बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक १७६८ बिन्दुमा, १५० करोडको कारोबार
काठमाडौं, २० साउन । यो साता भरि सेयर बजार निरन्तर ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार, बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक ४५ दशमलब १२ अंकले ओरालो लागेर १७६८ अंकमा पुगेको छ । सो दिन एक अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १४२ कम्पनीको २७ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको हो । बजारमा सबै समूहको परिसूचक आरालो लागेको छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९९ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १०२ अंकले ओरालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, उत्पादनमूलक र बैंकिङ् समूहको परिसूचक क्रमशः ५८, ५२, ५१ र ४० अंकले घटेका छन् । त्यसैगरि फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः १७ र १२ अंकले तल झरेको छ । सिद्धार्थ बैंकको सबैभन्दा बढी ११ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंक र नेपाल बैंकको ९ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एनएमबी बैंकको करिब ६ करोड भन्दा कम रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी कन्काइ विकास बैंकको करिब ५ प्रतिशतले बढेको छ । त्यस्तै सिनर्जी फाइनान्स, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र लुम्विनी फाइनान्सको सामान्य प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । आरिएन्टल होटल र देब विकास बैंकको करिब ७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स, अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र काष्टमान्डप डेभलपमेन्ट बैंको करिब ६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बैंकहरुले व्याज माथि व्याज लगाउन नपाउने, पेनाल व्याज २ प्रतिशत भन्दा कम लिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं, २० साउन । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग व्याज माथि व्याज लगाउन नपाउने भएका छन् । त्यस्तै पेनाल व्याज पनि बढीमा २ प्रतिशत लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । ‘कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा बार्षिक पेनाल ब्याजदर २ प्रतिशत भन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिकामा भनिएको छ । त्यस्तै पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ता (साँवा, ब्याज) रकममा बार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधीका लागि कायम हुन आउने रकम भन्दा बढी लिन पाइने छैन । त्यस्तै, पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन । राष्ट्र बैंकका सहयाक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार यसअघि राष्ट्र बैंकले पेनाल व्याजदरको सीमा तोकेको थिएन । कर्जा भुक्तानीमा ढिलाई हुँदा बैंकहरुले पेनाल व्याज बढी लिए भन्ने गुनासो उपभोक्ताबाट आएपछि नयाँ व्यवस्था गरिएको हो । बैंकहरुले व्याज र पेनाललाई पु्ँजीकरण (क्यापिटलाईज) गरेर त्यसमाथि व्याज लगाउन पनि नपाउने व्यवस्था गरिएको उनले बताए । यसअघि बैंकहरुले भाका नाघेका ऋणीबाट उठाउन बाँकी व्याजमा पुनः सावाको सरह व्याज लगाउदै आएका थिए । नयाँ व्यवस्थाले तोकिएको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्न नसेका तर ढिला गरि बैंकको ऋण भुक्तानी गर्ने ग्राहकलाई लाभ मिल्नेछ । बैंकको आम्दानीमा भने थोरै नाकारात्मक असर पर्नेछ ।
चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा वितरण हुने
काठमाडौं, २० साउन । खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण गर्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घको चौधौँ वार्षिक अधिवेशनमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सञ्जय शर्माले मेलम्ची आयोजना सम्पन्न गर्न तीव्रगतिमा कार्य भइरहेको र उक्त आयोजनापछि काठमाडौं उपत्यकामा १७ करोड लिटर खानेपानी प्रतिदिन आपूर्ति गर्न सकिने जानकारी दिए । सरसफाइका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम भइरहेको र विभिन्न गाविस तथा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहरसमेत चलेको उल्लेख गर्दै उनले स्थानीयवासीको सहयोगबिना सरकारका कुनै पनि कार्यक्रम सफल नहुने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष विष्णु दाहालले ‘काठमाडौं उपत्यकामा ट्याङ्करबाट खानेपानी आपूर्तिको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै खानेपानीको गुणस्तरअनुसार ट्याङ्करमा स्पष्टसँग ‘खानेपानी ट्याङ्कर’ भनी उल्लेख गरिनुपर्ने सुझाव दिए । उनले अहिलेको खानेपानी ऐन, उद्योग ऐनलगायतका ऐनलाई समयानुकूल नियमन गर्ने किसिमले संशोधन गर्नुपर्ने र खानेपानी विकास बोर्डको छुट्टै निर्देशिका बनाउन बताए । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर माग हुँदै आएकामा अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुक्खायाममा नौ करोड लिटर र वर्षायाममा ११ करोड लिटर पानी मात्र आपूर्ति गर्न सकेको छ । हाल मन्त्रालयले देशभर ८५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याएको जनाएको छ । सन् २०३० सम्ममा सबै नेपालीलाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । रासस
क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुग्योः नेप्से
काठमाडौं, २० साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंकको संख्या बढाउन दिएको समय सिमा नाघेको करिब चार महिनापछि बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो । बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो । नेप्सेले हाल प्रयोग गरिरहेको सफ्टवेयरको भेण्डर कम्पनीसँग बार्षिक मर्मत सम्झौता(एन्युअल मेन्टिनेन्स एग्रिमेन्ट) नभएको तथा उपयोगमा रहेको प्रबिधीले दुई वटा क्लियरिङ बैंक राख्न नसकिने भएकाले ढिलो भएको स्पष्टीकरण दिएको छ । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । नेप्सेले खुल्ला प्रतिष्पर्धाका आधारमा थप क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी धितोपत्र बोर्डलाई समेत दिईसकेको छ ।
दुबई उडानबाट वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने निगमको लक्ष्य
काठमाडौ, २० साउन । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो । विसं २०४१ माघदेखि काठमाडौं–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौं–दुबई उडानबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेकोे उल्लेख गरे । निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाइड बढी विमान किन्ने तयारी गरेको छ । हाल मुलुकमा २७ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमका प्रवक्ता रामहरि शर्माले नेपाल एयरलाइन्सले व्यावसायिक सफलता गर्ने क्रममा रहेको र विमान खरिदका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा ठूला बैंकले बजेट दिन आतुर रहेको जानकारी दिए । उनले दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको बताए । निगमका अनुसार काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मि र दुबईबाट काठमाडौं चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय गन्तव्य आठ पुग्नेछन् । नेपाल एयरलाइन्सले हाल हङ्कङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ । रासस
