विकासन्युज

काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु

काठमाडौं । काठमाडौंको सोसियस ग्यालरीमा ऊनबाट निर्मित सामग्री (फेल्ट) मा आधारित कला प्रदर्शनी ‘सुसम्झना’ शुरु भएको छ ।  फेल्ट एण्ड स्पेस कम्पनी र काठमाडौं विश्वविद्यालय (केयू) को ‘क्राफ्ट एन्ड डिजाइन’ विभागका विद्यार्थीको सहकार्यमा सञ्चालित साढे दुई महिना लामो ‘फेल्ट फेलोसिप प्रोग्राम’को समापनसँगै यो प्रदर्शनी आयोजना गरिएको हो ।  सोसियस ग्यालरीका प्रतिनिधि सफल श्रेष्ठकाअनुसार वर्तमान समयको उपभोक्तावादी संस्कृतिभन्दा भिन्न शैलीमा ‘रिजेनेरेटिभ’ अर्थात् पुनरुत्थानशील अभ्यासलाई अगाडि बढाउने उद्देश्यले यो कार्यक्रमको परिकल्पना गरिएको थियो । फेल्ट कम्पनीसँगको सहकार्यपछि विद्यार्थीले सिकेका सीप र अनुभवलाई कलाका माध्यमबाट यस प्रदर्शनीमा प्रस्तुत गरिएको उनले बताए ।   प्रदर्शनीका बारेमा जानकारी दिँदै फेल्ट एण्ड स्पेसकी कृतिषा प्रजापतीले यो नेपालकै पहिलो ‘फेल्ट’मा मात्र आधारित कला प्रदर्शनी भएको दाबी गरिन् । उनले भनिन्, ‘हाम्रा कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले पूर्ण रूपमा ऊनबाट बनेको यो कला प्रदर्शनी शुरु गरिएको हो । ३० दिनसम्म चल्ने यस कार्यक्रममा प्रदर्शनीका साथै नयाँ उत्पादनहरूको पनि सार्वजनिक (प्रोडक्ट लन्च)गरिएको छ । यी उत्पादनहरूले नेपालको पहिचान र कथालाई विश्वमाझ चिनाउने विश्वास लिएका छौँ ।’ प्रदर्शनीको अवलोकन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीले अध्ययनकै क्रममा व्यावसायिक गुणस्तरका कला सामग्री निर्माण गर्नु सकारात्मक पक्ष भएको बताइन्। उनले महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यमशीलता’ कार्यक्रम अन्तर्गत वडा नम्बर ३ र ४ मा फेल्ट सम्बन्धी तालिम भइरहेको जानकारी दिँदै ती प्रशिक्षार्थीहरूलाई यस्ता कलाकारहरूसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् । कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘आधारभूत तालिमबाट बनेका सामग्री र कलात्मक चेत भएका कलाकारले बनाएका सामग्रीमा धेरै भिन्नता हुन्छ । सिर्जनात्मक क्षेत्रमा नयाँ कुरा अन्वेषण गर्ने यस्ता स्थानले विद्यार्थीलाई थप ऊर्जा प्रदान गर्छ । केयू स्कुल अफ आर्टले विद्यार्थीलाई यसरी व्यावसायिक उत्पादनसँग जोड्नु प्रशंसनीय छ ।’ प्रदर्शनीमा राखिएका कलाकृतिहरूले फेल्टको परम्परागत उपयोगलाई आधुनिक कलासँग जोड्दै सृजनशीलताको नयाँ आयाम प्रस्तुत गरेका छन् । यो प्रदर्शनी आगामी एक महिनासम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।

