विकासन्युज

मेलम्चीको पानी वितरण गर्न २२ किमी पाइप बिच्छ्याइयो

काठमाडौं, २ असार । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई बाँड्न २२ किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले थोक वितरण प्रणाली र उपत्यकाका नौ स्थानमा बन्ने पानी ट्याङ्कीमार्फत ग्राहकका घरघरमा पानी वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम पनि सम्पन्न गरेको प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिए । “पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको छ, बाँकी काम पनि सुरुङ निर्माण हुनु अघि नै सम्पन्न गरिनेछ, मेलम्चीको पानी सुन्दरीजलमा खस्ने बित्तिकै वितरण गर्न सञ्जाल निर्माण गरी सक्छौँ”– उनले भने । सुन्दरीजलदेखि महाँकालचौरसम्म ९.६ किमी पाइप बिच्छ्याउनुपर्नेमा ९.५ किमी सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । “थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९।६ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उनले भने । पाइप बिच्छ्याउँदा सडकमा समस्या भएपछि निर्देशनालयले आगामी हप्ता सोमबार सडक विभागसँग सम्झौता गरी सडक निर्माणलाई पनि समन्वयात्मक रुपमा लैजाने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तार गर्ने स्थान र नयाँ सडक बन्ने स्थानमा निर्माणकै क्रममा पाइप बिच्छ्याउने काम सँगसँगै भइरहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए। रासस

एसएलसी परीक्षाको नतिजा अपराह्न ३ बजे प्रकाशित हुँदै, रिजल्ट यसरी हेर्न सकिनेछ

भक्तपुर, असार  २ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भने, “बिहीबार मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा बिहीबार अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।” गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्षदेखि अक्षराङ्क अर्थात् ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पूरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । नौ ग्रेडिङमा परीक्षाफल एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए । नियमित, प्राविधिक र पूरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिनेछ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । वेबसाइट www.moe.gov.no, www.doe.gov.np, www.slcresult.soce.gov.np, www.slc.nt.ntc.net.np नेपाल टेलिकमको PQM\N, CDMA, Postpaid,Prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी sms बाट नजिता थाहा पाउन PQM\N, CDMA, Postpaid,Prepaid  मोबाइलको मेसेज बक्समा गएर  slc<space>  सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।

मूल्य वृद्धि अझै १० प्रतिशत, जनताको भान्छा सहज भएन

काठमाडौं, २ असार । सरकारले जनताको दैनिकी सहज बनाउने प्रतिवद्धता सार्वजनिक गरिरहँदा मुल्य वृद्धि(मुद्रास्फीती) भने अझै १० प्रतिशत कायमै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख महिनासम्मको आर्थिक तथा वित्तिय प्रतिवेदनले मुल्य वृद्धि(मुद्रास्फीती) अझै दोहोरो अंकमै रहेको देखाएको हो । २०७२ सालको पुषमहिनामा यस्तो मुल्य वृद्धि १२ दशमलब १ प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो । केन्द्रिय बैंकले तयार पारेको प्रतिवेदन अनुसार २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब ६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलब ४ प्रतिशत देखाएको छ । घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयात घटेको भएपनि चालू आर्थिक वर्षको राजश्व भने लक्षित ४ खर्ब ७५ अर्ब भन्दा बढी सङ्कलन हुने प्रतिवेदनमा उल्लेख छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को प्रथम दश महिनाको तथ्याङ्कको आधारमा आर्थिक परिदृश्यमा क्रमिक सुधार गएको निष्कर्ष पनि निकालेको छ । मुलुकको दक्षिणी भन्सार नाकाहरूमा भएको अवरोध हटे सँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, सरकारी राजस्व सङ्कलन एवम् पुँजीगत खर्चमा भएको वृद्धिबाट आर्थिक क्रियाकलाप सुधारोन्मुख रहेको केन्द्रिय बैंकले निष्कर्ष निकालेको छ । केमा कति बढ्यो मुल्य ? सबै भन्दा बढि २३ दशमलब ४ प्रतिशत दलहन तथा गेडागुडीको मूल्य बढेको छ भने तरकारीको मूल्य २० दशमलब १ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ । महंगीयो काठमाडौं चालु आर्थिक वर्षमा काठमाडौं सबै भन्दा महंगो शहरका रुपमा स्थापित भएको छ । काठमाडौंको मुल्य वृद्धिदर ११ दशमलब ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौंको मूल्य वृद्धिदर ६ दशमलब ८ प्रतिशत मात्रै थियो । अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको मुल्य वृद्धिदर यो वर्ष घटेर ७ दशमलब ७ प्रतिशतमा झरेको छ । तराईको मुल्य वृद्धिदर पनि ६ दशमलब ९ प्रतिशतबाट बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ ।

पुनःनिर्माणका लागि मेची महाकाली साइकल यात्रा

भीमदत्तनगर, २ असार । भूकम्पपछिको पुनःनिर्माणमा युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले सैनिक आवासीय महाविद्यालयका दुई विद्यार्थीले सुरु गरेको मेची महाकाली साइकल यात्रा बुधबार समापन भएको छ । ‘युवा उठौँं, पुनः निर्माणमा जुटौँ’ भन्ने नाराका साथ गत जेठ २१ गते झापाको मेचीपुलबाट धनुषाका युवराज कार्की र इटहरीका विकल खनाल मेची महाकाली साइकल यात्रामा निस्केका थिए । दुवैले पश्चिमको महाकाली नदीमा पुगेर यात्रा समापन भएको जानकारी दिए। “यात्राका क्रममा विभिन्न कलेज/स्कुलमा पुनः निर्माणमा जुट्न मोटिभेड गराउँदै हिँड्यौँ”, खनालले भने “धेरै ठाउँमा सकारात्मक बुझाइ पायौँ ।” उनीहरु धरानस्थित सैनिक महाविद्यालयमा प्रवीणता तहमा अध्ययनरत विद्यार्थी हुन् । दुवै यात्रीलाई यात्राका क्रममा आवासको व्यवस्था नेल्टा नामक संस्थाले मिलाएको थियो । रासस

