विकासन्युज

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् । मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२  बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा  आफू आशावादी रहेको बताए । 

१५ औं महाधिवेशनको सभापति पदमा चन्द्र भण्डारी पनि प्रतिष्पर्धी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सभापति पदप्रति आफ्नो आकांक्षा रहेको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी, लोकतन्त्र र जनहितलाई प्राथमिकता दिएर आफू आवश्यकताअनुसार शून्यदेखि सयसम्म अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् । भण्डारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ । देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार आवश्यक रूपमै अघि बढ्न तयार छु ।’ साथीभाइको सुझाव, समयको माग र राजनीतिक परिस्थितिलाई सम्मान गर्दै निर्णय अघि बढ्न आफू तयार रहेको पनि भण्डारीले उल्लेख गरेका छन् । । १५ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व चयनका विषयमा चहलपहल बढ्दै गएको छ । भण्डारीको यो अभिव्यक्तिलाई सभापति पदमा सम्भावित दाबेदारका रूपमा खुलेर प्रस्तुत भएको संकेतका रूपमा हेरिएको छ ।  भण्डारीको स्टाटस गुल्मीका धेरै कांग्रेस नेताहरूले सेयरसमेत गरेका छन् । भण्डारीका स्वकिय सचिव समेत रहेका बोधराज कँडेलले पनि भण्डारी आगामी १५ औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने तयारी गरेको जानकारी दिए ।

विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै एलन मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क नयाँ इतिहास बनाउन लागेका छन् । उनको कम्पनी स्पेसएक्सले आउँदो वर्ष २०२६ मा विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ ।  स्रोतका अनुसार कम्पनीले यो आईपीओबाट ३० अर्ब डलरभन्दा बढी रकम जुटाउन सक्छ । यसपछि कम्पनीको मूल्यांकन करिब १.५ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । हाल भइरहेको सेकेन्डरी अफरिङमा स्पेसएक्सको सेयर मूल्य करिब ४२० डलर तोकिएको छ । यसले कम्पनीको मूल्यांकन ८०० अर्ब डलरभन्दा माथि पुगेको छ । यदि स्पेसएक्सले यो मूल्यांकनमा कम्पनीको ५ प्रतिशत हिस्सा बिक्री गर्छ भने उसले ४० अर्ब डलर बराबरका सेयर बेच्नु पर्ने हुन्छ । यसले यसलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनाइदिनेछ । स्पेसएक्स अहिले विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी मानिन्छ । स्पेसएक्सको म्यानेजमेन्ट र सल्लाहकारहरू २०२६ को मध्यदेखि अन्त्यसम्म आईपीओ ल्याउने प्रयासमा छन् । तर बजार परिस्थितिसहितका केही अन्य कारणहरूले यो मिति सरेर २०२७ सम्म पनि जान सक्ने बताइन्छ । स्पेसएक्सले यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।  अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको हो, जसले २०१९ मा आईपीओमार्फत २९ अर्ब डलर जुटाएको थियो । कम्पनीले त्यतिबेला केवल १.५ प्रतिशत मात्र हिस्सेदारी बेचेको थियो । स्रोतका अनुसार मस्क र कम्पनीको बोर्ड अफ डायरेक्टरले पछिल्लो समय आईपीओ तथा फन्ड जुटाउने योजनाहरूलाई तीव्रता दिएका छन् । स्पेसएक्सको आईपीओको मार्ग छिटो बन्नुको मुख्य कारण यसको तीव्र गतिमा विस्तार भइरहेको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा हो । यसमा डायरेक्ट–टु–मोबाइल व्यवसायको सम्भावना पनि समावेश छ । साथै चन्द्रमा र मंगल ग्रहका लागि स्टारशिप रकेट विकास पनि अर्को महत्त्वपूर्ण कारण हो । एक स्रोतका अनुसार २०२५ मा कम्पनीको रेभिन्यू करिब १५ अर्ब डलर रहने अनुमान छ । २०२६ मा यो बढेर २२ देखि २४ अर्ब डलरको बीच पुग्न सक्छ, जसको ठूलो हिस्सा स्टारलिंक सेवाबाट आउनेछ ।  स्पेसएक्सले आईपीओबाट जुटाएको केही रकम अन्तरिक्ष आधारित डेटा सेन्टर विकास गर्न प्रयोग गर्नेछ । यसका लागि आवश्यक चिप्स खरिद पनि त्यसमै समावेश हुनेछ । स्पेसएक्स अमेरिकी निजी अन्तरिक्ष कम्पनी हो जसलाई मस्कले सन् २००२ मा स्थापना गरेका हुन् । यसको मुख्य उद्देश्य अन्तरिक्ष यात्रालाई सस्तो, सुरक्षित र दीर्घकालीन रूपमा सम्भव बनाउनु र भविष्यमा मानिसलाई मंगल ग्रहमा बसोबास गर्न सक्षम बनाउनु हो । स्पेसएक्सले विकसित गरेको फाल्कोन ९ र फाल्कोन हेभी जस्ता पुनःप्रयोगयोग्य रकेटहरू अहिले विश्वका सबैभन्दा भरोसायोग्य लन्च भेहिकल मानिन्छन् । रकेटलाई अवतरण गराएर पुनः प्रयोग गर्ने प्रविधि सुरु गरेको पहिलो निजी कम्पनी यही हो, जसले अन्तरिक्ष मिशनको लागत धेरै घटाएको छ । यसैबीच, कम्पनीको क्रू ड्रेगन स्पेसक्राफ्टले नासाका अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुर्‍याउँदै इतिहास रच्यो । निजी क्षेत्रबाट मानव अन्तरिक्ष उडान सफल बनाउने स्पेसएक्स पहिलो कम्पनी बनेको थियो । इलेक्ट्रोनिक संचारको क्षेत्रमा पनि स्पेसएक्सले स्टारलिंक परियोजनामार्फत नयाँ क्रान्ति ल्याइरहेको छ । हजारौं उपग्रहमार्फत विश्वका दुर्गम क्षेत्रसम्म तीव्र र स्थिर इन्टरनेट सेवा पुर्‍याउने यो परियोजनाले धेरै देशमा सेवा विस्तार गरिसकेको छ । कम्पनीको सबैभन्दा महत्त्वाकांक्षी योजना भनेको स्टारशीप हो जुन मानवलाई चन्द्र र मंगलसम्म लैजाने लक्ष्यसहित विकास भइरहेको विश्वकै सबैभन्दा शक्तिशाली रकेट मानिन्छ । 

