमा रहेका बैंक तथा वित्तीय संस्थाले पनि त्यस्ताे कुनै भईपरि आउने अवस्थाबाहेक साधारणसभाबाट नेतृत्व चुन्ने अभ्यास छ । तर, राष्ट्रिय सहकारी बैंक सहकारी विभागको नियमनभित्र पनि छ । सहकारी ऐनले निर्वाचन प्रक्रियाबाट नै नेतृत्व चुन्न निर्देशित गर्छ । १६ जनाको सञ्चालक समिति रहेको राष्ट्रिय सहकारी बैंकमा ६ जनालाई सञ्चालक समितिबाट हटाएपछि हाल बैंकको सञ्चालक समितिमा ९ जनामात्रै छन् । एक जना सञ्चालकको मृत्यु भइसकेको छ । बैंकले आफ्नो वेवसाइटबाट सबै सञ्चालकहरूको नामावली पनि हटाइसकेको छ । गत बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्ष केबी उप्रेतीसँगै सञ्चालकहरू रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट हटाएको हो । के भन्छन् नियामक ? राष्ट्रिय सहकारी बैंक नेपाल राष्ट्र बैंक र सहकारी विभागको नियमनभित्र पर्छ । बैंकले नयाँ अध्यक्ष नियुक्त गरेको र ६ जना सञ्चालकलाई हटाएको निर्णय नेपाल राष्ट्र बैंकमा पठाइसकेको छ भने सहकारी विभागलाई जानकारीसमेत गराएको छैन । सहकारी विभागले आफूलाई बैंकको अध्यक्ष को भयो र को-को सञ्चालक हटे भन्ने विषयको औपचारिक जानकारी नभएको बताएको छ । विभागका सूचना अधिकारी रघुनाथ महतले विभागलाई बैंकले कुनै जानकारी नगराएको बताए । ‘सहकारी बैंक राष्ट्र बैंकको नियमनभित्र पनि पर्छ, राष्ट्र बैंकले दिएको निर्देशन पनि पालना गर्नुपर्ने हुन्छ । हामीलाई जानकारी नआएको हुनाले को कसरी अध्यक्ष बन्यो भन्ने विषय औपचारिक रूपमा जानकारी आएपछि मात्र थाहा हुन्छ, हामीले गर्नुपर्ने काम त्यसपछि गर्छौं,’ उनले भने । नेपाल राष्ट्र बैंकले उप्रेतीलाई हटाएर सञ्चालकमध्येबाट एक जनालाई अध्यक्ष बनाउन निर्देशन दिए बमाेजिन गिरी अध्यक्ष बनेका हुन् । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले अहिलेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेर साधारणसभाले पारित गरेको छ भने अध्यक्षमाथि प्रश्न उठ्ने ठाउँ नहुने बताए । संक्रमणकालीन अवस्था भयो, इज्जत जोगाउनु छ अब केही समयपछि सहकारी छोडिहाल्छु । सहकारीमा काम गर्ने समय पनि घटाउने हो । सहकारी बैंकलाई पनि महिनाको १०/१५ दिन दिनै पर्यो । राष्ट्र बैंकले विशेष साधारणसभा गर भन्यो भने सोही अनुसार अगाडि बढ्छौं । प्रक्रियाबाटै अध्यक्ष आउने काम भइहाल्छ । अहिलेको अवस्थामा निर्वाचन लगायत अन्य प्रक्रियाभन्दा पनि नेतृत्व गर्ने मान्छेको आवश्यकता परेको हो । यो संक्रमणकालीन अवस्था हो । राष्ट्र बैंकको निर्देशनले नै अहिले हामीले सञ्चालकमध्येबाट एक जना अध्यक्ष बन्नुपरेको हो । निर्वाचन भयो भने म छोडिहाल्छु । अब धेरै राजनीतिक गफ गर्ने भन्दा पनि व्यावसायिक नेतृत्व बन्ने हो । बैंकको खराब कर्जा बढेको छ । हामीले आन्तरिक व्यवस्थापन नगरेर सुख छैन, बैंकलाई बचाउन सदस्यको भूमिका महत्वपूर्ण हुन्छ, अब मेरो नेतृत्वमा पुससभरि सुझाव संकलन गरेर आगामी असारसम्म राम्रो नतिजा आउने गरि काम गर्छु ।बैंकमा पूर्णरुपमा शुसासन कायम गर्नका लागि बैंकभित्र राजनीतिको अन्त्य गर्नका लागि प्रयास गुर्छु । खराब अवस्थामा रहेको २०/२५ वटा कर्जामध्ये ८/१० वटाको समस्या समाधान भइसकेको छ । अझैं समाधान हुने प्रक्रियामा छ । मलाई बैंकको अध्यक्ष भएर केही लिनु छैन, इज्जत जोगाउनु छ । तर, उनले सहकारीको प्रमुख कार्यकारी भएको विषय भने सहकारी ऐन आकर्षित हुने भएको त्यो विषय सहकारी विभागले हेर्नुपर्ने धारणा राखे । गिरी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका थिए । अन्य सञ्चालक सहकारी संस्था सञ्चालकको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका थिए । तर, गिरी भने कर्मचारी हुन् । त्यसैले पनि उनीमाथि प्रश्न उठेको हो । यस्तै, राष्ट्रिय सहकारी बैंककै सल्लाहकार तथा अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेल सहकारी संस्थाको कर्मचारी बैंकको अध्यक्ष बन्नु प्रश्नयोग्य विषय नै रहेको धारणा राख्छन् । गिरी यसअघि नै सञ्चालक नै रहेकोले उनी अध्यक्षका लागि भने योग्य हुन सक्ने तर्क पनि उनको छ । तर, सहकारीकाे कर्मचारी बैंककाे सञ्चालक कसरी बने भन्ने विषयमा भने उनकाे जिज्ञासा नै छ । ‘हुन त म पनि बैंकको सल्लाहकार हो । तर, नयाँ अध्यक्ष बनेको र सञ्चालक हटाइएको विषय मलाई जानकारी छैन,’ उनले भने । उनका अनुसार बैंक पनि सहकारी ऐनबाटै नै निर्देशित हुने भएकोले त्यसको पालना गर्नुपर्ने हुन्छ । बढ्न सक्छ स्वार्थको द्वन्द्व नवनियुक्त अध्यक्ष गिरी देशकै ठूलोमध्येको सहारा नेपाल बच तथा ऋण सहकारी संस्थाको व्यवस्थापकीय नेतृत्वमा छन् । जुन सहकारीको १३ अर्ब २४ करोड रुपैयाँ बढी बचत, ११ अर्ब ९१ लाख बढी ऋण लगानी, १ अर्ब ७० करोड सेयर पुँजी र पौने २ लाख सेयर सदस्य छन् । यति ठूलो सहकारीको कार्यकारी प्रमुख भएर काम गरिरहेका गिरीलाई बैंकको नेतृत्व सम्हाल्नु आफैमा चुनौतीमात्रै होइन स्वार्थको द्वन्द्व सिर्जना हुने सम्भावना पनि सहकारीकर्मीले देखेका छन् । सहकारी बैंकको पनि ५७ अर्ब ९२ करोड रुपैयाँ बचत, २२ अर्ब ८० करोड रुपैयाँ ऋण, २ अर्ब ७९ करोडको सेयर पुँजी र १६ हजार बढी सेयर सदस्य छन् । यी दुइटै संस्थाको यति ठूलो जिम्मेवारी सम्हाल्नु गिरीमाथि ठूलो चुनौती छ । सहारा नेपाल आफै पनि बैंकको ठूलो मध्येको सेयर सदस्य हो । बैंकमा सहारा नेपालको ३.०१ प्रतिशत अर्थात् साढे ८ करोड रुपैयाँ सेयर पुँजी छ । ठुलाे मात्रामा बचत पनि छ । यी दुइटै संस्थाको नेतृत्व गरिरहेका गिरीमाथि स्वार्थको द्वन्द्व निम्तिन सक्ने जानकारहरू बताउँछन् । उनीमाथि ठूलो चुनौती रहेको सहकारीकर्मीहरू बताउँछन् । बैंककै सल्लाहकार लिलामणी पोखरेलले पनि नवनियुक्त गिरीमाथि ठूलो चुनौती थपिएको बताए । उनका अनुसार बैंकलाई लयमा फर्काउनका लागि गिरीले ठूलो त्याग गर्नुपर्ने छ । धेरैले निर्वाचन प्रक्रियाबिनै अध्यक्ष बन्नु सहकारी ऐनको मर्मविपरीत रहेको धारणा राखिरहेका छन् । सहकारीको सीईओको भूमिकामा रहेका व्यक्तिले बैंकको अध्यक्ष बन्नु सहकारी संस्थाको पारदर्शितामाथि प्रभाव पार्न सक्ने बुझाइ अधिकांशकाे छ । सम्बन्धित सामग्री : सहकारी बैंकका ६ जना सञ्चालक बर्खास्त, ७ जनाको समिति बनाउन राष्ट्र बैंकको निर्देशन अध्यक्ष जेलमा, सीईओ चेपुवामा
