विकासन्युज

बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको र साल्ट ट्रेनिङ कर्पोरेसनको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १९३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले साल्ट ट्रेनिङ कर्पोरेसनको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२३ रुपैयाँ रहेको छ ।

देवः विकास बैंकको विशेष साधारणसभा असार २९ गते, कहिले देखि बुक क्लोज?

काठमाडौं । देवः विकास बैंकको आगामी असार २९ गते विशेष साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २३ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त साधारणसभा सम्बन्धि निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । सभामा बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ ।

केरुङ कनेक्सनः रसुवागढी सुख्खा बन्दरगाहको डिपिआर तयार, चीनले सित्तैमा बनाईदिने

काठमाडौं । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को डिपिआर तयार भएको छ ।  चिन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले सुख्खा बन्दरगाहको डिपिआर पारेको हो । नेपाल सरकारले सन २०१५ को डिसेम्बरमा कम्पनीसँग ड्राइपोर्टको जिओटेक्निकल सर्भे तथा डिपिआर निर्माणको सम्झौता गरेको थियो । ‘चिनियाँ कम्पनीले डिपिआर तयार पारेको छ, अब नेपाली पक्षसँक्ष एक पटक छलफल गरेर अन्तिम टुंगो लगाउनेछ’, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका अधिकृत रबिन्द्र पोखरेलले भने । पोखरेलका अनुसार सुख्खा बन्दरगाहका लागि आवश्यक पर्ने जमिनको अधिग्रहणको काम सम्पन्न भैसकेको छ । चीन सरकारको शतप्रतिशत लगानीमा निर्माण हुने सुख्खा बन्दरगाह नेपाल–चीन सिमा नाकाबाट ३ किलोमिटर भित्र टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा पर्छ । बन्दरगाहमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल समेटिनेछ । बन्दरगाहमा एक सय ६० वटासम्म कन्टेनर पार्किङ गर्न सकिन्छ । यसले दैनिक ५ सय वटा कन्टेनरलाई आवतजावतको सुबिधा दिन सक्नेछ । हाल सो नाकाबाट दैनिक औसतमा ५० देखि एक सय वटा कन्टेनरबाट समान ढुवानी हुने गरेका छन् । २० बर्ष ढुक्क सो बन्दरगाह निर्माण भएपछि अर्काे १५ देखि २० बर्षसम्म नेपाली बजारका लागि आवश्यक पर्ने समान ढुवानी गर्न सकिने पुर्वानुमान गरिएको छ । कस्तो माटो कस्तो डिजाइन ? माटोको भार वहन क्षमता र भौगर्भिक अवस्थालाई हेरेर चिनियाँ कम्पनीले डिपिआर तयार पारेको छ । ‘जिओटेक्निकल सर्भेमा कुनै माटोले एक मिटर स्क्वायरले ५० केजी तौल थेग्छ भन्ने हुन्छ । कुनैले एक सय र १५० केजी तौल थेग्छ भन्ने हुन्छ । यो रिपोर्ट डिजाइनमै समेटिएको छ । त्यसका आधारमा कस्तो पुर्वाधार बनाउने भन्ने एकिन पनि गरिएको ।’, पोखरेलले भने । आगामी १० देखि १५ दिनमै चिनियाँ कम्पनीले तयार पारेको रिपोर्टलाई नेपाली पक्षसँगको छलफलपछि अन्तिम टुंगो लगाउने तयारी भैरहेको पनि पोखरेलले जानकारी दिए ।

