विकासन्युज

आयल निगमले तिर्यो ३७ अर्ब ऋण

काठमाडौं, १५ साउन । ३७ अर्ब ऋण तिर्दै नेपाल आयल निगम ऋण मुक्त बनेको छ । नेपालमा सबै भन्दा धेरै कारोबार गर्ने संस्थाका रुपमा स्थापित निगमले १० वर्षमा व्यहोरेको ३७ अर्ब ऋण दुई वर्षमै तिर्ने गरि आम्दानी गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा भारी गिरावट आएपछि निगमले मनग्गै नाफा गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा भारी गिरावट आएको भएपनि निगमले सो अनुसार मुल्य समायोजन गरेको छैन् । निगमले अब १७ अर्ब ऋण तिर्न बाँकी छ तर गत आर्थिक वर्ष २०७२/७३ मा गरेको नाफाबाट सो ऋण तिर्ने योजना निमगले बनाएको छ । २०७१ साल असोज १३ गतेबाट निगमले महिनामा दुई पटक मुल्य समायोजन गर्दै आएको थियो । इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचिका आधारमा निगमले इन्धनको मुल्य समायोजन गर्दै आएको छ । महिनामा दुई पटक मुल्य समायोजन गर्ने नीति अख्तियार गरेदेखि इन्धनको अन्तराष्ट्रिय बजार मुल्य निरन्तर घटिरहेको छ । त्यसको फाइदा स्वरुप निगमले निरन्तर नाफा आर्जन गर्दै ऋण मुक्त भएको हो ।

एनसेललाई पुँजीगत लाभकर तिराउन अर्थ समितिको निर्देशन

प्रकाश ज्वाला काठमाडौँ, १४ साउन । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पुँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले विगतमा आफ्नो सञ्चित मुनाफामा अधिकतम वृद्धि गरेको र पटक पटक एनसेल बिक्री तथा स्वामित्व समेत परिवर्तन भएको सन्दर्भमा पुँजीगत लाभकर तिर्नैपर्ने अवस्था रहे पनि अटेर गर्दै आएकाले तत्काल उक्त कर तिराउन सरकारलाई निर्देशन दिएको हो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेय र सचिव सूर्य सिलवाल, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने लगायतसँगको छलफलपछि समितिले वैदेशिक लगानीको सुरक्षाका विषयमा समिति सचेत रहेको निष्कर्ष निकाल्दै कानुनअनुसार तिर्नुपर्ने कर तिर्न निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए । रु दश करोड अधिकृत पुँजीबाट सुरु गरिएको कम्पनीको हाल अधिकृत पुँजी रु १७ अर्ब र जारी पुँजी रु दुई अर्ब ५० करोड रहेको देखाएको तथा उद्योग विभागमा रु एक खर्ब ५० अर्बको थप लगानीका लागि निवेदन समेत दिएको अवस्थामा कानुनअनुसार लाभकर तिरेर मात्रै थप प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको हो । हाल रेनोल्ड होल्डिङको ८० प्रतिशत, वेस्ट इन्डिज र सुनिभेरा क्यापिटल भेन्चर्सको २० प्रतिशत सेयर लगानी रहेको छ । टेलिसोरेनाले रेनोल्ड होल्डिङलाई रु एक खर्ब ४३ अर्बमा एनसेल बिक्री गर्दा त्यसबाट करिब रु ५७ अर्ब पुँजीगत लाभकर तिर्नुपर्ने भए पनि नतिरेको बरु थप लगानी भित्र्याउनका लागि विभागमा निवेदन दिएको विषय नै अमिल्दो रहेको सांसद जगदीश्वरनरसिंह केसीको भनाइ थियो । सांसद केदार सञ्जेलले सुरुमा केही लगानी ल्याए पनि पछिल्लो दिनमा नल्याएको बरु नेपालमा नै कमाएको रकम नै लगानी गर्दै गएको देखिएकाले कर छुट दिने विषय नै आउँदैन भन्दै कर छुट दिन खोज्ने सरकारी निकायलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । सांसद कमला पन्त, अब्दुलरज्जाक गद्दी र गोमा कुँवरले नेपालमा लगानी गर्नेले नेपालको ऐन नियम र कानुन मान्नुपर्ने भएकाले जुनसुकै हालतमा लाभकर तिराएर मात्रै पुँजीवृद्धिको विषयमा निर्णय गर्नुपर्ने धारणा राखेका छन् । बैठकमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पुँजीवृद्धिको विषयमा निवेदन प्राप्त भए पनि सरोकार भएका पक्षको माग एवम् कानुनी प्रावधानअनुसार निर्णय नगरिएको बताए । उद्योग सचिवको संयोजकत्वमा गठित कार्यदलले नेपालले अवलम्बन गरेको विदेशी लगानी तथा औद्योगिक व्यवसायसम्बन्धी नीतिलाई दृष्टिगत गर्दा एनसेलले पुँजी तथा क्षमता वृद्धिको स्वीकृति नलिई कम्पनीको वार्षिक नाफालाई प्रत्येक वर्ष पुनःलगानी गर्दै गएको देखिएकाले नेपाल सरकारको औद्योगिक कानुनको परिपालना नगरिएको ठहर गरेको छ । औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिम उद्योगले पालना गर्नुपर्ने सर्त पालना नगरेकाले रु पाँच लाखसम्म जरिवाना, उद्योग दर्ता वा अनुमतिपत्र खारेज गर्ने वा उद्योग बन्द गराउने विकल्पमध्येबाट सरकारले सजाय गन क्ने व्यवस्था रहेको छ । विभागले पटक पटक पुँजीवृद्धिको स्वीकृति लिएर मात्रै पुँजी वृद्धि तथा क्षमता वृद्धि गर्न सचेत गराउँदै आएको छ । सञ्चारसचिव थपलियाले संसदीय समितिको निर्देशन र प्रचलित कानुन एवम् तथ्यका आधारमा आवश्यक छानबिन भइरहेको र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको बताए । उद्योग सचिव सिलवालले करको विषयमा आवश्यक निर्णय गर्ने निकाय अर्थ मन्त्रालय भएकाले उसले गर्ने निर्णयका आधारमा अगाडि बढ्न आफूहरु तयार रहेको बताए । दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले ठूला करदाता कार्यालयले जुन निर्देशन दिन्छ त्यही आधारमा प्राधिकरणले निर्णय गर्ने भएकाले कुनै अस्पष्टता नरहेको बताए । रासस

