विकासन्युज

जेएफएलले थैबमा सञ्चालनमा ल्यायो ‘माटो’ को आठौं स्टोर, किसान र महिला उद्यमीलाई प्राथमिकता

काठमाडौं । जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ को आठौं स्टोर तथा गोदाम ललितपुरको थैबमा स्थापना गरेको छ ।  जेएफएलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । १५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रुपैयाँमा सञ्चालनमा आएको हो । यसले प्रशोधन केन्द्रको रूपमा समेत कार्य गर्ने र त्यहाँ आधुनिक मेसिनरी तथा प्रणालीहरू जडान गरिएका जेएफएलले जनाएको छ ।  ‘माटोले रासायनिक कीटनाशक, मल तथा संरक्षक पदार्थको प्रयोग नगरी उत्पादन गरिएका स्थानीय वस्तुहरूको प्रवर्द्धन गर्दै आएको छ, जसले उपभोक्तालाई शुद्धता र ताजापनले चिनिएका उत्पादनहरू प्रदान गर्दछ,’ जेएफएलका अध्यक्ष पवनकुमार गोल्याणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला उद्यमीहरूलाई प्राथमिकता दिइने भएकाले समावेशी उद्यमशीलता र दीर्घकालीन दिगोपनलाई प्रोत्साहन गर्नेछ, यस प्लेटफर्ममार्फत महिला उद्यमीहरूलाई समेत खरिद प्रत्याभूति प्रदान गर्नेछ ।’ यस सुविधाले साना तथा मझौला उद्यमका लागि कार्यस्थल उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्ने जेएफलले जनाएको छ । जसको कारण सम्पूर्ण मूल्य श्रृंखलामा कार्यक्षमता, प्रभावकारिता, गुणस्तर र पहुँच अभिवृद्धि गने उसको भनाइ छ । जेएफएल नेपालको कृषि तथा वन क्षेत्रलाई रूपान्तरण र सशक्त बनाउने दीर्घकालीन प्रतिबद्धता बोकेको सार्वजनिक कम्पनी हो । राष्ट्रको हितलाई केन्द्रमा राखी दिगो विकास र समृद्धिका मूल्यहरूमा दृढ रूपमा आधारित रही कम्पनीले आफ्नो बलियो कृषि आधारमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्दै आएको छ।  कम्पनीले उच्च मूल्यका कृषि उत्पादनहरू तथा जैविक कृषि अभ्यासमा आधारित पूर्वाधार विकासमा विशेष ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।  ‘जेएफएलको मूल सिद्धान्त तथा सबैभन्दा पुरानो प्रतिबद्धता किसानहरूको उत्थान गर्नु र उनीहरूको उत्पादनलाई खरिद प्रत्याभूति सहित बजारसम्म पु¥याउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सशक्त आपूर्ति श्रृंखला निर्माणमार्फत कम्पनीले अन्तर्राष्ट्रिय विकास संस्थाहरू, विभिन्न निजी क्षेत्रका सरोकारवालाहरू तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै देशभरका किसानहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ ।’ कम्पनीका सम्पूर्ण लगानीहरू दिगो विकास लक्ष्यहरूमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेका जेएफलले जनाएको छ ।

कांग्रेसका पाँच प्रदेश सभापतिहरू भन्छन्– अब नियमित महाधिवेशनमै केन्द्रित हौं

काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई नियमित महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरेका छन् । उनीहरूले कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर १५ गतेको बैठकबाट पार्टीको १५औं महाधिवेशन पुस १६ गतेदेखि सुरु गरी पुस २६, २७ र २८ गते सम्पन्न गर्ने तालिका तय गरे पनि तालिका अनुसार काम हुन नसकेको दाबी गरेका छन् ।  पाँच सभापतिहरूले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘महाधिवेशन पूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको कार्य तोकिएको समयभित्र पूरा हुन नसकेपछि निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकिएको हो ।’ विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गर्दै ती सभापतिहरूले तोकिएकै समयमा महाधिवेशन गर्न सक्रिय रहन पार्टी सदस्यहरूलाई आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, ‘अब एकताबद्ध हुँदै फागुन २१ को निर्वाचनमा दलका नेताहरूलाई जिताउन लागौं ।’

