विकासन्युज

तानसेन बुटवल सडक चौडा भएपछि ४५ मिनेटमै यात्रा

पाल्पा, १९ जेठ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले बजेटले विकासलाई तीव्र गति दिएको बताएका छन् । उनले पूर्वाधार निर्माणका लागि आएको यस बजेटले आर्थिक अराजकता नल्याउने बताए । नेकपा (एमाले) पाल्पाले आव २०७३/७४ को वार्षिक बजेट विषयक अन्तरक्रियामा मंगलबार उनले बजेटले सबै क्षेत्रलाई समेट्नु दुरुपयोग नभएको बताए । उनले सडक, पुल, सिँचाइ लगायतका विकास पूर्वाधार निर्माणले मात्र आमूल परिवर्तन सम्भव भएको बताए । पहिले बाँदर हिँड्ने भिरमा अहिले गाडी गुड्न सम्भव भएजस्तै गरी नेपालमा रेल पनि त्यसरी नै गुड्ने उनले बताए । उनले तानसेन–बुटबल सडक अब ४५ मिनेटमा नै यात्रा गर्न सकिने गरी बजेट विनियोजन भएको जानकारी गराए । अब घुम्ती काटेर छिटो र सुरक्षित यात्रा बनाउने गरी बजेट विनियोजन भएको बताए। तानसेनको खानेपानीका लागि बजेट विनियोजन भएपछि यहाँको खानेपानीको समस्या हट्ने पनि उनले बताए । रासस

कहिले हुन्छ सम्पदाको पुनःनिर्माण ?

काठमाडौं, १९ जेठ । गत वर्षको भूकम्पबाट भत्किएका काठमाडौं उपत्यकाका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले चासो नदेखाएकोप्रति यस क्षेत्रका विज्ञहरुले दुःख व्यक्त गरेका छन् ।विज्ञहरुले यी ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा भएको ढिलाइले काठमाडौं उपत्यकाको सुन्दरतामा ह्रास आउनुका साथै यहाँको धार्मिक, सांस्कृतिक र परम्परागत निरन्तरतामा अप्ठेरो परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा बुधबार आयोजित काठमाडौंका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा विज्ञहरुले सम्पदाको महत्व बुझेर समयमा निर्माण गर्न नसकिएमा यसले विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रा पुरातात्विक सम्पत्ति गुम्नसक्ने खतरातर्फ पनि सरकारको ध्यानाकर्षण गराए । पुरातत्वविद डा साफल्य अमात्यले बारम्बारको आग्रह एवम् अनुरोध भएपनि काठमाडौँका पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाको निर्माणको काम सरकारले थाल्न समेत नसकेकाप्रति गुनासो गरे । उनले पछिल्लो समयमा काठमाडौंँ महानगरपालिकाले यस्ता सम्पदाको पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरेकोप्रति आपत्ति प्रकट गर्दै यी सम्पदाको निर्माण कुनै घर वा पर्खाल निर्माण गरेजस्तो नभएकाले यिनको सांस्कृतिक महत्व बुझ्न आग्रह गरे। यी ऐतिहासिक सम्पदाको पुरातात्विक र सांस्कृतिक महत्व नगुम्ने गरी तथा पुरानै कलाकारिता र कच्चा पदार्थको प्रयोग गरी निर्माण गर्नसक्ने क्षमताका कम्पनी वा संस्था नेपालमा नरहेकोले बोलपत्रबाट निर्माणको काम सम्भव नरहेको उनको भनाइ थियो । डा अमात्यले यस्ता सम्पदाहरु अब निर्माण गर्दा तिनको सबै पक्षीय सूचना संरक्षित हुनेगरी सूचना एवम् स्रोत केन्द्र खडा गरी सबै जानकारी राख्न सुझाव दिए । वास्तुविद प्रा डा सुदर्शन तिवारीले यी सम्पदाको निर्माणमा स्मारकको वास्तुकला, प्रविधि, धार्मिक र सांस्कृतिक पक्ष तथा जीवन्त संस्कृतिको पनि समावेश हुनुपर्नेमा जोड दिए । उनले अबको पुनःनिर्माणमा विश्व सम्पदा सूचीमा रहेका यी सम्पदाहरु त्यो सूचीबाट नहटुन्भन्ने पक्षमा विशेषरुपमा ध्यान दिनुपर्ने र त्यसका लागि विश्व सम्पदा सूचीको प्रावधान र मूल्य मान्यताबमोजिमकै कला र सामग्री प्रयोग गर्न सुझाए । प्रा डा नरेशमान बज्राचार्यले सम्पदाको निर्माण भनेको पर्यटकलाई फोटो खिच्नका लागि होइन भन्दै जीर्णोद्वारभन्दा पनि पुनःनिर्माणमा सम्बेदनशील हुने हुँदा सम्पदाको कुनैपनि महत्व नघट्ने गरी निर्माण गर्न आग्रह गरे । काठमाडौ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रमानसिंह तामाङले यी पुरातात्विक सम्पदाको निर्माणको अगुवाइ कसले गर्नेभन्ने विषयमा स्पष्ट नहुँदा निकै गाह्रो भएको बताए । पुनःनिर्माणको कामका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरेपनि स्थानीय जनता वा यस क्षेत्रका विज्ञहरुको परामर्शबाटै काम गर्ने जानकारी दिए। सो कार्यक्रममा सो प्रतिष्ठानका अध्यक्ष जीवन डङ्गोल, पर्यटनविद् कर्ण शाक्य, शिक्षाविद् केदारभक्त माथेमालगायतले सम्पदाको पुनःनिर्माणका लागि सबैको चासो हुनुपर्नेमा जोड दिए । रासस

