विकासन्युज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ । यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ । उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रवर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौं अवतरण गर्यो । यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो । यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवर्द्धनात्मक उडानले पुष्टि गरेको छ । अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ ।’ अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारबाट नीतिगत सहयोग र निजी क्षेत्रबाट ठूलो लगानीको सदुपयोग गर्न अग्रसरता आवश्यक रहेकामा जोड दिए । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या भएको धारणा राखे। ‘पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ’, उनले भने । यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए । पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको बताए ।  ‘नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ’, उनले भने, ‘अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन ।  सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ ।’ पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ । हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ । प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ’, उनले भने । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब रु २२ अर्ब लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो । दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ । गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ । रासस

हिमालयन क्यापिटलको पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले पूँजी बजारको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत हालै कम्पनीले २०८१/०८/२३ देखि २०८१/०८/२८ सम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका प्रमुख, अनुपालन विभागका निमेषप्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोषसम्बन्धि जानकारी प्रदान गरिएको थियो । साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो । उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरूलाई लाभान्वित हुने विश्वास रहेको छ । कार्यक्रमका सहभागी विद्यार्थीहरूले यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोगजस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए । साथै हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

विदेशी विद्यार्थीलाई विश्वविद्यालयको आग्रह : ट्रम्प नआउँदै फर्कनुस्

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ । देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सल्लाह जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सिएनएनले जनाएको छ । डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका थिए । उनले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शपथ लिनेछन् । नोभेम्बर १८ मा अमेरिकी विदेश मन्त्रालय, शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तथ्यांकअनुसार २०२३–२०२४ शैक्षिक वर्षमा दुई सय १० भन्दा बढी मूल स्थानका ११ लाख २६ हजार ६९० अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी उच्च शिक्षा संस्थाहरूमा अध्ययन गरेका छन् । यो आँकडा अघिल्लो शैक्षिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । ट्रम्पको शपथग्रहण अघि कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले आफ्नो वेबसाइटमा नयाँ राष्ट्रपति प्रशासनअन्तर्गत आप्रवासन परिदृश्य परिवर्तन हुने सम्भावना रहेको जनाउँदै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आगामी