विकासन्युज

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमवार हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय पुगेको छ । आइतबार २ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय पुगेको  थियो ।  यस्तै, चाँदीको भाउ पनि वृद्धि भएको छ । आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ ।  आइतवार एक तोला चाँदी  ३ हजार ८ सय २५ रुपैयाँमा खरिदविक्री भएको  थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ ।  नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि मात्र होइन, डलरको अधिमूल्यन पनि मुख्य कारण हो ।  नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔंस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ। नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यवसायी महासंघलाई दिइएको छ । २०६६ साल अघि नेपालमा खुल्लारूपमा सुनको आयात गर्न पाइन्थ्यो ।  २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनाइएको थियो । त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्नसक्थे । राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ । आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ । हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ ।  व्यवसायीहरूका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय परिदृश्य हेर्दा अझै बढ्नसक्छ । 

एमाले महाधिवेशनमा १४ सय बढी फाराम वितरण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा हाल उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ । हालसम्म १ हजार ४ सयभन्दा बढी फाराम वितरण भएको एक नेताले जानकारी दिए।   फारम वितरणको समय १२ बजेसम्म तोकिएको छ । त्यसपछि उम्मेदवारहरूले दिउँसो साढे १ बजेसम्म दर्खास्त फारम दर्ता गर्न पाउनेछन्। उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ ।  त्यसपछि दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने पाइने ती नेताले जानकारी दि । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । एमालेको नयाँ नेतृत्व छान्ने निर्णायक घडी अर्थात् मतदान कार्यक्रम भने पुस १ गते हुनेछ। आयोगका अनुसार सो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ । 

एमाले महाधिवेशन : ओली-पोखरेल समूहले पदाधिकारी टुंगो लगायो, ज्ञवाली उपाध्यक्षमा सेट

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले आ-आफ्नो शीर्ष नेतृत्व र पदाधिकारी चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएका छन् । ओली समूहबाट उपाध्यक्षमा पाँच जनाको नाम फाइनल भएको छ । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उपाध्यक्षको लागि निश्चित भएका हुन् ।  खासगरी प्रदीप ज्ञवालीले प्रारम्भमा महासचिव पदको दाबी गरेका थिए, तर अन्ततः सहमति अनुसार उनी उपाध्यक्षमा सेट भएका हुन् । महासचिवमा शंकर पोखरेलको नाम टुंगो लागेको छ । ज्ञवालीले अन्तिम समयसम्म महासचिव पदको दाबी नछाडे पनि ओली पोखरेल समूहको सहमतिअनुसार पोखरेललाई महासचिव बनाउने निर्णय भएको हो । त्यसैगरी, उपमहासचिवतर्फ तीन जना पदाधिकारी चयन भएका छन् । रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम उपमहासचिवमा फाइनल भएको एक नेताले जानकारी दिए । ओली पक्षको सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको ओली निकट एक नेताले बताए ।  उनका अनुसार नयाँ नेताहरू खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा.राजन भट्टराई ओली पक्षका उम्मेदवार बन्ने भएका छन् । यससँगै एमालेको आगामी नेतृत्व संरचना स्पष्ट हुँदै गएको छ जसले पार्टी भित्रको आन्तरिक सन्तुलन र सत्ता संरचनामा नयाँ रूपरेखा तय गर्ने अनुमान छ ।

एमाले ११औं महाधिवेशन : नेतृत्व चयनको औपचारिक सुरुवात, उम्मेदवारी फाराम वितरण सुरु

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरु भएको छ ।  केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवार बन्न इच्छुक नेता तथा कार्यकर्ताले निर्धारित समयभित्र फाराम भर्ने व्यवस्था गरिएको छ । नेताहरूले धमाधम फारम किनिरहेका छन् । उम्मेदवारी फाराम वितरणसँगै पार्टीको निर्वाचन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेको छ ।  यसअघि महाधिवेशनका लागि प्रस्तावित एजेन्डा अनुसार, उम्मेदवार फाराम वितरण, मनोनयन, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम निर्धारित गरिएको थियो। निर्वाचन समितिका एक सदस्यका अनुसार, सोमबार उम्मेदवारी फाराम भरेका उम्मेदवारहरूको नामको अन्तिम सूची प्रकाशित गरिनेछ भने मंगलबार मतदान हुँदै नयाँ नेतृत्व चयन हुनेछ ।  यस प्रक्रियामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूको उम्मेदवारी समावेश हुनेछ । पार्टी स्रोतहरूले जानकारी दिए अनुसार,  नेताहरूले आफ्नो प्यानल तयार पारिसकेका छन् । संस्थापन पक्षको महासचिव पदका उम्मेदवारका बारेमा पनि अन्तिम निर्णय हुने क्रममा छ । पार्टीको विधानअनुसार उम्मेदवारले निर्धारित मापदण्ड र कोटा प्रणाली पूरा गर्नुपर्नेछ।

