तीन लाख गरिब परिवारलाई परिचयपत्र दिइने
काठमाडौं । सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिकानुरुप २५ जिल्लामा विवरण संकलन भएका १२ लाख २४ हजार चार घरपरिवारमध्ये स्वीकृत गरिब परिवारको नामावली अनुमोदन गरी परिचयपत्र वितरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले अनशनरत चिकित्सा शास्त्र अध्ययन संस्थानका चिकित्सक प्रा डा गोविन्द केसीको अनशनलाई सधैँका लागि अन्त्य गर्न तीन सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव रहेको वार्ता टोली गठन भएको अर्थमन्त्री कार्कीले बताए । रासस
हिमालय एअरलाइन्सको दोहा-कतार उडान सङ्ख्या थप, हप्तामा चार दिन
काठमाडौं । हिमालय एअरलाइन्सले यही आउँदो साउन १९(अगष्ट ३, २०१७) गते देखि कतारको दोहामा हप्ताको थप दुई उडान मंगलबार र बिहिबार गर्ने भएको छ । साथै, उक्त एअरलाइन्सले भदौ १७ (सेप्टेम्बर २, २०१७) गतेबाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्याउने जनाएको छ । उक्त थप उडान मंगलबार, बिहीबार, शनिबार र आइतबार हुनेछ । सो थप उडान आगामी कात्तिक ११ (अक्टोबर २८, २०१७ )गते सम्मलाई रहने छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान भरि साँझ २०ः५०मा काठमाडौं अवतरण गर्नेछ । नेपालीहरुको महानपर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रुलाई सेवा प्रदान गर्ने उद्देश्य रहेकोमा, उक्त कम्पनीका भाइस प्रेसिडेन्ट प्रशासन विजय श्रेष्ठ भन्छन् “दोहा उडान गरेको १ वर्षमा यात्रु समाज बाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशै तथा दिपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ।”
कुलमानको कमाल-प्राधिकरणको सञ्चालन मुनाफा २ अर्ब ४० करोड, आम्दानी ५० अर्ब २२ करोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ अर्ब ४० करोड सञ्चालन मुनाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक बर्ष २०७३/७४ मा ५० अर्ब २२ करोड आम्दानी गरेर ४७ अर्ब ८२ करोड खर्च गरेको हो । प्राधिकरणले सञ्चालन मुनाफा २ अर्ब ४० गरेको भएपनि ऋणको सावा र ब्याज तिर्दा भने अझै ९७ करोड नोक्सानीमै रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका अनुसार आर्थिक बर्ष २०७२/७३ मा प्राधिकरण ३ अर्ब ६ करोड सञ्चालन नोक्सानीमै थियो । सावा र ब्याज तिर्दा प्राधिकरणको नोक्सानी ८ अर्ब ८९ करोड पुगेको थियो । नव नियुक्त उर्जा मन्त्री महेन्द्र बहादुर शाहीलाई स्वागत गर्न आयोजीत कार्यक्रममा कार्यकारी निर्देशन घिसिङले चालु आर्थिक बर्षमै प्राधिकरण खुद मुनाफाको अवस्थामा पुग्ने पनि बताए । उनले मन्त्रालय, कर्मचारी र आफ्नो टिमको संयुक्त प्रयासले जनतालाई लोडसेडिङको अध्यारोबाट मुक्त गरेको पनि बताएका थिए । ‘विद्युत चुहावट २५ प्रतिशतबाट २२ दशमलब ९ प्रतिशतमा झरेको छ, अब यो अझै सुध्रिँदै जान्छ’, घिसिङले भने । उनले ११ हजार १ सय ४२ को दरबन्दी रहेकोमा हाल ८ हजार ८ सय १७ जना मात्रै कार्यरत रहेको बताए । इञ्जिनियर र तल्लो तहका कर्मचारीको ठुलो अभाव रहेकाले आवश्यक सहयोगको अपेक्षा पनि मन्त्री शाही समक्ष गरेका थिए । हाल प्राधिकरणका ६० वटा आयोजनाहरुले ४४१ मेगावाट विद्युत उत्पादन गरिहेका छन् । त्यस्तै, १ सय ५१ वटा आयोजनाहरुबाट २ हजार ९ सय ३३ मेगावाट विद्युत उत्पादनका परियोजना निर्माण भैरहेका छन् । निजी क्षेत्रका ६० वटा आयोजनाले ४४१ दशमलब शुन्य ५ मेगावाट विद्युत उत्पादन गरिरहेका छन् । निजी क्षेत्रबाट चालु आर्थिक बर्षमै २७ वटा आयोजनाबाट २४९ दशमलब ८८ मेगावाट विद्युत उत्पादन हुने पनि घिसिङले जानकारी दिए ।