वर्ष जनवरी २१ बाट सुरु हुने अर्को सेमेस्टर सुरु हुनुअघि फर्कन वा ‘यात्रा योजनाबारे सल्लाहकारसँग कुरा गर्न र ढिलाइका लागि तयार रहन’ सल्लाह दिएको छ । ‘शपथग्रहण पछि चाँडै यात्रा प्रतिबन्ध लागू हुने सम्भावना छ । यो प्रतिबन्धमा पहिलो ट्रम्प प्रशासनमा लक्षित देशहरू किर्गिस्तान, नाइजेरिया, म्यानमा, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन र सोमालियाका नागरिकहरू समावेश हुने सम्भावना छ । यस सूचीमा चीन र भारत जस्ता नयाँ देशहरू थपिन सक्छन् । यी ‘चिन्ताका क्षेत्रहरू’ बाहेकका अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई यात्रा प्रतिबन्ध वा लक्षित भिसा निलम्बनले प्रभावित गर्ने सम्भावना छैन’, कर्नेल विश्वविद्यालयको ग्लोबल लर्निङ कार्यालयले भन्यो । कार्यालयले भनेको छ, ‘उल्लिखित देशहरूका अन्तर्राष्ट्रिय विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूले सन् २०२५ जनवरी २१ देखि सुरु हुने सेमेस्टरअघि नै अमेरिका फर्किनु राम्रो हुन्छ । यदि यो सम्भव छैन भने सल्लाहकारसँग आफ्नो यात्रा योजनाबारे कुरा गर्नुहोस् र ढिलाइका लागि तयार रहनुहोस् ।’ विद्यार्थी नेतृत्वको मिडिया साइट युएससी एनेनबर्ग मिडियाका अनुसार युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया अफिस अफ इन्टरनेसनल सर्भिसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई यात्रासँग सम्बन्धित ‘कुनै पनि चुनौतीबाट बच्नका लागि सबैभन्दा सुरक्षित तरिका’ जनवरी १३ मा वसन्त सेमेस्टर सुरु हुनुअघि अमेरिकामा शारीरिक रूपमा उपस्थित हुनु हो भनेर चेतावनी दिएको छ । राष्ट्रपति चुनावको नतिजापछि युसिएलएको आप्रवासन कानून तथा नीति केन्द्रले नोभेम्बर ६ मा विद्यार्थीहरूलाई दिएको सन्देशमा सन् २०२४ को राष्ट्रपति चुनावको नतिजाले संयुक्त राज्य अमेरिकाभरका आप्रवासी समुदायहरूका लागि गम्भीर प्रश्नहरू उठाएको बताएको छ । ‘आगामी ट्रम्प प्रशासनको नीति र भनाइले लाखौंँ आप्रवासीहरूमा दीर्घकालीन प्रभाव पार्नेछ । यसमा विद्यार्थी, कर्मचारी र प्राध्यापकको रूपमा क्यालिफोर्निया विश्वविद्यालय (युसी) को हिस्सा भएकाहरू पनि सामेल छन् । युसी नीतिअनुसार विश्वविद्यालयले न्यायिक वारेन्ट, सम्मन, अदालतको आदेश वा कानूनले अन्यथा आवश्यक नगरेसम्म गोप्य विद्यार्थी रेकर्डहरूमा रहेको आप्रवासन स्थिति वा सम्बन्धित जानकारी जारी गर्नेछैन’, युसिएलएले भन्यो । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीहरूलाई ‘नयाँ नीति/नियमहरूको भविष्यवाणी गर्ने सामाजिक सञ्जाल र समाचार रिपोर्ट वा हल्लाका आधारमा निर्णय नगर्न’ आग्रह गरेको छ । विश्वविद्यालयले विद्यार्थीहरूलाई हिउँदे बिदामा यात्रा योजनाको मूल्याङ्कन गर्नसमेत सल्लाह दिएको छ । ‘नयाँ प्रशासनले सन् २०२५ जनवरी २० मा शपथ लिनेछ । यात्रा र भिसा प्रक्रियामा प्रभाव पार्नसक्ने नयाँ कार्यकारी आदेशहरू त्यस मिति वा त्यसपछि कार्यान्वयन हुन सक्छन् । विद्यार्थी स्थितिमा अमेरिका फर्कन अमेरिकी दूतावास/कन्सुलेटमा नयाँ प्रवेश भिसाका लागि आवेदन दिनुपर्ने विद्यार्थीहरूले लामो प्रक्रिया समयको सम्भावनाको मूल्यांकन गर्नुपर्छ र विदेश यात्रा गर्नुपर्ने र नयाँ प्रवेश भिसा जारी हुन पर्खनुपर्ने भएमा वैकल्पिक योजना बनाउनुपर्छ । कुनै पनि प्रक्रियागत ढिलाइले विद्यार्थीहरूको योजनाअनुसार अमेरिका फर्कने क्षमतामा प्रभाव पार्न सक्छ’, यसले भनेको छ । ट्रम्पले सन् २०२४ को राष्ट्रपति अभियानका क्रममा आप्रवासन र मुद्रास्फीति लगायत विभिन्न आन्तरिक मुद्दा समाधान गर्ने वाचा गरेका थिए । उनले आफ्नो ‘अमेरिका पहिलो’ विदेश नीतिमा फर्कने संकेत गरेका छन् । उनले कानूनी अनुमति बिना अमेरिकामा बसिरहेका आप्रवासीहरूको सामूहिक निर्वासनका लागि राष्ट्रिय आपत्काल घोषणा गर्ने पनि पुष्टि गरेका थिए। रासस

