विकासन्युज

ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटीबीच प्रायोजन सम्झौता

काठमाडौं, १३ साउन । बिहीबार ग्लोबल आइएमई बैंक र नेपाल ओलम्पिक कमिटीबीच प्रायोजन सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकले सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुन गईरहेको ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि आवश्यक पर्ने जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटा तथा ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले ओलम्पिकमा सहभागिता जनाउने राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई जर्सि, टिर्सट, क्याप, ट्रयाक्सुट तथा स्र्पोर्ट किट प्रायोजन गर्नेछ । ग्लोबल आइएमई बैंकले खेलकुदको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडीलाई प्रोत्साहन स्वरुपे जर्सि तथा स्र्पोर्ट किट प्रायोजन गरेको हो । सिङ्गो खेल जगतको विकासमा योगदान पुगोस भन्ने उद्धेश्यले बैंकले यसअघि पनि बिभिन्न समयमा सहयोग गर्दै आएको छ । खेलकुद क्षेत्रमा ग्लोबल आइएमई बैंकले बिशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकद्धारा आयोजित करेस्पोण्डेट बैंकिङ्ग कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं, १३ साउन । स्टाण्डर्ड चार्टर्ड बैंकले बिहीबार काठमाडौंमा करेस्पोण्डेट बैंकिङ्ग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यशाला गोष्ठीमा नेपालमा अवस्थीत २८ वटा वाणिज्य बैंकका ८२ जना उच्च पदस्थ अधिकारीहरुले सहभागिता जनाएका थिए । उक्त गोष्ठीको मुख्य उद्देश्य नेपालमा रहेका बैंकहरुलाईं उपयोग गरी हुन सक्ने वित्तीय अपराध बाट मुक्त रहने, जल्दाबल्दा जोखिमको बारेमा जानकारी गराउने तथा अनुपालना जोखिम न्यूनीकरण सम्बन्धी असल उदाहरणहरुको बारेमा जानकारी प्रदान गर्नु रहेको थियो । स्टाण्डर्ड चार्टर्ड बैंकका विज्ञहरुद्धारा सञ्चालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गोष्ठीको उद््घाटन गरेका हुन् । कार्यक्रमको सुरुवात सिंगापुरमा कार्यरत करेस्पोण्डेन्ट बैंकिङ्गका विज्ञ गुरप्रीत धालिवालले अपराध अनुपालना सम्बन्धी जल्दोवल्दो विषयमा बोल्दै आतंकवादी कृयाकलापमा वित्तिय लगानी तथा अन्र्तराष्ट्रिय आर्थिक नाकावन्दी विषयमा प्रकाश पार्नुका साथै एएमएल/सिएफटीसँग सम्बन्धित आधारभुत क्रियाकलाप सहि तवरले गर्नु पर्ने बताएका छन् । करेस्पोण्डेन्ट बैंकिङ्गको क्षेत्रमा रहेका क्रियाकलापका बारेमा ट्रान्ज्याक्सन बैंकिङ्ग सेवाका कार्यकारी निर्देशक तथा दक्षिण एसिया क्षेत्र प्रमुख शिवरामन सुब्रमन्यमले जानकारी दिएका थिए । स्विफ्टका तर्फबाट बोल्दै नाओफुमी सुकेगावाले स्विफ्ट अन्र्तरगत ग्राहक पहिचान कर्ताका बारेमा आफ्ना बिचार राखेका थिए । त्यसैगरि वित्तीय अपराध नियन्त्रण इकाई, स्टाण्डर्ड चार्टर्ड नेपालका प्रमुख राजेस वास्तोलाले व्यापारीक कारोवारमा मनी लन्डरीङ्ग सम्बन्धी जोखीमका विषयमा बोलेका थिए । अन्त्यमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकहरुलाई अन्तर्राष्ट्रिय विज्ञबाट सिकेका असल कुराहरुबाट वित्तिय अपराध विरुद्ध लाग्न मद्धत मिल्ने आशा व्यक्त गरेका छन् ।

