विकासन्युज

सानिमा रिलायन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गते बुधबारका लागि सभा आह्वान गरेको हो । कम्पनीका अनुसार नयाँ बानेश्वरमा रहेको अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । उक्त वार्षिक साधारणसभाका लागि असोज ११ गते एक दिनका लागि दर्ता पुस्तिका (बुक क्लोज) बन्द हुने कम्पनीले जनाएको छ । यस्ता छन् सभाका विशेष प्रस्तावहरू: १. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्ता पूँजी  ४,१८,४०,००,०००।- (अक्षरेपी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ मात्र) को १८. ३८११ प्रतिशतका दरले हुने रकम  ७६,९०,६५,२२४ ।- ( ७६ करोड ९० लाख ६५ हजार २ सय २४)  बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र सानिमा लाइफ इन्स्योरेन्स लि. र रिलायन्स लाइफ इन्स्योरेन्स लि. एक आपसमा गाभिई एकीकृत कारोबार भएको मिति २०७९/१२/०९ देखि २०८१/०६/१० सम्म यस कम्पनीको शेयर नियमअनुसार खरिद बिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरूले नियमअनुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभाशं कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर दाखिला गर्ने सम्बन्धमा । २. प्रस्ताव नं १ मा प्रस्ताव गरे बमोजिमको बोनस शेयर वितरणपश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी वृद्धि गरी ४,९५,३०,६५,२२४।- (अक्षरेपी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४) र चुक्ता पूँजी वृद्धि गरी  ४,९५,३०,६५,२२४।- (अक्षरेपी ४ अर्ब  ९५ करोड ३० लाख ६५ हजार  २ सय २४ रुपैयाँ) पुऱ्याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा । ३. सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने सम्बन्धमा । ४. कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०७९।०८० मा साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्ने सम्बन्धमा । ५. उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेस हुँदा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरूसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

डिशहोमले सार्वजनिक गर्‍याे नयाँ योजना, इन्टरनेट जोड्दा तीन महिना बोनस

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि ‘खुसीकाे सेलिब्रेसन’ योजना सार्वजनिक गरेको छ । डिशहोमले योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरूलाई प्रदान गर्न लागेको हो । यस याेजनाकाे लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर वा हट लाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ । स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकहरूलाई डिशहाेमले इन्टरनेट सेवा दिइरहेको छ ।

अब सरकारले वृद्धभत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका हुन् । उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको जानकारी दिए । यस्तै, उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे । निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए । यस्तै रूपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गरे । खाद्य स्वास्थ्यको मुख्य विषय भएपनि स्वास्थ्यसँग जोड्न नसकिएको जानकारी दिए । ‘मान्छेलाई रोग लाग्न नदिने कुरामा जोड दिनुपर्छ, हामीले खाएको खानाले स्वाथ्यमा असर गरेको हुन्छ । क्यान्सर किन भयो, किड्नीमा समस्या किन आयो ? हामीले के खाइरहेका छौँ, हाम्रो फुड ह्याबिट कस्तो छ ? खाने वस्तु कस्तो छ र ? कति खाइरहेका छौँ ? चाहिने जति छ की, धेरै खाइरहेका छौँ, थोरै खाइरहेका छौँ की ? थोरै खानु पनि समस्या हो, धेरै खानु पनि समस्या हो’, उनले भने । मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए । देशमा कुनैपनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको जानकारी दिए ।

सानिमा रिलायन्सले भन्याे: मर्जरपछि सेयर खरिद गर्ने लगानीकर्ताले आफै कर तिर्नुपर्छ