गुनासो तत्काल समाधान गर्नू, नतिजा नागरिकले महसुस गर्नुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौं । कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रदेशस्तरीय छलफललाई तीव्रता दिएका छन् । कोशी प्रदेश भ्रमणका क्रममा मन्त्री श्रेष्ठले जनप्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक र वितरण कार्यालयका प्रमुख तथा कर्मचारीसँग छलफल गर्दै विद्युत् आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा, कर्मचारीका समस्या र विद्युत् खपत वृद्धि गर्न सकिने सम्भावनाबारे जानकारी लिएका छन् । उनले समस्या पहिचानसँगै समाधानका व्यावहारिक उपाय खोज्न सरोकारवालासँग अन्तरक्रिया गरेका हुन् । कोशी प्रदेशको विद्युत् वितरण प्रणालीको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नागरिकले नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने वातावरण बनाउन प्राधिकरणका कर्मचारीले विगतको भन्दा अझ बढी मेहनत गर्नुपर्ने बताए । उनले विद्युत् आपूर्तिमा समस्या देखिए लगत्तै समाधान गर्ने तथा प्राप्त गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रणाली विकास गर्न निर्देशन दिए । समयमै सूचना प्रवाह गर्ने र गुनासो आएपछि ढिलाइ नगरी समाधान गर्ने कार्यशैलीले जनविश्वास बढाउनुका साथै प्राधिकरणको सेवा प्रवाहप्रति नागरिकको धारणा सकारात्मक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले वितरण केन्द्रहरूले स्थानीय आवश्यकता र समस्याका आधारमा अघि सारेका रचनात्मक योजना तथा प्रस्तावलाई प्रादेशिक कार्यालयमार्फत प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए । योजना, बजेट र पूर्वाधार निर्माणका उपलब्धिभन्दा नागरिकले पाएको सेवाको गुणस्तरलाई कामको वास्तविक मूल्याङ्कनको आधार बनाउनुपर्नेमा उनले जोड दिए । ‘हामीले जतिसुकै काम गरे पनि अन्ततः जनताले नियमित र भरपर्दो विद्युत् प्राप्त भयो कि भएन भन्ने आधारमा मूल्याङ्कन गर्नुहुन्छ,’ उनले भने । सरकारले चालु आर्थिक वर्षमा प्रसारण तथा वितरण प्रणाली सुधारका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनका लागि सुरुदेखि नै स्पष्ट योजना बनाएर अघि बढ्न निर्देशन दिए । आर्थिक वर्षको अन्त्यमा मात्रै प्रगति खोज्नुभन्दा अहिलेबाटै आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई गति दिनुपर्ने उनले बताए । मन्त्री श्रेष्ठले विद्युत् उत्पादन विस्तारसँगै आन्तरिक खपत बढाउने रणनीतिलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । औद्योगिक तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउने पर्याप्त सम्भावना रहेकाले उद्योग, व्यवसाय तथा अन्य क्षेत्रमा विद्युत् उपयोग विस्तारका लागि विशेष कार्यक्रम बनाउनुपर्ने उनको भनाइ छ । कोशी प्रदेशमा विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्दै उनले आगामी दिनमा प्रसारण तथा वितरण पूर्वाधारसँग सम्बन्धित समस्या समाधान गर्न जनप्रतिनिधि र स्थानीय तहसँग सहकार्य बढाउन सुझाव दिए । कर्मचारीको मनोबल उच्च राख्दै क्षमता र दक्षताअनुसार काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताए । करार तथा ज्यालादारी कर्मचारीका सम्बन्धमा देखिएको अन्योल समाधान गर्न आवश्यक पहल भइरहेको जानकारी दिँदै उनले कर्मचारीको योगदान र कार्यसम्पादनअनुसार अवसरको वातावरण निर्माण गरिने बताए । प्राधिकरणमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा विकेन्द्रीकरणको अभ्यास सुरु गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रादेशिक कार्यालयले प्राप्त अधिकार, जिम्मेवारी र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताए । अधिकारसँगै जिम्मेवारी पनि बढेकाले त्यसको परिणाम नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले वितरण प्रणालीमा लक्षित सुधार गर्न सके दिगो र गुणस्तरीय विद्युत् सेवा प्रवाहमा उल्लेख्य परिणाम हासिल गर्न सकिने बताइन् । चुहावट नियन्त्रणमा कोशी प्रदेशले गरेको सुधारलाई सेवा प्रवाहमा पनि रूपान्तरण गर्नुपर्ने उनले बताइन् । नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले नागरिकको अपेक्षा उच्च भएकाले प्राधिकरणले आफ्नो कार्यसम्पादनको स्तर अझ माथि उठाउनुपर्ने बताए । प्राधिकरणले ठूलो मेहनत गरे पनि नागरिकले सेवा प्रवाहलाई विद्युत् कटौतीको स्थिति र आपूर्तिको नियमितताबाट मूल्याङ्कन गर्ने भएकाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । बजेट र अधिकारको विकेन्द्रीकरण भएको अवस्थामा प्रादेशिक कार्यालयहरू थप जिम्मेवार र परिणाममुखी हुनुपर्ने उनले बताए । प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले वितरण पूर्वाधार विस्तारसँगै नागरिकले प्राप्त गर्ने सेवाको गुणस्तरलाई केन्द्रमा राख्नुपर्ने बताए । औद्योगिक तथा घरायसी क्षेत्रमा उच्च विद्युत् खपत गर्ने प्रदेश भए पनि कोशीमा विद्युत् खपत अझै बढाउन सकिने सम्भावना रहेको उनले उल्लेख गरे । पोल गाड्ने, ट्रान्सफर्मर राख्ने तथा अन्य वितरण पूर्वाधार विस्तारमा चुनौती रहेको उल्लेख गर्दै ढकालले यस्ता समस्याबीच पनि नागरिकलाई भरपर्दो र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यले प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइरहेको जानकारी दिए । काबेली करिडोर, कोशी करिडोर तथा दुहबी-पाण्डाजुङ्गी-अनारमनी करिडोरलगायत प्रमुख प्रसारण करिडोरबाट विद्युत् प्रणाली सञ्चालन भइरहेको उनले बताए । आचार्यका अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशमा २ हजार ४८.४१ गिगावाट घण्टा विद्युत् बिक्रीबाट १९ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको थियो । प्रदेशमा विद्युत् चुहावट ११.२१ प्रतिशतमा झरेको पनि उनले जानकारी दिए । कोशी प्रादेशिक कार्यालयअन्तर्गत तीनवटा महत्वपूर्ण सबस्टेसन निर्माणाधीन रहेको र मोरङको लेटाङमा पोलमाउन्टेन प्रविधिको सबस्टेसन निर्माण सम्पन्न भएको जानकारी दिँदै आचार्यले यी पूर्वाधारले वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । ट्रम्प प्रशासनले कतारलाई ४.५ अर्ब अमेरिकी डलर बराबरको ‘केसी–४६ए’ एरियल रिफ्युलिङ विमान र सोसँग सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।  अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार कतारले चार थान केसी–४६ए विमान, चार थान जगेडासहित आठ थान पिडब्ल्यु ४०६२ टर्बोफ्यान इन्जिन, राडार वार्निङ रिसिभर र इन्फ्रारेड काउन्टरमेजर सिस्टम लगायतका अन्य प्राविधिक उपकरण र सहयोग सेवा खरिदको माग गरेको थियो ।  अमेरिकी विदेश मन्त्रालयले कतारले यी सैन्य सामग्री र सेवाहरूलाई आफ्नो सशस्त्र बलमा सहजै समाहित गर्न सक्ने क्षमता राख्ने बताएको छ । साथै, यस प्रस्तावित बिक्रीले त्यस क्षेत्रको आधारभूत सैन्य सन्तुलनमा कुनै परिवर्तन नल्याउने समेत स्पष्ट पारिएको छ ।  