एनआईसी एशिया क्यापिटलको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु गरेको छ । यस सेवा अन्तर्गत क्यापिटलका हितग्राहीले आफ्नो खातामा भएको कारोवारको जानकारी अनलाइन मार्फत हेर्न सक्ने क्यापिटलले बताएको छ । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा क्यापिटल मार्फत वार्षिक रुपमा पचास रुपैयाँ शुल्क भुक्तानी गरी लिन सकिने छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ लिन ईच्छुक सेवाग्राहीहरुले सो सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा रहेको कारोबार कार्यालयबाट तथा एनआईसी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत आवेदन फारम भरि बुझाउन सकिने व्यवस्था गरिएको छ । एनआईसी एशिया क्यापिटलले सूचना, प्रविधि तथा विशेषज्ञताको उचत्तम प्रयोग गर्दै, लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ मार्फत ग्राहकहरुको सुबिधा अभिवृद्धि हुने विश्वास गरिएको छ । क्यापिटलडले ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै निः शूल्क डिम्याट(हितग्राही) खाता खोल्न सकिने बताएको छ । साथै, प्रथम वर्षको डिम्याट (हितग्राही) खाता संचालनमा छुटको व्यवस्था समेत गरेको छ ।
ड्याट्सन कारको मनसुन एक्सेन्ज अफर शुरु, जुनसुकै मोडलका कारहरु एक्स्चेञ्ज हुने
चितवन । चितवनमा ड्याट्सन व्राण्डका कारका पारखी ग्राहकवर्गहरुको चाहानालाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज अफर शुरु गरेको छ । अटो क्षेत्रमा विगत ५ बर्षदेखि सक्रिय रहदै आएको सेढाई होल्डिङ्ग ग्रुप अन्तर्गतको एस.एच मोटर्सले यहाँका ग्राहकवर्गहरुको चाहाना र मागलाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज अफर राखेको मोटर्स्का प्रबन्ध निर्दशक निर्देश सेढाईले बताए । जुनसुकै मोडलका कारहरुको उचित मुल्यमा एक्स्चेञ्ज गरेर नयां गाडी ग्राहकले लैजान सक्ने उनले बताए । सोही अवसरमा कार किन्ने ग्राहकहरुको सुविधाका लागि अन स्पट फाईनान्स, अन स्पट म्यालुएशन र आर्कषक उपहार समेत उपलबध गराईएको एस।एच मोटर्स्का मयानेजर उपेन्द्र भुषालले बताए । अफरको आईतबार सुरु भएको पहिलो दिन ६५ जनाले टेष्ट ड्राईभ र ४ जनाले कार बुक गरेको समेत उनले बताए । १२ सय सिसी क्षमताका कारहरु नन एसी, एसी जडित र सेमी अप्सनमा उपलब्ध छन् । प्रति लिटर पेट्रोलमा झण्डै २५ दशमलव ६३ किलोमिटर दुरी पार गर्ने इन्धन किफायती इञ्जिन यसको मुख्य विशेषता रहेको एस।एच मोर्टस्का म्यानेजर सुनिता लामाले जानकारी दिए । ५ वटा कलरमा यो कार उपलब्ध छ । सानो ठाउँमा घुम्न सक्ने, ग्राउण्ड क्लियरेन्स १८५ एमएम भएकाले कच्ची वाटोमा जान सक्ने, फराकिलो डिक्की, आरामदायी सिट तथा सुपथ र सर्वसुलभ मूल्यमा जेनुइन पार्टस्हरु उपलव्ध छन् । यसलाई अरु गाडीभन्दा सस्तो मूल्यमै र ठूलो परिवारलाई पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । सस्तो, राम्रो र सुविधायुक्त आकारमा डिजाइन गरिएकाले यसको आकर्षण ह्वा्ट्टै बढ्ने कम्पनीको दावी छ । निसानका गाडी चढ्नेले ७ जना परिवार तथा केही सामानहरु राखेर पनि सहजै यात्रा गर्न सकिने छ ।
नेपालीको प्रत्येक घरमा बत्ति बल्ने-उर्जामन्त्री शाही
काठमाडौं । नेपालमा उर्जा क्षेत्रलाई आमुल परिवर्तन गरेर नेपालीको प्रत्येक घरमा बत्ति बल्ने उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर्ता बढाउने प्रतिबद्धता जनाए । बिद्युत खपत गरेर कार्य गर्न सके लोडसेडिङको अन्त्य हुने बिहिबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रमा उर्जामन्त्री शाहीले बताए । उनको भनाई अनुसार देशमा विद्युत चोरी हुने, ट्रान्सफर्मर पड्किने, विद्युत चुहावट हुने लगायतका समस्याले गर्दा मुलुकले लोड्सेडिङको सामना गर्नु परेको छ । बत्तिको पावर धेरै गएको कारणले गर्दा पनि नेपालले लोडसेडिङबाट मुक्ति पाउन नसकेको जानकारी