अध्यक्ष जेलमा, सीईओ चेपुवामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वनियमनमा सञ्चालित सहकारी क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । सहकारीको बचत ठगीको आरोपमा हाल पुर्पक्षका लागि हिरासतमा रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई अध्यक्षबाट हटाउन हस्तक्षेप गरेको भन्दै सहकारीकर्मीले राष्ट्र बैंकको आलोचना गरेका हुन् । २०७९ पुसमा दोस्रो कार्यकालका लागि बैंकको अध्यक्ष बनेका उप्रेतीलाई प्रहरीले सहकारीको बचत ठगीको आरोपमा गत असारमा पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि हिरासतमै छन् । तर, नेपाल राष्ट्र बैंकले भने साधारणसभाबाट अध्यक्ष बनेका उप्रेतीलाई हटाएर सहकारी क्षेत्रमाथि नै हस्तक्षेप गरेको भन्दै आलोचना गरेका हुन् । राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्वअध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार केशब बडालले उप्रेतीको कमजोरी नै भएको भएपनि अध्यक्षबाट हटाउन नहुने धारणा राखे । बुधबार राष्ट्रिय सहकारी बैंकको २१औं साधारणसभामा बोल्दै उनले सहकारीको स्वायत्त र स्वतन्त्रता गुम्न नदिन सबैले समन्वय गर्नुपर्ने धारणा राखे । यस्तै, राष्ट्रिय सहकारी बैंकका सल्लाहकार लीलामणि पोखरेलले पनि नेपाल राष्ट्र बैंकले बैंकको अध्यक्ष र सञ्चालकलाई हटाएर सहकारीमाथि नै हस्तक्षेप गरेको धारणा राखे । ‘सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्त्वपूर्ण खम्बा हो, हामी सहकारी क्षेत्रमा स्वनियमनको कुरा गर्छौं । तर, सहकारी बैंकका अध्यक्षलाई राष्ट्र बैंकले हटाउने अवस्था किन आयो ?,’ उनले प्रश्न गर्दै भने, ‘बोर्डमा कति जना राख्ने, कसलाई अध्यक्ष बनाउने भनेर राष्ट्र बैंकले निर्देशन दिने हो ?’ उनले अर्थतन्त्रको एउटा खम्बामा सरकारको प्रत्यक्ष हस्तक्षेप देखिएको धारणा राखे । वर्तमान समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । पोखरेलले अध्यक्ष जेलमा रहेको अवस्थामा राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापनलाई चेपुवामा राखेको दाबी पनि गरे । अहिले बैंकको व्यवस्थापकीय नेतृत्व बद्री गुरागाईंले गरिरहेका छन् । उनले अझै पनि केही सञ्चालकलाई १५ दिनभित्र हटाउनु भनेर राष्ट्र बैंकले निर्देशन दिएको बताउँदै त्यो यस्ता कमजोरीलाई समाधान गर्दै लैजानुपर्ने धारणा राखे । नयाँ अध्यक्ष बने गिरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीलाई हटाउन निर्देशन दिएसँगै बैंकका सञ्चालक महेन्द्र गिरी नयाँ अध्यक्ष बनेका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष बनाउने निर्णय गरेसँगै बैंकको साधारणसभाले त्यसलाई अनुमोदन पनि गरिसकेको छ । गिरी झापाको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । अब सहकारी बैंकको बोर्डको नेतृत्व गर्ने जिम्मेवारी पनि उनको काँधमा आइपुगेको छ । नवनियुक्त अध्यक्ष गिरीले आफ्नोसामु ठूलो चुनौती रहेको बताउँदै आगामी असारसम्म बैंकलाई एउटा उचाइमा पुर्याउन भूमिका खेल्ने धारणा राखे । ‘हामीले आन्तरिक व्यवस्थापन नगरेर सुख छैन, बैंकलाई बचाउन सदस्यको भूमिका महत्वपूर्ण हुन्छ, अब मेरो नेतृत्वमा पुससभरि सुझाव संकलन गरेर आगामी असारसम्म राम्रो नतिजा आउने गरि काम गर्छु,’ उनले भने । राष्ट्र बैंकले अझैं पनि ५/६ जना सञ्चालकलाई हटाउन निर्देशन दिएको जानकारी दिए । ‘केही दिनभित्र ५/६ जनालाई हटाउनु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ, यसमा सञ्चालक समिति र सल्लाहकारहरुले पनि साथ दिनु हुनेछ भन्ने अपेक्षा छ,’ उनले भने । बैंकमा पूर्णरुपमा शुसासन कायम गर्नका लागि बैंकभित्र राजनीतिको अन्त्य गर्ने उद्घोष उनले गरेका छन् । उनले बैंकको खराब कर्जा बढेको बताउँदै खराब अवस्थामा रहेको २०/२५ वटा कर्जामध्ये ८/१० वटाको समस्या समाधान भइसकेको र अझैं समाधान हुने प्रक्रियामा रहेको जानकारी दिए । ‘मलाई बैंकको अध्यक्ष भएर केही लिनु छैन, इज्जत जोगाउनु छ,’ उनले भने । राष्ट्र बैंकले भने सहकारी बैंक आफ्नो नियमनमा रहेको कारणले अध्यक्षलाई हटाउन निर्देशन दिनु परेको बताएको छ । ‘राष्ट्रिय सहकारी बैंक राष्ट्र बैंकको पनि नियमनमा पर्छ, हामीले आफ्नो नियमनभित्र रहेको संस्थाको वित्तीय स्थायित्व तथा वित्तीय स्वच्छताको लागि काम गर्नुपर्ने हुन्छ, केही समस्या देखिएपछि सो संस्थाका अध्यक्ष तथा केही सञ्चालकलाई बैंक छोड्नु भनेर निर्देशन दिइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट बैंकिङ कारोबारको इजाजत लिएकोले बैंकको वित्तीय कारोबारको अनुगमन तथा निरीक्षण नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । हाल जेलमा रहेका उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । हाम्रो सगरमाथा, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था मर्ज भएर ‘आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’ बनेको थियो । यही संस्थाको बचत ठगीको आरोप लागेर प्रहरीले उनलाई पक्राउ गरेको थियो । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । सो सहकारीका अन्य सञ्चालक पनि अहिले फरार छन् ।
अर्बको एनपीएल, खेलाडीसँगै व्यवसायीबीच पनि ‘ब्याटल’
काठमाडौं । केही वर्षअघि मात्रै क्रिकेट खेल्नका लागि राम्रो ब्याट पाएनौं भनेर गुनासो गरिरहेका नेपाली खेलाडी आज सुविधासम्पन्न आफ्नै मैदानमा फ्रेन्चाइज खेल खेल्दैछन् । वर्षौंदेखि देशका लागि खेले पनि मासिक पारिश्रमिक नपाएको भन्दै चिन्ता व्यक्त गर्ने तिनै खेलाडी केही दिन मात्रै क्रिकेट खेलेर लाखौं कमाउँदैछन् । कुनै दिन राजनीतिक रजगजमा व्यस्त नेपाल क्रिकेट संघ (क्यान)ले इतिहासमै पहिलो पटक आफ्नो कमालको व्यवस्थापन विश्वसामु देखाउँदैछ । क्रिकेट हेर्नका लागि सुविधा भएन भनेर पानीमा पनि छाता ओडेर खेल हेर्ने क्रेजी प्रशंसकहरु सुविधासम्पन्न मैदानमा कुर्सीसहितको डिजिटल बोर्डमा स्कोर हेर्दै आजदेखि एनपीएलको हुटिङ गर्दै खेलको आनन्द लिनेछन् । कुनै बेला क्रिकेटको क्रेज थाहा नभएको कर्पोरेट क्षेत्र लाखौं÷करोडौं लगानी गर्न उत्साहित छ । यो माहोलमा नेपाली क्रिकेटले प्रवेश गरेकोे छ । धेरैले यसलाई इतिहास स्थापनाको प्रवेश द्वार भनेका छन् । कतिले एनपीएललाई महाकुभ्मको उपमा दिएका छन् । उपमा जे दिइए पनि नेपाली क्रिकेटले आजदेखि नयाँ अध्यायको सुरुवात भने पक्कै गरेको छ । खेलाडी खेल्न आँतुर छन्, दर्शकहरु खेल हेर्न उत्साहित छन्, कमेन्टेटरहरु जोर–जोरले कमेन्ट गर्न पर्खिरहेका छन् । सारा नेपालीमात्रै होइन, यतिखेर विश्वको ध्यान