पोखरेलीको चार दशक लामो सपना साकार बन्दै, सुरु भयो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण
पोखरा, २ वैशाख । पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले यहाँको विकासका सम्भावनालाई अघि बढाएको विमानस्थल निर्माणका एक अभियन्ता एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन। पोखरेली जनताले चार दशकदेखि विमानस्थल निर्माणका लागि देखाएको अग्रसरता एवम् सङ्घर्षले विमानस्थलको शिलान्याससँगै साकार रुप लिन लागेको उनले उल्लेख गरे । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर ४ नं प्रदेश र समग्र नेपालकै लागि गौरवको विषय हो,” उनले भने, “विमानस्थल निर्माणसँगै सडक यातायात लगायतका पूर्वाधार विकासलाई पनि सँगसँगै लैजानुपर्छ ।” पूर्वसांसद एवम् नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा पोखरामा लामो प्रतीक्षापछि अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनुले पोखरा र प्रदेश नं ४ का जनतालाई निकै हर्षित तुल्याएको बताउँछन । संविधान प्राप्त भएपछिको ठूलो उपहारका रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पोखरेलीले लिएको उनको भनाइ छ । विमानस्थल बनेसँगै लाखौँ विदेशी पर्यटक पोखरा भएर लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, कैलाशनाथ आदि धार्मिकस्थलको दर्शन र अवलोकनका लागि आउने शर्माले बताए । जिविस कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल पनि विमानस्थलले पोखराका धेरै सम्भावनालाई उजागर गर्ने धारणा राख्छन। २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयदेखि काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले विमानस्थलको शिलान्यासको अवस्थासम्म आइपुग्नुलाई अत्यन्त हर्षका साथ हेरेको पौडेलले बताए । राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरि क्षेत्रीय समिति अध्यक्ष शङ्करप्रसाद बरालले अन्तर्राष्ट्रिय विमानस्थल समग्र पश्चिमाञ्चल र यस क्षेत्रको विकासका लागि अत्यन्त उपयोगी हुने धारणा राखे । “लामो समयको सङ«घर्षपछि विमानस्थल शिलान्यास भएको छ,” उनले भने, “यसलाई सबैले मिलेर समयमा नै सम्पन्न गर्न लाग्नुपर्छ ।” पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरा र यस आसपासको धेरै सम्भावना खुल्ने बताए । उनले यसले स्थानीय विकासका धेरै सम्भावना खोल्ने विश्वास व्यक्त गरे । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थल सुहाउँदा पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताउँदै उनले विमानस्थल निर्माणका लागि ठूलो लगानी पोखरामा भित्रनु पनि आफैंमा यस क्षेत्रका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे । रासस
पर्यटन क्षेत्रका लागि २०७३ सालः निराशा छिचोल्दै पुनरुत्थान
काठमाडौं, १ बैशाख । नयाँ संबिधान प्राप्त गर्नु बाहेक २०७२ सालले नेपाली जनतालाई केहि दिएन् । बर्षको दोश्रो हप्ता नलाग्दै आएको ७ दशमलब ६ रेक्टर स्केलको महाभूकम्पको पीँडा बिर्साउने प्रयास भैरहेको थियो । अकस्मात भारतले नाका बन्दी लगायो । त्यसको कारकका रुपमा मधेशका असन्तुष्ठ राजनीतिक दलले सुरु गरेको नाका केन्द्रित धर्नालाई देखाईयो । नाका बन्दीले आम नेपाली जनतालाई युद्धको भन्दा भयानक अवस्थामा पुर्यायो । १० बर्ष चलेको माओवादी युद्धका बेलामा समेत खासै प्रभावित नबनेको नेपाली पर्यटन क्षेत्रलाई भूकम्प र नाकाबन्दीले थिलोथिलो बनाईदियो । पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको पर्यटन बोर्डले नेपाली बर्षहरुको तथ्यांक राख्ने गरेको छैन् । तर सन २०१४ को तुलनामा सन २०१५ मा पर्यटन आगमन ३२ प्रतिशतले घटेको छ । ‘हामीले नेपाली क्यालेण्डरमा तथ्यांक राख्ने गरेका छैनौं तर २०१४ भन्दा २०१५ मा पर्यटक आगमन ३२ प्रतिशतले घटेको छ ।’