रुपन्देही–३ : कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

देवदह । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ ।  क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।    

२० प्रतिशत लाभांश वितरण गर्ने सिटिजन लाइफ इन्स्योरेन्सको घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत (करसहित) नगद लाभांश सेयरधनीलाई दिने घोषणा गरेको हो ।  इन्स्योरेन्सका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।  

नेपालको ड्रोन प्रविधिमा अन्तर्राष्ट्रिय फड्को, चिनियाँ विज्ञसहितको उच्चस्तरीय कार्यशाला हुँदै

काठमाडौं । नेपालको उड्डयन तथा ड्रोन प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने र ज्ञान आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यले नेपाल र चीनका प्रतिष्ठित संस्थाहरुबीच ऐतिहासिक सहकार्य हुने भएको छ । ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङुमा एकदिने ‘उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको हो ।  आगामी बिहीबारदेखि आयोजना हुने यो कार्यशाला नेपालको ड्रोन इकोसिस्टम सुदृढ गर्न र युवा पुस्तालाई उड्डयन प्रविधिमा आकर्षित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । कार्यशालामा चीनको उड्डयन क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहनेछ । जिसीएसीका तर्फबाट डिन टियान जुको नेतृत्वमा उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ नेपाल आउँदैछन् । त्यस्तै, नेपालको तर्फबाट नेपाल मानव रहित विमान (ड्रोन) संघका अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण टिमको विशेष सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय विज्ञ र नेपाली सरोकारवालाहरूको यो भेटले नेपालमा ड्रोन प्रविधिको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । के–के हुनेछ कार्यशालामा ? कार्यक्रमको सुरुवात विद्यार्थीहरूको नवप्रवर्तन क्षमता प्रदर्शन गर्दै आरसी (रिमोट कन्ट्रोल) विमानको रोमाञ्चक प्रदर्शनीबाट हुनेछ, जसले एयरोमोडेलिङ सीपलाई उजागर गर्नेछ । त्यसपश्चात्,  जिसीएसीका विज्ञहरूले उन्नत मानवरहित हवाई सवारी साधन प्रणाली, अन्तर्राष्ट्रिय तालिम मापदण्ड र नियामक अभ्यासहरू, ड्रोनको औद्योगिक उपयोग र भविष्यका सम्भावनाहरू जस्ता विषयमा विस्तृत प्रस्तुति दिनेछन्  । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमको प्राविधिक तथा समन्वय पाटो अफताब आलमले सम्हालेका छन् । सञ्चार र सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह तथा लजिस्टिक्समा रसिदव राज खटिएका छन् ।  कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न 'हाइडअवे ग्ल्याम्पिङ' का सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् । कार्यशाला बाहेक, चिनियाँ टोलीले आफ्नो नेपाल बसाईका क्रममा काठमाडौं र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको स्थलगत अवलोकन पनि गर्नेछ । यसक्रममा विपद् व्यवस्थापन, खोज तथा उद्धार र आगलागी नियन्त्रणमा ड्रोनको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरिनेछ । ड्रोन हब नेपालका अनुसार यो कार्यक्रम केवल एक कार्यशाला मात्र नभई नेपालको उड्डयन प्रविधिमा युवा इन्जिनियरहरूलाई प्रेरित गर्ने अभियान हो । विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण र विकास परियोजनाहरूमा ड्रोनको जिम्मेवारपूर्ण प्रयोगलाई बढावा दिनु नै यसको मुख्य उद्देश्य हो ।  

रमेश गुप्ता मेमोरियलले महालक्ष्मी डेभलपमेन्टसँगको सहकार्यमा क्यान्सर अस्पताललाई गर्यो सहयोग

काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रष्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ ।  यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । साथै नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्नेछ । यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वर्ल्ड चाइल्ड क्यान्सको सहकार्यमा नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै ट्रष्टले जनाएको छ ।  यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ । उक्त ट्रष्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०–डिग्री दृष्टिकोणसहित कार्यरत स्वास्थ्यकर्मी तालिमदेखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदानसम्म ट्रष्टको उद्देश्य नेपाली बालकहरूले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु हो । ट्रस्टका अनुसार नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धता देखाउँछ ।

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ४०८ जनाले सेवा लिए

काठमाडौं । सर्वोत्तम सिमेन्टले मंसिर २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित आफ्नै कारखाना परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 'सुखद जीवनका लागि हौँ निरोगी' भन्ने सन्देशसहित गरिएको यस कार्यक्रममा ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।  सहभागीहरूलाई कम्पनीले निःशुल्क औषधि पनि वितरण गरेको जनाएको छ । शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट), नेत्ररोग विशेषज्ञ र छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) सहित २२ जना स्वास्थ्यकर्मीले निःशुल्क सेवा प्रदान गरेका थिए । उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रूपमा उपस्थित रहेका थिए । उपमहाप्रबन्धक घिमिरेले कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने लक्ष्य रहेको बताए । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य विविध कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै जाने कम्पनीको प्रतिबद्धता व्यक्त गरे ।