नेपाल प्रिमियर लिग (एनपीएल)मा छ । स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रसारण, टीयू मैदानमा विभिन्न खालका सेवा–सुविधा र विदेशी खेलाडीको आगमन लगायत कारणले एनपीएलप्रति धेरैको चासो बढेको छ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको खेलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आज पहिलो खेल बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । बिराटनगरका लागि सन्दिप लामिछाने र जनकपुरका लागि अनिल शाह कप्तान छन् । दुवै टिमले जित्ने लक्ष्यका साथ खेल्ने बताएका छन् । शुक्रबारको पत्रकार सम्मेलनमा बिराटनगरका कप्तान लामिछानेले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘हामी जितकै लागि खेल्नेछौं । मैदानमा उत्रेपछि जसले पनि जित्न नै चाहन्छ,’ उनले भनेका थिए । यस्तै, जनकपुरका कप्तान शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । ‘हामीले जनकपुरमा मैदान नभएर काठमाडौंमा आएर मात्र तयारी ग¥यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी खेलाडी आएर टिम पनि राम्रो देखिएको छ,’ पत्रकार सम्मेलनमा उनले भने । ठूला स्टारले थप उत्साह नेपाली खेलाडीसँगै विदेशी स्टार खेलाडीले एनपीएलको गरिमा थप बढाएको छ । एनपीएलमा खेल्न ४० वटा विदेशी खेलाडी नेपाल आएका छन् । भारतका स्टार ब्याटर शिखर धवन, न्युजिल्याण्डका मार्टिल गप्टिल, जिम्मी निसम र बेन कटिङ जस्ता टी–२० का स्टार नामहरू एनपीएल खेल्न नेपाल आएका छन् । सुदूरपश्चिम रोयल्समा चार जना विदेशी खेलाडी छन भने कर्णाली याक्समा पनि चार, लुम्बिनी लायन्समा छ जना, पोखरामा पनि छ जना, चितवनमा पाँच, काठमाडौं गोर्खाजमा पाँच, जनकपुरमा छ जना र विराटनगरमा पाँच जना विदेशी खेलाडी छन् । विश्वकै स्टार खेलाडीहरू आएर खेल्दा अहिले नेपाली क्रिकेटका बारेमा विश्वको चासो र चर्चा पनि बढेको छ । भीआईपी टिकटदेखि डिजिटल बोर्ड क्रिकेट खेल हुने टीयू मैदानलाई यस पटक भव्य रुपमा सजाइएको छ । मैदानमा पहिलो पटक डिजिटल बोर्ड, भीआईपी टिकट तथा टिमका प्रशंसकहरुलाई फरक ठाउँ (फ्यान जोन)को व्यवस्था गरिएको छ । क्यानले यस पटक समर्थकहरूको सुविधालाई लक्षित गर्दै टीयू मैदानमा विभिन्न सुविधाहरू थप गरेको छ । दर्शकले भीआईपी टिकट काटेर राम्रो ठाउँमा बस्न पाउनेछन् । व्यवसायीबीच पनि ब्याटल अहिले एनपीएलमा प्रायोजक बन्नका लागि कर्पोरेट क्षेत्रबीच पनि प्रतिस्पर्धा चलेको छ । कर्पोरेट क्षेत्रका विभिन्न व्यवसायीले पनि लाखौं लगानी गरेर स्पोन्सर गरिरहेका छन् । एनपीएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक बनेको छ । बैंकले पाँच वर्षका लागि एनपीएलसँग समझदारी गरेको बुझिएको छ । यस्तै, ब्रोडकास्ट पार्टर्नर स्टार स्पोर्टस् बनेको छ भने पावर्ड बाई एनसेल बनेको छ । एनपीएलको अफिसियल टिकट पार्टर्नर खल्ती बनेको छ भने अफिसियल स्ट्रिमिङ पाटर्नर फ्यानकोड बनेको छ । एनपीएलको स्पार्टस् पाटर्नर ड्रिम ११ बनेको छ । स्पिकिङ स्माइल पाटर्नर ह्याप्पिडेन्ट बनेको छ भने बेभरेज पाटर्नर रेडबुल, स्मार्टफोन पाटर्नर भिभो र अम्पायर पाटर्नर नेपाल पे बनेको छ । विभिन्न टिमले पनि आफ्नो टिम प्रायोजक खोजेका छन् । सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक बनेको छ भने महिन्द्रा र अग्नी ग्रुप कर्णाली याक्सको मुख्य प्रायोजक बनेका छन् । यस्तै, विराटनगरको एभरेष्ट बैंक, जनकपुरको मुख्य प्रायोजक डिएनए इन्टरनेसनल, कागठमाडौं गोखार्जको बिवाईडी, चितवन राइनोजको ब्यू स्टार, लुम्बिनी लायन्सको रिलायन्स फाइनान्सले प्रायोजनको काम गरेको छ । आठ वटा टिमलाई हस्पिटालिटी, बीमा, ट्राभल लगायत पार्टनरको रुपमा पनि अन्य व्यावसायिक समूहहरु जोडिएका छन् । अधिकांश व्यवसायी एनपीएलमा जोडिएका छन् । उनीहरुले करोडौं लगानी गरेका छन् । अर्ब बढी खर्च यस पटक कर्पोरेट क्षेत्रको पृथक किसिमको आकर्षण एनपीएलमा देखिएको छ । मैदानमा खेलाडीको ब्याटल हुनेछ भने व्यावसायिक जगतमा ठूला व्यावसायिक घरानाबीच प्रायोजन गर्ने प्रतिस्पर्धा देखिएको छ । त्यो प्रतिस्पर्धा टिम र खेलाडी खरिद गर्नेदेखि अहिले प्रायोजन गर्नेसम्म प्रष्ट देखिन्छ । ८ वटा टिम किन्न विभिन्न व्यवसायीले कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ खर्च गरेका छन् । एउटा टिम किन्न टिम मालिकले ३ करोडसम्म खर्च गरेको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको छ । यस्तै, काठमाडौं गुर्खाजलाई कान्तिपुर पब्लिकेसन्सले तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ, जनकपुर बोल्टलाई ड्रिम स्पोर्टस् प्रालिले दुई करोड पाँच लाख, लुम्बिनी लायन्सलाई फरच्युना हेल्थ केयर प्रालिले एक करोड ८६ लाख चार रुपैयाँ,चितवन राइनोजका लागि चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार र सुदूरपश्चिम रोयल्सलाई इम्पाइर स्पोर्टस् म्यानेजमेन्ट प्रालिले एक करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको थियो । यस्तै, विराटनगर किंग्सलाई एमएडी ड्रिम्स स्पोर्टस् प्रालिले एक करोड ५१ लाख र कर्णाली याक्सलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर प्रालिले एक करोड ११ लाख ७० हजारमा किनेको थियो । ८ टिमले अक्सनबाट ८० खेलाडीका लागि पाँच करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । मार्की खेलाडीले २० लाख पाउँदा ‘ए’ श्रेणीले १० देखि १५ लाखसम्म पाएका छन् । बी श्रेणीका खोडीले ५ देखि १० लाख रुपैयाँसम्म पाए भने सी श्रेणीका खेलाडीले २ देखि ५ लाख रुपैयाँसम्म पाए । एउटा टिमले खेलाडी खरिदमा अधिकतम् १५ करोड रुपैयाँसम्म खर्च गरेको बुझिएको छ । यति धेरै लगानी र खर्च भएको लिगमा पुरस्कार राशी पनि ठूलै छ । विजेताले एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने५ । उत्कृष्ट नेपाली खेलाडीले ६२ लाखको कार पाउनेछन् । त्यसका लगि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ । सम्झौता अनुसार एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा ई-५ कार प्राप्त गर्नेछन् । फ्रेन्चाइज टिम किन्न नपाएका व्यावसायिक घराना अहिले प्रयोजन गरेर साथ दिइरहेका छन् । यसले एनपीएलमा थप उत्साह थपिएको छ । सम्बन्धित सामग्री : एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास
६० अर्बको सिमेन्ट व्यापार ३० अर्बमा झर्यो, कुन उद्योगीको वर्चस्व बढी ?