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले भने । भूकम्पले पर्यटन क्षेत्रमा ६२ अर्ब ३७ करोड मुल्य बराबरको क्षति पुर्यायो । विश्व सम्पदा सूचिमा परेका अधिकांश सम्पदा ढलेर भग्नावशेषमा परिणत भए । बसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायर ढले भने चाँगुनारायण, बुङमति, बोद्ध स्तुपा समेत सकुशल रहेनन् । १६ अर्ब ९० करोड मुल्य बराबरको सांस्कृतिक सम्पदामा क्षति पुगेको देखिन्छ । चलनचल्तीका पदमार्ग पनि भूकम्प र त्यसलगत्तै आएका पहिरोहरुले अवरुद्ध बने । दर्जनौं पर्यटकले भूकम्पमा ज्यान गुमाए । मुलत १४ जिल्लाको पर्यटन करिब करिब ठप्प भयो । त्यसमा लाङटाङ, गोर्खा–मनास्लु, चरिकोट, जिरी, कालिञ्चोक, धादिङ, रोल्वालिङ लगायतका गन्तब्य थिए । नगरकोट लगायतका अन्यकेहि गन्तब्यका होटलहरुमा समेत ठुलै क्षति पुग्यो । एउटै मात्र अन्तराष्ट्रिय विमानस्थल मात्रै रहेका कारण अन्य गन्तव्यहरुमा समेत पर्यटकको आगमन रोकियो । नेपाल आउने पर्यटकले औसत प्रतिदिन ४३ डलर खर्च गर्थे तर अब केहि बर्ष त्यो अनुपात घटेर ३५ डलरमा सिमित हुने पर्यटन सम्बद्ध व्यवसायीहरुको निष्कर्ष छ । नेपालको पर्यटक आगमनमा ४० प्रतिशतले १२ महिनासम्म असर पारेको थियो भने त्यसपछिका २४ महिनासम्म २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । ह्यारीको आगमनले उत्साह बर्षको अन्तिम महिनामा बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गरे । निर्धारित समय भन्दा एक हप्ता बढि नेपाल बसेका उनले विश्वभर नेपालको पर्यटन प्रवद्र्धनमा सघाए । बेलायत तथा अमेरिकाका सञ्चार माध्यमहरुले ह्यारीको नेपाल बसाइलाई राम्रै महत्व दिए जसले नेपालको पर्यटन क्षेत्रप्रति विश्व समुदायलाई आकर्षित गर्न मदत नै गर्यो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी भन्छन–२०७२ साल निरासै निरासाले भरिएको बर्ष बन्यो, २०७३ लाई पर्यटन पुनरुत्थानको अवधी बनाउनु पर्छ ।
एनआइविलको एफपिओ बाँडफाँडः १० र २० कित्ता माग्नेलाई गोलाप्रथावाट, त्योभन्दा माथिका सवैले पाए
काठमाडौं, ३० चैत । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपिओ बाँडफाँड भएको छ । आज गरिएको बाँडफाँडमा साना लगानीकर्तालाई माग सेयरको ३२ दशमलब ४७ प्रतिशत र ठूला लगानीकर्तालाई ८ दशमलब ५ प्रतिशत सेयर दिइएको छ । सेयर माग गर्ने आवेदकमध्ये साना लगानीकर्ताको संख्या १ लाख ६१ हजार १ सय २० थियो भने ठूला लगानीकर्ताको संख्या ५६ हजार ५ सय ४२ थियो । सयर नपरेको रकम भने आगामी ५ बैशाखदेखि फिर्ता गरिने भएको छ । यस्तो रकम नेपाल इन्भेष्टमेन्ट, एनआइसी एशिया र प्रभु बैंक तथा गुडविल फाइनान्सका खाता भएका लगानीकर्ताको खातामै रकम जम्मा पारिने भएको छ । अन्य लगानीकर्ताले भने चेक नै पाउनेछन् । सेयर बाँडफाँडमा १०, २० र ३० कित्ता सेयर माग गर्ने लगानीकर्तालाई गोलाप्रथावाट सेयर प्रदान गरिएको छ । उनीहरुले १० कित्ताको दरले सेयर पाएका छन् । १० कित्ता सेयर माग गर्ने आवेदकको संख्या ८ हजार ७ सय ५० थियो । गोलाप्रथावाट यसमध्ये ३ हजार ३३ जनाले १० कित्ताको दरमा सेयर पाएका छन् । यस्तै २० कित्ता सेयर माग गर्ने आवेदको संख्या ५ हजार ६ सय ७२ थियो । यसमध्ये गोलाप्रथावाट ३ हजार ६ सय ८३ जनाले सेयर प्राप्त गरेका छन् । ४० कित्ता सेयर माग गर्नेले १३ कित्ता, ५० कित्ता माग गर्नेले १६ कित्ता, ६० कित्ता माग गर्नेले १९ कित्ता, ७० कित्ता माग्नेले २३ कित्ता र ८० कित्ता माग गर्ने आवेदकले २७ कित्ता सेयर पाएका छन् । यस्तै ९० देखि १८० कित्तासम्म सेयर माग गर्ने लगानीकर्ताले १० कित्ता पाएका छन् । १९० कित्ता माग्नेले १७ कित्ता र २० सय कित्ता सेयर माग गर्ने आवेदकले १८ कित्ता सेयर पाएका छन् । सोभन्दा बढी कित्ता माग गर्ने आवदेकले आफूले माग गरेको सेयरको ८ दशमलब ५ प्रतिशत सेयर प्राप्त गरेका छन् । बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर विक्री गरेको थियो । सो सेयरको मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ थियो ।
