ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्ने, माघ २८ गते साधारणसभा
काठमाडौं, २ माघ । ग्रीन डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ४०० प्रतिशत (१ बराबर ४ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २ गते बसेको बैंक संचालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । बैंकले आगामी साधारणसभा यही माघ २८ गते बोलाएको छ । सो प्रयोजनको लागि बैंकको माघ १२ गतेदेखि माघ २८ गते सम्म बुक क्लोज रहने छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड
काठमाडौं, २ माघ । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले माघ महिनादेखि भिसा डेविट तथा क्रेडिट कार्डहरु अब इएमभीमा आधारित चिप कार्ड जारी गरेको छ । ग्राहकहरुसँग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप वितरण गर्ने बैंकले जनाएको छ । साथै, बैंकका अनुसार ग्राहकवर्गसँग रहेको म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहेने ग्राहक वर्गको लागी न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था गरिएको छ । बैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापि रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालनमा रहेको छ । चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने हुँदा डाटा चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहाकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ र उपत्यका बाहिर २६ वटा गरी कुल ५३ वटा ए.टि.एमहरु सञ्चालनमा रहेको छ ।
गण्डकी विकास बैंक र फेवा विकास बैंकबीच मर्जर प्रस्ताव पारित
काठमाडौं, २ माघ । गण्डकी विकास बैंक र फेवा विकास बैंकबीच मर्जर प्रस्ताव पारित भएको छ । शनिबार सम्पन्न गण्डकी विकास बैंकको विशेष साधारणसभाले दुई संस्थाबीच एक आपसमा मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै सोही दिन फेवा विकास बैंकको नबौ बार्षिक साधरण सभावाट समेत मर्जर प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । उक्त सभाले फेवा विकास बैंकसँग मर्ज प्रयोजनको लागी शेयर स्वाप अनुपात एक बराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको छ । सोही सभाले मर्जर पश्चात गठन हुने संचालन समितिमा प्रतिनिधित्व संचालकहरु चयन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गरेको छ । यस पश्चात बैंकले अन्तिम स्वीकृतिको लागी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्नेछन् र चाडै नै संयुक्त कारोवार हुनेछ । उक्त बैंक सँग मर्जर पश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड कायम हुने छ । मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ मात्र पुग्ने छ । साथै, बैंकको कुल शाखा संख्या ५० र ए.टि.एम संख्या २० पुग्ने छ ।
नागार्जुन दरबार मुनी ४ लेनको सुरुङ मार्ग, हलचोकको डाडामा ७ सय मिटर लामो अर्काे सुरुङ
काठमाडौं, २ माघ । पुर्व राजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुनको दरबार मुनी ४ लेनको सुरुङ मार्ग बन्ने भएको छ । बाहिरी चक्रपथ विकास आयोजनाले नागार्जुन दरबार मुनी ३५० मिटर लामो २५ मिटर चौँडाईको सुरुङ मार्ग बनाउन लागेको हो । यो सुरुङ मार्ग पौँयाटार/पुरानो गुहेश्वरीबाट सुरु भएर बोहराटारमा निस्कनेछ । सो सुरु मार्ग भित्र बाहिरी चक्रपथ आयोजनाको ४ लेनको सुबिधा सम्पन्न सडक रहनेछ । ‘नागार्जुन दरबार मुनी ३५० मिटर लामो सुरुङ बन्छ, त्यसमा २५ मिटर चौडाईको ४ लेन सडक रहन्छ’, बाहिरी चक्रपथ विकास आयोजनाका अधिकृत ध्रब सापकोटाले भने । बैजनी रङको बाहिरी चक्रपथ सडक र सुरुङ मार्ग बनाउने भनिएको नागार्जुन पहाड तथा हलचोक डाडा सुरुमा टोखाबाट नेपालटार, बाइपास, बालाजु हुँदै सितापाइलासम्म बाहिरी चक्रपथ लैजाने भनिएको थियो । त्यसो गर्दा बालाजुदेखि सितापाइलासम्म हालको चक्रपथ र बाहिरी चक्रपथ जोडिन्थ्यो । तर सोही क्षेत्रमा बढि सडक जाम हुने गरेको तथ्य उजागर भएपछि त्यसलाई छल्न सुरुङको अवधारणा ल्याएको हो । ‘बालाजुदेखि हलचोकसम्मको सडकमा बढि चाप देखियो, अहिलेकै चक्रपथमा बाहिरी चक्रपथ मिलाउँदा झन थेग्न मुस्किल हुने देखेपछि सुरुङको विकल्प अघि सारिएको हो ।’