 विद्युत् उत्पादन धेरै भएर लमजुङमा लोड सेडिङ

लमजुङ । लमजुङमा विद्युत् बढी भएर समस्या भएको छ । वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लामा रहेका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि समस्या आएको हो । लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना र अन्य साना खुदी (४.४), सिउरी (५), राधी (४.४), स्याँगे (१), छ्याँङ्दी (२) आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । विद्युत् वितरणका लागि संरचना बलियो नहुँदा समस्या भएको विद्युत् प्राधिकरण शाखा प्रमुख माधव न्यौपानेले बताए । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि कमजोर संरचनाले समस्या आएको उनले बताए । कमजोर संरचनाका कारण दैनिक दर्जनौँपटक विद्युत् जाने आउने हुँदा उपभोक्ता समस्यामा परेका छन् । विद्युत् जाने आउने भइरहँदा ढुक्कसँग काम गर्न नपाएको उद्योगी व्यवसायी बताउँछन् । विद्युत् अनियमितता हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम पनि प्रभावित भएका छन् । उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुरेन्ट आदि पनि प्रभावित भएका छन् । कमजोर संरचनाका कारण यसअघि बेलाबखत कहिलेकाहीँ लाइन जाने गरे पनि आजभोलि छिनछिनमै लाइन जान थालेको छ । जिल्लालाई विद्युत्भार कटौती मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने हुँदा समस्या भोग्नुपरेको छ । रासस

तेह्र जलविद्युत् आयोजनाका अरबौंको साधारण सेयर आउँदै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमार्फत पुँजी बढाउन जलविद्युत् आयोजनाबाट साधारण सेयर जारी गर्न पाऊँ भन्दै आवेदन दिनेको सङ्ख्यामा समेत बढोत्तरी भएको बोर्डले जनाएको छ । जलविद्युत् कम्पनी, आयोजना प्रभावित स्थानीयवासी र आमनागरिकलाई सेयर निष्कासनका लागि निवेदन दिन आह्वान गरिएको बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले जानकारी दिए । सरकारले कानुन संशोधन गरी जलविद्युत् आयोजनामा १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रूपमा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्बद्ध आयोजना त्यसतर्फ आकर्षित भएका हुन् । बोर्डमा निवेदन दिएकामध्ये चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सीमित साधारण सेयर जारी गर्न लागेको छ । आयोजनामा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीलाई  ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरिएको छ । सो कम्पनीले गत वैशाख १२ गते निवेदन दिएको हो । यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारी, सञ्चयकर्तालाई एक अर्ब ६४ करोड २१ लाख बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । रसुवागढीले गत वैशाख १३ गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि गत जेठ ३१ गते निवेदन दिएको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ । बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ । शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । उता बुटबल पावर कम्पनीले भने साधारण सेयर नै जारी नगरी फरदर पब्लिक अफर (एफपिओ) जारी गर्न लागेको छ । सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको छ । साधारण सेयर नै जारी नगरीकन एफपिओ जारी गर्न दिने कि नदिने भन्ने बारेमा बोर्डले अध्ययन गरिरहेको उपनिर्देशक घिमिरेले बताए । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि ११ करोड बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै राधी विद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले सात करोड ६४ लाख ५५ हजारको साधारण सेयर निष्कासन गर्न लागेको छ । लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयवासीका लागि नौ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ । उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयवासीलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ । बोर्डमा दिइएको निवेदनका आधारमा साधारण सेयर जारी गर्ने अवधि भएको छ कि छैन वा कागजी प्रक्रिया पूरा भएको छ वा छैन भन्ने आधारमा निर्णय गरिने उपनिर्देशक घिमिरे बताउँछन । उता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं लगानीका लागि उपयुक्त क्षेत्रका रूपमा जलविद्युत् आयोजना देखिएकाले सङ्ख्यामा समेत वृद्धि भएको जानकारी दिए । अध्यक्ष गुरागाईंकै कम्पनी न्यादी पावरले पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई पाँच करोड बराबरको र लमजुङ जिल्लालाई १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आमनागरिकका लागिसमेत ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ ।

यूनियन फाइनान्सका मालिकको सेयर आधा घट्ने, १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने

काठमाडौं । देवः विकास बैंकमा गाभिन लागेको यूनियन फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा ५० प्रतिशत घुमाउने भएका छन् । मर्जपछि यूनियन फाइनान्सको १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने भएका छन् । दुई संस्थाबीच मर्जको क्रममा सेयर मिलान अनुपान (स्वाप रेसियो) यूनियन फाइनान्सको १ कित्ता बराबर देबः विकास बैंकको शुन्य दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ । दुबै कम्पनीको डीडीए रिपोर्टका आधारमा देवको भन्दा यूनियनको सेयर भ्यालु ५० प्रतिशत कम देखिएको हो । हाल देवः विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ छ भने यूनियन फाइनान्सको सेयर मूल्य मर्ज प्रक्रिया शुरु हुनुपूर्व १७५ रुपैयाँका कारोबार भएको थियो । स्वाप रेसियो अनुमोदन, डीडीए रिपोर्ट र मर्ज सम्बन्धि सबै निर्णय र प्रक्रिया पुरा गर्ने प्रस्तावहरुसहित देव विकास बैंकले असार २९ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले मर्जपछि १०० बराबर ४० अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस गर्ने भएको छ । मर्ज र हकप्रद सेयर पछि चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने बैंकले जनाएको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी १४४ करोड रुपैयाँ छ । यूनियन फाइनान्सको चुक्ता पुँजी १७ करोड ४९ लाख रुपैयाँ छ । मर्जपछि देव विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । हकप्रद सेयरबाट बैंकले थप ६१ करोड रुपैयाँ पुँजी थप्ने भएको छ भने बोनस सेयरबाट करिव ३६ करोड रुपैयाँ पुँजी थप गर्न सक्ने देखिएको छ ।

नेपालमा पर्यटनको नयाँ प्रडक्ट होमस्टे ट्रेल थपिँदै, २ सय वटा गाउँको पर्यटकीय प्रोफाइल बनाउँदै भिटोफ