लाखौ नेपालीले राम्रै कमाए वर्ष २०७२, थ्याङ्क्यू एण्ड वाईवाई
काठमाडौं, ३० चैत । धन्यवाद २०७२ साललाई । सम्पत्ति बजारमा लगानी गर्ने नेपालीले खुशीका साथ विधाई गर्न चाहान्छन् । र, स्वागत गर्न चाहान्छन् २०७३ साललाई । २०७२ सालमा भन्दा २०७३ सालमा बढी कमाई होस् । २०७२ सालमा लाखौं नेपालीले सेयर बजारमा उत्साहजनक रुपमा कमाए । हातमा नगद प्राप्त नभएको भए पनि उनीहरुको सम्पत्तिको बजार मूल्य राम्ररी वृद्धि भएको छ । चारै तिर निराशा हुँदा हुँदै पनि सेयर, सुनचाँदी, डलर, जग्गामा लगानी गर्नेले यो वर्ष राम्रो कमाएका छन् । bikashnews.com सबैभन्दा बढी सेयरमा लगानी गर्नेले कमाए । नेप्सेमा सूचिकृत कम्पनीहरु जसले २०७२ सालमा साधारणसभा गरे, उनीहरुले सेयरधनीबाट स्यावासी पाउने गरि लाभांश वितरण गरे । त्यसमा पनि बैंक, विकास बैंक, फाइनान्स, बीमा समूहका सबै कम्पनीले बोनस सेयर दिएर लगानीकर्तालाई आर्थिक लाभ र खुशी बाँढे । २०७२ सालमा पुँजी बजार ५ खर्ब २३ अर्ब रुपैयाँले वृछि भयो । बैशाख २ गते सेयर बजारमा कुल पुँजीकरण ९ खर्ब ६८ अर्ब रुपैयाँ थियो । चैत २९ मा १४ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीकरण भएको छ । बैशाख २ गते ९४४ अंक रहेको नेप्से चैत २९ गते १३८४ अंकमा पुग्यो । २०७२ सालको पहिलो साता सेयर बजारमा सुधारको संकेत देखिएको थियो । बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि एक महिना कारोबार बन्द भयो । एक महिनापछि खुलेको बजारमा भूकम्पको ठूलै धक्का महसुश भयो । तीन दिनमा नेप्से करिव १०० अंकले घट्यो । जेठ १३ गते न्युनतम ८२१ अंकमा झरेको थियो । १३ गते नै भएको राजनीतिक सहमतिले सेयर बजारमा यू टर्न भयो । त्यसपछिका १० महिनामा सेयर बजारमा निरन्तर वृद्धि भयो । अढाई दशकको सेयर बजारको इतिहासमा यो वर्ष सेयर बजार उच्च विन्दुमा पुग्यो । नेप्से १४०० नाघ्यो । दैनिक कारोबार ७÷८ करोडबाट दैनिक १०० करोडभन्दा माथि गयो । नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन–‘राजनीतिक तथा आर्थिक प्रतिकुलताका बाबजुद बजार निरन्तर उकालो लागिरह्यो, नयाँ संबिधान बनेपछि लगानीकर्तामा विश्वास बढेको देखिन्छ ।’ नेपालको सेयर बजारमा बैंक तथा फाइनान्सको ठूलो हिस्सा छ । तर यिनै क्षेत्रमा भूकम्प र नाकाबन्दीको खासै ठूलो असर देखिएन् । त्यसकारण पनि सेयर बजारमा लागानी कर्ताको आकर्षण बढिरह्यो । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईका विचारमा बजार बढ्नुका चार वटा प्रमुख कारण छन् । पहिलो, बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नाले लगानी कर्ता सेयर बजारमा आकर्षित भए । दोस्रो, तरलता बढेपछि लगानीका तत्कालिन उपयुक्त गन्तब्यका रुपमा सेयर बजार देखियो । तेस्रो, प्राबिधिक रुपमा कारोबार सहज र पारदर्शी भएकाले पनि लगानीकर्ता आकर्षित भए । चौथो, सेयर बजारको विकासमा नेपाल धितोपत्र बोर्डको सक्रियताले पनि लगानी कर्तामा विश्वास जगायो । यो वर्ष लघुवित्त, बीमा र बैंकिङ क्षेत्रमा लगानीकर्ताले बढी कमाएका छन् ।
२०७२ सालको बीमा : ठूलो धक्का र राम्रो शिक्षा
