सिभिल बैंकले युनिक फाइनान्सलाई एक्वार गर्ने, चुक्ता पूँजी ५ अर्ब पुग्ने
काठमाडौं, १८ साउन । सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई एक्वार (खरिद) गर्ने भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने बैंकले जनाएको छ । युनिक फाइनान्सको २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यसअघि २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जर पछी सिभिल बैंकको पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनका अनुसार उक्त मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुनेछ । बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । बैंकले २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन बोनस शेयर र हकप्रद शेयर जारी गर्ने भएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र बोर्डलाई इन्टरनेशनल सेक्युरिटिज अर्गनाइजेशनको सदस्यता
काठमाडौं, १८ साउन । नेपाल धितोपत्र बोर्डले इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन(आइओएससिओ)को सदस्यता प्राप्त गरेको छ । सन २०१६ को जुलाईदेखि लागु हुनेगरि आइओएससिओको सदस्यता प्राप्त गरेको हो । आइओएससिआले धितोपत्र बजारको अन्तराष्ट्रिय नियम तथा मापदण्ड निर्माण गर्दछ । यसमा १२५ देशका धितोपत्र बजार नियामक निकायहरु सदस्य रहेका छन् । आइओएससिओको सदस्यता प्राप्त भएसँगै नेपालको धितोपत्र बजारलाई पनि अन्तराष्ट्रियको बनाउन सहयोग पुग्ने बोर्डले जनाएको छ । बोर्डले सन २०१६ को जुनमा एसोसियसन अफ नेशनल नम्बरिङ एजेन्सिज(अन्ना)को सदस्यता प्राप्त गरेको थियो ।
घोषणाको ६ महिनामामै एम्बुलेन्स प्राप्त
बागलुङ, १८ साउन । भारतीय दूतावासले छ महिनाअघि धवलागिरि अञ्चल अस्पताल बागलुङलाई दिने घोषणा गरेको एम्बुलेन्स बल्ल प्राप्त भएको छ । गत माघ १२ गते भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा उपहारस्वरुप अस्पताललाई एम्बुलेन्स दिने घोषणा गरिएको थियो । एम्बुलेन्सको ‘नमुना साँचो’ भने चार महिनाअघि नै प्राप्त भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष टीकाराम सापकोटाले लामो प्रयासपछि एम्बुलेन्स ल्याउन सफल भएको बताए। रासस
प्रभु बैंकको एक्स्टेन्सन काउन्टर तिलगंगा आँखा अस्पतालमा
काठमाडौं, १८ साउन । प्रभु बैंकले गौशाला स्थित तिलगंगा आँखा अस्पताल परिसरमा एक्स्टेसन काउन्टर सञ्चालन हुने भएको छ । उक्त अस्पताल परिसरमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याउन बैंकले आवश्यक तयारी पुरा गरिसकेको छ । बैंकका अनुसार अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउन्टरमा बुझाई अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनकाअनुसार अस्पताल सञ्चालन हुने प्रत्येक दिन बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म बैंकले सेवा उपलब्ध गराउने छ । निक्षेप संकलन तथा नगद भुक्तानी हुने यस तिलगंगा एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएपश्चात् उपचारको लागि आउने सेवाग्राहीहरुले छिटो छरितो एवं व्यवस्थित रुपमा शुल्क भुक्तानी गरी उपचार सेवा लिन सक्नेछन् । साथै, तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सेयर बजारमा करिब १९ अंकको गिरावट, कारोबार रकम १४२ करोडमा खुम्चियो
