पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने-चुडामणि शर्मामाथिको कारवाही न्याय संगत छैन’
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसको नेता डा.रामशरण महतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा माथि हचुवाका भरमा कारवाही गरिएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित होटलमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री समेत रहेका डा. महतले कर फस्र्यौट आयोग आँफैमा संवैधानिक आयोग भएकोले सरकारले बाहेक अरु कुनै निकायले आयोग माथि छानबिन गर्न नपाउने दावी गरेका हुन् । उनले भने, ‘कर फस्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले चूनौति दिन मिल्दैन, त्यसैले हचुवाको भरमा यस्तो निर्णय गर्नुहुँदैन् ।’ उनले अघि थपे,‘कर फस्र्यौट आयोग अधिकार सम्पन्न आयोग हो, मापदण्ड अनुसार आयोगले काम गर्ने हो, कानूनी परिधिभित्र रहेर आयोगले र यसका पदाधिकारीहरुले काम गरेका छन् कि छैन त्यो हेर्नुपर्छ, कानून सुधार भविष्यको कुरा हो, कर पूनरावलोकन आयोग बनाईएको छ, अन्र्तराष्ट्रिय अभ्यास पनि पनि यही हो ।’ कार्यक्रमलाई टेलिफोन मार्फत सम्बोधन गरेका डा. महतले आयोगमा प्रस्तुत गरिएका कागजपत्रहरु तथा आयोगको कारबाहीको सिलसिलामा कुनै स्रोतबाट थाहा हुन आएका कुराहरु गोप्य राख्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै भने,‘त्यस्तो कागजपत्रहरु र गोप्य कुराहरु कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र नेपाल सरकारको अनुमति बिना कुनै अधिकारीले निरिक्षण वा अनुसन्धानको लागि समेत माग गर्न सक्ने छैन ।’ महतले आयोगका पदाधिकारी सबैको बयान नलिई सदस्य सचिव शर्मामाथि एकपक्षीय ढंगले कारबाही गरेकोमा आपत्ति जनाए । उनले भने,‘आयोगका सबै पदाधिकारीहरुको बयान लिनुपर्नेमा, त्यस्तो मौका नदिई आन्तरिक राजश्व विभागका महानिर्देशकलाई मात्रै हिरासतमा लिनु न्यायसंगत छैन् ।’ त्यस्तै पूर्व कर फस्र्यौट आयोगकका अध्यक्ष चण्डी श्रेष्ठले कर फस्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको दाबी गरे । उनले भने,‘यो आयोगले गरेका निर्णय उल्टिँदैनन्, करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित होईन, यसरी आयोग विवादमा तानीए लगत्तै सदनले त्यसको बारेमा उचित निर्णय लिनुपर्ने हो तर लिएको छैन् ।’ श्रेष्ठले चुडामणि शर्मामाथि अख्तियारले गलत नियत राखेर यस्तो व्यवहार गरेको आरोप लगाए । उनले अघि भने,‘कानूनी हैसियतमा आयोगले सरकारको अनुमति नलिई अनुशन्धान गर्न पाउँदैन, यदि अख्तियारले सरकारको अनुमति नलिईकन आयोगका सदस्य सचिव शर्मामाथि अनुशन्धान थालेको हो भने गलत भयो, यो गर्न पाईदैन, यो त ऐन तथा कानूनको नै बर्खिलाप हुन्छ, यो केशमा शर्मामाथि कोही पनि बोल्नुभएन, नेताहरु परेको भए तुरुन्त शीर्ष नेताहरु बोल्थे, तर शर्माजी पर्दा यहाँ कोही पनि शीर्ष नेताहरु बोल्नु भएन।’ उनले आयोगका सदस्य सचिव भन्दा अध्यक्ष मुख्य दोषी हुने भएकोले सदस्य सचिवमाथि मात्रै एकलौटी ढंगले अनुशन्धान तथा कारबाही गर्नु उचित नहुने स्पष्ट पारे ।
