स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
कमलकुमार बस्नेत काठमाडौं । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहर बीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रय स्थल हो । जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल चरा अध्ययनका लागि पनि प्रसिद्ध भएको बताउँछन् । विज्ञहरू यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने बताउँछन् । तर यही तालमा केही समयअघि मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय, अधिकारकर्मी लगायतको विरोध पनि भयो । विरोधपछि डुङ्गा चलाउने योजना अलपत्र पर्यो । अहिले तालको एक छेउमा एउटा काठको डुङ्गा अलपत्र छ । न डुङ्गा चढ्न आउनेहरू छन् नत चलाउने मानिस नै देखिन्छन् । जैविक विविधता र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्दै पर्यावरण जोगाउनमा कान्ति तालको भूमिका महत्त्वपूर्ण भएको जानकार बताउँछन् । विशेषगरी सारसका लागि यो क्षेत्र महत्त्वपूर्ण छ । सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोल हो । त्यसमध्ये पनि कान्ति ताल सबैभन्दा राम्रो बासस्थान भएको विज्ञको भनाइ छ । नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्रै नभई विभिन्न देशबाट बर्सेनि आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासमा पर्छ । तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी बसोबास गर्नुका साथै जाडो तथा गर्मी छल्न विभिन्न देशबाट बर्सेनि चराहरू आउने गरेका छन् । फ्रेन्डस् फर वाइल्ड वाइल्ड लाइफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीका अनुसार नेपालगञ्ज आसपासमा यहाँजस्तो सिमसार अन्य ठाउँमा छैन । ‘यहाँ प्रकृति प्रेमीका लागि मात्र नभई जनावर र चराका लागि पनि उपयुक्त वातावरण छ, लामो समयदेखि यसलाई जोगाउन सकेकै कारण विभिन्न देशबाट यहाँ बर्सेनि चरा आइरहेका छन्,’ उनले भने । दुर्लभ चराको बासस्थान रहेको कान्ति ताल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि मोटरबोट सञ्चालनको प्रक्रिया सुरु भएपछि संरक्षणविद्ले चासो व्यक्त गर्दै उपमहानगरमै उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए । उनीहरूले तालमा मोटरबोट सञ्चालन गर्नुको साटो चरापार्क निर्माण गरी आम्दानी गर्न सकिने सुझाव पनि दिएपछि अहिले त्यसतर्फ चासो बढाइएको उनको भनाइ छ । मोटरबोट सञ्चालन भएमा पर्यावरणमा क्षति पुग्नुका साथै चराचुरुङ्गी यहाँबाट लोप हुने भएकाले उनीहरूको संरक्षणका लागि भए पनि मोटरबोट सञ्चालन गर्न नहुने उनीहरूको सुझाव छ । ‘तालमा मोटरबोट सञ्चालनका लागि लामो प्रयास भयो, तर बोट चढ्ने मानिस पनि भएनन्, त्यसपछि प्रयास भएको छैन, यो ताललाई अहिले प्राकृतिक रूपमै संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ,’ चौधरीले भने । चौधरी तालमा काठको डुङ्गा चलाउन समस्या नभए पनि मोटरबोट चलाउँदा त्यहाँको पारिस्थितक प्रणालीमा नै असर पुग्ने बताउँछन् । ‘पोखराको फेवातालमा पनि मोटरबोट चलाइएको छैन, काठको डुङ्गा नै चलाइएको छभने नेपालगञ्जको सानो तालमा मोटरबोट नै चलाउन जरुरी छैन, मोटरबोट चलाउँदा जीवाश्मा इन्धनका कारण जीव र पन्छीमा समस्या हुन्छ,’ उनले भने । चौधरीका अनुसार पछिल्लो समय सिमसारलगायतका क्षेत्र अतिक्रमणमा पर्दा धेरै प्रजातिका चराहरू सङ्कटमा पर्दै गएका छन् । ‘नेपाल सरकारले संरक्षित सूचीमा राखेका नौ वटामध्ये छवटा तराईमा पाइन्छन्, जसमध्ये बर्दियामा दुईवटा र बाँकेमा पाँचवटा प्रजातिका चरा भेटिन्छन्, कान्ति ताल पनि मासिने हो भने ती प्रजातिका चराको अस्तित्व नै सङ्कटमा पर्ने खतरा छ,’ उनले भने । पन्छी संरक्षण समाज र नेपाल चराविज्ञ सङ्घले केही समयअघि गरेको डेढ घण्टा अवलोकनका क्रममा कान्ति तालमा ३२ प्रकारका परम्परागत चरा र केही आगन्तुक चरा भेटिएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विस्टले ताललाई सिमसार क्षेत्रका रूपमा लिइएको बताउँछन् । ‘धेरैले यसलााई सिमसार भन्छन्, सिमसारजस्तो नदेखिए पनि स्थानीय र विदेशबाट आउने चराका लागि यो महत्त्वपूर्ण बासस्थान हो,’ उनले भने । प्रमुख विष्टका अनुसार कान्ति तालमा लामो समयदेखि माछापालन हुने गरेको थियो । आफूले सानैदेखि माछापालन गरेको देखेको उल्लेख गर्दै उनले भने, ‘लामो समयदेखि कान्ति तालमा माछापालन हुने गरेको थियो, यसलाई पर्यटकीय गन्तव्य बनाउन अघिल्लो सरकारले काम गरेको हो, यद्यपि यो प्रक्रिया अहिले अगाडि बढेको छैन ।’ कान्ति तालमा जाडोमा यहाँ १५३ र गर्मीयाममा ६२ प्रजातिका चरा देख्न पाइन्छ । तालमा अफ्रिकाबाट जुरे कोइलीदेखि इन्डोनेसिया, उत्तरी चीन, थाइल्याण्ड, साइबेरिया, मलेसियालगायतका देशबाट पनि चरा आउने गरेका छन् । सरकारले संरक्षित सूचीमा सारसका तीन प्रजाति पनि यही तालमा पाइने उनले बताए । तालको जैविक विविधता जोगाएर भावी पुस्ता लागि चरालाई जोगाएर राख्नु स्थानीय तहको जिम्मेवारी भएको उनको भनाइ छ । प्राकृतिक सिमसार भएको जैविक विविधिता जोगाएर राख्नुपर्नेमा मास्ने काम हुन लागेपछि आफूलाई चिन्ता लागको संरक्षणकर्मी चौधरीको भनाइ छ । उनले मोटरबोटको विकल्पमा बायोडाइभर्सिटी पार्क, बोटानिकल गार्डेन वा चरा पार्कका रूपमा ताललाई विकास गरी टिकटमार्फत आम्दानी गर्ने बाटोसमेत भएको बताउँछन् । ‘तालको संरक्षण चराका लागि मात्र होइन, हाम्रै लागि र भावी पुस्ताका लागि पनि आवश्यक छ । नेपालगञ्ज मानसरोवर जाने भारतीय यात्रुका लागि ट्राञ्जिट प्वाइन्ट पनि हो, उनीहरूलाई लक्षित गरी ताललाई यही रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ, यसतर्फ ध्यान नदिई मोटरबोट मात्र विकल्प देख्न हुँदैन,’ उनले भने । कान्ति तालमा हरेक वर्ष चराको गणना हुन्छ । दुई वर्षअघि २५ प्रजातिका चरा रहेकामा गत वर्षको गणनामा २२ प्रजातिका चरा भेटिएका थिए । यस वर्ष भने चराको सङ्ख्या ३२ पुगेको छ । यस वर्ष राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा ३२ प्रजातिका थप चरा भेटिएको र यो गत वर्षको तुलनामा बढी भएको थियो । तालमा सारस, फिसिङ क्याट, मलाहलगायतका चराको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया र इन्डोनेसियाबाट चरा आउँछन् भने जोडोमा साइबेरिया, उत्तरी चीनबाट चरा आउँछन् । आगन्तुक चराले पनि तालमै बच्चा जन्माउँछन् । स्थानीयहरू ताल संरक्षणका लागि दिगो विकासको अवधारणमा काम गर्नुपर्ने बताउँछन् । यस ताललाई चरा अवलोकनको केन्द्र तथा जैविक विविधता सिकाइ केन्द्रका रूपमा ताललाई विकास गर्न सकिने जानकारहरू बताउँछन् । रासस
एक्जिम कोड लिँदा बैंक जमानत राख्नु नपर्ने, फुकुवा गर्न पत्राचार
काठमाडौं । भन्सार विभागले निकासी पैठारी संकेत (एक्जिम कोड) लिँदा बैंक जमानत राख्नुपर्ने प्रावधान हटाएको छ । यसअघि एक्जिम कोड लिँदा बैंक जमानत राख्नुपर्ने व्यवस्था गरेकोमा फुकुवा गरेको विभागले जनाएको छ । निकासी पैठारी संकेत नम्बर प्रदान गर्दा साविकमा भन्सार विभागको नाममा तीन लाख रुपैयाँ बराबरको बैंक जमानत सम्बन्धी व्यवस्था थियो । भन्सार नियमावली, २०६४ (सोह्रौ संशोधन २०८२ को नियम ६६घ को उपनियम (२) को खण्ड (ख) र नियम ६६६१ को उपनियम (३)बाट हटाइएको विभागले जनाएको छ । साथै, उक्त व्यवस्था हटाएसँगै बैंकका शाखा कार्यालयहरूमा विभिन्न पैठारीकर्ताहरुले एक्जिम कोड लिँदा राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
राष्ट्रिय सभाबाट २ वटा विधेयक पारित गर्ने, ५ संसदीय समितिको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । यस्तै, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषदसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम कारबाहीका बारेमा छलफल गरिनेछ । पूर्वाधार विकास समितिको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ र सुनकोसी मरिण डाइभर्सन आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै, कतारको दोहा प्रस्थान