अर्घाखाँची सिमेन्टद्वारा निर्माण कर्मीलाई तालिम प्रदान

काठमाडौं, १८ जेठ । अर्घाखाँची ओ.पि.सि. सिमेन्ट प्रा.लिले पेप्सीकोला, तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी विशेष तालिम दिएको छ । साथै, कम्पनीले कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ परिक्षण पनि गराएको छ । उक्त कार्यक्रममा कम्पनीका इन्जिनियरहरु अभिनय जयसवाल र विकास भट्टराईद्धारा तालिम प्रदान गरिएको थियो । त्यस्तै, उद्योगका सिनियर मेनेजर रमेश थापाले उच्च गुणस्तरको सिमेन्ट भएकोले अर्घाखाँची सिमेन्टले छोटो समयमै बजारमा लोकप्रियता हाशिल गरेको बताए । त्यस्तै मैनहीयामा अवस्थित अर्घाखाँची ओ.पि.सी. सिमेन्ट उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा) सिमेन्ट उत्पादन गरि बजारमा उपलब्ध गराउदैँ आएको कम्पनीको विज्ञेप्तिले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल चितवनमा बन्दै, करिब २५ करोडको लागत लाग्ने

चितवन, १९ जेठ । सरकारले बजेट विनियोजन गरेपछि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ । उद्योग सङ्घ चितवनको अगुवाइमा भरतपुरको घरेलु तथा साना उद्योग कार्यालय परिसरमा प्रदर्शनी स्थलको निर्माण हुने भएको हो । आव २०७३/७४ मा स्थल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । प्रदर्शनी निर्माण समितिका संयोजक कृष्णप्रसाद अधिकारीका अनुसार २५ करोड रुपैयाँको लागतमा प्रदर्शनी स्थल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । निर्माणका लागि १५ करोड रुपैयाँ सरकारसँग माग गरिएको थियो । बजेटमा रकम उल्लेख गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सात करोड ५० लाख रुपैयाँ बजेटमा विनियोजन गरेका छन् । बाँकी रकम अन्य क्षेत्रबाट उपलब्ध गराउने आश्वासन दिइएको संयोजक अधिकारीले बताए । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष समेत रहेएका अधिकारीका अनुसार अपुग रकम परिसङ्घ, उद्योगी व्यवसायी र दातृ निकायबाट जुटाइदै छ । आउँदो वर्षको असार मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । प्रदर्शनी केन्द्र ५१ हजार वर्गफिटको हुनेछ । सँगै ठूला उपकरण प्रदर्शनी गर्नका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ समेत रहने छ । प्रदर्शनी केन्द्रमा तीन हजार वर्गफिटको सूचना केन्द्र हुनेछ । उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ । प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र समेत निर्माण गरिँदैछ । सँगै दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने बताइएको छ । प्रदर्शनी केन्द्रको मुख्य भागमा २५० वटा कक्ष एकैसाथ राख्न मिल्नेछ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन प्रदर्शनी गर्न सकिने छ । दसैँ र तिहारमा मेला हुनेछ भने अन्य समयमा नियमित प्रदर्शनी भइरहने छ । चालीस वर्षअघि भृकुटीमण्डपमा निर्माण गरिएको प्रदर्शनी केन्द्र पछिको अत्याधुनिक देशकै प्रदर्शनी केन्द्र यही नै हुने अधिकारीको दाबी छ । प्रदर्शनी केन्द्रले उत्पादित सामग्रीलाई बजारीकरण गर्न र उद्योगी व्यवसायीलाई नयाँ उत्पादन बजारमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले ३० वर्षका लागि घरेलु तथा साना उद्योग कार्यालयको मातहतमा रहेको दुई बिगाहा साढे सात धुर जग्गा प्रदर्शनी केन्द्रलाई उपलब्ध गराएपछि सोही जग्गामा प्रदर्शनी केन्द्र निर्माण गर्न लागिएको उद्योग सङ्घका उपाध्यक्ष भेषराज दुवाडीले बताए । बाह्रै महिना प्रदर्शनी हुने हुँदा स्वदेशी र विदेशी ठूलो सङ्ख्यामा पर्यटक जिल्ला भित्रिने उनको भनाइ छ । चितवनमा एक लाख ७३ हजारसम्म पर्यटक भित्रिएको तथ्याङ्क छ । केन्द्र नजिकैको दूरसञ्चार कार्यालयदेखि बाइपास रोडसम्मको सडकलाई प्रदर्शनी मार्ग नाम दिएर प्रचारसमेत गर्न थालिएको छ । रासस