नेपालको आर्थिक–सामाजिक विकासमा लगानी गर्न युएईलाई चेम्बरको आग्रह

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अरव इमिरेट्स (यु.ए.ई.) बीचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निभाउन राजदूत साइद हमदान अल नगवीलाई आग्रह गरेका छन् । नेपालका लागि संयुक्त अरव इमिरेटसका नवनियुक्त राजदूत साइद हमदान अल नगवी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीबीच आज नेपाल चेम्वर अफ कमर्समा भएको भेटघाटका अवसरमा अध्यक्षले उक्त कुरा बताएका हुन् । अध्यक्ष श्रेष्ठले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण विकास हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष श्रेष्ठले गत वर्षको विनाशकारी भूकम्प पश्चात पुर्नस्थापना र पुर्ननिर्माणका लागि नेपालमा पूजीं र प्रविधिको आवश्यकता रहेको बताउंदैं नेपालमा संयुक्त अरव इमिरेट्सको पूजीं र प्रविधि भित्र्याउन अनुरोध गरेका छन् ।  अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले सेप्टेम्वर २३ देखि २७ तारेखसम्म आयोजना गर्ने नेपाल चेम्वर एक्सपो २०१६ मा सहभागिता जनाई व्यापार तथा लगानी गर्न समेत राजदूतलाई आग्रह गर्दै दुई देश विचको चेम्वर अफ कमर्सविच सहकार्य हुनु पर्ने बताए। भेटघाटका अवसरमा राजदूत साइद हमदान अल नगवीले दुई देशबीचको आर्थिक–सामाजिक विकासमा आफूले सक्दो प्रयास गर्ने बताउंदै नेपालमा व्यापार, लगानी, पर्यटन, जलश्रोत उर्जा, कृषि लगायत प्रविधिमा संयुक्त अरव इमिरेट्सका निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराए । उनले दुई देशबीचको दोहोरो कर हटाउन आवश्यक रहेको बताउंदै, हवाई क्षमता विस्तार गर्न र कार्गाे सेवालाई प्रभावकारी बनाउन विशेष ध्यान दिन अनुरोध गरे । राजदूतले दुई देशबीचको आर्थिक सामाजिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

एनसेलको सहयोगमा डे केयर डायलाईसिस सेन्टरको निमार्ण सम्पन्न

काठमाडौं, १३ साउन । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । यसले टिचिङ् हस्पिटललाई मृगौला सम्बन्धि रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ । मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानु दिन बढि रहेको अवस्थामा सर्वसाधारणलाई मृगौला सम्बन्धि रोगको उपचार देश भित्रै सहज बनाउन योगदान पुर्याउने उदेश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मशिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ । “यो सेन्टरको संचालनले मृृगौला सम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहज बनाउने राट्रिष्य नीति अनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,” त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले बताए । “यसकोे संचालनबाट थप बिरामीहरुलाई उपचार प्रदान गर्दै लाभ प्रदान गर्नका लागि हामीले नयाँ डायलाईसिस मशिनहरु जडान गर्नु पर्नेछ ।” हाल टिचिङ् हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा संचालनमा रहेको तीन वटा डायलाईसिस मशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजना अन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मशिनहरु जडान गर्ने क्रममा रहेको छ । एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको थियो । १६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पुर्वाधार र डायलाईसिस मशिन संचालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जहान गरिएको छ । मृगौला सम्बन्धि रोग एक प्रमुख समस्याका रुपमा देखा परेको छ । आंकडा अनुसार देशको कुल जनसंख्याको झण्डै ९ देखि १० प्रतिशत मानिसहरु मृगौला सम्बन्धि रोगबाट ग्रसित छन् र ती मध्ये ९० प्रतिशतको दुवै मृगौलाले काम नगर्ने रोगबाट पीडित छन् । परिणाम स्वरुप मृगौला डायलाईसिस सेवाको माग एकदमै बढिरहेको छ । सरकारले पनि बिरामीलाई डायलाईसिस सेवा निःशुल्क उपलब्ध गराउने नीति अबलम्बन गर्दै आएको छ । “मृगौला सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्नका निमित्त आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामी एकदमै हर्षित छौ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । “हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजना अनुरुप बिरामीहरुलाई अति आवश्यक मृगौला उपचार सम्बन्धि सेवा प्रदान गर्नमा मद्दत गर्ने छ ।” एनसेलले आफ्नो व्ययसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम ‘वी केयर’ अन्तर्गत टिचिङ् हस्पिटललाई यो सहयोग प्रदान गरेको थियो । उक्त कार्यक्रम अन्र्तगत, कम्पनीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि विश्वस्तरिय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आईसियु) स्थापना गर्न सहयोग गरेको छ ।