काठमाडौं, ३० चैत । २०७२ सालमा नेपाली बीमा क्षेत्रले सबैभन्दा ठूलो धक्का महसुस गर्यो । बर्षको सुरुमै आएको विनासकारी भूकम्पको कारण बीमा कम्पनीहरुले क्षतिपूर्ति दिनुपर्ने भन्दै १८ अर्ब ५८ करोड २६ लाख रुपैयाँ दाबी परेको छ । नेपालको बीमा इतिहासमा एकैपटक यति धेरै दाबी भएको यो नै पहिलो पटक हो । दाबी भुक्तानीको हिसावले पनि बीमा क्षेत्रको लागि यो वर्ष ऐतिहासिक रह्यो । निर्जीबन बीमा कम्पनीहरुले मात्रै अहिलेसम्म १० अर्ब २० करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । एकै बर्षमा नेपाली बीमा क्षेत्रले गरेको दाबी भुक्तानी पनि यो अहिलेसम्मकै ठूलो हो । नेपाली बीमा कम्पनीले विदेशका विभिन्न कम्पनीहरुसँग पुनर्बीमा गराउँछन् । उनीहरुले दाबी परेको बेलामा सहजै भुक्तानी दिन्छन् कि दिदैनन् ? वा दाबी भुक्तानी गर्ने समयमा कुन पुनर्बीमा कम्पनीको ब्यवहार कस्तो हुने गरेको छ भनेर थाहा पाउने अवसर बीमा कम्पनीहरुले प्राप्त गरे । यस्तै बीमा गर्नेहरुले पनि एकै पटक ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपर्दा नेपाली बीमा कम्पनीहरुले भुक्तानी गर्न सक्छन् कि सक्दैनन् भनेर मूल्यांकन गर्ने अवसर पाए । यसकारण यो बर्ष बीमा क्षेत्रको लागि सिकाइको बर्ष रह्यो । दुबै अनुभव सकारात्मक र सुखद रहे । किनभने चैतको तेस्रो सातासम्ममा पुनर्बीमा कम्पनीबाट ५ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गर्नको लागि बीमा नेपाली बीमा कम्पनीले प्राप्त गरिसकेका छन् । संकटबाट नेपालीले बीमा बारे धेरै कुरा सिके । यो बर्ष बीमा चेनता बढाउनको लागि निकै फलदायी रह्यो । सँगै घर भत्किएकामध्ये बीमा गराएको ब्यक्तिले दाबी भुक्तानी लिएर घर बनाइ सक्यो । बीमा नगराउनेले पैसाको जोहो गर्न नसकेकोले अझै घर बनाउन सकेको छैन । यसकारण बीमा गराउदा आपतको बेलामा सहयोग पाइने रहेछ भन्ने ज्ञान आम मानिसले पाए । यो बीमा क्षेत्रको लागि सबैभन्दा सुखद पक्ष हो । दोस्रो सुखाद पक्ष के हो भने विपदपछिको वर्ष पनि बीमा क्षेत्रमा पुँजी लगानी गर्नेहरु निराश बन्नु परेन । अहिलेसम्ममा साढे १० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेका भएपनि बीमा कम्पनीको ब्यालेन्ससीटमा त्यसको प्रभाव देखिएको छैन । बार्षिक साधारणसभा गरिसकेकामध्ये अधिकांश बीमा कम्पनीले सेयरधनीलाई लाभांश दिएका छन् । ठूलो मात्रामा दाबी भुक्तानी गर्न पर्ने भएकोले समस्या देखिन सक्ने भन्दै बीमा समितिले कम्पनीहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको थियो । गत बर्ष मात्रै नेपालमा पुनर्बीमा कम्पनी स्थापना भयो । द्धन्द्धको समयमा गठन गरिएको आकष्मिक बीमा कोषलाई नै पुनर्बीमा कम्पनी बनाइएको हो । बीमा कम्पनीहरुले सो कोषमा गरेको लगानीलाई पुनर्बीमा कम्पनी परिणत भएपछि सेयर पूजीमा गणना गरियो । पुनर्बीमा कम्पनीले नाफा गर्यो । कम्पनीहरुले सो रकमलाई लगानीमा गणना गर्न पाए र त्यसबाट प्राप्त लाभांशलाई आम्दानीमा गणना गर्न पाए । यसैकारण बीमा कम्पनीको नाफा बढेको देखियो । बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा नकारात्मक प्रभाव परेको देखिएन । २०७२ सालमा बीमा समितिले कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न दिएन । सबै कम्पनीहरु बोनस सेयर वितरण गर्न वाध्य भए । साथै पुँजी वृद्धि गर्न बीमा समितिले कम्पनीहरुलाई दिएको दवावका कारण सेयर बजारमा कम्पनीहरुको सेयर मूल्य अनपेक्षित रुपमा बढ्यो । दोस्रो बजारमा मूल्य बढेका कारण बीमा कम्पनीको सेयरमा लगानी गर्नेहरुले सेयर बिक्री गरेर वा बुक भ्यालु गरेर दंङ्ग भएको छन् । त्यतिमात्र होइन, बीमा कम्पनीप्रति लगानीकर्ताको दीर्घकालिन विश्वास बढेको छ । ठूलो क्षति हुँदा पनि पुर्नबीमा कम्पनीले भुक्तानी दिदो रहेछ, कम्पनीले मात्र दावी भुक्तानी गर्नु पर्ने रहेछ, बीमा कम्पनीहरुले थोरै मात्र जोखिम लिदा रहेछन्, बीमा कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम हुँदो रहेनछ भन्ने सन्देश लगानीकर्तामा गएको देखिन्छ ।