काठमाडौं । आन्तरिक बजारले धान्न नसकेको खपत भारतीय बजारमा निर्यात गरेर मनग्य कमाउने सिमेन्ट उद्योगहरूको सपना सपनामै विलीन हुन थालेको छ । २०७९ असारमा भारतमा पहिलो पटक सिमेन्ट निर्यात सुरु गरेर खुसीको सन्देश सम्प्रेषण गरेको सिमेन्ट बजार अहिले मरणासन्न अवस्थामा छ । वार्षिक साढे दुई करोड टन उत्पादन क्षमता भएको सिमेन्ट उद्योगहरूको अहिले करिब एक करोड टन उत्पादन मुस्किलले हुन्छ । सरकारको कमजोर पुँजीगत खर्च, बजारको न्यून माग, सुस्त बनेको निर्माण क्षेत्र र पूर्वाधार निर्माणमा मन्दीलगायत कारणले उपभोक्ताबाट सिमेन्टको माग छैन । बजारमा माग नहुँदा उद्योगीले उत्पादन घटाए । परिणामस्वरूप सिमेन्ट उद्योगहरूको व्यापार ठूलो परिमाणले खस्किएको छ । निर्यातले व्यापार बढ्ने आशा गरेका उद्योगीहरूमा निराशा थपिएको छ । अहिले अधिकांश उद्योगहरू क्षमताको २५ प्रतिशतसम्म मात्रै सञ्चालन भइरहेको उद्योगीहरूले बताइरहेका छन् । ‘व्यापार घट्यो, घाटा बेहोर्नुपर्यो र उद्योगहरू धमाधम बन्द भए’ भनेर गुनासो गरिरहेका उद्योगीहरूको सिमेन्ट उद्योगको वित्तीय विवरणले के देखाउँछ ? के साँच्चिकै नेपाली सिमेन्ट उद्योगहरू संकटको अवस्थामा पुगेका हुन् त ? आउनूस्, यस विषयमा चर्चा गरौं । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण हेर्दा पब्लिक कम्पनी सोनापुर सिमेन्ट उद्योग ४७ करोड रुपैयाँ घाटामा छ । पब्लिक कम्पनी घोराही सिमेन्ट एक अर्ब २१ करोड रूपैयाँ घाटामा छ भने अन्य दुई पब्लिक कम्पनी सर्वोत्तम २१ करोड ३८ लाख र शिवम सिमेन्ट २५ करोड नाफामा छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यी दुइटै उद्योगको नाफा घटेको छ । सर्वोत्तम सिमेन्टको नाफा १७ करोड ४२ लाख रुपैयाँ घटेको छ भने शिवमको नाफा ३४ करोड ४५ लाख रुपैयाँ घटेको छ । व्यापार कम भएकै कारण यी उद्योगहरूको नाफा घटेको हो । पब्लिक कम्पनी सोनापुर सिमेन्टको व्यापार विगतका वर्षको तुलनामा उल्लेख्यरूपमा घटेको छ । सोनापुर सिमेन्टले आव २०८०/८१ मा १ अर्ब ६३ करोड, आव २०७९/८० मा साढे १ अर्ब ७३ करोड, आव २०७८/७९ मा २ अर्ब ३७ करोड, आव २०७७/७८ मा पौने ३ अर्ब रुपैयाँको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा सोनापुर सिमेन्टको व्यापार उल्लेख्यरूपमा घटेको छ । जसको नेतृत्व रतनलाल टोयलले गरिरहेका छन् । यस्तै, अर्को पब्लिक कम्पनी सर्वोत्तम सिमेन्टको हालत पनि त्यस्तै छ । बुक बिल्डिङ विधिबाट सर्वसाधारण सेयर जारी गरेको यस उद्योगको व्यापारमा पनि पछिल्लो समय घटेको छ । आव २०८०/८१ मा यस उद्योगको व्यापार साढे ६ अर्ब ३७ करोड, आव २०७९/८० मा साढे ५ अर्ब, आव २०७८/७९ मा ७ अर्ब ८८ करोड, आव २०७७/७८ मा करिब ९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा यस सिमेन्ट उद्योगकमो व्यापारमा ठूलो गिरावट आएको छ । जसको नेतृत्व विष्णु न्यौपानेले गरिरहेका छन् । लक्की, शारदा र गोयल ग्रुपको मुख्य लगानी रहेको पब्लिक कम्पनी शिवम् सिमेन्टको व्यापार पनि खस्किएको छ । उद्योगी सुरेन्द्र गोयलले नेतृत्व गरिरहेको शिवम् सिमेन्टमा ८८ प्रतिशत संस्थापक र १२ प्रतिशत सर्वसाधारणको सेयर छ । यस उद्योगको व्यापार पनि चार वर्षको अवधिमा व्यापार ६ अर्ब बढीले घटेको छ । आव २०७७/७८ मा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको व्यापार गरेको यस सिमेन्ट उद्योगले आव २०८०/८१ मा ७ अर्बको व्यापार गरेको छ । अघिल्लो आवको तुलनामा यस उद्योगको व्यापार २ अर्बले घटेको छ । अर्को पब्लिक कम्पनी घोराही सिमेन्टको अवस्था पनि अन्यको भन्दा फरक छैन । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको व्यापारमा पनि ठूलो गिरावट आएको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्टको नेतृत्व पुरुषोत्तम लाल संघाईले गरिरहेका छन् । यस सिमेन्ट उद्योगको व्यापारमा २०७७ देखि निरन्तर गिरावट देखिएको छ । आव २०७८/७९ मा घोराही सिमेन्टको व्यापार ५ अर्ब ४ करोड रुपैयाँ थियो । आव २०७९/८० मा ४ अर्ब ७९ करोड र आव २०८०/८१ मा यस उद्योगले साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । पब्लिक कम्पनीहरूको व्यापार र नाफा उल्लेख्य रूपमा घटेको सार्वजनिक वित्तीय विवरणले देखाउँछ । सार्वजनिक कम्पनीका रूपमा अगाडि बढेका सिमेन्ट उद्योगको व्यापार खस्किँदा निजी उद्योगहरूको व्यापारको अवस्था के होला ? ठूलो उद्योगीहरूले नाफा कमाएका होलान् वा छैनन् होला ? आउनूस्, अब यो जिज्ञासालाई पनि मेटाऔं । नेपालमा पाँच दर्जन बढी सिमेन्ट उद्योगहरू छन् । तीमध्ये अधिकांश बन्द भइसकेका छन् भने कतिपय आधा क्षमतामा मात्रै सञ्चालित छन् । सञ्चालनको अवस्थामा रहेका केही प्रमुख सिमेन्ट उद्योगलाई नमुनाका रूपमा लिएर समग्र उद्योगको व्यापारको वस्तुस्थिति प्रस्तुत गर्ने प्रयत्न यो समाचारमा गरिएको छ । बृज सिमेन्ट बृज सिमेन्टमा पाँच व्यक्ति तथा संस्थाको लगानी छ । यो उद्योगमा केडिया अर्गनाइजेसनको ५० प्रतिशत सेयर रहेको छ भने बाँकी भारतको शान्ता सिमेन्ट प्राइभेट लिमिटेडको रहेको छ । बृजले दुइटा ब्रान्डमा ओपीसी र पाँच ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन गर्ने गरेको छ । ताराचन्द केडियाले नेतृत्व गरिरहेको यो सिमेन्टको व्यापार पनि खस्किएको छ । पछिल्लो समय निर्माण कार्यमा देखिएको सुस्तताका कारण सिमेन्ट कम्पनीहरूको व्यापारमा भारी गिरावट देखिएको कम्पनीको भनाइ छ । यस उद्योगले आर्थिक वर्ष २०८०/८१ को मध्येसम्म सवा १ अर्बको मात्रै व्यापार गरेको छ । यस उद्योगले आव २०७९/८० मा २ अर्ब १२ करोड, आव २०७८/७९ मा साढे १ अर्ब र आव २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा बृज सिमेन्टको व्यापार पनि उल्लेख्य रूपमा खस्किएको छ । सीजी सिमेन्ट पाल्पामा अवस्थित नेपालको ठूलो सिमेन्ट उद्योगमध्ये एक हो सीजी सिमेन्ट । यसको वार्षिक उत्पादन क्षमता ४ लाख टन छ । उद्योगले भारतमा समेत सिमेन्ट निर्यात गर्ने लक्ष्य राखेको छ । नेपालमा एक मात्रै डलर अर्बपति विनोद चौधरीको सीजी ग्रुपको लगानी रहेको सीजी सिमेन्टको हालत पनि अन्य सिमेन्ट उद्योगभन्दा फरक छैन । उद्योगले आव २०८०/८१ एक अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै व्यापार गरेको छ । यस उद्योगले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी पनि गरेको छ । होङ्सी शिवम सिमेन्ट ९ वर्षअघि स्थापना भएको होङ्सी शिवम सिमेन्ट प्रालिको व्यापार पनि सन्तोषजनक छैन । हङकङ रेड लायन सिमेन्टको ७० प्रतिशत र शिभम् होल्डिङ्स प्रालिको ३० प्रतिशत सेयर स्वामित्व रहेको यस उद्योगको व्यापार आव २०८०८१ को मध्येमा पौने ५ अर्बमा सीमित बनेको छ । चार वर्षअघि १७ अबको व्यापार गर्ने यो उद्योगको अघिल्लाे आव २०७९/८० मा १३ अर्ब रुपैयाँ बराबरको व्यापार थियो भने आव २०७८/७९ मा १७ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामाा रहेको यस कम्पनीले सिमेन्ट प्लान्ट, क्लिङ्कर (अर्धप्रशोधित सिमेन्ट) र सिमेन्ट उत्पादन गर्दै आएको छ । वार्षिक रूपमा २० लाख टन क्लिंकर र २३ लाख टन ग्रिडिङ उत्पादन गर्ने कम्पनीको क्षमता छ । यस कम्पनीले हाल ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ । अर्घाखाँची सिमेन्ट अर्घाखाँची सिमेन्टमा तीन ठूला व्यावसायिक घरानाको लगानी छ । सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत स्वामित्व रहेको यस उद्योगको नेतृत्व उद्योगी पशुपति मुरारकाले गरिरहेका छन् । यो उद्योगको व्यापार पनि सन्तोषजनक छैन । यस उद्योगले आव २०८०/८१ मा साढे ३ अर्बको व्यापार गरेको छ भने अघिल्लो आव २०७९/८० मा ५ अर्ब ७७ करोड, आव २०७८/७९ मा साढे ७ अर्ब र आव २०७७/७८ मा पौने ९ अर्बको व्यापार गरेको थियो । यस उद्योगले ओपीसी र पीपीसी सिमेन्ट अर्घाखाँची ब्राण्डमा बिक्री गर्दै आएको छ । हाल कम्पनी वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन भइरहेको छ । पाल्पा सिमेन्ट आरएमसी ग्रुपको लगानी रहेको पाल्पा सिमेन्टको प्रबन्ध निर्देशक राजेश अग्रवाल हुन् । अहिले उद्योगले भारतमा सिमेन्ट निर्यात पनि गरिरहेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । नवलपरासीमा रहेको सिमेन्ट उद्योगले वार्षिक ५ लाख ९० हजार मेट्रिक टन क्लिङ्कर र ७ लाख ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । भारतमा निर्यात गरे पनि उद्योगको व्यापार भने बढ्न सकेको छैन । यस उद्योगले आव २०८०/८१ को मध्येसम्म पौने २ अर्बको मात्रै व्यापार गरेको देखिन्छ भने अघिल्लो आव २०७९/८० मा सवा ४ अर्ब, आव २०७८/७९ मा पौने ४ अर्ब र आव २०७७/७८ मा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको थियो । मारुती सिमेन्ट मारुती सिमेन्टको व्यापार पनि घटेको छ । आव २०८०/८१ को मध्येसम्म यस उद्योगको व्यापार ३ अर्ब २२ करोड रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ३३ करोड र आव २०७८/७९ मा ५ अर्ब बढी रकम बराबरको कारोबार थियो । विसं २०५२ सालमा सुरु भएको मारुती सिमेन्ट नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक कम्पनी हो । यस उद्योगमा राठी ग्रुप र गोयल ग्रुपको लगानी छ । यो उद्योगको नेतृत्व नन्दकिशोर राठीले गरिरहेका छन् । कम्पनीको व्यापारमा कमी आउनुको कारण विदेशी मुद्रा सटहीमा हुने उतारचढावका साथै प्रतिस्पर्धी, सिमेन्ट बजार नेपाल विद्युत प्राधिकरणले दाबी गरेको ट्रंकलाइनको महसुल तथा विद्युत आपूर्तिको समस्या रहेको बताइएको छ । जगदम्बा ग्रुप शंकर र शौरभ ग्रुपको लगानी रहेको यो सिमेन्टको स्थापना विसं २०५६ सालमा स्थापना भएको थियाे । रुपन्देहीको भैरहवामा अवस्थित यस उद्योगको उत्पादन क्षमता दैनिक १ हजार टन छ । यो उद्योगको नेतृत्व शंकर अग्रवालले गरेका छन् । यसकाे व्यापार पनि विगतको तुलनामा खस्किएको छ । आव २०७९/८० मा १ अर्ब ४४ करोड रुपैयाँ व्यापार रहेको यस उद्योगको आव २०७८/७९ मा २ अर्ब ६८ करोड र आव २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँ थियो । यी आधा दर्जन उद्योगको हालत पनि त्यस्तै काबेली सिमेन्ट उद्योगको वार्षिक क्षमता १६ लाख १० हजार टन छ । तर, उद्योगको उत्पादन र व्यापार भने बर्सेनि घट्दै गएको छ । झापाको हल्दिबारीमा रहेको यो सिमेन्ट उद्योगको नेतृत्व अर्जुनकुमार मैनालीले गरिरहेका छन् । आव २०७७/७८ मा उद्योगको व्यापार ४३ करोड रुपैयाँ थियो । तर, अहिले घटेको छ । यस्तै, भूगर्भ सिमेन्टको व्यापार पनि विगतको तुलनामा घटेको छ । आव २०७७/७८ मा २ अर्ब बढीको व्यापार गर्ने यो उद्योगले २०८०/८१ को मध्यतिर साढे १ अर्ब मात्रैको व्यापार गरेको छ । यस उद्योगको प्रबन्ध निर्देशकका रूपमा नन्दीकिशोर पौडेल र सीईओको रूपमा दीपकराज गिरीले काम गरिरहेका छन् । अग्नि, शुभ श्री, सम्राट र सप्तकोशी सिमेन्टको व्यापारमा पनि ठूलो गिरावट आएको छ । अग्नि सिमेन्टले आव २०७७/७८ मा ८८ करोड रुपैयाँको व्यापार गर्ने यस उद्योगले आव २०७९/८० मा ७० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ । मुख्य कच्चा पदार्थका रूपमा क्लिङ्कर, स्ल्याग, फ्लाइस, जिप्सम कच्चा मालमा कम्पनीको बढी खर्च हुने गरेको छ । यस उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । उनी शुभश्री अग्नि सिमेन्टका सञ्चालक पनि हुन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छ्न् । त्यस्तै, सप्तकोशी सिमेन्टको पनि व्यापार घटेको छ । यस सिमेन्ट उद्योगले आव २०७९/८० मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ । नेपाल सिमेन्ट उद्योग संघका महासचिव केशव उप्रेती अहिले सिमेन्टको व्यापार औसतमा ६० प्रतिशतसम्म खस्किएको बताउँछन् । उनका अनुसार राम्रै चलिरहेका उद्योग पनि ५०/६० प्रतिशतको क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् । ‘अधिकांश उद्योगले उत्पादन युनिट बन्द गरेका छन् । बजारमा माग छैन । बजार विगतको तुलनामा राम्रै खस्किएको छ,’ उनले भने । महासचिव उप्रेतीका अनुसार अहिले सिमेन्ट निर्यात पनि हुन सकेको छैन । ‘एक दुई उद्योगले निर्यात गर्थे । तर, ती उद्यागको पनि सर्टिफिकेट सकिनै लागेको छ । भारतले निर्यातका लागि त्यहाँको सरकारबाट गुणस्तर प्रमाणीकरण प्रमाणपत्र दिन सकेको छैन,’ उनले भने । गत आवमा ३ अर्ब ८५ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । गत आवमा २८ लाख ३९ हजार टन सिमेन्ट तथा क्लिङ्कर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमा ५ लाख सात हजार टन क्लिङ्कर २३ लाख ३२ हजार टन सिमेन्ट रहेको छ । अघिल्लो आवमा ७७ करोड ९३ लाख बराबरको १० लाख चार हजार टन मात्र सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको थियो । नेपाली सिमेन्ट उद्योगसँग वार्षिक तीन खर्ब रुपैयाँ बराबरको उत्पादन क्षमता छ । अहिले नेपालमा करिब एक खर्ब रुपैयाँ बराबरको सिमेन्ट उत्पादन भइरहेको उद्योगी बताउँछन् । तर, उत्पादन भएको सिमेन्ट बजारले माग गरिरहेको छैन । उत्पादन भएको सिमेन्टले पनि बजार नपाउँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न चुनौती भइरहेको उद्योगीहरू बताउँछन् । विश्व महामारीका रूपमा फैलिएको कोभिड-१९ पछि देशको अर्थतन्त्र सुस्त बन्दा सिमेन्ट उद्योग त्यसको प्रत्यक्ष मारमा परेको तथ्यांकबाट प्रष्ट हुन सकिन्छ । अर्थतन्त्र सिथिल बन्दा र बजारमा निर्माणजन्य काम नहुँदा सिमेन्टको माग हुन सकेन र परिणामस्वरूप उद्योगहरू संकटमा फस्दै गएका हुन् । अघिल्लो आव ६० अर्ब बढी कारोबार गरेका यी उद्योगले गत वर्षको मध्यसम्म त्यसको आधा अर्थात् ३० अर्बको हाराहारीमा मात्रै व्यापार गरेका छन् । यो एक वर्षको अवधिमा यी सिमेन्ट उद्योगको व्यापार ५०.८० प्रतिशत घटेको तथ्यांकले देखाउँछ । ८४ अर्ब ऋणका लागि रेटिङ सिमेन्ट उद्योगहरूले ऋणका लागि पनि धमाधम रेटिङ गराउन थालेका छन् । हालसम्म डेढ दर्जन उद्योगले ऋणका लागि रेटिङ गराएका छन् । आव २०८०/८१ मा डेढ दर्जन सिमेन्ट उद्योगले ८४ अर्ब ऋणका लागि रेटिङ गराएका हुन् । तथ्यांकअनुसार बृज सिमेन्टले साढे ८९ करोड, सर्वोत्तमले ४ अर्ब २६ करोड, सीजीले १३ अर्ब, शिवमले ३ अर्ब २० करोड, होङ्शीले २ अर्ब ३२ करोड र अर्घाखाँचीले साढे ४ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । पाल्पा सिमेन्टले ७२ करोड, मारुतीले पौने ७ अर्ब, जगदम्बाले १ अर्ब २३ करोड, काबेलीले ५९ करोड, भूगर्भले २ अर्ब २५ करोड, अग्निले ८८ करोड, शुभ श्रीले साढे ५ अर्ब, सप्तकोशीले १ अर्ब १२ करोड, सम्राटले १२ अर्ब, सोनापुरले ७ अर्ब र घोराहीले १० अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।
एनपीएल : क्रिकेटमा छिरे ठूला व्यवसायी, सुस्ताएकाे अर्थतन्त्र चलायमान हुने विश्वास
