रौतहट–४ मा रास्वपाका पौडेल विजयी
काठमाडौं । रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेनाले १५ हजार ८६५ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८, नेकपा एमालेका रामजी साहले ३ हजार ४७८ र जनता समाजवादी पार्टी नेपालका राजकुमार दासले १ हजार ६२ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए ।
जिम्मेवारी ठूलो छ, शिर निहुराउन नपर्ने गरी काम गर्नेछु- डा. स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले जनताबाट प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् । निर्वाचित भएपछि कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले मतदाताले दिएको विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढ्ने र त्यो भरोसा कुनै हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे। ‘जिम्मेवारी ठूलो छ, ’ उनले भने, ‘तनहुँ त आफ्नै ठाउँ भइहाल्यो । दुई पटक यहाँबाट विजयी गराइदिनुभयो। यसको महत्त्व, यहाँका जनताको आशा र भरोसालाई म कहिल्यै लत्याउने छैन । ’ डा. वाग्लेले तनहुँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्ने दृढता व्यक्त गर्दै जनताको अपेक्षालाई परिणाममा बदल्ने गरी आफू सक्रिय रहने बताए । उनले प्राप्त जनादेशलाई केवल व्यक्तिगत जीत नभई परिवर्तनको संकेतका रूपमा लिएको पनि उल्लेख गरे ।
तनहुँ-२ मा रास्वपाका श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी
काठमाडौं । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार ६८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शङ्कर भण्डारीले १४ हजार १३४ प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का केदार सिग्देलले ११ हजार ६६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले १ हजार ९५३ मत प्राप्त गरे । यस क्षेत्रमा कुल १ लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेका थिए । यहाँ क्षेत्र नं १ बाट रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् ।
जुम्लामा ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीताले ल्याइन् ४२१ मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग ३ हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन् । यहाँ भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्दा नेकपा (एमाले) का शान्तिलाल महतले ४ हजार ५१८, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए । यहाँ रास्वपाकी विनीता कठायतले ४२१, प्रलोपाका मनऋषि धितालले ११२, नेमकिपाका बृषबहादुर रावतले ४०० प्राप्त गरे । जिल्लामा विभिन्न पार्टीका नौ र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए ।
चितवन-१ मा ४५ हजार बढी मतान्तरले रास्वपाका हरि ढकाल विजयी
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले पराजित गर्दै शानदार जीत हासिल गरेका हुन् । अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी बुर्लाकोटीले १३ हजार ३३ मत मात्रै पाए । यसैगरी नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरे भने नेकपाका कृष्ण पन्तले ४ हजार ८१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन् । ढकाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । त्यसबेला ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए ।
नवलपुर-२ मा रास्वपाका मनिष खनाल निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।
सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी, २ हजार ३९३ मत बदर
काठमाडौं । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णु बहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन् । निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले उनी निर्वाचित भएका हुन् । यहाँ शाहीले १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २ हजार ८२८ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा १३ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । १ लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो । यहाँ २ हजार ३९३ मत बदर भएका छन् ।
चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते
काठमाडौं । चितवन जिल्लाको कालिका नगरपालिका-९ दब्यटारस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका-८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । दुर्घटनामा परी घाइते राप्ती नगरपालिका-९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।