जेडटीई मोबाइल बजारमा सार्वजनिक
काठमाडौं, २० साउन । जेडटीई कर्पोेरेशनले नेपाली बजारमा तीन नयाँ मोडलका स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सो मोबाइल सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेका व्लेड सिरिजका तीन नयाँ मोडलमा एस–६, डी–२ र डी–३ छन् । यी मोबाइल बिक्रीका लागि कम्पनीले इभोलुसन इन्टरप्राइज प्रा.लि.लाई आधिकारीक बिक्रेता नियुक्त गरेको छ । युवा पुस्ताको मागलाई ध्यानमा राख्दै कम्पनीले अत्याधुनिक सुविधा सम्पन्न यी तीन मोडेल नेपाली बजारमा भित्रयाएको जनाएको छ । कम्पनीका अनुसार व्लेड एस–६,मोडेल एन्ड्रोइड –एल मोवाइल फोन हो । ५ इन्चको एचडी डिस्प्ले र ७.७ एमएम मोटाइ रहेको छ । यसले १३ मेगापिक्सेल सोनी आईएमएक्स–१४, १६ जीवी र्याम, २ जीवी रोम रहेको छ । यसको बजार मूल्य १५ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यस्तै अर्को मोडल डी–२ मोबाइलको । ५ इन्चको एचडी डिस्प्ले रहेको छ । यसमा ८ मेगा पिक्सेल क्यामेरा रहेको छ । कम्पनीले जनाए अनुसार यस मोबाइलको बजार मूल्य १० हजार ९ सय ९० रुपैयाँ रहेको छ । अर्को मोडल व्लेड डी ३ मोबाइल हो । यसको बजार मूल्य १२ हजार ५ सय रुपैयाँ रहेको छ ।
वाइवडि खरिद प्रस्ताव अर्थमा रोकियो, निगम भने व्यापारिक योजना बनाउँदै
काठमाडौं, २० साउन। नेपाल वायुसेवा निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडवडि जहाज खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । करिब ४ महीना अघि नेपाल वायु सेवा निगमले अर्थ मन्त्रालयमा वाइडवडि जहाज खरिद गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार अर्थ मन्त्रालय अहिले जहाज खरिदका लागि ग्यारेन्टी वस्ने प्रक्रियामा छ । दुई ओटा वाइडवडि खरिदका लागि करीब २५ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । यो रकम सरकारले व्यवस्था गरिदिने हो भने तीन वर्ष भित्रमै नेपाली आकासमा जहाज उडाउँन सकिने उनले बताए । निगमले आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रारम्भिक प्रस्ताव पठाएको हो । सरकारबाट सहमति आएमा आवश्यक पर्ने रकम कर्मचारी सञ्चयकोषसँग आग्रह गर्ने निगमको योजना छ । उता, अर्थ मन्त्रालयले भने निगमबाट आएको प्रस्तावमा कुनै ठोष आधार नभएको बताइएको छ । ठोस योजना नभइ सहमति दिन नसकिने अर्थको भनाइ छ । जहाज खरिदको लागि पठाएको फाइल (प्रस्ताव) अर्थमै अड्किए पनि निगम भने अबको ६ महीनाभित्र जहाज खरिद गर्नका लागि जहाज निर्माता कम्पनीसँग सम्झौता गर्ने भएको छ । जहाज खरिज गर्नको लागि निगमले अबको केही दिनमै व्यापारिक योजना तयार पार्ने र सञ्चालक समितिबाट स्वीकृत गराएर जहाज खरिदको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा निगम जुटेको छ । ‘नयाँ जहाज खरिदको विषयमा बनिरहेको प्रतिवदेन अन्तिम चरणमा पुगेको वायुसेवा कर्पोरेट निर्देशक समेत रहेका शर्माले बताए । निगमले तयार पार्ने प्रतिवेदनमा जहाजको प्रकृति, जहाज खरिद गर्ने कम्पनी, आवश्यक लागत, जहाज आइपुग्ने समय, जहाज संचालन हुने गन्तव्य, नयाँ जहाजले गर्ने आम्दानी र खर्चसहितको पूर्ण विवरण सम्लग्न गरिने शर्माले जानकारी दिए । निगमको योजनालाई समयमै कार्यान्यन गर्न सकिएको अवस्थामा निगमले तत्काल दुई ओटा वाइडवडि जहाज पाउँने छ । पर्यटन मन्त्रालयले तयार