विकासन्युज

झलनाथ, विद्या,  नेम्बाङ  र लालबाबु राष्ट्रपतिको दौडमा

काठमाडौं, २७ असोज । एमालेले राष्ट्रपति र एकिकृत माओवादीले सभामुख लिने सहमति भएसँगै एमालेमा राष्ट्रपतिको बहसले तिब्रता पाएको छ । मुलतः एमालेमा राष्ट्रपति बनाउने बिषयमा चार नेताको नाम अघि सारिएको छ । पुर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका स्वभाविक र पुराना दावेदार हुन् । उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नवौं महाधिवेशन अघि नै राष्ट्रपति बनाउने आश्वासन दिएको एमाले वृतमा चर्चा छ । राष्ट्रपति बन्न पाउने आशमै खनालले महाधिवेशनमा गोप्यरुपमा ओलीलाई सघाएका थिए । एमालेभित्र राष्ट्रपतिको अर्का दावेदार हुन निवर्तमान सभामुख सुभाषचन्द्र नेम्बाङ । नेम्बाङलाई राष्ट्रपति बनाउन केपी ओली पनि सकारात्मक नै छन् । तर नेम्बाङ क्रिस्चियन धर्मावलम्बी भएकाले राष्ट्रपति बनाउन केहि अप्ठेरो रहेको एमाले श्रोतले बतायो । पार्टी उपाध्यक्ष तथा मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदकी अर्की प्रतिष्पर्धी हुन् । प्रधानमन्त्री केपी ओली समेत उनलाई राष्ट्रपति बनाउने भित्रि खेलमा सामेल छन् । बरिष्ठ महिला नेतृ तथा मदन भण्डारी पत्नी भएकाले पनि उनलाई राष्ट्रपति बनाउन ओली र उनी निकटकाहरु दिलोज्यन दिएर लागिपरेका छन् । त्यसो त मुलुकको पहिलो महिला राष्ट्रपति बनाएर इतिहास लेख्ने अभियानमा समेत उनीहरु लागिपरेका छन् । राष्ट्रपतिको रेसमा सामेल भएका अर्का उम्मेदवार हुन निवर्तमान सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित । डिभि, पिआर र ग्रीन कार्डधारी कर्मचारीलाई कारवाहीको बाटोमा ल्याएर वाहवाही कमाएका पण्डित मधेशी मुलका समेत हुन् । मधेशी जनताको सेन्टीमेन्ट र राष्ट्रवादी सोँचको जगमा पण्डितलाई राष्ट्रपति बनाउन माधव नेपाल समुह लागिपरेको छ ।

राजधानीमा पेट्रोल सकस (फोटो फिचरसहित)

काठमाडौं, २६ असोज । भारतले अघोषित नाका बन्दी लगाएसँगै निजी सवारी साधनलाई पेट्रोलिम पदार्थ वितरणमा रोक लागेको थियो तर मंगलबार दशैंमा घर जान भन्दै निगमले निजी सवारी साधनलाई पनि पेट्रोल उपलब्ध गराउने निर्णय गर्यो । निगमले मंगलबार पेट्रोलियम पदार्थ वितरण गर्ने सूचना आइतबार नै बजारभरी फैलीसकेको थियो । सोमबार सार्वजनिक सूचना प्रकाशित गरेर मंगलबार सर्व साधारणलाई इन्धन दिने घोषणा गरेपछि सोमबारदेखि नै राजधानीका इन्धन पम्पहरुमा सर्वसाधारणहरुले आफ्ना सवारी साधन लाईन लगाईसकेका थिए । रत्नपार्क पुल छेउमै रहेको चुनीलाल आयल स्टोर्समा सोमबार दिउँसो तीन बजे नै आफ्नो कारलाई लाईनमा राखेको बताउँदै थिए बागबजारकै स्थानिय हरि महर्जन । ‘आज तेल दिन्छ भन्ने सूचना पक्का हुने वित्तिकै कारलाई यहाँ ल्याएर राखेका हुँ, त्यतिबेला त्यस्तै तीन बजेको थियो होला’ उनले भने । निगमले मंगबालर थानकोट डिपोबाट सर्वसाधारणलाइ दशैंमा घर पठाउन भन्दै ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले मंगलबार निजी मोटर साईकललाई पाँच लिटर र कारलाई १० लिटर पेट्रोल वितरण गरिरहेको छ । पेट्रोल भर्न सर्वसाधारण मध्यरातदेखि लाईनमा बसिरहेका छन् । राजधानीमा दैनिक ६० लाख लिटर पेट्रोल खपत हुने भएपछि निगमले दशैंका लागि भन्दै जम्मा ६ लाख लिटर पेट्रोल वितरण गरिरहेको हो ।