काठमाडौं । नेपालमा पर्यटनको विल्कुलै नयाँ प्रोडक्टको रूपमा होमस्टे ट्रेल सार्वजनिक हुने भएको छ । हाल पर्यटन मन्त्रालयमा दर्ता भएका करिब ३ सय वटा होमस्टेमध्ये अधिकांशलाई होमस्टे पदयात्राको रूपमा विकास गर्न सकिने भन्दै पर्यटनको नयाँ प्रडक्टको अवधारणा अगाडि सारिएको हो ।  यो अवधारणामाथि अध्ययन, अनुसन्धान भइरहेकोले उपयुक्त प्याकेज बनाएर सार्वजनिक गर्ने तयारीमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) रहेको छ । भिटिफले विभिन्न पर्यटकीय संस्थाका साथै नेपाल पर्यटन बोर्डमा आवश्यक सहकार्य पनि गरिरहेको जानकारी दिएको छ । पर्यटन बोर्ड स्रोतका अनुसार भिटोफसँगको सहकार्यमा काम भइरहको छ । भिटोफले पनि आफ्नो गृहकार्यलाई अगाडि बढाएको छ । जतिसक्दो चाँडो नयाँ पर्यटकीय प्रडक्ट सार्वजनिक गर्ने तयारी रहेको बोर्डका एक प्रवन्धकले भने । भिटोफले हरेक पर्यटकीय गाउँको प्रोफाइल पनि तयार पारिरहेको छ । उसले एक वर्षभित्रै २ सया वटा गाउँको प्रोफाइल तयार पार्ने गरी तयारी गरिहेको छ । भिटोफले आगामी गाउँ पर्यटन दिवसको दिन यस्तो प्योकज सार्वजनिक गर्ने भएकोले अहिले नै कुन पर्यटकीय गाउँबाट नयाँ प्रोडक्ट आउँछ भनेर भन्न निमल्ने बोर्डको भनाइ छ । भिटोफले पनि आफ्नो तयारी भइरहेको जानकारी दिएको छ । भिटोफका बासु पाण्डेको अग्रसरतामा नयाँ पर्यटकीय प्याकेजको तयारी भइरहेको हो । यो संस्थाले हरेक पर्यटकीय गाउँलाई दृष्टिगत गरेर होमस्टे टेकिङ ट्रेल बनाउने भऐ छ । यसको आवश्यक तयारीस्वरुप रिसर्च पनि भइरहेको पाण्डलेको भनाइ छ । एउटा होमस्टेबाट अर्कोमा जान पनि यस्तो ट्रेल बनाउन लागिएको उल्लेख छ । एउटै गाउँभित्रको पनि ट्रेल पनि हुन सक्छ बढीमा एक वर्षमा एउटा टेकिङ ट्रेल आइसक्ने पनि भिटाफको भनाइ छ । यस्तोे ट्रेल बनाउँन नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) तथा अन्य पर्यटकीय संस्थासँगको सहकार्यमा पनि काम भइरहेको छ । भिटोफको ब्राण्डिङ गर्न र नयाँ कामको सुरुवात गर्न पनि यो ट्रेल बनाउँने भएको उल्लेख छ । भिटोफले यही असार १५ को धान दिवसलाई पर्यकीय प्रडक्टको रुपमा ब्राण्डिङ गर्न विगत सात वर्षदेखि वर्षेनी रोपाई महोत्सवको रुपमा पनि मनाइरहेको छ । यो वर्षको महोत्सव शिवपुरी गाउँपालिकामा हुँदै छ । हरेक ग्रामिण पर्यटनको प्रोफाइल बनाउँदै पर्यटनको प्रोफाइल तयार पार्दै पर्यटकीय गतिविधि र जानकारी दिने काम पनि यो संस्थाले गरिरहेको छ । सरकारले होमस्टे प्रवद्र्धन नीति ल्याएपछि ग्रामिण पर्यटन प्रतिको सचेतना बढेको छ । भिटोफले हरके वर्ष नयाँ गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा पनि गरिरहेको छ । भिटोफले जति पनि पर्यटक गाउँ जान चाहन्छन ति सबैले आवश्यक जानकारी र डाटा एवं त्यहाको पर्यटकीय गतिविधिको बारेमा हामीले तयार पार्ने पर्यटकीय प्रोफाइलमा बनाउन लागेको जानकारी दिएको छ । नेपालमा भएका जति पनि पर्यटकीय गाँउ छन् ती सबैलाई प्रमोशन गर्ने र सबैको पर्यटकीय विवरण राखेर प्रोफाइल तयार पार्ने पनि उल्लेख छ । भिटोफले तत्कालै ५० देखि ६० वटा गाउँको यस्तो प्रोफाइलको लागि तयारी गरिरहेको छ । एक वर्षभित्रै २०० वटा गाउँको पर्यटकीय प्रोफाइल तयार पार्ने उद्देश्य यो संस्थाको छ ।  यो संस्थाले तयार पारेको यो विवरण भने आगामी भिटोफ डे अर्थात जुलाई २१ मा हुने विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने भएको छ ।

