पुरुष सौन्दर्य प्रतियोगिता जेठ ३० गते, पहिलो हुनेलाई नगद एक लाख
८ जेठ/प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल (पुरुष सौदर्य) प्रतियोगिता जेठ ३० गते राजधानीको आर्मी क्लवमा हुने भएको छ । १८ देखि ३० वर्ष उमेरका आकर्षक व्यक्तित्व भएका कम्तिमा ५ फिट ८ इन्च उचाई भएका नेपाली युवाहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा भाग लिन चाहानेले जेठ १ गतेसम्म आवेदन गर्नु पर्नेछ । प्रतियोगितामा पहिलो विजेतालाई १ लाख, दोस्रो विजेतालाई २० हजार, तेस्रो विजेतालाई १० हजार रुपैयाँ दिईने छ । त्यस्तै, रियल ट्यालेन्ट र प्रोस्टाईल बेष्ट हेयर विजेतालाई पनि १०/१०हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिता आयोजना गर्नको लागि डावर नेपालमो मेल ग्रुमिङ रेन्जले गु्रप अफ इभेन्ट इन्टरटेनर्स सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रबन्ध निर्देशक अनुप सक्सेना प्रोस्टाइल जस्तो प्रतिष्ठित ब्र्राण्डसँग आवद्ध भई यस्तो कार्यक्रम गर्न पाउनु खुशीको विषय भएको बताए । डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्रसाद गोर्खालीले यस वर्षको म्यानहन्ट इन्टरनेशनललाई अझै ठूलो र राम्रो बनाउन सहयोग गर्ने बताए । युवाहरुलाई यस्तो व्यक्तित्व निखार्ने प्रतियोगितामा भाग लिन प्रोत्साहन गर्ने उदेश्यले पुरस्कारको पनि व्यवस्था गरिएको उनले बताए ।
पैसा कमाउनेलाई बधाई, खुशी बाढ्नेलाई ताली
३ फागुन, विकासन्युज । एक वर्षमा २० अर्ब सम्पत्ति थपेर फोब्स म्यागजिनमा नाम माथि उक्लिएपछि दाजु विनोद चौधरीलाई गत साता बधाई थाप्न भ्याईनभ्याई । तर उनका भाई बसन्त चौधरी अर्कै संसारमा रमाईरहेका थिए । उनी ‘दभ इन द एयर’मा मनाउन व्यस्त थिए । उनीलाई भ्यालन्टाइड डेमा दर्शकलाई प्रेम कहानी कविता सुनाउन आतुर थिए । फेब्रअरी १४, फागुन दुई, भ्यालेन्टाइन डे, छातीमा रातो गुलाब टाँसेर बसन्त चौधरी राजधानीको रंगिन मञ्चमा उक्लिए र गाएः ‘तिम्रो मायामा म बहकिएँ यसलाई म हार भनूँ कि जित’ कवि तथा गीतकार बसन्त चौधरीले कविता पाठ गर्दा दीर्घाका श्रोताहरूले साँचो अर्थमा प्रेमिल दिवसको अनुभूति गरे । ‘भ्यालेन्टाइन डे’ का अवसरमा फागुन २ गते राजधानीमा आयोजित ‘लभ इन दी एयर’ अन्तर्गत कवि चौधरीले आफूले २२ वर्षअघि रचेकादेखि हालै रचेकासम्म झन्डै डेढ दर्जन प्रेमिल कविता स्ुनाउँदा श्रोताहरू उमङ्गले झुमेका थिए । पे्रम नै जीवनको सार हो, राष्ट्रभक्तिभन्दा अर्को ठूलो भक्ति छैन र शान्तिका लागि सबैले आ–आफ्नो ठाउँबाट हरसम्भव प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा दृढ देखिए कवि चौधरी । चौधरीले कविता वाचन गर्ने क्रममा भने, ‘प्रेमलाई सजिलै व्यक्त गर्न सकिँदैन, सीमित शव्दमा यो व्यक्त हुनै सक्तैन । उनको आफ्नो अभिव्यक्ति थियो, ‘यो खालि हृदयले बुझ्छ र यसैले मात्र व्यक्त गर्न सक्छ । प्रेमले लपक्क भिजेका शव्द र वाक्यहरू पाठ गरिरहँदा श्रोता हर्षोल्लासले उम्लिएर कर्तलध्वनिले समर्थन गरिरहेका देखिन्थे । पाका प्रेमीहरू हल्लाका बीचमा