काठमाडौं । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएपछि बनेको कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश कर आफै भुक्तानी गर्नुपर्न भएको छ । उक्त दुई कम्पनीबीच एक आपसमा मर्ज भएर एकीकृत कारोबार भएको मिति २०७९ चैत ९ गतेपछि सेयर खरिद गरेका लगानीकर्ताले लाभांश कर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त दुई कम्पनी मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बनेको थियो । जसको एकीकृत कारोबार २०७९ चेत ९ गते सुरु भएको थियो । मर्जर हुनुपूर्व अर्थात २०७९ चैत ९ गतेदेखि नै कायम सेयरधनीलाई भने लाभांश कर छुट रहने छ। आयकर ऐन, २०५८ अनुसार मर्जर भएका कम्पनीलाई लाभांश कर छुट हुने व्यवस्थाअनुसार मर्जर पूर्व कायम सेयरधनीलाई बोनस सेयरवापतको कर छुट भएको कम्पनीले जनाएको छ । कम्पनीले केही दिनअघि आर्थिक वर्ष २०७९।०८० को सञ्चित मुनाफाबाटा चुक्त पुँजीको १८.३८११ बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले लाभांश कर प्रयोजनका लागि नगद लाभांश वितरण नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । त्यसबारे कम्पनीले स्पष्ट पारेको हो । यसबारे विकास न्यूजसँग कुरा गर्दै कम्पनीका एक नायव प्रमुख कार्यकारी अधिकृतले भने, ‘दुई कम्पनी मर्ज भएर एकीकृत कारोबार भएको मिति २०७९ चैत ९ गतेभन्दा पहिलादेखि सेयर कायम हुने सेयरधनीले कर तिर्नु पर्देन । तर, उसले पनि एकीकृत कारोबारपछि खरिद गरेको सेयरबाट हुने लाभांशको भने कर तिर्नु पर्छ ।’ अर्थात एकीकृत कारोबार सुरु भएपछि कायम सेयरको लाभांश वापतको कर स्वयम लगानीकर्ताले नै भुक्तानी गर्नुपर्ने हुन्छ ।

जीडब्ल्यूएम नेपालले गर्‍यो ट्यांक सिरिजको बुकिङ खुला

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो बहुप्रतीक्षित ट्यांक ब्रान्डको बुकिङ खुला गरेको छ । जीडब्ल्यूएम नेपालले एसयुभी ट्यांक ५०० र एसयुभी ट्यांक ३०० काे बुकिङ खुला गरेकाे हाे । दुवै गाडीमा एचइभी प्रविधि समावेश गरिएकाे छ । ट्यांक ब्रान्ड चीनमा १८ मार्च २०२२ मा आधिकारिक रूपमा लन्च भएको थियो । ट्यांक ५०० र ट्यांक ३०० मोडललाई इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्युजिल्यान्ड जस्ता देशमा सार्वजनिक गरिएकाे छ । ट्यांक ५०० र ट्यांक ३०० नेपालमा २.० एल टर्बो पेट्रोल एचइभी मोडलमा उपलब्ध छन् । दुवै गाडीमा ९ स्पीड स्वचालित ट्रान्समिसन छ र २५८ केडब्ल्यू पिक पावर र ६४८ एनएम टर्क प्रदान गर्छन् । ट्यांक ३०० को मूल्य एक करोड पचासी लाख र ट्यांक ५०० को मूल्य दुई करोड पच्चीस लाख रुपैयाँ रहेकाे छ । जीडब्ल्यूएम कम्पनी विश्वभर ८० भन्दा बढी सहायक कम्पनीहरूसँग काम गरिरहेको छ । लगातार ६ वर्षसम्म यस कम्पनीले वार्षिक रूपमा १० लाखभन्दा बढी गाडी बिक्री गर्दै आइरहेकाे छ ।

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं । सिटिजन्स बैंकले ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रममा पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै हाललाई कर्पोरेट कार्यालयबाट सुुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरुबाट समेत सञ्चालन गरिने योजना रहेको कुरा समेत बताए । स्मार्ट हबमा राखिएका मेसिनहरू जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ भने क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलव्ध छ । डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सँधै प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले आश्विन महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ । जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, बडादशैंमा मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिंदा सो कारोबारमा १०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनुका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुनेछ । त्यसैगरी, ‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेछ । यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा छ ।

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

एनआइएमबि एस क्यापिटलको ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ, र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको उक्त कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ । एनआइएमबि एस क्यापिटलद्वारा आयोजित उक्त कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।