विकासन्युज

अधिकांश बैंकले माघमा पनि घटाए ब्याजदर, प्राइमले बढायो

काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर औसत ४.६८ प्रतिशतमा झरेको छ । जबकि पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत थियो । यस्तै, माघमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.३८ प्रतिशतमा झरेको छ । यसअघि पुसमा संस्थागततर्फ औसत ३.३७ प्रतिशत ब्याजदर थियो । माघ महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, प्राइम बैंकले भने माघमा ब्याजदर बढाएको छ ।  कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  यस्तै, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । प्राइम बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ  । जबकि पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तर, बैंकले संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ । 

यस्तो छ बुधबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एसबीआई बैंकको सिन्धुली शाखामा ३ करोड ११ लाख लुटपाट, सुरक्षागार्डमाथि खुकुरी प्रहार

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार (हिजो) साँझ लुटपाट भएको छ । बैंकका एक उच्च अधिकारीका अनुसार साँझ करिब साढे ६ बजेतिर एक समूहले बैंक शाखामा प्रवेश गरी लुटपाट गरेको हो । लुटपाटमा संलग्न समूहले ठूलो रकम लुटेको प्रारम्भिक जानकारी आएको बैंकका उच्च अधिकारीले बताए । उनका अनुसार प्रारम्भिक विवरणअनुसार करिब ३ करोड ११ लाख रुपैयाँ लुटिएको छ । यद्यपि लुटेराले लुटपाटकै क्रममा १ करोड ८० लाख रुपैयाँ फालेको र उक्त रकम फेला परिसकेको उनको भनाइ छ । घटनापछि मंगलबार राति नै बैंकको केन्द्रीय कार्यालयबाट बागमती प्रदेशका प्रमुख सुशील श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको र बिहान करिब ४ बजे त्यहाँ पुगिसकेको उनले बताए । घटनाको यथार्थ विवरण संकलन तथा औपचारिक रिपोर्टिङको प्रक्रिया जारी रहेको उनको भनाइ छ । लुटपाटमा प्रयोग गरिएको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बैंकका उच्च अधिकारीले बताए । लुटपाटका क्रममा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको छ । गार्ड घाइते भए पनि अवस्था गम्भीर नभएको उनले बताए । बैंकका अन्य कर्मचारीलाई भने कुनै शारीरिक क्षति नभएको उनले बताए । लुटेराले केहीबेर कर्मचारीहरूलाई नियन्त्रणमा लिएर कोठाभित्र डोरीले बाँधेर राखेको भए पनि हाल सबै कर्मचारी सुरक्षित रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान तथा चेकजाँच भइरहेको उनले बताए । 

व्यवसाय र उद्योगको रोग निको बनाउन उद्यम क्लिनिक

काठमाडौं । उद्यमका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ पोखरामा मंगलबारदेखि उद्यम क्लिनिक सुरु गरिएको छ । पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा क्लिनिक सुरु गरिएको औपचारिक घोषणा गरेको हो । व्यवसायमा आउने समस्याको समाधानका लागि क्लिनिक सञ्चालन गरिने व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । ‘मानिसलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने भन्ने सन्दर्भमा उद्यम क्लिनिक स्थापना गरिएको हो । यसले उद्यमका क्षेत्रमा देखिएका अवरोध वा रोग हटाई त्यसलाई स्वस्थ बनाउने काम गर्दछ,’ उनले भने ।  अधिकारीका अनुसार उद्यममा देखिएका समस्याको सङ्कलन पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घमार्फत गरिन्छ भने त्यसको पहिचान र निराकरण विज्ञ समूहमार्फत गरिने छ । विज्ञ समूह ल्याउनका लागि पोखरा रिसर्च सेन्टरसँग सम्झौता गरिएको बताउँदै उद्यमका जुन विषयमा समस्या आएको छ त्यससँग सम्बन्धित विज्ञ सेन्टरले ल्याउने उनले जानकारी दिए ।  पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा रिसर्च सेन्टरका सुजन रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम लगायतले उद्यम क्षेत्रका समस्याको समाधानका लागि क्लिनिक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

विएस धवलागिरिलाई १० हजार र सिन्धु मेटेरियल्सलाई १५ हजार जरिवाना

काठमाडौं । नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुमगन गर्दै आएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुमगन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारवाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।

काठमाडौंका यी क्षेत्रमा आज बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११:३० बजेदेखि अपरान्ह १:३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११:३० बजेदेखि अपरान्ह १ बजेसम्म बिजुली कटौती हुनेछ । यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोल लगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ । 

८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हर्जाना तिराएर सम्पन्न

काठमाडौं । तोकिएको समयमा निर्माण सम्पन्न नभएका कञ्चनपुरका ४ वटा पुल ८ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि ८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेश कुमार यादवले जानकारी दिए । उनका अनुसार ३ पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभीसँग ५ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ‘उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ,’ प्रमुख यादवले भने, ‘यसरी वर्षौदेखि अलपत्र परेका कञ्चनपुरका ४ वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ ।’ सम्झौताको ९ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको ९ वर्षपछि काम सकिएको प्रमुख यादवले बताए । ‘पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । २-३ दिनभित्रै उक्त काम सम्पन्न हुन्छ । पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो,’ उनले भने ।  त्यसैगरी ५ पटक म्याद थप भएर निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालामाथिको पुल हालै सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७४ वैशाख १४ गते शङ्कर-माली एकेला जेभीसँग ४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यस्तै बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ । विसं २०७४ जेठमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी राजेन्द्र-लुम्बिनी जेभीसँग १३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भने, ‘समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएर समेत निर्माण सम्पन्न गरेका छौँ ।’

माछापुच्छ्रे बैंक र टेनपेबीच सम्झौता भएपछि चिनियाँ पर्यटकलाई नेपालमा डिजिटल भुक्तानी सहज

काठमाडाैं । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले टेनपे पेमेन्टसँग सम्झाैता गरेको छ ।  टेनपे पेमेन्ट चीनमा ह्वीच्याट पे सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।  उक्त सम्झौतापश्चात माछापुच्छ्रे बैंकले ह्वीच्याट पेको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ । जसअन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा सीएनवाई प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँमा रकम प्राप्त गर्नेछन् ।  यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।  यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै उक्त सम्झौताले वित्तीय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।