काठमाडौं भ्यु टावरको निर्माण अघि बढेन, महानगरपालिका भन्छ–‘यो नेपाली पारा हो’

काठमाडौं, १३ साउन । सार्वजनिक निजी साझेदारीमा पुरानो बसपार्कमा बनाउने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै अघि बढ्न सकेको छैन् । लामो विवादलाई चिर्दै काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ साल कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले टावरको शिलान्यास गरेका थिए । टावर निर्माण आरम्भ गर्ने भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारिएको थियो । बसपार्क सारिएको चार महिना बित्नै लाग्दा अझै टावर निर्माण आरम्भ भएको छैन् । टावर निर्माण किन अघि बढेन ? भन्ने प्रश्नको जवाफमा महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन् ‘यो नेपाली पारा हो, अब चाँडै काम हुन्छ ।’ चाँडै भनेको कहिले हो भन्ने प्रश्नमा उनको जवाफ थियो–‘निर्माण यन्त्र ल्याउने काम भैरहेको छ, मुग्लिनको पहिरोले पनि केहि समस्या पारेको छ, आशा गरौं अब चाँडै काम सुरु हुन्छ ।’ उनले निर्माण आरम्भ गर्न ढिलो गर्दा महानगरपालिकालाई नभएर निर्माण कर्ता कम्पनीलाई नै नोक्सानी हुने तर्क समेत पेश गरे । ‘हामी चाँडो निर्माण सुरु गर्नुस भनिरहेका छौं, ढिला हुँदा पनि हामीलाई कुनै नोक्सानी छैन ।’, महानगरपालिकाका प्रवक्ता कार्कीले विकासन्युजसँग भने । के छ सम्झौतामा ? पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर महानगरपालिकाले निर्माण अनुमति भने १२ तल्लाका लागि मात्रै दिएको छ । भूकम्पपछि १२ तल्ला भन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएको थियो । कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण हुनेछ । बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गरिनेछ । २०६८ सालको असोजमा निर्माण अनुमति प्रदान गर्दा २९ तल्लो सो भवनको लागत एक अर्ब ८७ करोड हुने प्रक्षेपण गरिएको थियो । हाल सो मुल्यमा ४० प्रतिशत लागत बढ्ने अनुमान गरिएको महानगरपालिकाका काठमाडौं टावर सम्पर्क प्रमुख महेश काफ्लेले बताए । भवन निर्माणका लागि ३ वर्ष अवधि तोकिएको छ । त्यसपछि २७ वर्ष निर्माण कर्ता कम्पनीले सञ्चालन गर्नेछ । अर्थात ३० वर्षपछि काठमाडौं टावर काठमाडौं महानगरपालिकाको मातहतमा आउनेछ । २७ वर्षसम्म महानगरपालिकाले वार्षिक दुई करोड ७० लाख रुपैंयाँ जग्गा लिज वापत राजश्व समेत प्राप्त गर्ने भनिएको छ । भवन निर्माणका लागि प्राइम कमर्सियल बैंकले तीन बर्षका लागि एक करोड ८५ लाख रुपैंयाँको बैंक ग्यारेण्टी गरिदिएको छ । यसैबिच काठमाडौं भ्यु टावर बनाउन नहुने माग गर्दै बागबजारका स्थानियहरुले संघर्ष समिति बनाएरै आन्दोलन गरिरहेका छन् ।

धनकुटाको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित सातको मृत्यु

धनकुटा, १३ साउन । संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवाको मृत्यु भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए। सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् । दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