कामै नगरी सान्जाेसेले माग्यो ३ अर्ब क्षतिपूर्ति, ६ अर्बकाे ठेक्कामध्ये ३ वर्षमा १६% मात्रै काम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काममा ढिलासुस्ती गरेको भन्दै ठेक्का तोडिएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले नागरिक उड्डयन प्राधिकरणसँग २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति मागेको छ । विमानस्थल सुधारको कामले अपेक्षित गति लिन नसकेपछि गत मंसिरमा प्राधिकरणले सान्जोसेसँगको ठेक्का सम्झौता भंग गरेको थियो । नेपाल मध्यस्थता परिषद्ले समेत सान्जोसेकै पक्षमा फैसला गरेपछि उसले क्षतिपूर्तिको माग गरेको हो । पूर्वसहमति विपरित सान्जोसेलाई ठेक्काबाट निकालिएको पाइएको भन्दै मध्यस्तता परिषद्ले कम्पनीको पक्षमा फैसला गरेको छ । सान्जोसेले सोही फैसलालाई आधार मान्दै प्राधिकरणमा १५ करोड १८ लाख ८९ हजार रुपैयाँ ब्याजसहित कुल २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको हो । प्राधिकरणले ठेक्का तोडेपछि सान्जोसेले अन्यायमा परेको भन्दै परिषद्मा उजुरी दिएको थियो । प्राधिकरण, एसियाली बिकास बैंकको परामर्शदाता कम्पनी ज्याक तथा सान्जोसेबीच सन् २०१६ मार्च १० मा ४ सय ५७ दिनसम्म म्याद थप्ने सहमति भएको तर समय पूरा नहुँदै ठेक्का तोडेको आरोप लागाउँदै सान्जोसेले उजुरी दिएको थियो । सो सहमतिअनुसार समय नसकिएको तर बीचमै प्राधिकरणले ठेक्का तोडेको आरोप सान्जोसेले लगाएको छ । ठेक्का तोडिएपछि प्राधिकरणले दिएको अग्रिम भुक्तानी १ अर्ब ६० करोड रुपैयाँ सान्जोसेले रोक्का गरेको थियो । प्राधिकरणले उच्च अदालत पाटनमा उक्त रकम फुकुवा हुनुपर्ने मुद्दा दायर गरेको थियो । उच्च अदालतले उक्त रकम प्राधिकरणलाई फुकुवा गर्न अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला भने अझै आएको छैन । सान्जोसेले कति क्षतिपूर्ति माग दावी गरेको भन्ने आफूलाई एकीन जानकारी आइनसकेको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “मध्यस्थता परिषद्को फैसलाको विषयमा प्राधिकरणले पुनः अपिल गरेर अगाडि बढ्नेछ,” श्रेष्ठले भने । सान्जोसेले समयमा काम नगरेपछि प्राधिकरणले बाध्य भएर ठेक्का तोडेकाले क्षतिपूर्तिको विषयमा ऐन, नियमले नै बोल्ने श्रेष्ठले बताए । सान्जोसेले तीन वर्षको अवधिमा १६ प्रतिशत काम गरेवापत करिब ९६ करोड रुपैयाँ भने भुक्तानी लगेको प्राधिकरणको भनाइ छ । ६ करोड १० लाख अमेरिकी डलर (त्यसबेलाको सटही दरअनुुसार करिब ६ अर्ब रुपैयाँ) बराबरको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै मात्र उपलब्धि हासिल गरेको प्राधिकरणको आरोप छ । एसियाली विकास बैंक (एडीबी)को ८ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम सुरु भएको थियो । एडीबीले विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो । सन् २०१३ को मंसिर १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनीले प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको भन्दै प्राधिकरणले मंसिरमा ठेक्का सम्झौता तोडेको थियो । नयाँ ठेक्कामा ९ कम्पनीकाे रुची हाल अर्को टेन्डर गर्दै कम्पनी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । जसमा ९ कम्पनीलाई प्रारम्भिक छनोट गरेको छ । सान्जोसेलाई तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण, अन्तर्राष्ट्रिय उडानका यात्रुको सामान ल्याउने बेल्ट (कन्भेयर बेल्ट) निर्माणको जिम्मा पाएको भएपनि निर्धारित कामको गति निकै सुस्त रहेको गरेको थियो । सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायत रहेका छन । एसियाली विकास बैंक (एडीबी)को १० करोड अमेरिकी डलर ९१० अर्ब रुपैयाँ०को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । विवाद पशुपतिको माटोमा सान्जोसेले पशुपति क्षेत्रकै माटो चाहिनुपर्ने सर्त राखेसँगै प्राधिरकरण र ठेकदारबीच विवाद चुलिएको थियो । सान्जोसेले नेपाली कम्पनी तुन्दी कन्स्ट्रक्सनलाई सहायक कम्पनी नियुक्त गरेर विमानस्थल विस्तारको काम गरेको थियो । विमानस्थल विस्तारका लागि पशुपति विकास कोषको जग्गाबाट माटो ल्याउने सुरु गरेपछि अख्तियारको छानविनले विशेष अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको छानविनपछि कम्पनीले बच्चुराम एन्ड कम्पनीलाई माटो आपूर्ति गर्ने ठेक्का दिएको थियो । कारोबार दैनिकबाट ।