योगासन गरी गिनिज बुकमा नाम लेखाउने मोक्तान सम्मानित, कसरी गर्छन उनले योग ?

बनेपा, १४ साउन । योग साधनामार्फत गिनिज बुकमा नाम लेखाउन सफल भएका काभ्रेपलाञ्चोकको फोक्सिङटारका उत्तम मोक्तानलाई आज बनेपामा सम्मान गरिएको छ । योगासनमा उत्तम मोक्तान नेपाल स्कुल परियोजनाले नवौँ वार्षिक साधारणसभाको अवसरमा मोक्तानलाई सम्मान गरेको हो । उनले ५० घन्टा १५ मिनेट योगासन गरी भारतका योगराज सिपीले बनाएको योग म्याराथनको रिकर्ड तोडेका थिए । सो अवसरमा बोल्दै मोक्तानले योग समग्र जीवनको दर्शन भएको उल्लेख गर्दै युवा पिँढीलाई कुलतमा नफस्न आग्रह गरेका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटाले योगले मानव जीवनलाई गति प्रदान गर्ने उल्लेख गर्दै मानवीय जीवनलाई स्फूर्त बनाउन योगले सहयोग गर्ने बताए ।   परियोजनाका अध्यक्ष रकमसिंह घलानको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य गुबेन तौजलेलगायतले योगले नयाँ जीवन दिने बताए ।

सिजी मोबाइल्सद्धारा इओन ब्लेजगोल्ड मोबाइल सार्वजनिक, मूल्य ९ हजार रुपैयाँ

काठमाडौं, १४ साउन । सिजी मोबाइलद्धारा सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोेबाइलको एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा रहेको छ । उक्त मोबाइलमा ५ इञ्चको डिस्प्ले र २.५ डि को आइपिएस प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोबाइलमा १.३ क्वाडकोर प्रोसेसरमा आधारित मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा छ भने पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ । कम्पनीले बताए अनुसार यस मोबाइलमा १६ जिबिको ¥याम छ भने ३२ जीबीसम्म बढाउन सकिने छ । बजारमा मोबाइलको मूल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अख्तियारको फन्दामा नासु र खरदार, ७ दिनमा ६ कर्मचारी घुससहित पक्राउ