कांग्रेसमा विवाद चुलिँदा शेखरको सक्रियता, नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्ने प्रस्तावमा छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चर्किँदै गएपछि वरिष्ठ नेता डा. शेखर कोइरालाले विवाद व्यवस्थापनमा सक्रियता बढाएका छन् । शनिबार बिहान आफू निकट नेताहरूसँग लामो छलफल गरेका कोइरालाले सोमबार पनि निरन्तर रूपमा नेताहरूसँग परामर्श गरेका हुन् । सोमबारको छलफलमा पार्टीका सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे सहभागी थिए । साथै केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र काठमाडौंका नेता देवराज चालिसे पनि बैठकमा सहभागी रहेको एक नेताले जानकारी दिए । बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षबीच बढ्दै गएको मनमुटाव कम गर्दै पार्टीलाई एकताबद्ध बनाउने उपायहरूबारे व्यापक छलफल भएको बताइएको छ । सहभागी एक नेताका अनुसार प्रस्तावको रूपमा नेपाली कांंग्रेसभित्र नीति महाधिवेशनको अवधारणा पनि अघि सारिएको छ । पार्टी विभाजनको जोखिम टार्न यसअघि केन्द्रीय समितिले तोकेको समयमै नीति महाधिवेशन गर्ने र त्यसपछि बैशाखमा नेतृत्व महाधिवेशन गर्ने विकल्पमा गम्भीर छलफल भएको स्रोतको भनाइ छ । उक्त प्रस्ताव केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बैठकमा राखेका थिए, जसमा वरिष्ठ नेता डा. शेखर कोइराला पनि सकारात्मक देखिएको बताइएको छ । यस विषयमा डा. पोखरेलसँग बुझ्दा उनले भने, ‘हामी पार्टी एकता जोगाउन घनिभूत छलफलमा छौं । अहिले ठ्याक्कै कुन विषयमा के–के छलफल भयो भनेर भन्न हतार हुन्छ । तर यत्ति भन्न सकिन्छ डा. शेखर कोइरालाको नेतृत्वमा पार्टी विभाजन रोक्न अन्तिम समयसम्म छलफल जारी रहन्छ ।’ बैठकमा कार्यदल गठन गरेर सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभामा उम्मेदवार नबन्न अनुरोध गर्ने र प्रत्यक्षतर्फको टिकट बाँडफाँट गर्दा सभापति देउवा, वरिष्ठ नेता कोइराला र महामन्त्री गगन थापाको सहमतिमा गर्ने विषयमा पनि छलफल भएको छ । तिनै पक्षबीच सन्तुलन मिलाएर सहमति खोज्ने विषयमा पनि छलफल भएको थियो । यसै क्रममा सहमहामन्त्री बद्री पाण्डेले टिकट बाँड्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएर अगाडि बढ्न सकिने प्रस्तावसमेत राखेका थिए । पाण्डेले पार्टी एकताका लागि सभापति देउवालाई आगामी निवचनमा त्याग गर्न आग्रह गर्न सकिने धारणा राखेका छन् । ‘यत्रो वर्ष कांग्रेसरूपी घरको ओतमा बसेका नेताले त्यही घर भत्किन लाग्दा घर जोगाउन देउवाज्यूले पक्कै त्याग गर्नुहुनेछ,’ पाण्डेले भने, ‘कांग्रेस जोगाउन देउवाज्यू त्याग गर्न तयार हुनुहोस भन्ने हाम्रो आग्रह हो ।’ त्यसैगरी, माघ ५ गते उम्मेदवारी दर्ता भएपछि माघ १० गते केन्द्रीय भेला आयोजना गरी एकताको सन्देशसहित उम्मेदवारहरूलाई मतदातामाझ पठाउने विकल्पमा पनि छलफल भएको स्रोतले जनाएको छ । पार्टीभित्र बढ्दो असमझदारीका बीच डा. शेखर कोइरालाको सक्रिय पहलले कांग्रेसलाई विभाजनबाट जोगाउने साझा आधार निर्माण हुने अपेक्षा नेताहरूले गरेको डा. पोखरेलले वताए । उनका अनुसार कांग्रेसको एकता जोगाउन अरू धेरै प्रस्ताव छन् । ती प्रस्ताव लिएर डा. कोइरालाले अव नियमित र विशेष महाधिवेशन पक्षधरहरूलाई भेट्ने तयारी गरिरहेका छन् ।