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ गतेदेखि आयोजना गर्ने नेपाल प्रिमियम लिग (एनपीएल)को माहोलले यतिखेर देश तातेको छ । नेपालीहरूको महान पर्व दशैंसँगै क्रिकेटको पर्वले पनि खेलाडी, खेलप्रेमी र खेल शुभचिन्तकहरूमा एक किसिमको तंरग सिर्जना गरेको छ । आइतबार भएको एनपीएल अक्सनले धेरैलाई उत्साह मात्रै थपेको छैन, इण्डियन प्रिमियर लिग (आईपीएल)को झल्कोसमेत दिएको छ । कुनै बेला पारिश्रमिकको लागि तड्पिने नेपाली खेलाडीहरू अहिले बोलकबोलमा बिक्री भइरहेका छन् । खेलाडीहरू एकपछि अर्को खेलमा व्यस्त भइरहेका छन् । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलले देशभर क्रिकेटमयको धुन गुञ्जायमान गरिरहेको छ । कुनैबेला कसैको नजरमा नपर्ने क्रिकेट यतिखेर ठूल्ठला उद्योगी व्यवसायीको नजरमा छ । आइतबार भएको एनपीएलको अक्सनमा ८ वटा टिमका लागि ८० खेलाडी बिक्री भए । अक्सनमार्फत् ८ वटै टोलीले १०/१० खेलाडी अनुबन्ध गरे । अक्सनमा १२ खेलाडी उच्च मूल्य १५ लाख रुपैयाँमा बिक्री भए । मार्की खेलाडीसहित सबै टिममा खेलाडीको संख्या ११ पुगेको छ । खेलाडी र टीम किन्न २२ करोड खर्च आइतबार भएको एनपिएलको अक्सनमा फ्रेन्चाइज टोलीले करिब ६करोड रुपैयाँ खेलाडी खरिद गर्न खर्च गरे । ८० खेलाडी खरिद गर्दा ८ वटा टिमले करिब ६ करोड रुपैयाँ खर्च गरेका हुन् । ५ करोड ८२ लाख रुपैयाा खर्च गरेको छ । टिम मालिक टिम खरिदका लागि पनि १६ करोड ८७ लाख रुपैयाँ खर्च गरेका छन् । लुम्बिनी लायन्स अक्सनमा सबैभन्दा महँगो टोली लुम्बिनी लायन्स बनेको छ । यस टिमले खेलाडी खरिद गर्नका लागि ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जसको मार्की प्लेयर कप्तान रोहित पौडेल हुन् । खेलाडीको अक्सनका लागि हरेक टोलीलाई ९० लाख रुपैयाँको सिमा तोकिएको थियो । यस टिमले सूर्य तामाङ, सन्दिप जोरा र विवेक यादवलाई १५/१५ लाखमा खरिद गरेको छ भने आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १०/१० लाखमा किनेको छ । लुम्बिनीले, दुर्गेश गुप्तालाई ८ लाख, अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार तथा विकास आग्री र अभिषेक गौतमलाई २/२ लाखमा अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सको स्वामित्व फोर्चुना हेल्थ केयरमा रहेको छ । यो टिमको मूल्य १ करोड ८६ लाख रुपैयाँ हो । यो टिमको टिम मालिक ईश्वर जिसी हुन् । जिसीले अनुबन्ध कार्यक्रममा क्रिकेट त देशलाई माया गर्ने एउटा आधार भएको बताएका छन् । उनले लुम्बिनीलाई लुम्बिनी गौतम बुद्धको घरमात्र नभएर क्रिकेटको पनि एउटा घर हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार क्रिकेटसँगै पर्यटन, रोजगारको पनि प्रयास हुनेछ । पोखरा एभेन्जर्स एनपीएलको अक्सनमा दोस्रो महँगो टोली पोखरा एभेन्जर्स बनेको छ । जसले १० खेलाडीका लागि ८० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यो टिमको मार्की प्लेयर कुशल भुर्तेल हुन् । पोखराले ए ग्रेडका खेलाडी सागर ढकाललाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने पोखराले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथलाई १०/१० लाख तथा तृतराज दास र सुनम गौतमलाई समान ५ लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई २/२ लाखमा अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी-२० प्रालिमा छ । जसले ३ करोड ५७ लाखमा खरिद गरेको हो । यसको टिम मालिक सुबोध त्रिपाठी र मनोबल श्रेष्ठ हुन् । जनकपुर बोल्ट्स आइतबार भएको अक्सनमा जनकपुर बोल्ट्स तेस्रो महँगो टिम बनेको छ । जसले १० वटा खेलाडी खरिद गर्नका लागि ७९ लाख २५ हजार खर्च गरेको छ । यस टिमको मार्की खेलाडी आसिफ शेख हुन् । यस टिमले अनिल कुमार साह र ललितनारायण राजवंशीलाई १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जनकपुरले रूपेश सिंह, आकाश त्रिपाठी र किशोर महतोलाई १०/१० लाख रुपैयाँमा खरिद गरेको छ भने शुभ कंसकार, शेर मल्ल र हेमन्त धामीलाई ५/५ लाख तथा अरनिकोप्रसाद यादवलाई साढे २ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । जनकपुर बोल्ट्सको स्वामित्व ड्रिम स्पोर्ट्समा छ । यस टिमको मुल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ । यस टिमको मालिक अमित श्रेष्ठ हुन् । चितवन राइनोज चितवन राइनोजले १० वटा खेलाडी खरिद गर्नका लागि ५३ लाख रुपैयाँ खर्च गरेको छ । यस टिमको मार्की प्लेयर कुशल मल्ल हुन् । चितवन राइनोजले अक्सनमार्फत १५ लाख रुपैयाँमा कुनै पनि खेलाडी भित्र्याउन सकेन । चितवनले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषवाकरलाई १०/१० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवनले विपिन रावललाई ८ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला र दीपक बोहरालाई ५/५ लाख तथा रञ्जित कुमारलाई ३ लाख र गौतम केसीलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेजमा छ । जसको मालिकको रुपमा हरिशचन्द्र न्यौपाने, आयुश न्यौपाने रहेका छन् । उनीहरुले अक्सनमा १ करोड ७६ लाख रुपैयाँमा खरिद गरेका हुन् । चितवन राइनोजका मालिक आयुश न्यौपानेले अक्सन कार्यक्रममा आफूहरू स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व रहेकोले खेलकुद र स्वास्थ्य एकअर्काका परिपूरक रहेको बताएका छन् । विराटनगर किङ्स विराटनगर किङ्सले खेलाडी खरिद गर्न ६६ लाख रुपैयाँ खर्च गरेको छ । यस टिमको मार्की प्लेयर सन्दिप लामिछाने हुन् । यस टिमले प्रतिस जिसी र लोकेश बमलाई १५/१५ लाख रुपैयाँमा खरिद गरेको छ । विराटनगरले राजेश पुलामी मगर र बसिर अहमदलाई १०/१० लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई ५/५ लाख रुपैयाँमा खरिद गरेको छ । विराटनगरले सुभाष भण्डारीलाई साढे २ लाख, नरेन भट्ट र मिर्नल गुरुङलाई २/२ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । विराटनगर किङ्सको स्वामित्व एमएडी ड्रिम स्पोर्ट्समा छ । जसको मालिक पारस लुनिया हुन् । यस टिमले १ करोड ५१ लख रुपैयाँमा खरिद गरेको हो । लुनियाले देशमा क्रिकेको विकासका लागि आफूले लगानी गरेको बताएका छन् । सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्सले खेलाडी खरिद गर्न ७४ लाख रुपैयाँ खर्च गरेको छ । जसको मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले अक्सनबाट आरिफ शेखलाई सर्वाधिक १५ लाख रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । सुदूरपश्चिमले अविनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, ईशान पाण्डेलाई साढे ९ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने अर्जुन कुमाललाई साढे ७ लाख र खडक बोहरा तथा नरेश बुढा ऐरलाई ५/५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले भोजराज भट्टलाई साढे ४ लाख, अमित श्रेष्ठलाई ३ लाख ५० हजार तथा नरेन साउदलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । सुदूरपश्चिम रोयलसको स्वामित्व इम्पायर स्पोर्ट्समा रहेको छ । जसले १ करोड ६८ लाख रुपैयाँमा खरिद गरेको हो । जसको मालिक स्वतन्त्रप्रताप शाह हुन् । अक्सन कार्यक्रममा बोल्दै शाहले क्रिकेटलाई पेसा बनाउँछु भन्ने सोच भएकालाई राम्रो प्लेटफर्म रहेको धारणा राखे । शाहले एउटा