काठमाडौं, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठुला माछा समाउन नसकेको आरोप लागेको धेरै भैसक्यो । केहि ठुला माछालाई जालमा पर्न लागेको भएपनि त्यो पुर्णतः सफल भैसकेको छैन र कतिपय अनुसन्धानहरु प्रतिसोधपुर्ण रहेको भन्दै आलोचित भैरहेका छन् । यसैबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन महिना लागेपछि मात्रै ६ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्यो । तर पक्राउ परेका सबै खरदार र नायब सुब्बास्तरका कार्मचारी मात्रै छन् । आयोगले साउन १ देखि ७ गतेको अवधीमा ६ जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको हो । आयोगले साउन १ गते यातायात व्यवस्था कार्यालय नारायणीबाट नायब सुब्बा प्रेम कुमार भट्टराईलाई २० हजार रुपैंयाँ घुससहित रंगेहात पक्राउ गर्यो । साउन २ गते शहरी विकास तथा भवन निर्माण विभाग मोरङबाट इञ्जिनियर चन्देश्वरी यादवलाई १० हजार घुस लिँदालिँदै पक्राउ गर्यो । साउन ३ गते कसैलाई फन्दामा पार्न नसकेको आयोग टोलीले साउन ४ गते फेरी अर्काे माछा जालमा पार्न सफल भयो । आयोगले साउन ४ गते बागमति यातायात कार्यालयबाट प्राबिधिक नायब सुब्बा सुर्य बज्र बज्राचार्यलाई १५ हजार रुपैंयाँ असुल्दै गर्दा पक्राउ गर्यो । साउन ५ गते फेरी सिँचाई विकास डिभिजन कार्यालय बिरेन्द्रनगरका सब इञ्जिनियर सञ्जय कुमार यादव ९७ हजार रुपैंयाँ घुस सहित समातिए । साउन ६ गते पनि आयोगले फेरी सक्रियता बढायो । नभन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीबाट इञ्जिनियर राम दुलारी शरण भगत एक लाख ५७ हजार सहित पक्राउ परे । त्यसको भोली पल्ट फेरी काठमाडौंस्थित मनमैजु मालपोत कार्यालयबाट अमिन लक्ष्मी प्रसाद देवकोटा ३० हजार नगदसहित समातिए । आयोगले देशभर आफ्नो पहुँच विस्तार गर्न भन्दै पाँच ठाउँमा क्षेत्रिय सम्पर्क कार्यालय सञ्चालन गरिरहेको छ । आयोगले धनकुटा, हेटौडा, पोखरा, सुर्खेत र दिपायलमा क्षेत्रिय सम्पर्क कार्यालय मार्फत काम गरिरहेको छ ।

अरोमाको दोश्रो शोरुम पाटनमा

काठमाडौं, १४ साउन । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको दोस्रो शोरूम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा स्थापना गरिएको छ । विगत दुई वर्षदेखि काठमाण्डौंको लैनचौरबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले ललितपुरको महापालपछि तत्कालै मकवानपुरको हेटौँडामा पनि शाखा विस्तार गर्न लागिएको र नेपालभर अब १५ भन्दा बढि शाखा विस्तार गर्ने अरोमा फेसनका प्रवन्ध निर्देशक अरुणराज भट्टराईले जानकारी दिए । नेपाली युवाहरुको रोजाईलाई ध्यानमा राख्दै सोहि अनुरुपमा नयाँ डिजाईनका कपडाहरु थाईल्यान्डमा तयार गरि नेपाली वजारमा ल्याईने निर्देशक भट्टराइले बताए । अरोमाले एकहप्ता अघिमात्र चावहिलमा पहिलो शोरूम विस्तार गरेको थियो । महापालको शोरूम रोटरी इन्टरनेशनलका अध्यक्ष जया शाह, हिन्दु विद्यापिठका डा. चिन्तामणि योगी, समाजसेवी तथा धार्मिक माता सपना, र कम्पनीका प्रबन्ध निर्देशक अरूणराज भट्टराईले संयुक्त रूपमा गरे । यसैबिच कम्पनीले शोरूम सञ्चालनको उपलक्ष्यमा हरेक किसिमको सामाग्री खरिदमा ३० प्रतिशत छुटको घोषणा गरेको छ । अरोमा थाईल्याण्डमा उत्पादन हुने बहुराष्ट्रिय कम्पनी हो । यसका उत्पादन विशेषगरी युरोप र एशियामा बढि मन पराइन्छ ।