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) हुन् । उनी पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा बढी व्यावसायिक अनुभव भएका वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन् । खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को वित्तीय विश्लेषक तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन् । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएको अवसरमा बैंक परिवारले खतिवडालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

त्रिभुवन विमानस्थलबाट १ वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्नेको संख्या करिब ५० लाख, ५ वर्षमा ३४९ प्रतिशतले वृद्धि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा साढे ५० लाखभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । यो तथ्यांक आगमन र प्रस्थान गर्ने दुवैको संख्या हो । क्यानका अनुसार सन् २०२५ मा सन् २०२० को तुलनामा ३४९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ लाख ५ हजार ८५८ जनाले यात्रा गरेका थिए । तथ्यांकअनुसार हरेक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या बढ्दो क्रममा देखिन्छ । तथ्यांकअनुसार सन् २०२२ मा २२ लाख २३ हजार ३३३ यात्रुले विमानस्थलबाट यात्रा गरेका छन् । सन् २०२३ मा यो संख्या दोब्बरले बढेको छ । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा ४३ लाख २९ हजार ४ सय जना यात्रुले आवतजावत भएका छन् ।  आन्तरिकतर्फ ४५ लाख पर्यटकले गरे यात्रा वर्षभरिमा त्रिभुवन विमानस्थलबाट ४५ लाख १९ हजार ३२२ जना आन्तरिक यात्रुले आवतजावत गरेका छन् । यो संख्या आव २०२० को तुलनामा २२१.४८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा १४ लाख ५ हजार ७७७ जनाले यात्रा गरेका छन् । सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा धेरै यात्रुले आन्तरिकमार्फत यात्रा गरेका छन् । उक्त वर्षमा ४९ लाख १३ हजार ३५७ जना पर्यटकले यात्रा गरेका छन् । सन् २०२१ मा त्रिभुवन विमानस्थलबाट ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जना यात्रुले यात्रा गरेका छन् ।  कुन विमानस्थलबाट कति पर्यटकले यात्रा गरे ? क्यानको तथ्यांकअनुसार भैरहवा विमानस्थलबाट सन् २०२३ र २०२४ मा मात्रै अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन् । तथ्यांकअनुसार उक्त विमानस्थलबाट सन् २०२३ मा २ हजार ३ सय १५ र सन् २०२४ मा ९ हजार २०२ जना यात्रुले आवतजावत गरेका छन् । आन्तरिकतर्फ सन् २०२४ मा ६ लाख १० हजार ४३७ जनाले यात्रा गरेका छन् । सन् २०२० मा उक्त विमानस्थलबाट १ लाख ८१ हजार ७०३ जना यात्रुले आवतजावत गरेका थिए । तथ्यांकअनुसार गौतमबुद्ध विमानस्थलबाट सन् २०२१ मा ५ लाख ५८ हजार र सन् २०२३ मा ५ लाख ४९ हजार यात्रुले यात्रा गरेका छन् । एक वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख १६ हजार, नेपालगञ्ज एयरपोर्टबाट ४ लाख ९९ हजार, विराटनगर एयरपोर्टबाट  ६ लाख ५९ हजार, चन्द्रगढी एयरपोर्टबाट ३ लाख ७२ हजार आन्तरिक यात्रुले यात्रा गरेका छन् । त्यस्तै, लुक्ला एयरपोर्टबाट २ लाख ४ हजार, भद्रपुर एयरपोर्टबाट २ लाख ३४ हजार, सुर्खेत एयरपोर्टबाट १ लाख ५९ हजार, जनकपुरबाट २ लाख ९५ हजार, सिमराबाट २ लाख ७३ हजार, धनगढी एयरपोर्टबाट २ लाख ८५ हजार यात्रुले यात्रा गरेका छन् । जोमसोम एयरपोर्टबाट २४ हजार, जुम्ला एयरपोर्टबाट ११ हजार, रामेछाप एयरपोर्टबाट ४६ हजार, सिमकोट एयरपोर्टबाट १६ हजार, फाप्लु एयरपोर्टबाट ११ सय, बाजुरा एयरपोर्टबाट ८८ हजार यात्रुले यात्रा गरेका छन् ।  त्यसैगरी, एक वर्षमा डोल्पाबाट ५ हजार, सल्लेबाट २ हजार, तुम्लिङटार एयरपोर्टबाट ३१ हजार, ताप्लेजुङबाट २ हजार, राराबाट ८ हजार, भोजपुरबाट ४ हजार, राजविराजबाट ३६ हजार, गुलीमीबाट १ हजार साँफेबजारबाट ७५१, दाङबाट ७७६, खानीडाँडाबाट ७५२, बझाङबाट २ हजार, इलामबाट ५३१ र थामखर्कबाट ६२ जना आन्तरिक यात्रुले यात्रा गरेका छन् ।  २०२५ मा पर्यटन क्षेत्रलाई फर्केर हेर्दा

