दशैँअघि नै दरौँदीबाट बिजुली उत्पादन, करिब एक अर्ब बढीको लगानी
गोरखा, २२ भदौ । गोरखाको मुच्चोकमा निर्माणाधीन दरौँदी ‘ए’ जलविद्युत् आयोजनाले आउँदो दशैँअघिदेखि नै बिजुली उत्पादन गर्ने जनाएको छ । कूल ६ दशमलब २ मेगावाट क्षमताको यस आयोजनाको मुच्चोकस्थित दरौँंदी नदीमा चार मिटरको बाँध बाँधी चार किलोमिटर फलामे टनेलमार्फत पानी चनौटेमा विद्युत गृह निर्माण गरिसकिएको छ । विद्युत गृहदेखि गोरखा बजारको नेपाल विद्युत् प्राधिकरणस्थित सव–स्टेसनसम्म १८ किलोमिटर प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत विष्णु पन्तले जानकारी दिए । चनौटेदेखि भालुस्वाँरासम्म दरौँंदी बगरमा ल्याइएको प्रशारण लाइन नारेश्वर हुँदै सदरमुकामको हरमटारीस्थित सव–स्टेसनमा ल्याइएको छ । अहिले ताप्लेस्थित शिखरमा प्रशारण लाइनका क्षेत्रका अवरोधक रुख कटानको काम भइरहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली सव–स्टेसनसम्म पुर्याउन प्राविधिक तयारी गरिसकिएको छ । आयोजनाले परीक्षण उत्पादन छिट्टै गर्ने तयारी गरेको पन्तको भनाइ छ । ‘यो साता हामी परीक्षण उत्पादन गर्छौ । उत्पादन भएको बिजुली प्रसारण लाइनमार्फत् सव–स्टेसनमा पठाउँछौँं’ पन्तले भने । गत असार महिनादेखि नै आयोजनाबाट बिजुली उत्पादन हुने बताइए पनि भूकम्प तथा नाकाबन्दीले गर्दा काममा ढिलाइ भएको थियो । ‘बिजलुी उत्पादन तथा प्रसारण गर्न सम्पूर्ण तयारी पूरा भइसक्यो । दशैं अघि नै बिजुली उत्पादन हुन्छ’ पन्तले भने । आयोजनाबाट उत्पादन भएको बिजुली सव–स्टेसनमा जडान गरेपछि गोरखामा रहँदै आएको दिनहुँ दुई घन्टा विद्युत् भार कटौती अन्त्य हुने बताइएको छ । दरौँंदी ‘ए’ जलविद्युत् रु एक अर्बको लगानीमा निर्माण हुने तयारीका साथ निर्माण सुरु गरे पनि पूर्वनिर्धारित योजनाअनुसार काम नहुँदा लागत बढेको बताइएको छ । कति लागत बढ्यो भन्नेबारे आयोजनाले अन्तिम तथ्याङ्क निकाल्न बाँकी रहेको छ । रासस
बुधबार सेयर बजारमा ९ अंकको गिरावट, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार
काठमाडौं, २२ भदौ । बुधबार बजार खुलेको आधा घण्टामा नै परिसूचक घटेर १८१९ अंकमा पुगेको थियो । त्यसपछि बजारमा केहि सुधार देखिएको हो । बजार बन्द हुँदा भने परिसूचक ९ दशमलब ९७ अंकले घटेर १८२४ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २९ लाख ३१ हजार ९३४ कित्ता सेयर १ अर्ब ६५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक अरु बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बैंकिङ् समूहको परिसूचक २० अंकले ओरालो लागेको छ भने बाकी समूहको सूचक सामान्य अंकले ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ९४, २ र ०.५८ अंकले उकालो लागेका छन् । बुधबार नबिल बैंकको १३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनीको ११ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, नबिल बैंक लि. प्रमोटर सेयर, नेपाल बङ्गलादेश बैंक, प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक र सनराइज बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. प्रमोटरका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
पर्यटकको बसाइँ लम्ब्याउन पर्यटक पथ प्रदर्शक तालिम शुरु
पोखरा, २२ भदौ । पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले बुधबारदेखि १० दिने पर्यटक पथ प्रदर्शक तालिम शुरु गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् अन्तर्राष्ट्रिय श्रम सङ्गठन जापानको सहयोगमा सञ्चालित सो तालिममा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले प्राविधिक सहयोग उपलब्ध गराएको छ । पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याउन र औपचारिक रुपमा पर्यटक पथ प्रदर्शकलाई व्यवस्थित गर्न तालिम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । पर्यटक पथ प्रदर्शक तालिमका लागि धेरै युवा आकर्षित भए पनि पहिलो चरणमा जम्मा ४१ जना युवालाई सहभागी गराउन सकिएको जानकारी दिँदै उनले तालिमका अन्य आकांक्षीका लागि चाँडै नै अर्को तालिम आयोजना गर्ने सोच राखिएको जानकारी दिए। तालिमउद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा क्षेत्रीय कार्यालयका प्रमुख उदय भट्टराई, नाथमका यातायात एवम् अनुसन्धान विभाग प्रमुख कृष्ण खरेल, परिषद्का पूर्व अध्यक्षद्वय डम्बरबहादुर केसी र टीकाराम सापकोटा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम लगायतले पर्यटक पथ प्रदर्शकले निर्वाह गर्ने भूमिकाले चर्चा गर्दै ती पथप्रदर्शकले पर्यटकको बसाइँ लम्ब्याउन वा छोट्याउन सक्ने बताए । रासस