काठमाडौं महानगरले रद्द गर्‍यो ९२ वटा विद्यालयको अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गरेको छ । संस्थागत विद्यालयमध्ये केही विद्यालयले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालन गर्दै आएका भए पनि हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि अनुमति रद्द गरिएको महानगरको शिक्षा विभागले जनाएको छ ।  सञ्चालनमा नरहेका त्यस्ता विद्यालयको अनुमति वा स्वीकृति शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम रद्द गरिएको विभागले जनाएको छ । यदि सम्बन्धित विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुनपर्ने कुनै कारण भए ३५ दिनभित्र आधार, कारण र प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्ने शिक्षा विभागको भनाइ छ । 

वर्षाका कारण यी सडक अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्म जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ । इलाम नगरपालिका-९, राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेपछि तथा सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका-२, स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६, रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेँसीशहर-मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४, रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी, रोल्पा र पाल्पाका प्रमुख सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका-६, झकलीमा रुखसहितको पहिरो खस्दा घोराही-थवाङ-रुकुम सहिदमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा आज बिहान भूक्षय भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न र आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।  

आज देशभर बदली, ४ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । महाशाखाले मौसमसम्बन्धी थप सूचना तथा पूर्वानुमानका लागि नियमित रूपमा जारी हुने सूचनामा अद्यावधिक रहनसमेत आग्रह गरेको छ ।

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई, सम्बन्ध थप सुदृढ बनाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना दिँदै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले आपसी हित र सहकार्यका आधारमा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा हालै स्वदेशी उद्यमी र व्यवसायीसँग गरिएको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ । सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र जारी गर्दै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगसहित सबै सार्वजनिक निकायलाई खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ । आन्तरिक उत्पादनको योगदान बढाउने, बढ्दो आयातलाई प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । निर्देशनअनुसार सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार तथा सजावटमा सम्भव भएसम्म नेपाली हस्तकलाका सामग्री प्रयोग गर्नुपर्नेछ । त्यसैगरी स्टेशनरी, छपाइ सामग्री, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थलगायत सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ तथा अन्य प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही सामानको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गर्दै स्वदेशी उत्पादन खरिद गर्नुपर्ने स्पष्ट गरिएको छ । सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार पार्दादेखि नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा स्वदेशी वस्तुको खरिदको अनुगमन गर्नुपर्नेछ । साथै, सम्बन्धित मन्त्रालयले त्रैमासिक रूपमा निरीक्षण गरी स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गर्नुपर्नेछ ।