बजार विकास र आर्थिक विकाससँगै पुँजी वृद्धि गरिनुपर्छ-नूरप्रकाश प्रधान
करिव चार महिनादेखि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको नूरप्रकाश प्रधान करिव ३५ वर्षदेखि बीमा क्षेत्रमा क्रियाशिल हुनुहुुन्छ । उहाँले सन १९८० देखि ९ वर्ष भारतीय कम्पनी नेशनल इन्स्योरेन्समा काम गर्नुभएको थियो । त्यसपछि नेपाली कम्पनी नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स र त्यसबाट नै जन्मिएको एनएलजी इन्स्योरेनस कम्पनीमा करिब २७ वर्ष काम गरेको अनुभव छ उहाँसँग । तर फष्ट म्यान भएर जिम्मेवारी लिएको भने लुम्बिनीमा नै पहिलो पटक हो । उहाँले कसरी कम्पनी चलाउदै हुनुहुन्छ ? के छन् उहाँका योजना ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत भएर उहाँसँग गरिएको विकास वहस । [divider] पहिलो पटक कम्पनीमा फस्ट म्यानको जिम्मेवारी लिनु भएको छ, कसरी समाल्दै हुनुहुन्छ कम्पनीलाई ? नूरप्रकाश प्रधान, प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मैले पहिले पनि फस्टम्यानको जिम्मेवारी बोध गरिसकेको थिएँ । नेशनल लाईफ एण्ड जेनेरलमा हुँदा एक्टिङ सिइओको भूमिका पनि निर्वाह गरिसकेको थिएँ । कहाँ कहाँ समस्या हुन सक्छन ? कसरी सुधार्ने भन्ने राम्रो अनुभव छ । ३५ वर्ष बीमा क्षेत्रमा काम गरिसकेको छु । मैले यस कम्पनीमा जिम्मेवारी लिएको चार महिना वित्दैछ । यसअवधिमा कम्पनीमा केहि सुधार देखिसकिएको छ । अझै सुधार गर्दै जाने योजना छन् । कम्पनीलाई सहि ढंगले अघि बढाएर नयाँ उचाईमा पुर्याउँछु भन्ने विश्वास छ । के के सुधार गर्नु भयो अहिलेसम्म ? इन्स्योरेन्स सर्भिस भनेको दावी भुक्तानी सल्टाउने कुरा हो । दावी भुक्तानीमा व्यापक सुधार आएको छ । पुरानादेखि नयाँ दावी पनि भुक्तानी भैरहेको छ । बीमा समितिसम्म पुगेका जोडिएको कतिपय मुद्दा सल्टिएका छन् । अहिलेको समयमा भूकम्पपछिको दावी भुक्तानी महत्वपूर्ण कुरा हुन आउँछ । भूकम्पबाट भएको क्षतिसँग सम्वन्धित दावीहरु मध्ये रकमका आधारमा ७० प्रतिशत र संख्याका आधारमा ९४ प्रतिशत दावी भुक्तानी गरिसकेका छौं । केहि केश भने सर्भेयरको रिपोर्टमै चित्त नबुझाउने क्लाईन्ट पनि छन् । केहि हाइड्रोको दावीमा पनि समस्या छ । उनीहरुसँग सम्वन्धित दावी भुक्तानीलाई पनि छिट्टै सल्ट्याउने छौं । बीमितको असन्तुष्ठि कहाँ हुने रहेछ ? मुख्यत: दुई प्रकारको पोलिसी हुन्छन् । हाउस होल्ड र फायर पोलिसी हुन्छ । स्ट्याण्डर्ड फायर पोलिसी अन्तर्गत २ दशमलब ५ प्रतिशत एक्सेस काट्ने भन्ने हुन्छ । कतिपय बीमितलाई यो थाहा हुन्न । रकम घट्यो भनेर कराउँछन् । अर्काे कुरा भनेको सबै सर्भेयर पनि एक नाशका हुँदैनन् । घर भत्किने भनेको सिभिल समूहको काम हो । तर सर्भेयरका रुपमा आउने मेकानिलक सेक्टरका सर्भेयरले समस्या पार्छन् । पीडितलाई अलि राहत नै होस भनेर सर्भेयरले रिपोर्ट बनाउँछन् । त्यसलाई सुधारियो भने पनि चित्त दुखाउँछन् । ठेकेदारी प्रथामा गुणस्तरको कुरा पनि आउँछ । सबै भार इस्योरेन्स कम्पनीले नै व्यहोर्नु पर्छ भन्ने मान्यता राख्छन् । हामीले ९० प्रतिशत जोखिम बहन गर्दा १० प्रतिशत भार त वहन गर्नु पर्यो नि । यस्ता कारणहरुले असन्तुष्ठि देखिन्छ । भूकम्पपछि लुम्बिनीमा परेको दावी कति हो ? सुरुमा ४२ करोडको दावी परेको थियो । त्यो अनुमानका भरमा गरिएको दावी थियो । पछि त्यो दावी रकम २८ करोड रुपैयाँमा झरेको छ । त्यसमा २० करोड भन्दा बढी सेटल भैसक्यो । बाँकी पनि सेटलको चरणमा छन् । ६ सात करोड त दावी गर्नै नपर्ने अवस्थाका थिए । साधारण