राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिर निर्माणमा अनियमितता गरेको आरोपमा ५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार मन्दिर निर्माणका क्रममा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएर नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो । सोही आधारमा ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ ।

उक्त निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि पर्यटन विकास कार्यालय, गौर र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

अख्तियारले पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेलविरुद्ध ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ ।

त्यस्तै, उक्त योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध पनि सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायसरह सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा फिल्डमा नभएको काम भएको देखाई गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेका थिए । त्यसका आधारमा झुट्टा बिल तथा भरपाई बनाएर बढी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

Share News