मन्त्री छान्न एमालेमा किचलो, अर्थमा पौडेल र पाण्डेको प्रतिष्ठा

काठमाडौं, २६ असोज । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको सरकारमा पठाउने मन्त्रीहरुका बिषयलाई लिएर नेकपा(एमाले)मा किचलो सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा मन्त्री पठाउन थालेपछि माधव नेपाल तथा झलनाथ खनालहरु झस्किएको श्रोतले बतायो । विश्वस्त श्रोतका अनुसार सोमबार सथप ग्रहण गराईएका मन्त्रीहरुका बिषयमा समेत पार्टी नेतृत्व तहमा कुनै छलफल भएको थिएन् । प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न सहज हुनु पर्यो भन्दै भटाभट मन्त्री नियुक्त गरेपछि नेपाल र खनालहरुले पार्टीमा छलफल गर्नुपर्ने माग राखेका छन् । मंगलबार साँझसम्म स्थायी समिति बैठक वा शिर्ष नेताहरुकाबिचमा छलफल गरेर थप मन्त्रीहरुको टुंगो लगााउने तयारी भैरहेको छ । अर्थमा पौडेल र पाण्डेको प्रतिष्ठा अर्थ मन्त्रालयका लागि उप महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेबिच प्रतिष्ठाको लडाईँ सुरु भएको छ । केपी ओली क्याम्पका नेताहरुले पाण्डेलाई कुनै हालतमा अर्थ मन्त्रालय दिन नहुने भन्दै ओलीलाई दबाव दिएका छन् । यता नेपाल समुह भने सफल अर्थमन्त्रीमा दरिएका पाण्डेलाई पठाएर पुननिर्माणको कामलाई अघि बढाउनु पर्ने निष्कर्षमा पुगेको छ । यतिबेला अर्थ मन्त्रालयमा को पठाउने भन्ने सन्दर्भ पौडेल र पाण्डेका लागि मात्रै होइन ओली र नेपालका लागि समेत प्रतिष्ठाको बिषय बनिसकेको छ । आफुलाई काम गर्न सहज हुने पात्रका रुपमा ओलीले पौडेललाई च्यापेका छन भने नेपालले शक्ति सन्तुलन, सम्बन्धित क्षेत्रको ज्ञान भएका र अनुभवी समेत रहेका पाण्डेलाई अर्थ मन्त्री बनाउनै पर्ने अडान तेर्स्याएका छन् । प्रधानमन्त्री ओली समुहले पाण्डेलाई कुनै हालतमा अर्थमन्त्री बन्नबाट रोक्ने अभियान छेडेको छ भने नेपाल समुहले पनि पौडेललाई बनाउनै नहुने अडान कसेको छ । यस्तो अवस्थामा उपाध्यक्ष भिम रावलले अर्थमन्त्रालय हात पार्ने सम्भावनालाई समेत नकार्न नसकिने श्रोतले बतायो ।