चर्किएकाहरुको पनि दावी गरिएको थियो । केहिले दोहारो आवेदन पनि दिएका थिए । चालु आर्थिक वर्षमा यस कम्पनीमा बिजनेश घटेको देखियो नि, किन ? यसअघि कम्पनीको सिईओ र मार्केटिङको टिमले छोडेर जाँदा पनि केहि असर गरेको छ । यस कम्पनीको बिजनेश तराईमा बढी भएकोले लामो तराई बन्द भएकाले पनि असर गर्यो । नाका बन्दीका कारण बिजनेशमा ग्रोथ देखाउन सकिएन । अलिकति अण्डराईटिङ सेलेक्सन पनि खोज्यौं । त्यसले पनि केहि असर गर्यो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा दोश्रो त्रैमासमा बिजनेश ग्रोथ राम्रै भैरहेको छ । चैत मसान्तको रिपोर्ट राम्रो आउँदैछ । असार मसान्तसम्ममा कम्पनीको विजनेश ग्रोथ राम्रो देखिनेछ । कम्पनीमा सबै डेडिकेटिड, मोटिभेटिड हुनुहुन्छ । भर्खरै तालिम पनि दिएका छौं । सबै सक्षम र जुझारुहरुको समुहसँग काम गर्ने प्रयास गरिरहेको छु । भूकम्पपछि बीमामा आकर्षण बढेको छ, तर लुम्बिनीमा त्यस्तो आकर्षण देखिएन किन ? बीमा बजार औषतमा १५ प्रतिशतले बढेको छ । हामीले त्यसलाई पूर्णरुपले क्यास गर्न सकेका छैनौं । पुस मसान्तपछि हाम्रो पनि मार्केट बढेको छ । र त्यो अझै बढ्ने क्रममै छ । लामो समय उच्चतहको व्यवस्थान समूह खाली भएकाले पनि मार्केट ग्रोथ नभएको जस्तो देखिन्छ, तपाईका योजना के छन ? मुलतः बीमा कम्पनीको सेवा छिटो, छरिटो र विश्वसनिय बनाउन जोड दिने हो । बजारले चाहने पनि त्यहि नै हो । व्यवसायिकता अभिवृद्धि अर्काे महत्वपूर्ण पाटो हो । लगानी कर्तादेखि सेवाग्राहीलाई समेत सन्तुष्ठि दिनु पर्र्नेछ । दावी भुक्तानीलाई छिटोछरितो बनाउने, कर्मचारीको दक्षता अभिवृद्धि गर्र्ने, बजार बढाउने, नाफा बढाउने, कार्यक्षेत्र बढाउने, प्रडक्ट नयाँ ल्याउने जस्ता योजनासहित अघि बढिरहेको छु । कम्पनीको पुँजीको साइजको तुलनामा बिजनेश पर्याप्त छैन । तैपनि चार बर्षभित्र कम्पनीलाई राम्रो पहिचान दिने योजना छ । मैले कम्पनी छाड्दा नयाँ उचाई दिन चाहान्छु । लुम्बिनीको ब्राण्ड बलियो बनाउने लक्ष्य छ । लुम्बिनीले लगातार बोनस सेयर दिईरहेको छ, तर तपाई आफैं भन्दै हुनुहुन्छ, पुँजी अनुसारको बिजनेश छैन, कसरी ? यो त रेगुलेटरी बडीको कारण हो । बीमा समितिले पुँजी बढाउने तयारी गरिरहेको छ । नगद लाभांश नदिनु भनिरहेको पनि छ । छिटो भन्दा छिटो पुँजी बढाउँदै लैजानु पर्छ भन्ने बीमा समितिको आसय हो । त्यसैले नगद लाभांश नदिएर लागतार बोनस सेयर दिँदै आएका हौं । पुँजी वृद्धि कम्पनीको आवश्यकता भन्दा पनि नियामक निकायले दिएको निर्देशन कार्यान्वयन गराउने बाध्यता मात्रै हो त ? बीमा कम्पनीहरुको पुँजी बढाएर जोखिम बहन क्षमता बढाउने उदेश्य नियामक निकायको देखिन्छ । नेपालका बीमा कम्पनीहरु सक्षम होउन, प्रतिष्पर्धी होउन भन्ने सोँच राम्रो हो । तर यहाँको मार्केटको ग्रोथ रेटलाई पनि हेर्नु पर्छ । आर्थिक विकास, आर्थिक वृद्धिदरको स्पीडलाई हेरेर पुँजी बढाइनु पर्छ । आर्थिक विकास नभएसम्म बीमा कम्पनीहरुको प्रीमियहरु बढ्दैन् । हामीले बाली बीमाको कुरा गरेका छौं, तर मल हामी उत्पादन गर्न सक्दैनौं । बिउबिजन पनि हाम्रो आफ्नो छैन् । समयमा पानी पाईन्न । अनि कसरी हुन्छ ? बीमा समितिले नन लाईफ इन्स्योरेन्स कम्पनीको पुँजी दुई सय करोड पुर्याउने तयारी गरेको देखिन्छ, तपाईहरु त भर्खर ३३ करोड पुँजीमा हुनुहुन्छ, कसरी अघि बढ्ने ? हामीले बीमा समितिकै निर्देशनहरु पालना गर्दै जाने हो । बजार कतिको बढछ ? बिजनेश कति ग्रोथ हुन्छ ? त्यसलाई हेर्नु पर्छ । अहिले उद्योग बन्द छन् । प्रिमियम तिर्न गाह्रो छ, देशको आवश्यकता र आर्थिक विकासका आधारमा पुँजी निर्धारण हुन्छ होला । हाम्रो पहिलो सोँच भनेको कमाएरै पुँजी पुर्याउने भन्ने हो । देशको अवस्थाले कति