मनमैजुमा सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, २ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मनमैजुको मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । यो बैंकको उपत्यकामा तेश्रो एक्सटेन्सन काउन्टर हो । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउनेछ । आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्ममा सेञ्चुरी बैंकले २६ अर्ब एक करोड निक्षेप संकलन गरेर २२ अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ । बैंकले सो अवधीमा ३४ करोड ५० लाख सञ्चालन मुनाफा तथा २३ करोड २४ लाख खुद नाफा कएमो थियो । हालसम्म बैंकले ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

बीजी मल मोबाइल एक्स्पो सुरु, पहिलो दिनमै ५ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौं, १ असार । बुधबारदेखि नयाँ बसपार्कको बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बीजी मलले मोबाइल एक्स्पो सुरु गरेको हो । एक्स्पोको मिस नेपाल अस्मी श्रेष्ठ, बीजी मलका अध्यक्ष बासु गिरी र मोबाइल बितरक संघका अध्यक्ष माधव रिजालले एकसाथ उद्घाटन गरे । असार ११ गतेसम्म चल्ने एक्स्पोमा उद्घाटनकै दिन अवलोकनकर्ताको बाक्लो भिड लागेको छ । ‘हात खाली नजाने उपहार योजनाका साथमा हामी हाम्रा ग्राहकहरु माझ आएका छौं, पहिलो दिन ५ हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थितीले हामीलाई उत्साहित बनाएको छ’ मलका अध्यक्ष गिरीले भने । उनका अनुसार एसएलसी दिएर बसेका विद्यार्थीले एक्स्पोमा आकर्षक उपहार पाउने छन् । ‘अत्यावश्यक वस्तुका रुपमा मोवाइलको प्रयोग बढ्दै गएको र युवा पुस्ताको विशेष अकर्षण रहेका कारण हामीले नेपालका अधिकांस मोबाइल बितरकसंगको सहकार्यमा एक्स्पो आयोजना गरेका हौं । यसले हाम्रा ग्राहकलाई बीजी मलसम्म डोर्याउने हाम्रो अपेक्षा छ’ बीजी मल अध्यक्ष गिरीले थपे । एक्स्पो अवधिमा ग्राहकले बिजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । त्यस्तै, १० हजार रुपैंयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने बताइएको छ । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थहरुले विशेष उपहार पाउने छन् । सबै ब्राण्डका मोबाइल एकै छाना मुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिन पाउने मलले जनाएको छ ।

महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा

पोखरा, १ असार । महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको फार्म इक्वीप्मेन्ट सेक्टर (एफइएस) तथा अग्नि ग्रुपले एउटा नयाँ प्लाटफर्ममा आधारित महिन्द्रा अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपालमा भित्र्याएको हो । नयाँ प्लाटफर्ममा ५५ देखि ७५ हर्सपावरको रेन्जमा उपलब्ध हुनेछ भने हाल उक्त प्रोडक्ट ६० हर्सपावर क्याटेगोरीमा रहेको छ । नयाँ अर्जुन नोभो ६०५ डीआई महिन्द्राको देशभरीका कृषकहरुलाई टेक्नोलोजी–मूखी कृषि समाधानहरु प्रदान गर्ने लक्ष्य अनुरुप रहेको कम्पनीको दावी छ । नोभो सार्वजनिक गर्ने कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा दक्षिण एशियाका हेड अफ इन्टरनेशनल अपरेसन्स् तथा उपाध्यक्ष संजय जादवले भने– “महिन्द्रा ट्रयाक्टर सेग्मेन्टमा उत्पादन संख्याको आधारमा संसारकै अग्रणी कम्पनी हो । नयाँ महिन्द्रा अर्जुन नोभो ६०५ डीआईको अनावरण सँगै कृषकहरुको कमीले कृषि आधुनिकीकरण बढेको छ भने  गैर–कृषि प्रायोजनहरुमा पनि ट्रयाक्टरको प्रयोग बढ्दै छ ।” अग्नि ग्रुपका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठले भने –“एड्भान्स्ड सिंक्रोमेश १५ फर्वार्ड् प्लस ३ रियर ट्रान्समिशनका तथा सबैभन्दा उत्कृष्ट फ्यूल एफिसिएन्सीका साथै २२०० केजीको लिफ्ट क्षमता जस्ता विभिन्न वर्गमै पहिलो फिचर्स प्रस्तुत गरेको छ । यस अनावरणले उच्च हर्स पावर क्याटेगरीलाई अघि बढाई एउटा ट्रेन्ड सेट गर्नेछ ।’ अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको आयात कर्ताका रुपमा रहँदै आएको छ ।

लगानी कोष र नेपाल बैंकबीच सम्झौता

काठमाडौं, १ असार । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच बुधबार उक्त सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् । कोषका कार्यकारी निर्देशक पोखरेलका अनुसार २०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुनेछ । सम्झौताअनुरुपको कार्य सुरु भएपछि नेपालभर बैंकका शाखामा कोषको नाममा रहेका सबै खाता बन्द गरी पाँच वटा खातामात्र सञ्चालनमा रहनेछन् । यसभन्दा अगाडि कोषको खाता बैंकको २०० भन्दा बढी खातामा जम्मा हुँदै आएको थियो । रासस