टिमले एनपीएलमा १५ देखि २० करोड रुपैयाँसम्म खर्च गर्ने बताएका छन् । यो आधारमा कर्णाली याक्स कर्णाली याक्सले पनि ७४ लाख रुपैयाँ खर्च गरेर खेलाडी खरिद गरेको छ । सोमपाल कामी मार्की प्लेयर रहेको कर्णालीले अक्सनमा गुल्सन कुमार झालाइै सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गर्यो । गुल्सनका लागि ८ वटै टिमबीच प्रतिस्पर्धा भएको थियो । कर्णालीले नन्दन यादवलाई ११ लाख, मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई १०/१० लाख, रित गौतम र भुवन कार्कीलाई ५/५ लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई समान तीन लाख र युनिसविक्रम सिंहलाई २ लाख रुपैयाँमा खरिद गरेको छ । कर्णाली याक्सको मालिक हिमालयन बिल्डर्स इन्जिनियर्स हो । जसको नेतृत्व झनक दत्त खनाल र गृहेन्द्र घिमिरेले गरेका छन् । यो टिमको अक्सन मूल्य १ करोड ११ लाख रुपैयाँ हो । यस टिमका मालिक गृहेन्द्र घिमिरेले क्रिकेटमा आफूहरूले सम्भावना देखेर लगानी गरेको धारणा राखेका छन् । ‘हामी निर्माण क्षेत्रमा काम गरिरहेकाहरू क्रिकेटमा किन भनेर प्रश्न पनि उठ्न सक्छ । तर, जबसम्म निजी क्षेत्रले खेलकुद व्यावसायिक पार्न मद्दत गर्न सक्दैन, त्यो खेलले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन,’ उनले भनेका छन् । काठमाडौं गुर्खाज काठमाडौं गुर्खाजले ७० लाख ५० हजारमा खेलाडी खरिद गरेको छ । करण केसी मार्की प्लेयर रहेको काठमाडौं गुर्खाजले अक्सनमार्फत् साहब आलम र भीम सार्कीलाई सर्वाधिक १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । काठमाडौंले राशिद खानलाई १० लाख, शंकर रानालाई साढे ९ लाख, दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई ५÷५ लाख रुपैयाँमा खरिद गरेको छ । यस्तै, राजु रिजाल, विवेक केसी, र प्रतीक श्रेष्ठलाई काठमाडौंले २/२ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाडौं गुर्खाजको मालिक कान्तिपुर मिडिया ग्रुप हो । काठमाडौं गुर्खाज मालिक टिमको नेतृत्व कैशाश सिरोहा, उपेन्द्र महतो र अरुण सरार्फले गरेका छन् । कान्तिपुरले टिम अक्सनमा खर्चेको ३ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ । टिम अक्सनमा बोल्दै काठमाडौं गुर्खाजका मालिक उपेन्द्र महतोले अब नेपाली क्रिकेट व्यावसायिक रूपमा अगाडि बढेको बताएका थिए । उनले आजका दिनसम्म नेपाली क्रिकेट लगानीको अभावमा रहेको बताउँदै अबदेखि व्यवसायीहरू पनि क्रिकेटमा लगानी गर्न तयार रहेको धारणा राखेका थिए । क्यानका सचिव भन्छन् : विश्वको ध्यान नेपालमा छ नेपाल क्रिकेट संघका सचिव पारस खड्काले अहिले विश्वको ध्यान नेपाली क्रिकेटमा रहेको बताएका छन् । उनले एनपीएलले अब नेपालका खेलाडीले आफ्नो क्षमता देखाएर विश्वको ध्यान तान्न सफल हुनेमा विश्वास व्यक्त गरे । उनका अनुसार एनपीएलले ‘रेभिन्यू जेनरेट’मा पनि ठूलो भूमिका खेल्ने बताए । ‘एनपीएलले अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्नेछ, देशलाई खेलकुदबाट एकिकृत गर्नका लागि पनि एनपीएलले महत्वपूर्ण भूमिका खेल्नेछ, खेलाडीले खेलमा आफ्नो भविष्य सुरक्षित छ भन्ने महसुस गर्नका लागि पनि एनपीएलले भूमिका खेल्नेछ,’ उनले भने । उनले एनपीएल महान पर्व भएको धारणा राखे । उनले सबै खेलप्रेमी र खेलका शुभचिन्तकलाई पनि खेलमा सहभागी भएर साथ दिन आग्रह गरे । पछिल्लो समय देशको अर्थतन्त्र त्यति सन्तोषजनक छैन । यो समयमा एनपीएल हुनुले देशको अर्थतन्त्र केही हदमा भएपनि चलायमान हुने विश्वास गरिएको छ । नेपाली खेलाडीको अक्सनबाट टुङ्गो लागि सकेपनि विदेशी खेलाडीलाई भने खेलमा अनुबन्ध गर्न बाँकी नै छ । विदेशबाट पनि तीन दर्जन बढी विदेशी खेलाडी आईपीएल खेल्न आउने छन् । अब टिमहरूले विदेशी खेलाडीलाई भित्र्याउने पनि तयारी थालेका छन् । एउटा टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने नियम क्यानले बनाएको छ । यसले पनि नेपालको पर्यटनमा थप टेवा पुग्नेछ ।
विष्णुको विवेक र सेयर बजारमाथिको छेडखानी
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा पुगेर सेयर बजारप्रति चिन्ता व्यक्त गरे । उनले नेप्सेका कर्मचारीलाई सेयर बजार निरन्तर किन घटिरहेको छ ? भन्ने प्रश्न मात्रै गरेनन्, बजारमा चलखेल गर्नेलाई कानूनी कारबाही हुने चेतावनीसमेत दिएर फर्किए । जम्बो टोलीसहित नेप्सेमा पुगेका अर्थमन्त्री पौडेलले सेयर बजारमा किन उतारचढाव आइरहेको छ ? ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम कसरी चार/पाँच अर्बमा झर्याे ? ३ हजार सिमा पार गरेको नेप्से इन्डेक्स २५ सयमा कसरी ओर्लियो ? बैंकको ब्याजदर घट्दा पनि यो किसिमको गिरावट सेयर बजारमा किन आइरहेको छ ? उनले यी र यस्तै प्रश्न र जिज्ञासाहरूको भारी नेप्सेका कर्मचारीहरूसामू बिसाए । उनले प्रश्नहरू मात्रै गरेनन्, आफ्नो अनभिज्ञता र अञ्जानपन ‘ब्यूरोक्रेसी’सामू छर्लङ्ग पारे । सेयर बजारमा यसरी किन उतारचढाव भइरहेको छ भन्ने विषयले आफ्नो मनमा अनेक कुरा खेलिरहने पनि उनले कर्मचारीसँग ‘सेयर’ गरे । उनले आफूले पुँजीबजारलाई संवेदनशील तरिकाले हेरेको प्रष्ट्याए । सुरुमा विश्लेषण गरौं अर्थमन्त्री पौडेलका प्रश्नहरूको । उनले कर्मचारीसँग पहिलो प्रश्न गरेका छन्- सेयर बजारमा किन उतारचढाव आइरहेको छ ? सेयर बजारमा हुने उतारचढाव वा सेयर मूल्यमा हुने घटबढ भनेको सेयर बजारको सामान्य र नियमित लक्षण हो । आज बढेको सेयर बजार भोलि घट्न सक्छ । भोलि घट्ने बजार पर्सि बढ्न सक्छ । जसरी मान्छेको मुटु ‘ढुकढुक’ चल्छ, स्वस्थ्य मानिसको ई सीजी रिपाेर्टमा तलमाथि देखिन्छ, त्यसरी नै सेयरमा पनि उतारचढाव हुन्छ । उतारचढावबिनाको सेयर बजारको परिकल्पना पनि गर्न सकिँदैन । उचारचढाव नै सेयर बजारको सुन्दरता, विशेषता र गुण हो । अब कुरा गरौं दोस्रो र तेस्रो प्रश्नको । अर्थमन्त्री पौडेलले कर्मचारीहरूसँग सोधका छन्- ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम चार/पाँच अर्बमा कसरी झर्याे ? ३ हजार सिमा पार गरेको नेप्से इन्डेक्स २५ सयमा कसरी ओर्लियो ? उनले थाहा पाउनु पर्ने विषय के हो भने सेयर बजार माग र आपूर्तिमा चल्छ । जब सेयर बजारमा सेयरको उच्च माग हुन्छ, त्यसले मूल्य बढ्छ र जब माग हुँदैन त्यसपछि सेयर मूल्य र बजार पनि घट्न थाल्छ । माग र आपूर्ति अर्थात् ‘डिमाण्ड एण्ड सप्लाई’ सेयर बजारका अपरिहार्य सिद्धान्त र चक्र हुन् । माग र आपूर्तिकै आधारमा कम्पनीको सेयर मूल्य र समग्र सेयर बजार घटबढ हुन्छ । २०८० सालभरि दैनिक सेयर कारोबार ६०/७० करोड थियो । २०८१ सालपछि सेयर कारोबार वृद्धि हुँदै दैनिक ३० अर्बसम्मको कारोबार भएको हो । दैनिक ६० करोडको कारोबार ३० अर्ब पुग्नु पनि गलत थिएन । दैनिक ३० अर्बको कारोबार ५ अर्बमा झर्नु पनि गलत होइन । ३ हजार पार गरेको नेप्से इन्डेक्स २५ सय बिन्दुमा झर्नु नौलो विषय होइन । अन्तर्राष्ट्रिय सेयर बजारमा पनि यस्ता किसिमका उतारचढाव आइरहन्छन् । यो सामान्य विषय हो । त्यसैले पनि सेयर बजारका विज्ञ र विश्लेषकहरूले यसलाई लगानीको लागि जोखिमयुक्त क्षेत्रका रूपमा परिभाषित र किटान गरेका हुन् । अर्थमन्त्री पौडेलले अर्को प्रश्न गरेका छन्- बैंकको ब्याजदर घट्दा पनि सेयर बजारमा किन गिरावट आइरहेको छ ? पौडेलले बुझ्नुपर्ने र मनन गर्नुपर्ने विषय भनेको सेयर बजार