साथ दिन्छ हेर्नुपर्छ । दोश्रो प्राथमिकता भनेको पुँजी थप्ने भन्ने नै हो । तेश्रो अप्सन भनेको मर्जमा जाने हो । कम्पनीका लगानीकर्ताहरुको भनाई के छ ? लगानीकर्ताले पनि रिटर्न खोज्छन् । पुँजी मात्रै धेरै थपेर पनि हुन्न । देशको आर्थिक ग्रोथका आधारमा कसरी अघि बढ्ने भन्नेबारे उहाँहरुबीच पनि छलफल भैरहेको छ । भूकम्पले बीमा कम्पनीहरुलाई ठूलो क्षति पुर्याएको अनुमान थियो तर राम्रै रिटर्न दिएको देखिन्छ ? आगामी दिनमा लगानीकर्ताले कस्तो प्रतिफल पाउलान् ? भूकम्प आएर इन्स्योरेन्स कम्पनीलाई फाइदा भयो भन्ने होइन् । १२ देखि १३ प्रतिशतको रिटर्न राम्रो होइन । भूकम्पले जति क्षति गरायो त्यसको क्षति पुनर्बिमाले व्यहोरेकाले कम्पनीहरुलाई खासै असर नगरेको हो । इन्स्योरेन्स कम्पनी भनेको समाजिक उद्योग हो । कुनै ठुलो दुर्घटना भएन भने रिटर्न राम्रै होला ।
माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्ज तोडिनुको कारण र अबको बाटो
काठमाडौं, २९ चैत । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएको छ । स्वाप रेसियो नमिलेपछि मर्ज तोडिएको दुबै बैंकका अधिकारीहरुले बताएका छन् । माछापुच्छ्रे बैंकले आईतबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड,स्टक एक्चेन्ज र जनता बैंकलाई पत्र पठाउँदै मर्जर प्रक्रिया तोडिएको जानकारी दिएको छ । मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति समेत पाएका यी दुई बैंकबीच किन एकाएक मर्ज कसरी तोडियो ? यसमा को को जिम्मेवार छन् ? अब दुई बैंक कसरी अगाडि बढ्छन् ? धेरैको चासोको विषय बनेको छ । दुई बैंकबीच मर्ज सम्वन्धि प्रारम्भिक सम्झौता असोज ३ गते भएको थियो । त्यतिबेला माछापुच्छ्रेको प्रतिकित्ता १२१ र जनता बैंकको ८२ रुपैयाँ स्वाप रेसियो तय भएको थियो । पछि माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने र त्यसपछिको अवस्था मर्ज रेसियो १०९ र ८२ कायम गर्नेमा सहमति भएको थियो । जनता बैंक सम्वन्ध स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा फागुन दुई गते दुई बैंकका संयुक्त मर्जर कमिटिमा स्वाप रेसियो माछापुच्छ्रे बैंकको प्रतिकित्ता १०९ र जनता बैंकको प्रतिकित्ता ८२ रुपैयाँमा कायम गर्ने सहमति भएको थियो । उक्त सहमतिका विषयबारे दुबै बैंकले प्रमोटर सेयरधनीको भेला गराएर छलफल गरेका थिए । भेलामा जनता बैंकका सेयरधनीले १०९ र ८२ रुपैयाँ स्वाप रेसियोमा सहमति जनाएका थिए । तर माछापुच्छ्रे बैंकले आयोजना गरेको आफ्ना सेयरधनीको भेलामा सहमति भईसकेको स्वाप रेसियोको विरोध भयो । स्रोतका अनुसार माछापुच्छ्रे बैंकसँग अचल सम्पत्ति धेरै भएको, लाजिम्पाटमा २६ आनामा बनेको ७ तले आफ्नै भवन, पोखरामा ५ रोपनी जग्गासहित आफ्नै भवन, बागलुङ, जोमसम, भैरहवा लगायत क्षेत्रमा रहेका जग्गाको बजार मूल्य उच्चदरले वृद्धि भएको जनाउँदै त्यसको उचित मूल्याङकन हुनुपर्नेमा जोड दिए । १६ वर्ष पुरानो संस्थाको ब्राण्ड इमेज र भ्यालु राम्रो भएको, नेटवर्क, ग्राहक तथा व्यापार जस्तो आधारभूत पक्ष राम्रो भएकोे, ६ महिनामा ४० करोड रुपैयाँभन्दा बढी नाफा भएकाले स्वाप रेसियो आफ्नो बैंकमो धेरै हुनुपर्न प्रमोटर सेयरधनीहरुको धारणा थियो । Bikashnews.com उता राष्ट्र बैंकले स्वाप रेसियो तय गर्दा बढी मूल्य राख्नेले प्रतिकित्ता १०० र घटी हुनेको सयभन्दा तलको उपयुक्त मूल्य राख्ने मौखिक रुपमा सुझाव दिएको माछापुच्छ्रे बैंक सम्वद्ध स्रोतले बतायो । राष्ट्र बैंकको सुझावलाई आधार मान्दै माछापुच्छ्रे बैंकले आफ्नो सेयर मूल्य प्रतिकित्ता १०० राख्ने र जनता बैंकको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ कामय गरी मर्जमा जाने नयाँ प्रस्ताव गर्यो । तर