यूनिक फाइनान्सको १६ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, २२ भदौ । यूनिक फाइनान्स लिमिटेडको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । साथै, फाइनान्सले प्रस्ताव गरेको कर प्रयोजनको लागि २० लाख ९ हजार ३४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ । फाइनान्सको सो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।
पुल निर्माण नहुँदा जलविद्युत्मा गरिएको २२ अर्बको लगानी प्रभावित
बेसीशहर, २२ भदौ । पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधिन नौथर–सेरा जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण विगत– ५ वर्षदेखि अलपत्र छ । दोर्दी करिडोरका एक दर्जन गाविस जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीय वासिन्दाले सास्ती खेप्नुपरेको छ । एउटै ठेकेदारले धेरै काममा ठेक्का पार्ने अनि काम सुरु गरेर वर्षौसम्म अलपत्र छाड्दा समस्या भएको हो । ठेकेदार पाएजति सबै ठेक्का आफैं लिने र कामदारको अभाव देखाएर वर्षौँसम्म काम अपलपत्र पार्ने प्रक्रियाको अन्त्य हुनुपर्ने माग सांसद लालबहादुर तमुको छ । ६ वर्षअघि रु पाँच करोडको लागतमा निर्माण सुरु गरिएको पुल यतिबेला अलपत्र छ । छ वर्षको अवधिमा पुलमा तीनवटा पिलर बन्नुबाहेक अन्य कुनै पनि काम भएको छैन । विसं।२०७० असार मसान्तसम्ममा पुल निर्माण गरिसक्न थप म्याद दिइएको थियो तर २०६८ देखि २०७० सम्म ठेकेदार कम्पनी सपना जयबाबा जेभीले एक÷एक वर्षको फरकमा एउटा एउटा खाडल खन्दै पिलर राख्दै आएपनि विगत दुई वर्षदेखि पुल बनाउने कार्यमा सिन्को पनि नभाँचेको स्थानीय राजनीतिक दलका प्रतिनिधिको भनाइ छ । काँग्रेस सभापति भेषबहादुर पौडेल भन्छन्– “ हामीले चारवर्ष अघि नै पुलः निर्माणका लागि भन्दै खाडल खनेको देखेका थियौँ तर अहिलेसम्म खाडल खन्ने र पुर्ने बाहेक पुलःनिर्माणको काम अघि बढेको पाइएन । त्यस्ता ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । ” ठेकेदार कम्पनीले बारम्बारको चेतावनीलाई समेत बेवास्ता गरेपछि ठेक्का प्रक्रियानै रद्द गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको जिल्ला विकास समितिले बताएको छ । दोर्दी करिडोरमा मात्र जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट रु २२ अर्ब भन्दा बढी लगानी भएको तर पुलःनिर्माणले गति नलिँदा वर्षायाममा सबै जलविद्युत् आयोजनाको काम रोक्नुपर्ने बाध्यता छ । स्थानीय विकास अधिकारी शेखर पौड्यालका अनुसार जिल्लाको दोर्दी करिडोरमा मात्र जलविद्युत् आयोजनका लागि रु २२ अर्ब लगानी भइसकेको छ तर नदीमा पुलःनिर्माण नहुँदा वर्षायाममा काम रोक्नुपर्ने बाध्यता छ । पुल निर्माण छिटो गर्न बारम्बार ताकेता गरे पनि ठेकेदारले कानमा तेल हालेर बसेको छ । सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई बारम्बार ताकेता गरिएको तर उसले कुनै सुनुवाई नगरेकाले ठेक्का प्रक्रिया खारेजी गरेर नयाँ बोलपत्र आह्वानको तयारी रहेको जनाएको छ । सो पुलःनिर्माण नहुँदा पूर्वी लमजुङका दर्जन भन्दा बढी गाविस सडक सञ्जालसँग जोडिन सकेका छैनन् । रासस
मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने
काठमाडौं, २२ भदौ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो
काठमाडौं, २२ भदौ । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा डा विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’’ उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ । यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ । भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताए । उनले कलेजो बिग्रदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण देखिने पनि बताए । गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ । डा शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताए । यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ । यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा शर्माले सल्लाह दिए । रासस
हाम्रो विकास बैंकका लगानीकर्तालाई २५ प्रतिशत लाभांश
काठमाडौं, २२ भदौ । हाम्रो विकास बैंकका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने भएका छन् । भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानी कर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । १२ करोड २३ लाख चुक्ता पुँजी भएको बैंकले २०७३ असार मसान्तसम्ममा ३ करोड ७९ लाख नाफा कमाएको थियो ।