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ परेकामध्ये इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट १३ लाख रुपैयाँ र विजयले युके पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।' पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए ।  

मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश, देशभर सामाजिक कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देशभर विविध सामाजिक तथा रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाटसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा कुल ७५५ युनिट रगत संकलन गरी सम्बन्धित स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको जनाएको छ । यसै अवसरमा ‘सन २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरबाट ७९१ विद्यार्थीको सहभागिता रहेको बैंकले जनाएको छ । काठमाडौंकी रिया खड्काले सर्वोत्कृष्ट चित्र सिर्जना गर्दै प्रथम स्थान हासिल गरेकी छन्। उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै, हरेक क्षेत्रीय कार्यालयअन्तर्गत उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका विजेता स्वतन्त्र विषयविज्ञको छनोटका आधारमा घोषणा गरिएको बैंकले जनाएको छ । बैंकले सातै प्रदेशलाई समेट्दै विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति, विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण, बागमती सफाइ महाअभियानका लागि सरसफाइ सामग्री हस्तान्तरण, सेवा आश्रमजस्ता गैरनाफामूलक संस्थालाई न्यानो सिरक र डस्ना सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरणलगायत कार्यक्रमसमेत गरेको छ । यस्तै, हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका दुर्गम बस्तीका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जीविकोपार्जनका लागि सिलाइ मेसिन वितरण गरिएको छ भने ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हातसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ । केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए भने बैंकको अवस्था, प्रगति तथा गतिविधिबारे प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराएका थिए । कार्यक्रमका अवसरमा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन गरिएको थियो भने संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।

विकास नायक अवार्ड : सिर्जना र अर्थ

विकास नायक अवार्डको सिर्जना मौलिक तरिकाबाट गरिएको छ । अवार्डमा दुई पातसहितको मुना र ताराभित्र बुद्धको अनुहार देख्न सकिन्छ । मुनाले सिर्जना, विकास र समृद्धिलाई प्रतिविम्बित गर्छ । हरियो पात दिगो र समावेशी विकासको सूचक पनि हो । यसले प्रकृति, कृषि, वातावरण र जीवन्त अर्थतन्त्रलाई पनि संकेत गर्दछ । नेपाली समाजमा शुभकार्यमा शुभारम्भमा नै मुनाको प्रयोग गरिन्छ, जसले सफलताको कामना गर्छ । भी आकारमा रहेको मुनाले विजयको संकेत पनि गर्छ । पातमा देखिएका नसा र मुनाको डाँठ भागले विकासको जग बलियो छ भन्ने संकेत गर्दछ ।  तारा उत्कृष्टता, नेतृत्व र मार्ग दर्शनको प्रतीक हो । यसले समाज र राष्ट्रलाई दिशा देखाउने नायकत्व जनाउँछ । उज्यालो फैलाउने र अरूको लागि प्रेरणाको स्रोतको संकेतको रूपमा पनि तारालाई लिइन्छ । ताराभित्र रहेका आँखाहरूले दूरदर्शीता, सजगता, विवेकपूर्ण निर्णय क्षमताको संकेत गर्दछ । नाकले एकताको सन्देश दिन्छ भने निधारमा रहेको चिन्हले नैतिक चेतना र वृद्धिसहितको शक्तिलाई प्रतिविम्बित गर्दछ । बुद्ध प्रतीकले शान्तिको प्रतीक दिन्छ । अवार्डमा प्रयोग भएका रंगहरूले ऊर्जा, प्रतिवद्धता, परिवर्तन र विश्वासको संकेत गर्दछ । अवार्ड डिजाइन गर्दा विकास, शान्ति र एकतालाई विशेष जोड दिइएको छ । अवार्डको तलमाथि नेपाली काठ प्रयोग गरिएको छ । अवार्डको डिजाइनदेखि निर्माणसम्म सबै कार्यमा नेपालीपन देख्न सकिन्छ ।