युनाइटेड इदी मार्दीको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ । घोषित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

इमर्जिङ्ग नेपालले सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो । नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

महाधिवेशनको मुखमै एमाले संस्थापनभित्र तानातान, महासचिवमा पोखरेल र ज्ञवाली भिडन्त

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु हुन लाग्दा संस्थापन पक्षभित्रै पदाधिकारी टुंगो लगाउन सकस देखिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार अन्तिम रूपमा तय गर्न नसक्दा महाधिवेशनस्थलमा आन्तरिक छलफल र परामर्श तीव्र बनेका छन् । आइतबार रातभर शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि सहमति जुट्न नसकेको बताइन्छ । विशेषगरी महासचिव पदमा दुई जना अनुभवी नेताको दाबी अघि सर्दा अध्यक्ष ओली पदाधिकारी बाँडफाँटमा अप्ठ्यारोमा परेका हुन् । ओली निकट एक नेताका अनुसार महासचिव पदलाई लिएर वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीबीचको आकांक्षाले संस्थापन समूहभित्रै सन्तुलन मिलाउन चुनौती उत्पन्न गरेको छ । वर्तमान महासचिव शंकर पोखरेलले आफूले सम्हाल्दै आएको जिम्मेवारीमा निरन्तरता चाहेको स्पष्ट संकेत गरिसकेका छन् । पार्टी संगठन विस्तार, सरकार र पार्टीबीचको समन्वय तथा पछिल्लो समय भएका राजनीतिक उतारचढावमा आफूले खेलेको भूमिकालाई आधार मानेर पोखरेलले दोहोरिने दाबी प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरू पनि महासचिव जस्तो महत्त्वपूर्ण पदमा अनुभव र निरन्तरताको आवश्यकता रहेको तर्क गर्दै आएका छन् । त्यसैगरी उपमहासचिव प्रदीप ज्ञवालीले भने एक तहको ‘प्रमोसन’सहित महासचिवमा दाबी गर्दै आएका छन् । पार्टी विचार, नीति तथा सार्वजनिक छविको हिसाबले आफू सक्षम रहेको र महासचिवको जिम्मेवारी सम्हाल्न सक्ने उनको बुझाइ छ । ज्ञवालीलाई पार्टीभित्र बौद्धिक र सन्तुलित नेताका रूपमा लिने समूहले पनि नेतृत्व पुस्तान्तरणको सन्देश दिन महासचिवमा उनलाई अघि सार्नुपर्ने तर्क गरिरहेका छन् । महासचिव पदमै दुई भेट्रान नेताको दाबी आएपछि अध्यक्ष ओलीलाई समग्र पदाधिकारी संरचना मिलाउन थप दबाब परेको छ । महासचिवसँगै उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा समेत विभिन्न नेताहरूको आकांक्षा रहेकाले एउटा पदको निर्णयले अन्य पदाधिकारीको समीकरणसमेत प्रभावित हुने अवस्था छ । त्यसैले ओलीले हतारमा निर्णय गर्नुभन्दा सबै पक्ष सन्तुलित हुने गरी सहमति खोजिरहेको स्रोतको भनाइ छ । महाधिवेशनको बन्दसत्र सुरु भएसँगै नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने तयारी भइरहेका बेला संस्थापन पक्षभित्रै स्पष्ट प्यानल नबन्दा कार्यकर्तामाझ चासो बढेको छ । यद्यपि अन्तिम घडीमा अध्यक्ष ओलीको सक्रिय पहलमा सहमति जुट्ने र संस्थापन पक्षले एकीकृत प्यानल घोषणा गर्ने सम्भावना पनि उत्तिकै रहेको नेताहरू बताउँछन् । एमालेको ११ औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने भएकाले महासचिव जस्तो पदमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यसैबीच, पदाधिकारी चयनमा हुने निर्णयले पार्टीभित्र शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले छलफल अझै केही समय चल्ने संकेत देखिएको छ ।   

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए । कम्पनीका अनुसार एसपीआईएल लेन्स न्युजलेटरमा कम्पनीको वित्तिय सूचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तर्राष्ट्रिय निर्र्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिनेछ । कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र नभई बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान स्रोत बन्ने बताए । उनले कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको उल्लेख गरे । कम्पनीका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।