वित्तीय क्षेत्रको व्यवस्थापनका लागि बैंक अफ कोरियासँग सहकार्यः राष्ट्र बैंक
काठमाडौं । नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनको कामलाई आधुनिकीकरण गर्न नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका पदाधिकारीबीच सहकार्य गरेर अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंक अफ कोरियासँग सहकार्यबाट नेपाली वित्तीय बजारको अवस्थामा स्तरोन्नती हुने नेपाल राष्ट्र अनुसन्धान विभाग प्रमुख नरवहादुर थापाले बताए । ‘उनीहरूसँगको सहकार्यबाट नेपालको समष्टिगत आर्थिक विकासको व्यवस्थापनका साथै सही ढंगबाट मौद्रिक उपकरणको उपयोग गर्न सकिन्छ ,’ उनले भने । बैंक अफ कोरियाले यस अघि पनि नेपाल राष्ट्र बैंकसँग वित्तीय व्यवस्थापनका लागि प्राविधिक क्षेत्रका सहकार्य गर्दै आएको थियो । नेपालको बैंकिङ प्रणालीलाई आधुनिक बनाउने सम्वन्धमा दुवै बैंकले आवश्यक सुझाव सहितको प्रतिवेदन ६ महिना भित्र तयार पार्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम
काठमाडौं । नेपालमा व्याप्त गरिबीको निवारणका लागि लघु उद्यम उपयुक्त विकल्प हुने जानकारहरुले बताएका छन् । बिभिन्न ४ जिल्लाको ग्रामिण भेगका लघु उद्यमीहरुले तयार पारेका उत्पादनहरुको व्यवसायीक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन् । घरेलु तथा साना उद्योग विभागका महानिर्देशक सत्रुघन प्रसाद पुडासैनी, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका नायब प्रमुख कार्यकारी निर्देशक तेजसिंह बिष्ट र गरिबी निवारण कोषका सिताराम चौधरीले लघु उद्यमले नै नेपालको गरिबी निवारण सम्भव हुने बताएका हुन् । गोरखा, दाङ, धनुषा र दैलेखमा १५ दिने उद्यमशिलता तालिम सञ्चालन गरेर त्यसमा उत्कृष्ठ भएकाहरुको उत्पादन बजारीकरण गर्ने भन्दै आयोजीत कार्यक्रममा उनीहरुले लघु उद्यम बिना समृद्धि सम्भव नभएको धारणा राखे । कार्यक्रममा दैलेको छालाका उत्पादन, धनुषाको मिथिला आर्ट, दाङको माटाका भाँडा र गोरखाको फेल्टका उत्पादनहरु व्यापारीकरणका लागि राखिएका थिए । स्थानीय नागरिकलाई उत्पादनको प्रक्रियामा सामेल गराएर बजारीकरणमा समेत सघाउने उदेश्यले नेपाल हस्तकला महासंघ, नेपाल सम्पदा संघ र गरिबी निवारण कोषले मिलेर १५ दिने तालिम कार्यक्रम सञ्चालन गरेका थिए । सोही तालिमका उत्कृष्ठ सहभागीले निर्माण गरेका उत्पादनको बजारीकरणका लागि राजधानीमा कार्यक्रम आयोजना गरिएको हो ।
१५०० भुकम्पपिडितमध्ये एकलाई हुन्डाई इओनको उपहार, गाडी खरिदमा शतप्रतिशत नगद फिर्ता
काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाल सरकारद्वारा लक्की ड्र बाट भाग्यशाली घोषित १५०० भुकम्पपिडित मध्येबाट हुन्डाइ इओन गाडीको खरीदमा एक जना ग्राहकलाई शतप्रतिशत रकम फिर्ता योजना घोषणा गरेको छ । सर्वाधिक लोकप्रिय सवारी हुन्डाइ इओन ट्याक्सीको रुपमा हुन्डाइको ह्याट्चब्याक सेग्मेन्ट अन्तर्गत पर्दछ । शतप्रतिशत रकम फिर्ताको साथसाथै हुन्डाइ इओन ट्याक्सी को खरीदमा आकर्षक नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तिय तथा विमा सुविधाका साथसाथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरिदिनेछ । वलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री वनावट, पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले यस हुन्डाइ इओनलाई यात्रीहरुमाझ अझ लोकप्रिय बनाएको कम्पनीले जनाएको छ । भुकम्पपिडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाईले यस योजना मार्फत योगदान दिने प्रयास गरेको छ । हुन्डाईले विभिन्न योजनाहरु ल्याउने गरेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।
स्टार्टअप्स नेपालले ल्यायो एक दिने उद्यमी १०१ कार्यक्रम, आगामी शुक्रबार हुने
काठमाडौं । स्टार्टअप्स नेपालले एक दिने उद्यमी १०१ कार्यक्रम ल्याएको छ । आगामी शुक्रबार हुन लागेको यस कार्यक्रम नेपाल टलिकमको प्रायोजकमा आयोजना गर्न लागिएको हो । जहाँ उद्यमी तथा भविष्यमा उद्यमी बन्ने सपना बुनेकाहरुले व्यवसाय कसरि शुरु गर्न सकिन्छ र शुरु गर्दा उद्यमीले के के कुरामा ध्यान दिनुपर्ने जस्ता कुराहरु सिक्ने मौका पाउने आयोजकले जनाएका छन् । त्यस्तै, विश्वविद्यालय विद्यार्थी, स्नातक, व्यवसायीक र कसैले निकट भविष्यमा आफ्नै उद्यम शुरु गर्न चाहानेहरुका निम्ति बनेको यस कार्यक्रममा सहभागीहरुले उद्यमीका उद्यम यात्रा तथा उद्यमशीलताको बारेमा बुझ्न पाउने छन् ।
ट्राफिक प्रहरीले जरिवानाको १५ प्रतिशत प्रोत्साहन भत्ता नपाउने, घट्ला त ट्राफिक जरिवाना ?
काठमाडौं । गृह मन्त्रालयले ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वापतको १५ प्रतिशत प्रोत्साहन भत्ता हटाउने भएको छ । गृह मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ मा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनबाट उठाइने जरिवानाबाट १५ प्रतिशत प्रोत्साहन भत्ता हटाउने योजना अघि सारेका हुन । गृह मन्त्री शर्माको योजनामा ट्राफिक प्रहरी कर्मचारीलाई दैनिक अतिरिक्त भत्ताको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यस्तै, ट्राफिक प्रहरीको स्वास्थ्य सम्वन्धमा आवश्यक व्यवस्था गर्ने पनि मार्गचित्रमा उल्लेख गरिएको छ । तत्काल काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन आवश्यकता अनुसार चोकमा ट्राफिक बत्तीहरू र सिसिटिभी, जेब्रा क्रसिंग र पार्किडको व्यवस्था गरिने पनि मन्त्री शर्माको योजनामा समेटिएको छ । तत्काल राजधानी तथा देशभर सवारी आवागमनमा सहजता रसुरक्षाको प्रत्याभूती गराउन एकिकृत ट्राफिक व्यवस्थापन योजना तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि योजनामा समेटिएको छ ।
अखाद्य वस्तु बेच्ने पाँच वटा व्यापारिक प्रतिष्ठान बन्द, कुन कुन भए बन्द ?