काठमाडौं, १८ साउन । मंगलबार सेयर बजारमा १८ दशमलब ९४ अंकको गिरावट देखिएको छ । परिसूचक दोहोरोे अंकले घटेर १८२६ अंकमा पुगेको छ । सो दिन सेयर कारोबार पनि खुन्चिएको छ । बजारमा जम्मा एक अर्ब ४२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १३९ कम्पनीको ३२ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको करिब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र कृषि विकास बैंकको करिब ५ करोड बढीको सेयर कारोबार भएको छ । सो दिन उत्पादनमूलक समूह बाहेक बाकी समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४६ अंकले घटेको छ । त्यस्तै होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूहको परिसूचक दोहोरो अंक क्रमशः ३७, २९, २३ र १८ ले घटेका छन् । उत्पादनमूलक समूहको परिसूचक भने ३४ अंकले बढेको छ । मंगलबार सबैभन्दा बढी प्रोगेसिभ फाइनान्सका लागानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । त्यस्तै लुम्बिनी फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, एनआइडिसी क्यापिटल मार्केटस् र एस डेभलपमेन्ट बैंकको करिब ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । बजारमा जम्मा १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी ललितपुर फाइनान्सको १० प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । अन्य कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतभन्दा कमले बढेको छ ।
मर्जपछि एनसीसी बैंकको पुँजी ४ अर्ब ६८ करोड मात्र, सेयरधनीले यसैवर्ष कम्तिमा ३५ प्रतिशत बोनस सेयर पाउने
काठमाडौं, १८ साउन । नेपाल क्रेडिट एण्ड कमर्श बैंक र चार वटा विकास बैंकले आपसमा मर्ज गर्न अन्तिम स्वीकृति माग गर्दै सोमबार राष्ट्र बैंकमा निवेदन गरेका छन् । राष्ट्र बैंकबाट स्वीकृत पाएमा कात्तिक एक गतेदेखि संयुक्त कारोबार गर्ने गरी बैंकहरुले तयारी थालेका छन् । मर्जपछि बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक राख्न सबै मन्जुर भएका छन् । मर्जमा जाने विकास बैंकहरुको तर्फबाट नाम परिवर्तन गर्ने र एनसीसी बैंकको तर्फबाट नाम परिवर्तन नगर्ने विषयमा लामो समय अडान लिएपछि अन्तिममा नाम एनसीसी राख्ने तर लोगो परिवर्तन गर्ने गरि सहमति जुटेको छ । मर्जपछि एनसीसी बैंकबाट ४ जना, चार विकास बैंकबाट १/१ जना र विज्ञ १ जनासहित ९ जनाको सञ्चालक समिति बन्ने सहमति भएको छ । मर्जपछिको अवस्था नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा चार वटा विकास बैंक मर्ज हुँदा चुक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ मात्र हुने भएको छ । मर्ज हुनुपूर्व सबै संस्थाको कुल चुक्ता पुँजी ५ अर्ब ६६ करोड रुपैयाँ भएपनि मर्ज स्वाप रेसियोका कारण ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र हुने भएको छ । मर्जपछि लगत्तै बैंकले करिव ३५ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । गत आर्थिक वर्षमा ५ वटा संस्थाले करिव १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । मर्जमा स्वाप रेसियो मिलान गर्दा करिव ९८ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्ने मिल्ने गरि संचित कोषमा जम्मा हुनेछ । दुबैलाई जोडेर बैंकले कम्तिमा ३५ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गर्न सक्ने बैंक सम्बद्ध उच्च स्रोतले बतायो । त्यसपछि अपुग करिव १ अर्ब ५० करोड सेयर पुँजी बढाउन चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर, हकप्रद सेयर वा मर्जर जुनसुकै विधिबाट गर्न सकिने गरि पुँजी वृद्धि योजना बनाउन लागिएको छ । मर्जपछि बैंकको निक्षेप ५८ अर्ब, कर्जा ४७ अर्ब रुपैयाँ, शाखा ९७ वटा र कर्मचारी १०२८ जना हुने भएको छ ।
काम गर्न नसकेको पर्यटनमन्त्रीको स्वीकारोत्ति