नेपाल–चीन उद्योग वाणिज्य संघद्धारा आयोजित ‘इन्भेस्टमेन्ट इन् नेपाल’ सम्मेलन सम्पन्न

काठमाडौं, १४ जेठ । चीनको कमिसन अफ इन्ड्रस्ट्री एण्ड इनफरमेसन टेक्नोलोजी अफ गन्सु प्रोभिन्सका उप–निर्देशक जङ्ग फुकीको नेतृत्वमा १३ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको सन्दर्भमा नेपाल–चीन उद्योग वाणिज्य संघले इन्भेस्टमेन्ट इन् नेपाल विषयक एक सम्मेलनको आयोजना गरियो । कार्यक्रममा दुई देश बीच लगानी, आर्थिक, व्यापारिक तथा पर्यटन विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ । सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै, दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका छन् । उनले नेपालमा जलविद्युत, पर्यटन, कृषिजन्य उत्पादन, सिमेन्ट, निर्माण, जडिजुटी क्षेत्रमा लगानी गर्न अनुरोध गरे । साथै गान्सु प्रान्तमा हुने व्यापार मेलाहरुमा नेपाली व्यवसायीहरु भाग लिन इच्छुक रहेको र गान्सु शहरमा नेपाली उत्पादनहरु प्रवद्र्धनका लागि अनुरोध गरेका छन् । कार्यक्रममा उपनिर्देशक जङ्ग फुकीले नेपाली व्यवसायीहरुसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएकोमा आभार व्यक्त गरेका थिए । गान्सुको लान्जाउबाट सिगात्से सम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताए । साथै संघ तथा सि.सी.पी.आइ.टी. गान्सु प्रान्त बीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो । साथै द्विपक्षीय लगानीका लागि संघले ६ वटा नेपाली तथा चीनिया कम्पनीहरुबीच सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बरियारपुरबाट उद्योगपति केडियाको अपहरण, अपहरणकारीको गोली प्रहारबाट चालक गम्भीर घाइते

पर्सा, १४ जेठ । वीरगन्जका उद्योगपति सुरेश केडियालाई बिहिबार साँझ बाराको बरियारपुरबाट अज्ञात समूहले अपहरण गरेको छ । कामविशेषले बरियारपुर गएका उद्योगपति केडियालाई बाराकै पशाहपुल नजिकैबाट अपहरण गरिएको हो । बा१०च ७२४० नंको जिपमा सवार भई वीरगन्जतर्फ आउने क्रममा हतियारधारीले चालक पर्सा, बिन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली हानी उद्योगपति केडियालाई अपहरण गरी लगेको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिए । उनले घाइते चालक साहको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताए । उद्योगपति केडियाको खोजी भइरहेको छ । घाइते साहको अवस्था गम्भीर रहेको र उनको थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस

मापदण्ड विपरितका घर असोज भित्र भत्काइ सक्नु पर्ने

८ जेठ । नक्सा पास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरधनीले बढी बनाएको तल्ला आफैले भत्काउनु पर्ने भएको छ । सरकारले तयार पार्दै गरेको पुननिर्माण सम्बन्धि कार्य योजनामा घरधनी आफैले आगामी असोज मसान्तभित्रमा त्यस्ता घर भत्काउनु पर्ने ब्यवस्था गर्न लागिएको हो । प्रधानमन्त्री कार्यालयले तयार पारेको सो कार्ययोजनालाई मन्त्रिपरिषले आर्थिक तथा पूर्वाधार विकास समितिमा पठाउने निर्णय गरेको छ । सो समितिले पारित गरेपछि कार्ययोजना कार्यान्वयन हुने छ । कार्ययोजनामा आगामी असोज मसान्तभित्रमा मापदण्ड वाहिरका संरचना भत्काउन सम्बन्धित घर धनीलाई आग्रह गरिने उल्लेख गरिएको छ ।  समय भित्रमा घरधनी आफैले संरचना नभत्काएमा सम्बन्धित महानगरपालिका/नगरपालिका वा गाविसले भत्काउने र त्यसको खर्च सम्बन्धित घरधनीवाट असुल गरिने प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । ‘नक्सापास नगरी बनाएका तथा स्वीकृत नक्सा र मापदण्डभन्दा बढी तल्ला बनाएका घरको बढी बनाइका तल्ला घरधनी आफैले भत्काउन आग्रह गरिन्छ,’ सचिव सुवेदीले भने– आगामी असोजमसान्त भित्रमा घरधनीले नभत्काए सम्बन्धित स्थानीय निकायले भत्काउने र त्यसको खर्च घरधनीवाट असुल गर्ने कार्ययोजना बनाउदै छौं । यस्तो कार्ययोजना केहि दिन भित्रै सार्वजनिक गर्ने तयार भएको सचिव सुवेदीले जानकारी दिए । यस्तै ५ बर्षयता बनेका सरकारी र अन्य सार्वजनिक भवन भत्किनुको कारण खोजी गरिने भएको छ । यस्तो कारण खोजी गर्न अधिकार सम्पन्न आयोग बनाउने र कुनै सरकारी अधिकारीको कमजोरीको कारण यस्तो भएको पाइए कारवाही गर्ने सरकारको तयारी छ । सरकारले तयार पारेको कार्ययोजनामा स्वीकृत नक्सा, मापदण्ड, गुणस्तर र प्रक्रिया जस्ता कुरा पूरा गरेर ५ बर्षभित्र बनेका सरकारी भवन, ब्यापारिक मल, सिनेमा हल, अपार्टमेन्ट जस्ता सार्वजनिक भवन भत्किएको भएमा कसको कमजोरीवाट भएको हो सोको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भनिएको छ । यस्तो आयोगले गरेको सिफारिसको आधारमा कुनै सरकारी कर्मचारी वा निर्माणकर्ताको कुनै कमजोरी पाइएमा हदैसम्मको कारवाही गरिने सचिव सुवेदीले जानकारी दिए ।

पीडावासीको पीडा पुछ्दै प्रगतिशील मञ्च

काठमाडौं, २५ बैशाख । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भुकम्पपीडितलाई राहत वितरण गरेको छ । मञ्च नेकपा एमाले निकट व्यवसायीको संस्था हो । मञ्चका अध्यक्ष नरेश गेलालको नेतृत्वमा गएको टोलीले धादिङको पीडा गाविसका करिब ३ सय परिवारलाई वितरण गर्ने गरी १५ थान त्रिपाल, १४० बोरा चामल, १५ बोरा चिउरा, १०० केजी दाल, १०० केजी नुन र १०० केजी चिनी, १५० लिटर तेल, ५० कार्टुन चाउचाउ तथा चियापत्ती, औषधि, साबुन, लगायतका सामग्री स्थानीय समितिलाई हस्तान्तरण गरेको बताइएको छ । सो क्षेत्रमा त्रिपालको माग अत्यधिक भए पनि विक्रेताले उपलब्ध गराउन नसक्दा बिहीबार १५ वटा मात्रै वितरण गरिएको र १३५ वटा शुक्रबार वितरण गरिने मञ्चले जनाएको छ । अध्यक्ष गेलाल, महासचिव राजेन्द्र भण्डारी र व्यवसायीहरु सरोज पोखरेल, कमल सापकोटा बलबहादुर तामाङ, कुमार केसी, एलपी साँवा, हरि थापा, भीष्मराज शर्मा , तथा एससीएम मेनपावरका कर्मचारीहरु संलग्ने टोलीले भूकम्पका कारण ज्यान गुमाएका २ जनाको परिवारलाई नगद १० हजारसमेत प्रदान गरेको थियो । सो गाविसमा ९० प्रतिशत घरमा क्षति पुगेको, ३ सय जना घाइते भएको, १२० जना जति अभैm उपचाररत रहेको र ५ जनाले ज्यान गुमाएको सो गाविसका स्थानीय बासिन्दासमेत रहेका भण्डारीले बताए । यसअघि गत आइतबार मञ्चले सिन्धुपाल्चोकको मेलम्ची अध्यक्ष नरेश गेलालको नेतृत्वमा ११० बोरा चामल, १०० बोरा दाल, १०० लिटर खाने तेल, १०० किलो नुन, १२० थान त्रिपाल, १२० थान म्याट्रेस लगायतका सामग्री वितरण गरेको थियो ।