, सापकोटाले भने । त्यस्तै हलचौकको डाडामा पनि करिब ७०० मिटर लामो अर्काे सुरुङ मार्ग निर्माण हुने भएको छ । त्यसमा पनि २५ मिटर लामो सुरुङ भित्र ४ लेनको सडक बन्नेछ । नैकापको किट्नी डाडामा पनि करिब १५० मिटर लामो अर्काे सुरुङ निर्माण हुनेछ । बाहिरी चक्रपथ आयोजनाले सतुंलदेखि ६ दशमलब ६१८ किलोमिटर खण्डमा नापी नक्सा मिलानको काम गरिरहेको छ । त्यसमा कुल ८ हजार ९ सय ५२ रोपनी जमिन पर्छ । नापी नक्सा एकिन हुने वित्तिकै पाइलट प्रोजेक्टका रुपमा जग्गा अधिग्रहणको तयारी भैरहेको उनले बताए । आयोजनाले सो खण्डको डिपिआर स्विकृतिका लागि मन्त्रालय पठाएको छ र मन्त्रालयले क्याबिनेटमा पेश गर्नेछ । क्याबिनेटले स्विकृत गर्ने वित्तिकै काम अघि बढाउने उनले जानकारी दिए ।
ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन धितोपत्र बोर्डको अनुमति
काठमाडौं, २ माघ । ग्लोबल आइएमई बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैंकलाई अनुमति दिएको हो । उक्त अनुमति पश्चात नेपाल धितोपत्र बोर्डले लागू गरेको आस्वा प्रणाली मार्फत सेयर लगानीकर्ताले माग गरेको सेयर बापत हुन आउने रकम लगानीकर्ताको बैंक खातामा रोक्का हुनेछ । यस प्रणालीमा लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम मात्र खातामा रोक्का भई सेयर बाँडफाँडमा परेको रकम कटौती गरि बाँकी रकम खातामा नै सुरक्षित रहिरहने सुविधा लगानीकर्ताले पाउनेछन् । छिटोछरितो र झन्झटमुक्त सेवामा विश्वास गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आस्वा प्रणालीमा आवद्ध भएको बैंकले जनाएको छ ।
प्रोफेशनल दियालो विकास बैंक प्राप्ति पछि लक्ष्मी बैंकद्धारा एकिकृत कारोबार शुरु
काठमाडौं, २ माघ । लक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) पश्चात आइतबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । बैंकले लक्ष्मी बैंक लिमिटेडको नामबाट नै एकिकृत कारोबार शुभारम्भ गरेको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब तीन करोड रुपैयाँ रहेको छ । २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई एक्वायर पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैंयाँ पुग्नेछ । बैंकले एक्वायर पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने बताएको छ । प्रोफेशनल दियालो प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाचँखाल र भकुन्डेबेसी, सिन्धुपाल, भरतपुर चितवन र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा थपिने बैंकले जनाएको छ । बैंकले हाल ६४ वटा शाखा, २ विस्तार काउन्टर अनि ८० एटिएम मार्फत ग्राहकलाई बैंकिङ् सेवा दिदै आइरहेको छ । केन्द्रिय कार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थान हात्तीसार, काठमाडौं नै कायम रहनेछ ।
नेप्से र कारोबार रकम दुबै घट्दा स्ट्याण्डार्ड चाटर्डको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, २ माघ । माघ महिनामा कारोबार भएको पहिलो सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक २ दशमलब १४ अंकले घटेर १४७७ दशमलब ७२ अंकमा झरेको छ । सोही दिन १२२ कम्पनीको ४ लाख ८८ हजार किता सेयर जम्मा २७ करोड ७५ लाख रुपैयाँमा किनबेच भएको छ । पछिल्लो दिनको तुलनामा आइतबार करिब ५ करोड रुपैयाँले कारोबार रकममा गिरावट आएको छ । बजारमा करोबार रकम र नेप्से परिसूचक दुबैमा गिरावट आउँदा पनि स्ट्याण्डार्ड चाटर्ड बैंकको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २ हजार १९७ रुपैयाँ रहेको छ । त्यस्तै, हाम्रो विकास बैंकको सेयर मूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ ।
चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुट, प्रतिटिकट मूल्य १०८ रुपैयाँ मात्र
काठमाडौं, २ माघ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको छ । माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको कम्पनीले जनाएको छ । माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रुपैयाँमा नै टिकट प्राप्त गर्ने छन् । यस व्यवस्था अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोट स्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने नपाउने कम्पनीले जनाएको छ ।