बुधबारदेखि तराईमा बैकिङ सेवा खुला हुने

जनकपुरधाम, २५ असोज । दुई महिनादेखि बन्द रहेको तराईको बैकिङ क्षेत्र बुधबारदेखि खुला हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजया दशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय संस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ । मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय संस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो । भोली मंगलबार घटस्थापना परेकोले सार्वजनिक विदा छ । बुध, विही र शुक्रबार तीन दिन र आगामी साताको आईत र सोमबार दुई दिन गरी दशैं अघि जम्मा पाँच दिन मात्र बैक तथा वित्तीय संस्थाले सेवा दिन सक्नेछन् । जनकपुरमा गरिएको यो निर्णयले तराईका अरु जिल्लामा पनि बैक तथा वित्तीय सेवा खुला गर्न मोर्चालाई दवाव पर्ने र अरु जिल्लामा पनि वित्तीय सेवा खुला हुन सम्भावना आफूले देखेको शाहले बताए । दुई महिनादेखिको लगातार बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका छैनन् । बैंकका शाखाहरु सञ्चालन नहुँदा एटीएमहरु पनि खाली भएका थिए । बैंकमा बचत रहेका सर्वसाधारणले आफ्नो खाताबाट रकम झिकेर खर्च गर्न समेत पाएका थिएनन् । बन्दका कारण बैंक, बीमा, सहकारी, उद्योग, स्कूल, कलेज लगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

भोलि सबै निजी सवारी साधनले पेट्रोल पाउने, पेट्रोल हाल्न ब्लुबुक अनिवार्य

काठमाडौं, २५ असोज । नेपाल आयाल निगमले भोलि (२६ असोजमा) सवै निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि मंगलबार निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्दैछ । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो । दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल निगमले निजी सवारीलाई पनि तेल दिने निर्णय गरेको हो । निगमले मंगलबार काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दैछ । दिउँसो १ बजेदेखि सबै पम्पमा पेट्रोल/डिजेल वितरण सुरु गर्ने तयारी गरिएको छ । एक स्थानमा तेल भरेकाले अर्को स्थानमा गएर भर्न पाउने छैनन् । उपत्यकामा रहेका झण्डै १ सय २५ पेट्रोलपम्पहरुले निजी सवारीलार्इ इन्धन वितरण गर्नेछन् । ‘मंगलबार निजी सवारी साधनलाई पेट्रोल वितरण गरिने छ,’ नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भने । निगमले सहजरुपमा तेल लिने वातावरण बनाउन सबै पम्पहरुलाई तेल दिन लागेको उनले जानकारी दिए । उनका अनुसार सार्वजनिक सवारीलाई भने बसपार्क क्षेत्रका केही पम्पहरूमा मात्र तेल पाउने छन् । निगमले गरेको ब्यवस्था अनुसार निजी मोटरसाइकलले ५ लिटर मात्रै पेट्रोल पाउने छन् । यस्तै चारपांग्रे कार, जिप/भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको छ । निगमले सार्वजनिक यतायात अन्तरगत जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । यस्तै अत्यावश्यक बस्तु ढुवानीमा संलग्न साना गाडीहरुले जोरबिजोरका आधारमा १० लिटर तेल पाउँदै आएका छन् । अतिआवश्यक सेवाका दमकल, एम्बुलेन्स लगायतलाई दैनिक १० लिटर तेल उपलब्ध गराउने क्रम चलिरहेको छ । ट्याक्सीले सातामा १० लिटर पेट्रोल पाउँदै आएका छन् । निगमले तेल भर्न आउँदा सवारीको ब्लुबुक बोकेर आउन आग्रह गरेको छ । तोकिएको परिमाणअनुसार इन्धन भरेर ब्लु बुकमा आयल निगमको लोगो अंकित छाप लगाउने व्यवस्था गरिएको प्रवक्ता बरालले बताए । ‘सवारीसाधनमा इन्धन भरेपछि मिति उल्लेख गरी ब्लु बुकमा आयल निगमको छाप लगाउँछौं, ‘त्यसैका आधारमा एक ठाउँमा तेल भरेको सवारीले अन्यत्र तेल भर्न पाउँदैन,’ बरालले भने । दसैँमा सवारीसाधन चलाउन सजिलो गराउन र उपत्यकाबाट बाहिरिनेलाई पनि ध्यानमा राखेर निगमले आफ्नो क्षमता अनुरुप अधिकतम तेल वितरण गरिने स्पष्ट गरेको छ । उपत्यकामा मंगलबार ६ लाख लिटर पेट्रोल वितरण गर्ने योजना छ । भारतबाट तेल आउन कम भएपछि निगमले कोटा निजी सवारीलाई तेल दिन बन्द गरेको छ । तर, मंगलबार एक दिन मात्र निजी सवारीलाई तेल दिन लागिएकाले पेट्रोल पम्पहरुमा भिड सोमवारदेखि नै लागिसकेको छ ।

२ उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन

२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री छन् । उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । थापाले उपप्रधानसहित परराष्ट्र र गच्छदारले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यस्तै मन्त्रीहरुमा अग्नि खरेल,सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, हरिबाल गजुरेल र रामकुमार सुब्बा छन् । खरेल, पाण्डे र मण्डल एमालेको तर्फवाट मन्त्री बनेका हुन् भने गजुरेल एमाओवादीको तर्फवाट मन्त्री बनेका हुन् । सुब्बा भने राप्रपा नेपालका हुन् ।

२५ जनाको मन्त्रिपरिषद गठन गर्नुपर्ने संबैधानिक ब्यवस्था, कसरी होला सम्भव ?

काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई मन्त्रीपरिषद गठन चुनौतिपूर्ण हुने भएको छ । संविधानमा मन्त्रिपरिषदको संख्या तोकेको र अहिले करिब डेढ दर्जन पार्टीवाट मन्त्री बनाउनु पर्ने भएकोले उनलाई मन्त्रिपरिषद गठन चुनौतिपूर्ण हुने देखिएको हो । नेपालको संविधानको भाग ७ को धारा ७६ को उपधारा ९ मा  मन्त्रिपरिषदमा प्रधानमन्त्री सहित २५ जनाभन्दा बढी सदस्य हुन नहुने ब्यवस्था गरिएको छ । मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री बुझिने संविधानमा स्पष्ट पारिएको छ । संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने ब्यवस्था भएपछि आफूलाई प्रधानमन्त्री बन्नको लागि सहयोग गर्ने राजनीतिक दललाई मन्त्रालय भागबण्डा गर्न ओलीलाई निकै कठिन हुने देखिएको छ । ओली उनको पार्टी एमाले सहित १७ दल र स्वतन्त्र सांसदको सहयोगका प्रधानमन्त्री निर्वाचित भएका थिए । उनले आफूलाई भोट दिने एउटा दललाई एउटा मन्त्रालय दिदा पनि मन्त्रीको संख्या १७ पुग्छ । यद्यपि दलहरुका विचमा एमालेले ८, एनेकपा माओवादीले ६, राप्रपा नेपालले ३ र मधेशी जनअधिकार फोरम नेपालले ३ मन्त्रालय लिने प्रारम्भिक सहमति भएको छ । प्रधानमन्त्रीमा ओलीलाई सघाउने स्वतन्त्र सहित १३ दलले एक एक जना मन्त्री पाउने हुन कि होइनन् भन्ने प्रश्न पनि खडा भएको छ । संविधानमा भएको यस्तो ब्यवस्था ओलीको लागि अहिले नै भने बाध्यकारी छैन । जथाभावी मन्त्रालय टुक्रयाउने र आफन्तलाई बिनाविभागीय मन्त्री समेत बनाउने परिपाटी हाबी भएपछि संविधानमै मन्त्रीको संख्या तोकिएको हो । अहिले संविधानको सो ब्यवस्था आकर्षित हुदैन । नयाँ निर्वाचन नभएसम्मको लागि संविधानमै संक्रमणकालिन ब्यवस्था गरिएको छ । सो ब्यवस्थामा मन्त्रीको संख्या तोकिएको छैन । संक्रमणकालिन ब्यवस्थाको धारा २९८ मा मन्त्रिपरिषद गठन सम्बन्धि ब्यवस्था गरिएको छ । सो धाराको उपधारा ५ मा आवश्यकता अनुसार उपप्रधानमन्त्री र मन्त्री रहन सक्ने ब्यवस्था गरिएको छ । संक्रमणकालिन ब्यवस्थामा मन्त्रीको संख्या नतोकिएपनि संविधानको मर्म अनुसार मन्त्रीको संख्या २५ भन्दा बढी बनाउन प्रधानमन्त्री ओलीलाई नैतिक संकट भने आउने छ ।

को को बन्दैछन ओली क्याबिनेटमा मन्त्री ?