पारेको दुई वर्ष रणनीतिक योजनामा पनि निगमको वाइवडि जहाज खरिदको लागि नै प्राथमिकता दिएको छ । यस्तो जहाज नेपालबाट सीधै अमेरिका र युरोपसम्म पुग्नसक्ने उल्लेख गरिएको छ । तीन वर्ष भित्र दुईओटा वाइवडि र अहिले नियमित उडानमा रहेको एयरवसको न्यारोवडि जस्तैे अर्को दुई जहाज ल्याउने गरि निगमले योजना निर्माण गर्दैछ । यो योजनालाई भरसरक एक साताभित्र अन्तिम रुपम दिने र निगम सञ्चालक समितिको बैठकबाट स्वीकृत गराएर सरकारलाई पठाउने शर्माले बताए । निगमले २०४६ साल अगाडि पनि वाइडवडि जहाज सञ्चालन गरिसकेकोले अहिले कुनै संकोच विना नै जहाज ल्याए मज्जाले नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । उनका अनुसार अहिले नेपालमा विदेशी वायुसेवा मज्जाले नाफामा सञ्चालन भइरहेका छन् । ‘निगमले आफ्नो पुरानो गन्तवमा मात्रै पनि उडान गर्ने हो भने नाफा गर्न सक्छ,’ उनले भने ‘नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै छन् । ’
ल्याक्टोफन क्याण्डीको ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ अभियान शुरु
काठमाडौं, २० काठमाडौं । ल्याक्टोफन क्याण्डीको नयाँ स्वरुपलाई कम्पनीले देश भर ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ भन्ने विज्ञापन अभियान नारा सहित बजारीकरण गरेको छ । उक्त विज्ञापन अभियानमा बच्चाहरुको सबै भन्दा लोकप्रिय क्याण्डी अझै ठूलो र स्वादिलो भएको कारणले उनीहरुले देखाएको खुसी र उंमगलाई झल्काएको छ । सुजल फुड्स प्रा.लि.द्धारा उत्पादित ल्याक्टोफन क्याण्डी दूध र क्यारमेलको भरिपूर्ण रहेको एक स्वादिष्ट क्याण्डी हो । विगत २० वर्ष देखि ०.५० पैसामा उपलब्ध रहेको यस क्याण्डीले बच्चाहरुमा खुसी र उंमग प्रदान गरिरहेको कम्पनीले जनाएको छ । उक्त ल्याक्टोफन क्याण्डीलाई अझै ठुलो र अझै टेस्टी अनी नयाँ स्वरुपमा नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार ल्याक्टोफन क्याण्डीको रजिस्ट्रर ट्रेडमार्क हो जसको उत्पादन अत्याधुनिक प्रविधि प्रयोग गरी अति स्वास्थ्यकर वातावरणमा उत्पादन गरिन्छ । त्यसैले हरेक पटक क्याण्डीको उपभोग गर्दा उत्पादनको गुणस्तर र स्वादमा एक रुपता पाइन्छ । यसको प्याकेजिङ्ग चम्किलो , आकर्षक दुवै तर्फ गरिएको, रमाइलो रातो, निलो, र पहेंलो रङ्गले सजिएको छ कम्पनीले जनाएको छ । रातो तथा निलो रङ्गको समिश्रणले नयाँपन झल्काएको छ भने निलो तथा पहेलो रङ्गको समिश्रणले लोकप्रिय ल्याकटोफन क्याण्डीको आभास झल्काएको छ । सम्पूर्ण रुपमा नयाँ ल्याकटोफन क्याण्डी ठुलो, रङ्गीचङ्गी, खुसी तथा उंमगले भरिपुर्ण रहेको छ । यस क्याण्डीलाई अत्यन्तै सुन्दर, अन्तराष्ट्रिय स्तरको आकर्षक जार तथा आकर्षक प्याकेटमा उपलब्ध गराइएको छ । ल्याक्टोफन क्याण्डीको नयाँ विज्ञापन राष्ट्रिय स्तरमा “ल्याक्टो टेष्टी, धेरै मस्ती” भन्ने नारासहित प्रचार प्रसार अभियान सुरु गरेको छ । उक्त नयाँ बजार प्रवर्धन योजनामा बच्चाहरुले धेरै रुचाइएको र मन पराएको ल्याक्टो फन क्याण्डी अझै ठुलो, स्वादिष्ट र आर्कषक एबअपबनष्लन मा उपलब्ध भएकोले आफ्नो खुसी र उमंग दर्शाएका छन् । सोही सन्देश विभिन्न पत्र पत्रिका, रेडियो जिङ्गल मार्फत प्रवाह गरिएको छ । आइएसओ २२०००ः२००५ अन्र्तराष्ट्रिय मापदण्ड प्राप्त, लक्ष्मी ग्रुपको भातृ संस्था सुजलले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर, क्याण्डी, बबलगम, स्टिक गम बनाउँदै आएको छ । जसमध्ये का उत्कृष्ट उत्पादनहरु चोकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभबर्ड्स वर्षौदेखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।