हल्का ताली बजाउँथे भने नवयुवाहरू दिल खोलेर आफ्ना प्रेमिल अभिव्यक्ति साटिरहेका देखिन्थे । कवि चौधरीले कविता पाठ गरिरहेकै अवसरमा जब एउटा आफ्नो हिन्दी गजल स–स्वर स्ुनाए अनि श्रोता झन् रोमाञ्चित भएर हत्केला तातुन्जेल ताली बजाए । पाँचवटा पुस्तक, आठवटा सीडी एल्बम र ९० वटा गीत रेकर्ड गरिसकेका कवि–गीतकार चौधरीका प्रेमिल दिवसकै अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, ललिककला प्रज्ञा–प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति त्रय क्रमशः गङ्गाप्रसाद उपे्रती, राघिनी उपाध्याय र सरुभक्तले गीतकार चौधरीका तीनवटा नवीनतम गीति एल्मबहरूको संयुक्त रुपमा विमोचन पनि गरेका थिए । यी एल्बमहरूमा वसन्त बेला, ‘कुछ ख्वाइशें कुछ बन्दिशें’ र ‘मुमेन्ट्स् अफ लभ’ थिए । सो अवसरमा गायक–गायिकाहरूमध्ये विश्व नेपाली, वाणिका प्रधान, मनोज राई, पवनराई र प्रकाश रसाइलीले एल्मबका नेपाली तथा हिन्दी गीत–गजलहरू गाएर स्ुनाएका थिए ।
पूर्णागिरिको मेलासँगै व्यापार बढ्यो
भीमदत्तनगर, २ वैशाख । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा व्यापारिक कारोबार दोब्बरले बढेको छ । फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीका कारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने गरेका छन्,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशीले भने, – “किनमेलका कारण व्यापार बढेको छ ।” यहाँका व्यापारीले तीन महिनाको मेलामा कमाएको पैसाले बाँकी नौ महिना घरखर्च धान्ने गरेका छन् । अरु समय दैनिक रु चार÷पाँच हजारको बिक्री हुने गरेकामा अहिले दैनिक रु २० देखि रु ३० हजारसम्म बिक्री हुने गरेको महेन्द्रनगर बजारका व्यापारी इन्द्रबहादुर बम बताउछन् । मेलाका कारण भीमदत्तनगर भन्दा सीमावर्ती ब्रह्मदेव बजारमा व्यापार फष्टाएको छ । सीमावर्ती भारतको टनकपुरदेखि करिब ५० किलोमिटर उत्तरमा पूर्णागिरि माताको तीर्थस्थल रहेको छ । यहाँ फागुपूर्णिमादेखि जेठ महिनासम्म मेला लाग्छ । पूर्णागिरिको दर्शनपछि यहाँस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताका कारण बर्सेनि हजारौँ भारतीय दर्शनार्थी यहाँ आउने गर्छन् । दर्शनार्थीका लागि मुख्य समस्या यातायातको रहेको छ । उनीहरु सहजै सिद्धनाथ मन्दिरसम्म पुग्न सक्दैनन् । “आउजाउ गर्न यातायातको असुविधा रहेछ,” – पहिलोपटक पूर्णागिरि दर्शनका लागि भारतको इलाहावादबाट आउनुभएका राधेराम गुप्ताले भन्नुभयोे – “यातायातको साधन उपलब्ध नहुँदा कतिपय दर्शनार्थी ब्रह्मदेव बजारबाटै घर फर्के ।” महेन्द्रनगरदेखि १३ किलोमिटर टाढा ब्रह्मदेव बजारमा सिद्धनाथ बाबाको मन्दिर रहेको छ । यातायात असुविधाकै कारण कतिपय दर्शनार्थी त्यहाँको मन्दिरमा दर्शन गरी घर फर्किन्छन् । थोरै दर्शनार्थी मात्र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरसम्म पुग्ने गरेका छन् । पूर्णागिरि दर्शन गर्न जाने नेपालीको सङ्ख्यासमेत उल्लेख्य छ । भारत उत्तराखण्ड राज्य चम्पावत जिल्लाको टनकपुर गाविसस्थित शिवालिक चुचुरोमा पूर्णागिरि मन्दिर रहेको छ । रासस
हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइयो
मा स्याटेलाइट झुन्ड्याइसकिएको छ । पहिलो पटक २०७० मङ्सिर १० गते लेलेपको खम्बाछेनमा स्याटेलाइट झुन्ड्याइएको थियो जसले डेढ वर्षसम्म उसको गतिविधि देखाएको थियो । गत वर्ष दुई महिनाको पर्खाइपछि दोस्रो पटक स्याटेलाइट लगाइएको थियो । यसले एक महिना भन्दा बढी निरन्तरताको सङ्केत दिन सकेन । स्थानीयवासीको अनुभव र सक्रियताले गर्दा पासो थापेको दुई दिनमै पासोमा परेको र वैशाख १५ गते स्याटेलाइट जडान गरिएको बताइएको छ । अब अन्तिम एउटामा समेत पासो लगाई स्याटेलाइट जडान गर्ने तयारीमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्यको भनाइ छ । नेपालकै जनशक्तिबाट गरिएकाले आफूहरु पनि उत्साही रहेको आचार्यले बताए । स्याटेलाइटका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रविधिज्ञ फिरुलाल थारु, भेटनरी सहायक पुरुषोत्तम पाण्डे र विश्व वन्यजन्तु कोष नेपालका समुन्द्र सुब्बा बाहेक अरु सबै स्थानीयवासी रहेका छन् । वन मन्त्रालयले २०७० भदौ १९ गते चार वटालाई स्याटेलाइट लगाउन कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई अनुमति दिएको थियो । पहिलो पटक परेको हिउँ चितुवा नेपाल र भारत दुवै देशमा विचरण गरेको अध्ययनले देखाएको छ । याङ्मा क्षेत्रमा स्याटेलाइट लगाएर चीनको तिब्बतमा गए/नगएको बारे अध्ययन गर्ने प्रयास भइरहेको छ । हिउँ चितुवा विचरण गर्ने स्थानमा खाल्टो खनेर पासो थाप्ने र त्यसमा परेको सङ्केत पाएपछि बेहोस बनाएर स्याटेलाइट जडान गर्ने गरिएको छ । यसको एक महिनादेखि क्यामेरा ट्र्याप राख्ने र जनावरको गतिविधि अध्ययन गर्ने काम हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए । चार हजार मिटरमाथिको क्षेत्रमा बस्ने यसलाई हिमालको रानी पनि भनिन्छ । यसको अध्ययन वर्षको दुई पटक चैत–जेठ तथा असोज–कात्तिक महिनामा मात्रै गर्न सकिन्छ । हिमाली क्षेत्रमा हिउँ परिरहने भएकाले अध्ययन गर्न निकै कठिन हुने गरेको बताइन्छ । रासस
सप्तरीको शम्भुनाथमा एकमहिने मेला सुरु
राजविराज, २ वैशाख । सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकामा रहेका शम्भुनाथ मन्दिरमा बुधबारबाट एकमहिने मेला सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै यो मन्दिरमा प्रत्येक बर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको स्थानीयवासी श्रवण चौधरीले बताए । उनका अनुसार यहाँ एक महिनासम्म ठूलो मेला लाग्ने गरेको र यस मेलामा सप्तरीसहित सुनसरी, मोरङ र सिरहाबाट पूजापाठ तथा मेला भर्नका लागि आउने गरेको बताइएको छ । एक महिनासम्म लाग्ने मेलामा पूजाआजा गर्नाले वर्षभरि सुख, शान्ति र घरपरिवारमा अमनचयन प्राप्ति हुने जनविश्वास रहिआएको छ । यहाँको मेलामा एक महिनासम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै नाचगान, रम्लिला लगायतका कार्यक्रम हुने गरेको छ । यस्तै सप्तरीको हनुमाननगर योगनी माई नगरपालिका–२ सकरदहीमा दुईदिने मेला सुरु भएको छ । रासस