बैंकको ब्याजदर घटबढले मात्रै प्रभावित हुँदैन । देशको अर्थतन्त्र, नेप्सेमा सूचीकृत कम्पनीको वित्तीय अवस्था र प्रतिफल, वैदेशिक लगानी, सरकारको नीति निर्देशन र कार्यप्रस्तुति, राजनीतिक स्थिरता तथा अस्थिरता र लगानीकर्ताको मनोविज्ञानले बजार घटबढमा महत्त्वपूर्ण प्रभाव पार्छ । सरकारले नीति निर्माण र डेलिभरीमा कत्तिको पारदर्शीता अपनाइरहेको छ भन्ने विषयले पनि यसमा महत्त्व राख्छ । यी विविध पक्षहरूको विश्लेषण गरेर लगानीकर्ताले लगानी गर्छन् । जब लगानीकर्ताले यी विषयवस्तुमा सन्तुलन र सन्तोष महसुस गर्छन्, त्यसपछि लगानीका लागि तयार हुन्छन् । जब माथि उल्लेखित पक्षहरू कमजोर बन्छन्, सरकारले नीति नियम तथा निर्देशनमा पारदर्शीता अपनाउँदैन भने लगानीकर्ताले लगानी पनि झिक्ने अवस्था सिर्जना हुन्छ र एकाएक बजारमा गिरावट मात्रै आउँदैन, पहिरो र बाढी नै आउन सक्छ । सरकारप्रति लगानीकर्ताको विश्वास गुम्छ । र, सिर्जना हुन्छ अर्थमन्त्री नै एउटा कार्यालयमै पुगेर बजार किन घटिरहेको छ भन्नुपर्ने अवस्था । अर्थमन्त्री पौडेलले नेप्सेको कार्यालयमै पुगेर आफू सेयर बजारप्रति सकारात्मक र संवेदनशील रहेको सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । तर, देशको अर्थमन्त्री सेयर बजारको कार्यालयमा पुगेर बजार किन घट्यो ? कसरी घट्यो ? घटाउनेलाई कारबाही गर्छु भन्ने अभिव्यक्ति दिनु कत्तिको जायज हो ? जम्बो टोलीसहित कार्यालयमा पुगेर कर्मचारीसँग छेडखानी गर्नु कत्तिको उचित हो ? आफ्नै लय र सन्तुलित ढंगबाट चलिरहेको सेयर बजारलाई देशको अर्थमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गरेर बजार बढाउन चाहेको सन्देश प्रवाह गर्न खोज्नु कत्तिको मनासिब हो ? हो, देशको नेतृत्वले पब्लिकलाई सकारात्मक सन्देश प्रवाह गर्न आतुर हुनुपर्छ । त्यो पनि नीतिगत रूपमा । तर, हचुवाको भरमा प्रभावित पार्ने किसिमका अभिव्यक्ति दिनुहुँदैन । नेप्से इन्डेक्स ३२ सय पार गरेको बेला ‘केक काट्छु’ भन्ने किसिमका सतही सौदाबाजी र दलालीमा सरकारको नेतृत्व लाग्नु हुँदैन । बरु लगानीकर्ताले के चाहिरहेका छन् ? सरकार कहाँ चुकिरहेको छ ? नीतिगत अस्थिरता र कानूनी छिद्रहरूलाई पुरेर कानूनी स्थिरता कायम गर्नतर्फ सरकार र सरकारी संयन्त्रहरू लाग्नुपर्छ । त्यसतर्फ अर्थमन्त्री पौडेलले कति काम गरेका छन् ? कति ध्यान दिएका छन् ? यसको जवाफ उनैसँग छ । ठूला दुई राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि लगानीकर्ता र आम सर्वसाधारणमा आशाको सञ्चार प्रवाह भएको थियो । लगानीकर्ताले पनि अब देशमा स्थिर सरकार बन्ने भयो भन्दै हौसिदै लगानी गरे । परिणामतः बजार पनि बढ्यो । तर, दुई ठूला दल मिलेको परिणाम र प्रतिफल लगानीकर्ताले पाएनन्, भेट्टाएनन् । परिणामस्वरूप अहिले बजार घटेको हो । सेयर बजार किन घटिरहेको छ ? कारोबार रकममा किन निरन्तर गिरावट आइरहेको छ ? भन्ने प्रश्नको जवाफ खोज्नुअघि अर्थमन्त्री पाैडेलले आफ्नो काम कारबाही र कार्यशैलीको मूल्यांकन, समीक्षा, मापन र विवेचना गर्न आवश्यक छ । विगत १० महिनादेखि पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले नेतृत्व पाउन सकेको छैन । लामो समयदेखि नेप्सेको पुर्नरसंरचना गर्नुपर्ने विषय उठान भइरहेको छ । यसतर्फ सरकारले कुनै चासो दिन सकेको छैन । नेप्सेमा सर्वसाधारण र विदेशी लगानीकर्ता भित्र्याउने विषय कागजमै सीमित छ । प्राथमिक सेयर निष्काशन (आईपीओ) सार्वजनिक गर्ने भनेर लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूले निकास पाउन सकेका छैनन् । प्रिमियममा सेयर निष्काशन गर्ने तयारी गरेका कम्पनीमाथि सरकारी तवरबाटै अनेक किसिमका प्रहार र दुःख दिने काम भइरहेका छन् । यस्ता खालका विविध समस्या र अवरोधहरूलाई नजरअन्दाज गर्दै नेप्से कार्यालयमा पुगेर सेयर बजार किन घट्यो भन्ने प्रश्न गर्ने आँट अर्थमन्त्री पौडेललाई कसरी आयो ? अर्थमन्त्री बनेपछि पौडेलले सेयर बजारको सुधारका लागि के-के काम गरे ? लगानीकर्ताको हित हुने नीति निर्देश कति गरे ? नियामक तथा सेयर बजार सम्बन्धित कार्यालयको प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिमा उनले के कति काम गरे ? आफू मातहतका निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउका लागि उनले के कति नीतिगत व्यवस्था गरे ? भ्रष्टाचार, आर्थिक अनियमितता र नीतिगत अस्थिरता रोक्न कति पहल गरे ? वर्तमान समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल, पैरवी तथा अन्तरक्रिया कति गरे ? लगानीकर्ताले राखेका मागहरू कति सम्बोधन भए ? यी विषयहरूमा गम्भीर नबनेर अर्थमन्त्रीले सेयर बजार किन घटिरहेको छ भन्नु लज्जास्पद हो । ठूला दुई राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि लगानीकर्ता र आम सर्वसाधारणमा आशाको सञ्चार प्रवाह भएको थियो । लगानीकर्ताले पनि अब देशमा स्थिर सरकार बन्ने भयो भन्दै हौसिदै लगानी गरे । परिणामतः बजार पनि बढ्यो । तर, दुई ठूला दल मिलेको परिणाम र प्रतिफल लगानीकर्ताले पाएनन्, भेट्टाएनन् । परिणामस्वरूप अहिले बजार घटेको हो । न कसैले बजार घटायो, न त कसैले ठूलो चलखेल गर्याे । लगानीकर्ताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन । कम्पनीहरूले लगानीकर्तालाई प्रतिफल दिन सकेनन् । देशको अर्थतन्त्रमा देखिएको मन्दीको तुसारो हट्ने छाँटकाँट लगानीकर्ताले देखेनन् । उनीहरू सेयर बिक्री गरेर फेरि फर्किएनन् । र, सेयर बजार घट्यो । भएको यत्ति हो । तर, अर्थमन्त्री पौडेलले तीलको पहाड सम्झे र निर्देशन दिन जम्बो टोलीसहित नेप्से कार्यालयमै पुगे । अर्थमन्त्री विष्णु पौडेलले गत भदौमा राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै दुइटा द्रुत गस्ती निरीक्षण टोली गठन गरे । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन गर्ने निर्णय भयो । आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने विभिन्न निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेगरी दुई टोलीलाई पूर्व–पश्चिम परिचालन गरियो । तर, यसलाई धेरैले असुल गर्ने धन्दाका रूपमा बुझेका छन् । पूर्वको झापा र ताप्लेजङुदेखि पश्चिमको कञ्चनपुर र दार्चुलासम्म सरकारका आफ्नै सरकारी संयन्त्रहरू छन् । भन्सार कार्यालयहरू छन् । हजारौं कर्मचारीहरू छन् । वर्षौंदेखि तिनै संयन्त्रहरूले काम गर्दै आएका छन् । कुनै कमजोरी भइरहको छ भने सच्याउने हो, त्यहाँका कर्मचारीहरूमा प्राविधिक ज्ञान, सिप र क्षमता छैन भने सरकारले सिकाउने हो, क्षमता अभिवृद्धि गराउने हो । तर,चाडपर्वको मुखमा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली परिचालन गर्ने नाममा व्यवसायीलाई त्रसित, आतंकित र भय सिर्जना गर्ने काम गर्नु हुँदैन । राजस्व चुहावट गर्ने नाममा व्यवसायीलाई छेडखानी गर्ने प्रयास गर्नुले समग्र उद्योग व्यवसाय क्षेत्र तरंगित हुनुका साथै यसले देशको अर्थतन्त्रमै प्रभाव पार्न सक्ने सम्भावना रहन्छ । हो, सरकारले राजस्व चुहावटका लागि काम गर्नु प्रशंसनीय छ । तर, चाडपर्वकै मुखमै मात्रै केन्द्रबाट टीम परिचालन गरेर काम गरेजस्तो देखाउनुले न राजस्व चुहावट रोकिन्छ, न त देशमा सम्वृद्धि आउँछ । सम्वृद्धि त केवल तिनै चाडपर्वको बेला भन्सार नाकाहरूमा खटिनेहरूको परिवारमा आउँछ ।