स्वाप रेसियो १०० र ४५ बनाउने माछापुच्छ्रे बैंकको पत्रमा असहमति जनाउँदै जनता बैंकले फागनु २ मा भएको सहमतिका आधारमा मात्र मर्ज गर्न सकिने भन्दै चैत २६ गते माछापुच्छ्रे बैंकलाई पत्र लेख्यो । जवाफमा माछापुच्छ्रे बैंकले चैत २८ गते जनता बैंकलाई पत्र काट्दै १०९ र ८२ रुपैयाँ स्वाप रेसियोमा मर्ज गर्न नसकिने जनाउदै मर्जबाट आफू वाहिरीने निर्णय गरेको पत्र पठायो । अबको बाटो २८ गते नै बसेको माछापुच्छ्रे बैंकको सञ्चालक समितिले आफैले पुँजी थपेर ८ अर्ब रुपैयाँ पुर्याउने उदेश्यसहित तत्काल १६ प्रतिशत बोनस सेयर र त्यसपछिको पुँजीको आधारमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयमा पुगेको छ । साथै साधारणसभामा उपयुक्त वित्तीय संस्थासँग मर्ज गर्ने प्र्रस्ताव पनि साधारणसभामा लैजादै छ । माछापुच्छ्रे« बैंकको हाल चुक्ता पुँजी ३ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले ५३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको छ । बोनस सेयर वितरणपछि २ बराबर १ को अनुपात (५० प्रतिशत) १ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बोनस र हकप्रद सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८ अर्ब नजिक पुग्न सकिने, केही विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जमा ल्याएर नपुग पँुजी जुटाउन सकिने उसको योजना छ । दुई अर्ब ६ करोड रुपैयाँ मात्र सेयर पुँजी भएको जनता बैंकका लागि भने अर्को बैंकसँग मर्जमा जार्नु दवाव फेरी पनि रहिरहने छ ।
६ अर्बको वास्केट फण्ड खोल्ने नागरिक लगानी कोषको प्रस्ताव, रेमिट्यान्स भित्र्याउने र विदेशी सेयरमा लगानी गर्ने अधिकार माग
काठमाडौं, २८ चैत । नागरिक लगानी कोषले ६ अर्ब रुपैयाँको बास्केट फण्ड खोल्ने प्रस्ताव अर्थमन्त्रालयसँग गरेको छ । आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमाको तयारीको क्रममा आईतबार अर्थमन्त्रालयमा भएको बैठकमा कोषले ६ अर्बको बास्केट फण्ड बनाउन, सो फाण्डलाई विदेशी धितोपत्रमा समेत लगानी गर्न सक्ने गरि अधिकार दिन र कोषले सञ्चालन गर्दै आएको अवकाश कोष योजनाको रकम दोब्बर बनाउन अर्थमन्त्रालयमा प्रस्ताव गरेको छ । २०७२ साल बैशाख १२ मा गएको विनासकारी भूकम्पले सेयर बजारमा ठूलो असर गर्ने देखिएपछि तत्कालिन सरकारले बास्केट फण्ड स्थापना गर्ने प्रस्ताव अगाडि ल्याएको थियो । सरकारले बास्केट फण्ड सञ्चालन गर्न नागरिक लगानी कोषलाई अगाडि सारे पनि अहिलेसम्म ठोस रुपमा काम हुन सकेको छैन । बास्केट फण्ड सञ्चालन गर्ने व्यवस्था बजेटमा नै भयो भने काम अगाडि बढाउन सजिलो हुन्छ भनेर अर्थ मन्त्रालयसँगको छलफलमा उक्त प्रस्ताव लगिएको कोषका प्रबक्ता सुशील कुमार अर्यालले बताए । बास्केट फण्डमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थानले १/१ अर्ब लगानी गर्ने, अन्य तथा संस्थाबाट २ अर्ब रुपैयाँ जुटाउने गरि प्रस्ताव गरिएको छ । त्यस्तै, कोषले विदेशमा रहेका नेपालीले कमाएको रकम सोझै नागरिक लगानी कोषले भित्र्याउन सक्ने र उनीहरुको रकम पुँजी बजारमा लगानी गर्न पाउने अधिकार माग गरेको छ । कोषलाई रेमिट्यान्स भित्र्याउन दिने र उक्त रकम सरकारका दीर्घकालिन ऋणपत्रमा तथा धितोपत्रमा लगानी गर्न सक्ने अधिकार दिएमा रेमिट्यान्सलाई लगानीमा रुपान्तरण गर्न सकिने र लगानी बढाउने पुँजी परिचालन गर्न सजिलो हुने भएकाले यस्तो प्रस्ताव गरिएको उनले बताए । त्यस्तै, कोषले हाल सञ्चालन गर्दै आएको अबकाश कोष रकम दोब्बर बनाउन सरकारसँग सहमति मागेको छ । हाल वार्षिक ३ लाख र ५ लाख बचतकर्तालाई आयकरमा निश्चित छुट दिदै आएकोमा त्यसलाई डब्बल बनाई ६ लाख र १० लाख बनाउन प्रस्ताव गरिएको उनले जनाकारी दिए ।