काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्धारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलले मंगलबार नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका हुन् ।

सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा.डा. मुकेशकुमार चालिसे, प्रा.डा. रजनी मल्ल, डा. रामकुमार अधिकारी तथा प्रा. डा. अमरप्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड््यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएकोमा धन्यवाद दिएका छन् । साथै, नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरेका छन् । उक्त पुरस्कारको राशि प्रतिव्यक्ति वा संस्था १ लाख २५ हजार रुपैयाँ रहेको छ ।
नास्टको उक्त समारोहमा जम्मा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्धारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्धारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।