चितवन । आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागको टोलीले सोमबार चितवनका ५ व्यवसायीक प्रतिष्ठानहरु बन्द गराएको छ । बिभागका शाखा अधिकृत दुण्डिराज पोख्रेल र राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष तिर्थ मर्हजन सहितको नेतृत्वमा आएको केन्द्रिय टोलीले गरेको संयुक्त अनुगमनका क्रममा म्याद नाघेका बस्तुहरु बेच्ने र नियमविपरीत ब्यवसाय सञ्चालन गर्ने पाँच ब्यापारिक प्रतिष्ठानहरुलाई बन्द गराएको हो । उपोभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने नियतले सञ्चालित नारायणगढको शर्मा आईसक्रिम, भरतपुर रामनगरको न्यु शिवशंक्ती होटल शुष्मा होटल, आनन्दमार्गको श्री टेडर्स र ओम सत्य साई गल्ला पसललाई प्रशासनले बन्द गराएको हो । यी मध्ये शर्मा आईसक्रिमले आवश्यकता भन्दा बढि रगंको प्रयोग गरेको , भरतपुर रामनगरको न्यु शिवशंक्ती होटल शुष्मा होटलले अस्वास्थ्यकर खाना खुवाएर उपोभोक्ताको स्वास्थ्य माथि खेलवाड गरेको, आनन्दमार्गको श्री टेडर्सले १२ वर्ष देखि ब्यवसाय नै दर्ता नगरेको पाइएको छ । साथै, ओम सत्य साई गल्ला पसलले बिभिन्न ब्राण्डका १५५ लिटर खाने तेल, र १५ किलो मिश्री र सुरेस एण्ड ब्रर्दश सप्लायर्स बाट म्याद समाप्त भएका ९० प्याकेट क्रिम बिस्कुट र १९ प्याकेट हरलिक्स बिस्कुट , २२ प्याकेट कोकोनट बिस्कुट र १९ प्याकेट ग्लुकोज लगायत अन्य बस्तु बिक्री गरेको पाइएकाले उनीहरुको ब्याबसायी नै बन्द गर्नुपर्ने अवस्था आएको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागका शाखा अधिकृत दुण्डिराज पोखरेले बताए । साथै, उनीहरुलाई एक साता भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समेत निर्देशन दिईएको पोखरेलले बताए । यस्तै, अनुगमन टोलीले नारायणगढमा रहेको भाटभटेनीको समेत अनुगमन गरेको छ ।अनुगमनका क्रममा ओखरको उत्पादनमा उपभोग्य मितिका साथै प्याकिगं गरिएको कम्पनीको ब्राण्ड समेत नभएकाले त्यस्ता बस्तु नराख्न र नबेच्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।
फ्रान्सेली सरकारको आर्थिक विकासको बहसमा नेपाल
काठमाडौं । फ्रान्स सरकारले विश्वका अल्पविकसित देशको विकासमा सघाउन केही वर्षयता विश्वव्यापी रुपमा आर्थिक विकासको बहस सञ्चालन गर्दै आएको छ । विकसित राष्ट्रका मुख्य सहर टोकियोदेखि लसएन्जलससम्म बर्सेनि आयोजना हुँदै आएका विकासे बहसको शृङ्खला नेपालको राजधानीमा आइपुगेको छ । यहाँस्थित फ्रान्सेली राजदूतावास, फ्रान्सेली केन्द्र र नेपाल आर्थिक मञ्चको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकमा विकास’ विषयको बहसमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले भारत र चीनका बीचमा अवस्थित नेपालमा आर्थिक विकासका अथाह सम्भावना रहेको बताए । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) र भुटान, बङ्गलादेश, भारत र नेपाल सदस्य रहेको (बिबिआइएन) अस्तित्वमा रहे पनि अपेक्षानुरुप नेपालले आर्थिक समृद्धि हासिल गर्न नसक्नु चिन्ताको विषय हो भने । दक्षिण एसियाली नेतामा राजनीतिक इच्छाशक्ति भए समग्र दक्षिण एसियालाई आर्थिक रुपमा एकीकृत गर्न कठिन नहुने विचार व्यक्त गर्दै उनले स्थानीय तहको निर्वाचनबाट चुनिएका र निकट भविष्यमा चयन हुने जनप्रतिनिधिले नेपालको आर्थिक विकासको विषयलाई व्यवहारमा अनुवाद गर्ने गरी उठाउनेमा आफू आशावादी रहेको बताए । नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले आर्थिक विकासको बहसमा नेपाललाई समाहित गर्न आफ्नो देशको सरकारले विशेष प्रयास गरेको जानकारी दिँदै विश्व मानचित्रमा प्रकृतिको वरदानका रुपमा रहेको नेपालको पर्यटन प्रवद्र्धन र विकासमा सघाउनु बहसको मुख्य उद्देश्य भएको बताए । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा विद्युत् प्रवाहबाट दक्षिण एसियालाई विकासको बाटामा अग्रसर गराउन सकिने विचार व्यक्त गर्दै नेपालको आर्थिक विकासको मेरुदण्ड जलस्रोत भरपूर उपयोग अपरिहार्य भएको बताए । रासस