साओमी फोन किन्ने सोंचमा हुनुहुन्छ ? यी हुन् १५ हजारसम्मका मोडल

काठमाडौं । आजको सूचना र प्रविधिको युगमा स्मार्टफोन अतिआवश्यक वस्तु बन्दै गएको छ । गाउँ होस् या सहर, हरेक ठाउँमा खोज्ने हो भने स्मार्टफोन नचलाउने सायदै भेट्न गाह्रो हुन्छ । बालबालिकादेखि बुढापाकासम्मको हातमा स्मार्टफोन देख्न सकिन्छ । स्मार्टफोनको प्रयोगले मानिसलाई सञ्चारप्रवाह गर्नेदेखि विभिन्न सूचना र जानकारी लिन ठूलो मद्दत पुगिरहेको छ । स्मार्टफोन आवश्यकता भएसँगै यसको माग पनि त्यही अनुसारले बढेको छ । कुनै समय स्मार्टफोन धनी र हुनेखाने वर्गले मात्रै प्रयोग गर्न सक्थे । कमजोर आर्थिक अवस्था भएकाहरूले स्मार्टफोन चलाउन सम्भव थिएन । तर आजको दिनमा बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु सस्तो मूल्यदेखि लाखौं पर्नेसम्म उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो बजेटअनुसारको उत्कृष्ट क्वालिटीको फोन किन्न सक्छन् । यी हुन् साओमीका १५ हजारसम्ममा उपलब्ध मोडल १. रेड्मी ए टु नेपालमा एक वर्षअघि मात्रै बजारमा उपलब्ध भएको रेड्मी ए टु साओमीका विभिन्न मोडलमध्ये सबैभन्दा सस्तोमा उपलब्ध हुने स्मार्टफोन हो । कम्पनीले दुई जीबी र्‍याम र ३२ जीबी मेमोरी भएको रेड्मी ए टुको मूल्य १० हजार ४९९ रुपैयाँ तोकेको छ । यो फोनमा दुई वर्षको वारेन्टी रहेको छ । २. रेड्मी ए टु प्लस रेड्मी ए टु प्लस र रेड्मी ए टुको उस्त–उस्तै विशेषता छन् । कम्पनीका अनुसार दुई जिबी र्‍याम र ३२ जीबी मेमोरी भएको ए टु प्लसको मूल्य ११ हजार ४९९ पर्छ । त्यस्तै, तीन जिबी र्‍याम र ६४ जीबी मेमोरी भएको यस मोडलको मूल्य ११ हजार ९९९ रुपैयाँ रहेको छ । ३. रेड्मी ए थ्री साओमीको सस्तोमा उपलब्ध हुने अर्को नयाँ मोडल हो रेडमी ए थ्री । कम्पनीका अनुसार रेड्मी ए थ्री दुई भेरियन्टमा उपलब्ध छन् । यो मोडल ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा उपलब्ध छन् । तीन जीबी र्‍याम र ६४ जिबी मेमोरी भएको यस मोडलको मूल्य ११ हजार ९९९ रुपैयाँ पर्छ । यसमा दुई वर्षको वारेन्टी रहेको छ । अर्को चार जीबी १२८ मेमोरी भएको यस मोडललाई प्रयोगकर्ताले १२ हजार ९९९ मा किन्न सक्छन् । यसमा पनि दुई वर्षको वारेन्टी छ । ४.रेड्मी टुवेल्स सी नेपाली बजारमा रेड्मी टुवेल्स सी तीन भेरियन्टमा उपलब्ध छन् । चार जीबी र्‍याम र ६४ जीबी मेमोरीको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जिबी र्‍याम र १२८ जीबी मेमोरी भएको रेड्मी टुवेल्स सीलाई प्रयोगकर्ताले १५ हजार ९९९ मा खरिद गर्न सक्छन् । ५. रेड्मी थर्टिन सी शाओमीले रेड्मी टुवेल्स सीको सफलतापछि सार्वजनिक गरेको अर्को मोडल हो रेड्मी थर्टिन सी । बजारमा यस मोडलअन्तर्गतका तीन मोडलहरू उपलब्ध छन् । जसमा सबैभन्दा कम चार जीबी र्‍याम र १२८ जिबी मेमोरी रहेको रेड्मी थर्टिन सी मोडललाई ग्राहकले १३ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस मोडलअन्तर्गत ६ जीबी र्‍याम र १२८ जीबी मेमोरीको मूल्य १५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम २५६ जीबी मेमोरीको १८ हजार ९९९ रुपैयाँ पर्छ । ६. रेड्मी फोर्टिन सी साओमीका रेड्मी फोर्टिन सीका तीन भेरियन्टहरू बजारमा उपलब्ध छन् । जसमध्ये ४ जीबी र्‍याम १२८ जीबी मेमोरी उपलब्ध रहेको यस मोडलको बजार मूल्य १३ हजार ९९९ रुपैयाँ पर्छ । रेड्मी फोर्टिन सीको अन्य भेरियन्टहरू ६ जीबी र्‍याम र १२८ जीबी मेमोरीको मूल्य १५ हजार ९९९ र ८ जीबी र्‍याम र २५६ मेमोरीको मूल्य १८ हजार ९९९ रहेको छ ।