अनुसन्धान ब्युरोद्वारा एकसय एक घटनाको अनुसन्धान

काठमाडौं, १३ साउन । ओमकार शाहको नेतृत्वको अपराधी टोलीले धादिङको एक महिलालाई पूजाआजा गर्ने र महिलालाई नै बलि दिने उद्देश्यले अपहरण गरे । पीडित महिलाको परिवारले दिएको निवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अपराधीलाई समात्न सफल भयो र महिला बलि हुनबाट जोगिइन् । यो गत वर्षको भदौको घटना थियो । यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जीतबहादुर दर्जीलगायतको टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूतावास पु¥यायो । उनीहरुको यौनको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो । पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो सोही निवेदनका आधारमा पीडित महिलालाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरियो । यी केवल समाजमा हुने केही उदाहरणीय घटनामात्र हुन् । काठमाडौं उपत्यकालगायत देशभर यस्ता घटना दिनहुँ थुप्रै घटिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले हाल यस्ता घटनाको अनुसन्धानका लागि सक्रियता बढाएको छ । आव २०७२/७३ मा ब्युरोले १०१ घटनाको सफल अनुसन्धान गरेको छ । ब्युरोका लागि गत आव नक्कली डाक्टर प्रकरण महत्वपूर्ण बन्यो । केही महिनाअघि मेडिकल क्षेत्रमा एउटा परीक्षार्थीले अर्काको नाममा परीक्षा दिएको फेला पारेपछि नक्कली डाक्टरको अनुसन्धान सुरु गरियो । ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल नक्कली परीक्षार्थी फेला परेपछि नक्कली डाक्टर पनि अवश्य हुन सक्छन् भन्ने विश्वासका आधारमा अनुसन्धान गर्दा ५४ जना नक्कली डाक्टर फेला परेको बताउछन् । उनले नेपालमा भन्दा पनि भारतका विभिन्न मेडिकल कलेज पढेर आएका डाक्टर बढी नक्कली हुने गरेको बताए । उनले भने – “मेडिकल काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल परीक्षा बोर्डको संयुक्त टोलीले विहार विश्वविद्यालयको बोर्डमा गएर अनुसन्धान गरेपछि नक्कली प्रमाणपत्र फेला पारेका हौँ ।” प्रहरीले ५४ जना नक्कली डाक्टरमध्ये १७ जनालाई नेपाल मेडिकल काउन्सिल ऐन र बाँकी ३७ जनालाई ठगीको मुद्दा चलाएको छ । यस्तै आव २०७२/७३ मै ब्युरोले तान्जनिया, किर्गिस्तान, लिविया, सिरियालगायतका देशमा मानव बेचबिखन गरेको आरोपमा १६ घटनाको अनुसन्धान गरेको छ । दूरसञ्चार हानिनोक्सानी गरी (ओआपी) कल वाइपास गर्ने गरेको आरोपमा तीन घटनाको अनुसन्धान गरेको छ । छ वर्ष अगाडि ललितपुरको च्यासलमा तीन वर्षको बालिकालाई करणी गरी घाँटी रेटी मारेको एक घटनाको अनुसन्धानका दोषीलाई समेत पक्राउ गरिसकेकोे ब्युरोले जनाएको छ । नक्कली नागरिकता तथा राहदानी बनाउने र विदेश जान पेस गर्ने गरेको आरोपमा चार, किर्ते छ, चोरी एक र ठगीका ५० घटनाको अनुसन्धान गरेको छ । आव २०७१/७२ मा ७० मुद्दा हेरेर १३० जनालाई पक्राउ गरेको ब्युरोले आव २०७२/७३ मा १०१ मुद्दा हेरी १०९ जनालाई कानुनी दायरामा ल्याएको छ । यस्तै सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची–१ बाहिर परेको मानिने नेपाल मेडिकल काउन्सिल ऐनअन्तर्गतको मुद्दासमेत ब्युरोले अनुसन्धान गर्ने भन्ने सरकारी निर्णयअनुसार १७ नक्कली डाक्टरलाई सो ऐनअन्तर्गत कारबाही गरिएको ब्युरोले जनाएको छ । रासस

लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या

काठमाडौं, १३ साउन । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर हिमाली तथा पहाडी क्षेत्रको उडान भने प्रभावित भएको छ । मौसम खरावीले खासगरी पूर्वी पहाडी र पश्चिमका केही विमानस्थलमा उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान नियमित रुपमा सञ्चालन भइरहेका छन् । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार वर्षाले आन्तरिकतर्फ नियमित उडान केही प्रभावित भएको छ । पहाडी भेगका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङलगायतका गन्तव्यमा भने उडानमा केही समस्या आएको छ । यता मौसम पूर्वानुमान महाशाखाले पनि पूर्वी पहाडी भेगबाहेक अन्य स्थानमा भिजिबिलिटी राम्रो रहेको र उडानमा समस्या नरहेको जनाएको छ । मौसमविद् सुवास रिमालले पूर्वका ताप्लेजुङ, ओखलढुङ्गा आदि स्थानमा बदली भई बाक्लो कुहिरो लागेकाले समस्या हुनसक्ने र अन्य स्थानमा भने सामान्य रहेको बताए । विमानस्थलका अनुसार आन्तरिकतर्फ आठ र अन्तर्राष्ट्रियतर्फ २६ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् । रासस