पोखरामा चैत २८ गतेदेखि ५ दिने फेवा महोत्सव, हेर्न जाने पर्यटकलाई आवसमा बीस प्रतिशत छुट
काठमाडौं, २२ चैत । पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइनेछ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो । “आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,” पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने । नेपालमा मुख्य शहरहरुमा अग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् । भूकम्प र नाकावन्दीले असर गरेको पर्यटनलाई उकास्न महोत्सवबाट सहयोग पुग्ने महोत्सवका संयोजक विकल तुलाचन बताउछन् । रासस
कृषि विकास बैंकको पुँजी वृद्धि योजना नयाँ, ५० प्रतिशत हकप्रद सेयर, ४० प्रतिशत बोनस सेयर
काठमाडौं, २० जेठ । कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर र ४० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणमा २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने र दुई आर्थिक वर्षमा २०/२० प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो । राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर रकमलाई चुक्ता पुँजीमा गणना गर्न नमिल्ने जनाएपछि कृषि विकास बैंकले नयाँ पुँजी वृद्धि योजना बनाएको हो । बैंकले चालु आ.व. मा २ बराबर १ हकप्रद शेयर जारी गर्ने, आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने र आगामी आ.व. २०७३/७४ को नाफाबाट २० प्रतिशत वोनस शेयर प्रदान गर्ने गरी पुँजी वृद्धि योजना सञ्चालक समितिले स्वीकृत गरेको बैंकले जनाएको छ । यसअघि बैंकले सरकारसँग लिएको ६ प्रतिशत व्याजदरमा लिएको अग्राधिकार सेयर (फिर्ता गर्नु पर्ने पुँजी) लाई पनि चुक्ता पुँजीमा गणना गर्दै पुँजी वृद्धि सम्बन्धि योजना पेश गरेको थिएन । बैंकले सेयर पुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ मात्र छ । सरकारले ६ प्रतिशत व्याजमा दिएको अविमोच्य अग्राधिकार सेयर ६ अर्ब ४३ करोड रुपैयाँ छ । कम्पनी सचिव प्रताव सुवेदीका अनुसार हाल बैंकको सेयरपुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ धारण गर्ने साधारण सेयरधनीले मात्र ५० प्रतिशत हकप्रद सेयर पाउने हुन् । साथै, बोनस सेयर पनि साधारण सेयरधनीले मात्र पाउनेछन् । सरकारी अविमोच्य सेयर राखेको सरकारले व्याज मात्र पाउने हो । यस बैंकले आर्थिक वर्ष २०६९/७० मा ३१.५८ प्रतिशत नगद लाभांश, आ.व.२०७०/७१ मा ८.७९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत वोनस सेयर प्रदान गरेको छ भने पछिल्लो आ.व. २०७१/७२ को स्वीकृत १५ प्रतिशत वोनस शेयर दिएको छ । बैंकले गत चैत मसान्तसम्ममा निक्षेप ८३ अर्व ५१ करोड तथा कर्जा लगानी ७८ अर्व १० करोड परिचालन गरेको छ । त्यसैगरी सोही अवधिमा बैंकको पूंजी कोष १३.१९ प्रतिशत, निष्कृय कर्जा ४.८९ प्रतिशत, इक्विटीमा प्रतिफल १४.७० प्रतिशत तथा प्रतिशेयर आम्दानी ३१.२७ रुपैयाँ रहेको छ ।
कालो बजारीयाको सजाय १० वर्षबाट एक वर्षमा झार्ने को ? कानुन पढेका कानुन मन्त्री के गर्दै थिए ?