काठमाडौं । विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । सूचना तथा प्रसारण विभागले आज अपरान्ह ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुई पक्षीय भेटवार्ता भएको थियो । यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्त सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो । विकास सहायतामा नयाँ सोच सम्बधी उच्चस्तरीय छलफलका अलावा अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए । केहीबेर अघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका हुन् ।
कोशी, वाग्मती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
७७९ जनालाई भरतपुर महानगरको सीपमूलक तालिम
चितवन । भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे । महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर महानगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी बर्सेनि यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए । चालु आर्थिक वर्षका लागि सीप विकास कार्यक्रममा एक करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट एक हजार ७०० जनालाई तालिम दिइएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाइने बताए । कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
‘नाडा अटो शो- २०२५’ को स्टल बाँडफाँट सम्पन्न
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । शोका लागि आवश्यक पर्ने स्टल बाँडफाँटको काम सम्पन्न भएसँगै यसको औपचारिक तयारी सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नाडाले जनाएको छ । स्टल बाँडफाँट कार्यक्रममा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटो सामग्री र उपकरणका क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको नाडाले जानकारी दिएको छ । यस वर्षको प्रदर्शनीमा प्रविधि, नवप्रवर्तन र दिगोपनालाई विशेष प्राथमिकतामा राखेको नाडाले दावी गरेको छ। नाडाका अनुसार चारपाङ्ग्रे सवारीतर्फ १८, हल्का व्यावसायिक सवारीतर्फ १३, दुईपाङ्ग्रेतर्फ ४ तथा सामग्री र उपकरणतर्फ ४० भन्दा बढी ब्राण्डहरूको सहभागिता रहनेछ । चारपाङ्ग्रे (१८ स्टल) डीपल, अवटार, डोङ्फेङ, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयन भी, एक्सपेङ, रिड्डारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्ल्यू ब्रम्बी, जेवाई एयर, हाभाल, एलएस अटो र जिनपेङ प्रर्दशनीमा राखिनेछन् । दुईपाङ्ग्रेतर्फ हिरो, रोयल इनफिल्ड, जोन्सन र यामाहा प्रदर्शनीमा रहने नाडाले जनाएको छ । हल्का व्यावसायिक सवारी (१३ स्टल) न्यु गोनाओ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकन, सीजी केवाईसीरकिङलङ, मोन्ट्रा, स्काइवर्थ, कैनिउ, कावेईरनावेको र सनलङको सहभागीता रहनेछ । सामग्री तथा उपकरण (४० स्टल) एसियन, गल्फ, डकह्याम्स, म्याक्सशाइन, मिश्लिन, लिक्वी मोली, सिएट टायर, जेकेरगुड टायर, टाटा ग्रीन, टोटल एनर्जिज, स्टड्सरएसएमके लगायतका प्रमुख ब्राण्डहरू रहेका छन् । यसपटकको अटो शोमा केही नयाँ आकर्षणहरू पनि थपिने नाडाले बताएको छ । ‘मेड इन नेपाल’ पेभिलियन, पुराना गाडीहरूको प्रदर्शनी (भिन्टेज कार पेभिलियन) र अटो क्षेत्रका विविध विषयमा छलफल गरिने ‘अटो डाइलग्स क्याफे’ प्रमुख आकर्षणका रूपमा रहनेछन् । सन् १९९८ देखि आयोजना हुँदै आएको नाडा अटो शो नेपाली अटोमोटिभ क्षेत्रको सबैभन्दा प्रतिष्ठित प्रदर्शनी मानिन्छ । यस वर्षको प्रदर्शनीलाई एमएडब्लू समूहले प्रायोजन गरेको छ ।
गरिमा विकास बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट सीईओ निलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै गरिमा विकास बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस-एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पुर्याउने अपेक्षा गरिएको छ । गरिमा विकास बैंकले देशभरि रहेका १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएम टर्मिनल मार्फत ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।