काठमाडौं, १८ साउन । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै कार्यहरु गर्न नसकेको स्विकार गरेका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) द्धारा राजधानीमा आयोजित पर्यटनमन्त्रीको कार्यकालको समिक्षा विषायक ʽजाट–नेपाल फेस टू फेसʼ कार्यक्रममा मन्त्री पोखरेलले भने, ʽके गर्न सकिनस् भन्दा मैले थुप्रै गर्न सकिन, जब मैले सपना साँचेर आएको थिए । जे गरें अत्यन्त थोरै मात्र गरें ।ʼ उनले थप्दै भने, ʽमलाई भन्नु हुन्छ भने म यो गरें त्यो गरें भन्दिन, तर अत्यन्त थोरै काम गरें । मैले यो क्षेत्रलाई हेर्न आएको होईन फेर्न आएको भनेको थिएं, सोचेअनुरुप फेर्न सकिन ।ʼ उनले आफुले गरेका धेरै कामहरु मध्ये नेपाल बुद्धिजमको उद्गमस्थल हो भनेर प्रचार गराउन सक्नु आफ्नो ठूलो उपलब्धी भएको चर्चा गरे । त्यस्तै मन्त्रालयको प्रस्तावअनुसार नेपालको स्वास्थ्य र शिक्षाका विषयमा ध्यान दिंदै योगको सुरुवात गरेको बताए । नेपाल आउने पर्यटकलाई नेपालकै अर्गानिक परिकार खुवाउनुपर्छ भन्ने मान्यताअनुरुप पर्यटनसँग जोडेर १० वर्षे दिर्घकालिन कृषि रणनीति तयार पार्न सहयोग पुर्याएको बताए । पर्यटन क्षेत्रको अहिलेको लगानीलाई १ सय गुणा नबढाईकन सोचेअनुरुप पर्यटनको विकास हुन नसक्ने उनको भनाई रहेको छ । मन्त्री पोखरेलले एयरपोर्ट(विमानस्थल)को विषयमा सुधार गर्न नसकेको भन्दै दुखेसो व्यक्त गरे । उनले भने, ʽफेर्न खोजेको र फेर्न नसकेको भनेको एयरपोर्ट हो । तर जे जति भएको छ देखिनेगरि भएको छ । सामान्य कर्मचारीलाई फोन गरेर सुधार गर भन्नुपर्ने अवस्था छ । एयरपोर्टको काम प्रति म सन्तुष्ट छैन ।ʼ एयरपोर्टका जुनसुकै स्तरका श्रमिक, कर्मचारीहरुलाई अनावश्यक फेरबदल गर्न नपाईने व्यवस्था गरेको भन्दै कर्मचारीले पनि इमान्दारीताफूर्वक काम गर्नुपर्ने उनले बताए । एयरपोर्टको सुधार गर्ने हो भने छुट्टै अधिकारसम्पन्न निकाय गठन गरि सोही अन्तर्गत गृह, अर्थ, रक्षा र प्रहरी प्रशासनलाई पनि निर्देश गर्ने व्यवस्था हुनुपर्ने बताए । उनले भने, ʽगृह, अर्थ, रक्षा, विभन्न क्षेत्रका कर्मचारीलाई एउटै स्थानबाट ल एण्ड अर्डर गर्ने व्यवस्था भयो भने मात्रै एयरपोर्ट सुध्रिन्छ । होइन भने झन् नाजुक बन्दै जान्छ ।ʼ नीजि पर्यटन व्यवसायीप्रति लक्षित गर्दै उनले नेपालका पर्यटकीय सम्पदा सबैका साझा सम्पदा हुन भन्ने बुझ्न आग्रह गरे । सम्पदाको व्यवस्थापन र राजश्व संकलनमा आबधिक टेन्डर गर्ने प्रक्रिया सुरुवात नगर्ने हो भने सरकारको दायित्व पनि नरहने उनको भनाई थियो । उनले नेपाल पर्वतारोहण संघ(एनएमए) प्रति लक्षित गर्दै भने, ʽअहिले एनएमएले एकलौटी पिक व्यवस्थापनको जिम्मा पाएको छ । राजश्व उठाउने अधिकार पाएको छ । यो नै आफैंमा शुद्ध(फेयर) भएको छ कि छैन, म प्रश्न गर्न चाहन्छु । एउटा संस्थाले राज्यको सम्पति सबै नागरिकको अधिकार पाउनुपर्छ भन्ने होईन । सक्षम संस्थाले अधिकार पाउनुपर्छ । आबधिक टेन्डर गर्ने प्रक्रियाको सुरुवात गर्नुपर्छ ।ʼ मन्त्री पोखरेलले आफ्नो कार्यकालमा भएका ८५ बुँदे कामहरु सार्वजनिक गरेका थिए । सो बुँदामा २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठि सम्पन्न गरि गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उर्जागर गरेको, नेपालको पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरि १० वर्षे सोच सहित कार्यक्रम शुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरि पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको, संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरि पूर्बाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको लगायत विषहरु समेटिएका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यर्यटन राज्यमन्त्री बलबहादुर महत, मन्त्रालयका सहसचिवहरु, पर्यटन विभागका महानिर्देशक, नेपाल पर्वतारोहण संघका(एनएमए), ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल(टान) , नारा, सोट्टो नेपाल र एचआरए अध्यक्ष एवं प्रतिनिधि सहभागी थिए । त्यस्तै नाट्टा, भिटोफ, ठमेल पर्यटन विकास परिषद, यूनिट्राभ लगायत संघसंस्थाका पदाधिकारी सहित सदस्यहरु एवं पर्यटन व्यवसायी र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा, भदौदेखि सञ्चालनमा आउने
बैतडी, १८ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सञ्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११ देखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावनाबारे अध्ययन गरेको थियो । अध्ययनपश्चात् टोलीले बैतडीको पाटनमा उपयुक्त ठहर गरेको हो । प्राविधिक टोलीले पाटनका चार ठाउँबाट प्याराग्लाइडिङ उपयुक्त भएको ठहर गरेको छ । पाटन नगरपालिका–१२, दहडाँडा, वडा नं २ को जरौलीडाँडा, वडा नं १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो । टोलीले डडेल्धुराको टुँडिखेल, डोटीको तिखाडाँडा लगायतका ठाउँमा समेत परीक्षण गरेको थियो । सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिएपनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्रविधिक टोलीका सदस्य श्यामराज भट्टले बताए । उनले भने “पाटनमा हावाको गति र दिशा उपयुक्त रहेको छ ।” प्राविधिक टोलीले सन् २०१४ मा नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यस वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको बताइएको छ । सुदूरपश्चिम पर्यटन विकास केन्द्रका नामले संस्था दर्ता गरेर स्थानीय ११ जनाले व्यावसायिक रुपमा नै सञ्चालन गर्ने तयारी गरेका छन् । त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी गरेका छन् । कटेज स्थापनापश्चात् कटेजमा स्थानीय परिकार राखिने बताइएको छ । सुदूरपश्चिमका स्थानीय परिकारमा खीर, माणा, फाणो, बटुको, डुपका, मकैको रोटीलगायतका परिकार राखिने भएका छन् । पाटनभन्दा करिब आठ किलोमिटर पश्चिममा रहेको नेपालकै गहिरो गुफा पताल भुमेश्वरको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यवसायिकीकरण गर्न संस्थागतरुपमै प्रयास गर्ने केन्द्रका अध्यक्ष तथा पाटनका युवा पुष्कर भण्डारीले बताए । उनले भने “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा सञ्चालनको तयारी भएको छ ।” पर्यटन प्रवद्र्धन र आकर्षणका लागि भन्दै स्थानीय युवा प्याराग्लाइडिङ व्यावसायिकरुपमा नै सञ्चालन गर्न लागेका हुन् । बैतडीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके यहाँको विकास हुने अध्यक्ष भण्डारीको भनाइ रहेको छ । पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि नेपालकै गहिरो गुफा पतालभुमेश्वर, निङलाशैनी मन्दिर, रौलाकेदार मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती, भिटाकेदार मन्दिर, दोगडा धाम, देउलेक केदार, सिगास धुरा, त्रिवेणी धाम, डिलासैनी मन्दिर, ग्वाल्लेक केदारलगायतको समेत प्रचारप्रसार हुनेछ । भारतीय सहर दिल्ली, लखनउ नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य केन्द्रले राखेको छ । पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ । रासस