दिइएको छ । साथै, अबको १ हप्तामा नेपालीले विद्युतिय महसुल तिर्न अनलाईनबाट नै मिल्ने कार्यक्रममा जानकारी दिइएको छ । उर्जालाई उत्पादन वृद्धि गर्न उपभोक्ताहरुले फ्यान, बत्ति, घरायासी मेसिनहरु लगायतका वस्तुहरु कम पावरबाट चल्ने तरिकाले प्रयोग गरेमा लोडसेडिङको अन्त्य हुने उर्जा मन्त्री शाहीले बताए । उनले देशमा भएका स्रोत र साधनलाई न्यायोचित ढंगले परिचालन गर्नुको साथै बाह्य पूँजीलाई ल्याउन सकेमा देश आर्थिक रुपमा समुन्नत बन्नुको साथै नेपाल लोडसेडिङ मुक्त बन्ने बताए । हालसालैको कुरामा भने प्राविधिक गडबडीले गर्दा तथा ट्रान्सर्फमर फेर्दा भने बत्ति नआउने सम्भावना रहने जानकारी कार्यक्रममा दिइएको छ । साथै, बुढीगण्डकी जलविद्युत आयोजनालाई १६ अर्ब मौज्दात दिइसकेको, १० अर्व निकासा भएको तथा ६० अर्बमा पुरा काम सम्पन्न हुने जानकारी दिइएको छ । यदि कार्य समय सिमामा सम्पादन भएन भने उक्त आयोजना रद्द हुने जानकारी दिइएको छ ।
नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब १५ करोड रुपैयाँ बढीको सेयर कारोबार
काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक एक दशमलब ५० अंकले बढेर १६४६ दशमलब ५३ अंकमा पुगेको छ । बजारमा एक अर्ब १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १८ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्रभु इन्स्योरेन्सकोे सेयर कारोबार भएको छ । यस इन्स्योरेन्सको ५ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय २० रुपैयाँमा किनबेच भएको छ । बिहीबार काबेली विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन यस बैंकको सेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ छ । त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य प्रतिकित्ता ९.९५, लुम्बिनी विकास बैंकको ९.९० र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ९.७९ प्रतिशतले बढेको छ ।
एक अर्ब ८७ करोड रुपैयाँ बढी राजस्व संकलन
चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा एक अर्ब ८७ करोड सात लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार विभागले १४ अर्ब ८३ करोड ७७ लाख ८५ हजार रुपैयाँ लक्ष्य लिएकोमा १६ अर्ब ७० करोड ८५ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । संकलित राजस्व ११२.६१ प्रतिशत रहेको छ । सबैभन्दा बढी अन्तःशुल्क करतर्फ १४ अर्ब २३ करोड ७८ लाख ९४ हजार रुपैयाँ तथा सबैभन्दा न्यून शिक्षा सेवातर्फ दुई करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विभागले दिएको लक्ष्य स्वास्थ्य सेवा करमा पुर्याउन नसकिएको देखिन्छ भने अन्य सबैमा पुगेको छ । स्वास्थ्य सेवा करमा १२ करोड ४९ लाख १८ हजार रुपैयाँ लक्ष्य दिइएको थियो तर संकलन भने पाँच करोड ९३ लाख ५७ हजार रुपैयाँ भएको छ । स्वास्थ्य सेवा कर यहाँका दुई मेडिकल कलेजले ठूला करदाता कार्यालय काठमाडौँमा बुझाएपछि यहाँ कम संकलन भएको कार्यालयले जनाएको छ । आयकरतर्फ एक अर्ब २६ करोड ३० लाख ३५ हजार रुपैयाँ, घरबहाल करतर्फ नौ करोड २२ लाख ७० हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड १५ लाख दुई हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ९७ करोड २९ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विभागले चालु आवका लागि यस कार्यालयलाई १९ अर्ब ७४ करोड रुपैयाँको लक्ष्य दिएको छ । जिल्लामा अहिले ७० हजार करदाता रहेका छन् । तीमध्ये ४० हजार व्यवसायी र ३० हजार व्यक्तिगत छन् । छ हजार ३०० मूल्य अभिवृद्धि करमा आबद्ध छन् । गत आवमा यस कार्यालयमा चार हजार ८०० करदाता थपिएका छन् । आव २०७२.७३ मा १२ अर्ब १६ करोड ५६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।