कजरिया टाइल्सद्वारा नेपालमा पहिलो प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन सुरु

काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ । कम्पनीले ३००*४५० एमएम सिरेमिक टाइलहरूको नयाँ श्रृंखला प्रस्तुत गरेको हो । यससँगै कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००*६०० एमएम र ६००*१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४००*४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ, जुन अहिले पनि लोकप्रिय छन् । कजरिया टाइल्सले नेपालभर १०० भन्दा बढी डिलर र वितरकहरूको विशाल नेटवर्क निर्माण गरेको छ, जसले ग्राहकहरूलाई कम्पनीका उत्कृष्ट उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पुर्‍याएको छ । यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले उत्पादन लागत पनि कम गर्ने कम्पनीले जनाएकाे छ । जसकारण कजरिया टाइल्सले आयातित भारतीय टाइलहरूको तुलनामा २०/२५ प्रतिशत कम मूल्यमा उत्पादनहरू उपलब्ध गराउँछ। कम्पनीले विभिन्न डिजाइन, रङ र साइजका विकल्पहरू प्रस्तुत गर्दै आइरहेको छ । दाग र मोइस्चर प्रतिरोध गर्न सक्ने क्षमताले तिनीहरूलाई आधुनिक घरहरूमा प्रयोगका लागि उपयोगी, आकर्षक र दीर्घकालिक प्रयोगको लागि उत्तम बनाउँछ । सिरेमिक टाइलहरू भुइँ र पर्खाल दुबैको लागि भरपर्दो विकल्प हुन् । कम्पनीका निर्देशक हिमांशु अग्रवालले भने, ‘हामीले नेपाली बजारमा पहिलो पटक भिट्रिफाइड टाइल्स ल्याउँदा व्यापक प्रशंसा पाएका थियौं । त्यसै सफलतामा आधारित भएर हामी अहिले अत्याधुनिक प्रविधिमा उत्पादन गरिएका सिरेमिक टाइलहरू बजारमा ल्याउँदैछौं । हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि नेपाली बजारमा यी टाइलहरू पनि त्यत्तिकै रुचाइनेछन् ।’ नयाँ उत्पादनले आवासीय र व्यावसायिक स्थान दुवैका लागि उच्च गुणस्तरका विविध विकल्पहरू प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । स्टाइल, टिकाउपन र सजिलो मर्मतसम्भारमा ध्यान केन्द्रित गर्दै यी टाइलहरूले विभिन्न ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखिएको छ । कजरिया रमेश टाइल्स लिमिटेडले रमेश कर्प र भारत को नं. १ टायल निर्माता कजरिया सिरामिक्सको संयुक्त लगानीमा नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन कारखाना निर्माण गरिरहेको छ । ४०० करोडको लगानीमा निर्माण हुने यस परियोजनाले वार्षिक ५२ लाख मिलियन स्क्वायर मिटर टाइल्स उत्पादन गर्नेछ, जसले हजारौं रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनेछ । यस परियोजनाले दिगो विकासमा जोड दिँदै स्थानीय सामग्रीहरूको प्रयोग गर्नेछ र उच्च गुणस्तरको किफायती टाइलहरू उपलब्ध गराउनेछ ।

नक्कली डाक्टर बनेर लुटपाट

काठमाडौं । नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । एक जना पीडितको कोठाबाट उनले सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेको उजुरीपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ ।

बालेनको गुनासो- सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि बढाएन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । प्रमुख बालेनले दुई तिहाइको सरकारले केही पनि गर्न नसकेको बताए । उनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ, त्यही पनि केही गरेकै छैन ।व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन ।’ प्रमुख बालेनले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गरे । महानगरका अनुसार तीनकुनेको ४६ रोपनी जग्गामध्ये २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् ।

९ लाख १४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९ लाख १४ हजार ३ सय २.८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको सेयर शुक्रबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।