काठमाडौं, २० जेठ । कालो बजारीयाहरुको सजाय १० वर्षबाट घटेर एक अधिकतम एक वर्षमा सिमित भएको छ ।सरकारले नयाँ संबिधान बमोजिम पुराना कानुनहरुलाई अद्यावधिक गर्न भन्दै केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन मार्फत कालोबजारीहरुको सजाय १० वर्षबाट घटाएर एक वर्षमा झारिदिएको हो । सरकारले कालोबजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा संसोधन गरि ऐनको दफा २ को खण्ड (क), (ख), दफा ३ को उप दफा (१), दफा ४, दफा ५ तथा दफा ६ समेतलाई संसोधन गरि क्रमशः १० बर्ष, ३ बर्ष, ५ बर्ष, ५ बर्ष, ५ बर्ष, २ बर्ष सम्म कैद हुने र विगो बमोजिम जरीवाना वा दुबै सजाय प्रावधानहरुलाई संसोधन गरी सबै कसुरमा १ बर्ष सम्म वा सो भन्दा कम सजाय हुने व्यवस्था गरिएको छ । यसले जति ठुलो कालो बजारी गरेको भएपनि अधिकतम एक वर्ष भन्दा कम समय जेल सजाय हुनेछ । त्यति मात्रै नभएर विगो बमोजिमको जरिवानाको व्यवस्थालाई समेत संसोधनले हटाएको छ । विगो बमोजिमको सजाय र १० वर्षसम्म जेल सजायको कानुनी व्यवस्थालाई उल्टाएर जरिवानाको व्यवस्था हटाएर एक वर्षसम्म कैद गर्ने संसोधनमा उल्लेख छ । कर्पाेरेट कानुनका टाइकुन भनेर चिनिने कानुन मन्त्री अग्नि खरेललाई समेत चक्मा खुवाएर संसोधन गरियो वा यसमा उनकै संलग्नता छ, त्यो खोजीको विषय बनेको छ । यो संसोधनले कालो बजारी सम्बन्धी मुद्धालाई अदालत जानबाट रोकेर प्रमुख जिल्ला अधिकारीले नै छिनोफाने गर्ने व्यवस्था गरिएको छ । नयाँ संबिधानको धारा १५२(२) मा एक वर्ष भन्दा बढि सजाय हुने फौजदारी मुद्धा अदालतले हेर्ने उल्लेख गरिएको छ । एक वर्ष भन्दा कम सजाय हुने फौजदारी मुद्धा भने प्रमुख जिल्ला अधिकारी मार्फत अघि बढाउने संवैधानिक व्यवस्थाको फाइदा उठाउँदै कालो बजारी सम्बन्धी मुद्धालाई अदालत लैजानै नपाउने व्यवस्था गरिएको हो । सो संसोधन विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका अधिवक्ता जगन्नाथ मिश्र भन्छन–‘अपराध घटेपछि कानुन संसोधन गरेर सजाय घटाउने हो तर यहाँ त कालो बजारी बढिरहेको छ, अनि सरकार ऐन संसोधन गरेर सजाय घटाईरहेको छ ।’ उनले कानुन संसोधनमा कर्मचारीतन्त्र हावी भएको दावी गरे । तर काुननी पृष्ठभूमिका कानुन मन्त्री अग्नि प्रसाद खरेलको आँखा छलियो वा उनले आँखा चिम्लिए भन्ने सवाल महत्वपुर्ण हुन आउँछ । केहि नेपाल ऐन संसोधन गर्न बनेको ऐन व्यवस्थापिका संसदबाट पास गरेर २०७२ फागुन १३ गते राजपत्रमा सूचना प्रकाहित गर्दै कार्यान्वयनमा ल्याएको थियो ।