काठमाडौं, २५ असोज । केपी ओली नेतृत्वको गठबन्धन सरकारमा मन्त्री बन्ने दौडले तिब्रता पाएको छ । एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकदेखि राप्रपा र माले भित्र मन्त्री बन्ने रस्सा कस्सी सुरु भएको हो । सरकारको नेतृत्व गरेको एमाले भित्र प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले गुटगत कोटा खोजेका छन् । एकिकृत माओवादी भित्र पनि अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठले बाँडफाँट गर्नेछन् । राप्रपा नेपालमा कमल थापालाई एकल अख्तियार प्राप्त हुनेछ । उता, फोरम लोकतान्त्रिकले भने गच्छद्धार, जितेन्द्र सोनल तथा रामजनम चौधरीका बिचमा पावर सेयरिङ गर्नेछ । यी तिनै जना मन्त्री बन्ने लाईनमा छन् । ओलीले आजै १ बजे सपथ लिँदैछन् । आजै राप्रपाका कमल थापा, एकिकृत माओवादीका हरिबोल गजुरेल र फोरम लोकतान्त्रिकका बिजय गच्छद्धारले सपथ लिने निश्चित भैसकेको छ । एमालेका आंकांक्षी एमालेमा उपाध्यक्ष भिम रावल, उप महासचिव बिष्णु पौडेल मन्त्रीको तिब्र आकांक्षी हुन् । यी बाहेक पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, अग्नि खरेल, सत्रुघ्न महतो, वैजनाथ चौधरी, पशुपति चौँलागाईँ, डा. बंसिधर मिश्र, लालबाबु यादव, रामकुमार भट्राई, शेरधन राई, रबिन्द्र अधिकारी, थममाया थापा, श्रीमाया थकाली, सोम प्रसाद पाण्डे, तुल बहादुर गुरुङ लगायत मन्त्री बन्ने दौडमा छन् । उनीहरुले आफु निकटका नेताहरुलाई मन्त्री बनाईदिन दबाव दिईरहेका छन् । केपी ओली, माधव नेपाल, झलनाख खनालका निवासमा मन्त्री बनाउन दबाव दिनेहरुको ठुलो भिड लागिरहेको छ । एकिकृत माओवादी एकिकृत माओवादीले नेता हरिबोल गजुरेललाई सपथ खुवाउने निर्णय गरिसकेको छ । त्यसका अलवा नेताहरु कृष्ण बहादुर महरा, टोप बहादुर रायमाझी, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मन्त्री बन्ने कसरतमा छन् । राप्रपा नेपाल राप्रपा नेपालका तर्फबाट पार्टी अध्यक्ष कमल थापाले नै सरकारमा नेतृत्व गर्नेछन् । उनले उपप्रधान सहित परराष्ट्र मन्त्रालय सम्हाल्ने सम्भावना रहेको छ । । रामकुमार सुब्बा, कुन्ती शाही, दिलनाथ गिरी, रेशम लामा, गंगा यादव, दिनेश श्रेष्ठ र विक्रम थापा लगायतले आफुलाई मन्त्री बनाउन दबाव दिईरहेका छन् । फोरम लोकतान्त्रिक फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष बिजयकुमार गच्छद्धारले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । उनीसँगै रामजनम चौधरी र जितेन्द्र सोनलले पनि मन्त्री बन्ने इच्छा राखेका छन् । उनीहरु दुबैलाई मन्त्री बनाउन गच्छद्धार र पार्टी पनि सकारात्मक रहेको श्रोतले बतायो ।