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबर्ट

काठमाडौं, १४ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगैँचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् । अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडौं आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो । अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् । अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन् । ‘‘कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’ उनले भने–‘‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’’ सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फु¥यो । घरमै फालिएको काठ, ट्युव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए । ‘‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’’ उनले भने–‘‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट एक्जाभेटर बनाउन सफल भएँ ।’’ अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ । सानैदेखि खेलौना गाडी चलाउने मन पराउने अमन कक्षा– ४ मा गइसकेपछि बुबाले किनिदिएको खेलौना गाडीले नै अहिलेका उपकरण बनाउने प्रेरणा बनेको बताउँछन् । उपकरण बनाएको देखेर कक्षामा सधैँ प्रथम हुने छोरोको पढाइ बिग्रिएला भनेर बुबा आनन्दराज पौडेलले गाली पनि गरे । ‘‘पछि छोराले आफ्नो स्कुलमा एक्जाभेटर बनाएको देखेपछि मैले पनि उसको कामलाई सहयोग गर्दै आएँ’’ बुबा आनन्दले भने। अहिले जमिन र पानीमा हिँड्ने ब्याट्रीबाट चल्ने रोबोट भित्ता र आकासमा उड्ने समेत बनाउन सकिन्छ । ‘‘अहिले जमिन र पानीमा हिँड्ने रोबोट चुम्बक प्रयोग गर्ने हो भने भित्ता र पङ्खा रोबोटमा राख्ने हो भने आकासमा पनि उड्छ’’ उनले भने । अमनले ‘लिक’ बिनाको साधारण बाटोमा हिँड्ने ब्याट्रीबाट चल्ने रेल बनाएका छन् । ‘‘नेपालजस्तो रेलको लिक नभएको सडकमा पनि चल्नेसक्ने रेल भए सजिलो हुन्छ भनेर मैले त्यस्तो साधारण बाटोमा पनि चल्नसक्ने रेल बनाएको हुँ’’ उनले रेल प्रदर्शन गदै भने–‘‘यो रेल सामान ढुवानीमा बढी उपपयोग हुनसक्छ ।’’ अमनले थप पानी तान्ने पम्प, टिपर, विद्युत् डाइनामो, केवलकार, हेलिकप्टर, ग्यास लाइट, एसी, हाइड्रोलिक ब्रेक, चुम्बकीय क्रेनजस्ता नयाँ उपकरण बनाउने तयारीमा रहेको बताए । उनले सरकारले आफूले बनाएको उपकरणमा सहयोग गरे आफ्नो सामग्रीलाई विश्वमा पनि प्रदर्शन गराउने सोच सुनाए । बुबा आनन्दले छोराले बनाएको वैज्ञानिक उपकरणलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अमनलाई सरकारले सहयोग गर्नुपर्ने बताए । रासस

बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित

प्यूठान, १४ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने भएपछि समयमै राहत पु¥याउनका लागि कठिनाइ भएको हो । जिल्लास्तरबाट तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले चिउरा, चाउचाउ, दालमोठजस्ता अत्यावश्यक वस्तु पु¥याए पनि अन्य खाद्यान्न र लत्ताकपडा पु¥याउन समस्या देखिएको हो । राहत सामग्री ढुवानी गर्नका लागि फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरे पनि केन्द्रबाट हेलिकप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको छ । राहत सामग्री ढुवानी गर्नका लागि हेलिकप्टर माग भए पनि हालसम्म आउन नसकेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए । “तत्कालको राहत सामग्रीका लागि नेपाली सेना र नेपाल प्रहरीले ढुवानी कार्य गरिरहेका छन् ।” प्रनाउ राठोरले भन्नुभयो–“जिल्लास्तरमा राहत सामग्रीसँगै हेलिकप्टरको आवश्यकता देखिएको छ ।” लगातार तीन दिनसम्मको वर्षाका कारण ३८ जनाको मृत्यु भएको प्यूठानमा अहिलेसम्म झन्डै ३०० घरपरिवार विस्थापित भएका छन् । पहिरोमा परी मृत्यु भएकाका आफन्त र विस्थापितका लागि राहत सामग्रीसहित खानेपानी, स्वास्थ्य तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयवासी तथा राहत कार्यमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले बताए । “स्थानीयवासीमा पानी, बसोबास, खाद्यान्न तथा स्वास्थ्य समस्या देखिएको छ ।” तीन दिनदेखि उद्धार कार्यमा खटिनुभएका भण्डारीले भने – “तीन दिनको सुत्केरीसहित वृद्ध र नाबालक पनि यहाँ बेवारिसे अवस्थामा रहेका छन् । उनीहरुको उद्धार गरी उचित बसोबास र खाद्यान्नसहित स्वास्थ्य सेवा तत्काल लैजान आवश्यक छ ।” हालसम्म फोप्लीको ३, ४ र ५ नं वडामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यस्तै यहाँ अझै दुई जना बेपत्ता रहेका छन् भने जिल्लाका विभिन्न स्थानमा अझै पनि छ जना बेपत्ता रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनीहरुको खोजीसँगै उद्धार र राहतलाई प्राथमिकता दिइएको बताए। “राहतस्वरुप हामीले तत्कालका लागि रु आठ हजारसम्म राहत दिएका छौैँ ।” प्रजिअ पन्थले भने– “जिल्लामै हालसम्मकै ठूलो मानवीय क्षति भएको समय छ । यसमा प्रतिमृत परिवार रु ४० हजारसम्म आर्थिक राहत दिने तयारी गरेका छौँ । तर अन्य निकायको समन्वयमा खाद्यान्न र लत्ताकपडा पनि वितरण गर्ने तयारी गरेकाछौँ ।” बाढी पहिरोमा परी मृत्यु भएका सँगै विस्थापित र बाँचेकाको अहिले बिचल्ली भएको छ । जिल्लामा ३०० भन्दा धेरै परिवार विस्थापित लगातारको वर्षासँगै आएको बाढी पहिरोमा परी उच्च जोखिममा रहेका रजवारा, खुङ, पूजा, खवाङ, फोप्ली, लुङ र भिगृमा स्थानीयवासी विस्थापित भएका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसको ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, गोठ तथा आफन्तको आश्रय लिएर बसेका छन् । त्यस्तै डामृमा ४२, अर्खामा २८ र लिवाङमा १७ परिवार विस्थापित भएका छन् । त्यस्तै उत्तरी प्यूठानको स्याउलिवाङ र ओखरकोटमा १६ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । विस्थापित परिवारमा सदस्यहरु झन्डै एक हजार ५०० जनाभन्दा धेरै विस्थापित भएको हुन सक्ने अनुमान गरिएको छ । विस्थापित परिवार अधिकांश विद्यालय तथा खुला ठाउँ र आफन्तकामा बसेका छन् । जिल्लाभरमा स–साना पहिरो असङ्ख्य मात्रामा गएका छन् । अधिकांश ठाउँ उच्च जोखिममा जिल्लामा बाढी पहिरो गएका अधिकांश ठाउँ उच्च जोखिममा रहेका छन् । पहिरो गएका ठाउँमा पानीका मुहान फुटेसँगै गाउँका बस्ती उच्च जोखिममा रहेका छन् । भूकम्पसँगै लगातारको वर्षाका कारण जमिनमा चट्टान र माटो बीचमा ठूलो कम्पन आएकाले ठाउँहरु उच्च जोखिममा रहेका छन् । जिल्ला दैवी प्रकोप प्रतिकार्य योजनामा पनि उत्तरी क्षेत्रहरु आफैँ जोखिममा रहेको भन्दै प्रजिअ जनकराज पन्थले लगातारको वर्षासँगै सो क्षेत्रका ठाउँ र बसोबास गरेका स्थान उच्च जोखिममै रहेको बताए । छ बेपत्ता अझै फेला परेनन् लगातारको बाढी र पहिरोका कारण जिल्लाभरमा हालसम्म अझै छ जना बेपत्ता रहेका छन् । उनीहरु तीन दिन बितिसक्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । हालसम्म फोप्ली–३ मा ४१ वर्षीया चमेली पुन, चार वर्षीया थमी पुन, खवाङ–३ का ८० वर्षीय फुटरी सुनार खवाङ–७ का २५ वर्षीया काली परियारसहित लुङ–६ वहानेका ११ वर्षीय किरण थापा र ३० वर्षीया शोभा रिजाल बेपत्ता रहेका छन् । रासस