विकासन्युज

लगानी बोर्डको सदस्यमा सिएनआई अध्यक्ष हरिभक्त शर्मा नियुक्त

काठमाडौं, १२ साउन । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा नियुक्त भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनी उक्त बोर्डको सदस्यमा नियुक्त भएका हुन् । परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्व पनि हुन् । उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्वबाट निजी क्षेत्रको प्रवद्र्धन, प्रत्यक्ष बैदेशिक लगानीको आकर्षण, मुलुकको पूर्वाधार विकास र विस्तारमा थप सहयोग पुग्ने परिसंघले जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा होटल समूह १९५ अंकले उकालो

काठमाडौं, १२ साउन । बजारमा नेप्से परिसूचक निरन्तर बढ्ने क्रम जारी छ । मंगलबार २८ अंकले बढेको परिसूचक बुधबार पनि १४ अंकले बढेको छ । बुधबार परिसूचक १४ अंकले बढेर १८८१ अंकमा पुगेको छ । सो दिन १४८ कम्पनीको ४३ लाख ८५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबार सबैभन्दा बढी होटल समूहको परिसूचक १९५ अंकले उकालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, बैकिङ र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३३, १५ र ५ अंकले बढेका छन् । बीमा, उत्पादनमूलक र अन्य समूह भने क्रमशः २३, १३ र ७ अंकले ओरालो लागेका छन् । बजारमा ९ वटा कम्पनीको सेयर मूल्य करिब १० अंकले बढेको छ । सबैभन्दा बढी लुम्बिनी फाइनान्सको १० प्रतिशतले सेयर मूल्य बढेको छ । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाँउ रिजेन्सि होटल, सिन्धु विकास बैंक, प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स कम्पनी, यूनाइटेड फाइनान्स र सोल्टी होटलका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंक लि. प्रमोटर सेयरका लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । अन्य कम्पनीको ७ करोड भन्दा थौरै रुपैयाँको सेयर कारोबार भएको छ ।

वेष्टर्न डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं, १२ साउन । वेष्टर्न  डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले अंकित दरको १५ लाख ६९ हजार ६०० कित्ता सेयर १ बराबर १ को अनुपातमा हकप्रद साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नकोलागि कमलादीमा रहेको सो बैंकलाई नियुक्त गराएको हो । सो शेयर निष्काशन सम्झौतामा बैंकको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत खिम बहादुर डि.सी. र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।

१६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एक्सेलको बोनस सूचिकृत

काठमाडौं, १२ साउन । बुधबार मात्र करिब १६ लाख ३८ हजार २४५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्रिभेणी विकास बैंकको १३ लाख ७३ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब त्रिभेणी विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको नेप्सेले जनाएको छ । त्यस्तै, हामा मर्चेन्ट एण्ड फाइनान्सको २ लाख ६५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस फाइनान्सको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ । सोही दिन एक्सेल डेभलपमेन्ट बैंकको ५ लाख २६ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।

लघुवित्तको ब्याजदर कार्यान्वयनमा राष्ट्र बैंक र बैंकर्सको जुहारी

काठमाडौं, १२ साउन । लघुवित्त संस्थाहरुले नेपाल राष्ट्र बैंकले हालै ल्याएको नीति कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् । लघुवित्त संस्थाले प्रदान गर्ने कर्जाको ब्याज अत्यन्तै महंगो भएको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्नभन्दै राष्ट्र बैंकले ल्याएको लागत (कष्ट अफ फण्ड) को ७ प्रतिशत अन्तर (स्प्रेड) मा कर्जा दिनुपर्ने ब्यवस्था कार्यान्वयन नगर्ने चेतावनी दिएका हुन् । लागतको ७ प्रतिशत स्प्रेडमा कर्जा दिदा संस्था नै चल्न नसक्ने भन्दै लघुवित्त कम्पनीहरुको संस्था नेपाल लघुवित्त बैकर्स एसोसिएसनले कार्यान्वयन गर्न नसक्ने जानकारी नेपाल राष्ट्र बैंकलाई गराइ सकेको छ । आफूहरुको संचालन खर्च अधिक भएकोले त्यति स्प्रेडमा काम गर्न नसकिने संघको भनाइ छ । ‘हाम्रो संचालन खर्च साढे १० प्रतिशत जति छ, ७ प्रतिशतको स्प्रेडमा काम गर्नुपर्ने हो भने नाफा त परै जाओस्, संस्था नै चल्न सक्दैन,’ संघका अध्यक्ष धर्मराज पाण्डेले भने । स्प्रेड कम भएपति त्यसलाई बढाउन संघले लबिङ गरिरहेको छ । अहिले अधिकांश लघुवित्त संस्थाले गरिबलाई दिने कर्जाको ब्याजदर २० प्रतिशतभन्दा माथि छ । यस्तो कर्जाको सवैभन्दा कम ब्याज भनेको १६ प्रतिशत हो । जवकि लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुवाट लिने रकमको लागत (कष्ट अफ फण्ड) ६ प्रतिशतको हाराहारीमा देखिएको अध्यक्ष पाण्डेले जानकारी दिए । पाण्डेले दिएको जानकारी अनुसार लघुवित्त संस्थाहरुले ६ प्रतिशतको लागतमा रकम ल्याएर २० प्रतिशतमा लगानी गरिरहेका छन् । यसको अर्थ लघुवित्त संस्थाहरुले १४ प्रतिशत स्प्रेड खाइरहेका छन् भन्ने नै हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत यस्तो स्प्रेड ७ प्रतिशतभन्दा माथि हुन नपाइने ब्यवस्था गरेपछि लघुवित्त संस्थाहरुको दौडधुप सुरु भएको हो । नेपाल राष्ट्र बैंकले भने ७ प्रतिशतको स्प्रेड परिवर्तन नहुने प्रष्ट पारेको छ । ‘६ प्रतिशत लागतमा पैसा ल्याएर २४ प्रतिशतसम्ममा लगानी गरिरहेका छन्, ७ प्रतिशत स्प्रेडमा मज्जाले काम गर्न सकिन्छ, नसक्नेले बन्द गरेर गए हुन्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । स्प्रेड बढाउनको लागि लघुवित्त संस्थाहरुले लविङ गरेका भएपनि संसोधन हुने कुनै अवस्था नरहेको ती अधिकारीको भनाइ छ । ‘केही समय यही दर नै लागू हुन्छ, केही महिना हेरौं, त्यसपछि संसोधन गर्दा हुने देखियो भने यो दरभन्दा कम हुने गरी संसोधन गरिन्छ,’ ती अधिकारीले भने ।

काठमाडौंको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’, साउन २२ गते हुँदै

काठमाडौं, १२ साउन । आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने छ । तिनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिने छ । च्याम्पियनसिपका बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने छ । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा हुने उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका छन् । उक्त च्याम्पियनसिपको प्रमोसनल पार्टनर नेपाल अटो इन्फो, म्यगेजिन पार्टनर अटोमोबाइल मासिक, इभेन्ट पार्टनर नेपाल कल्चर एन्ड एड्भेन्चर इभेन्ट र ट्राभल पार्टनर फुटमार्क ट्राभल एन्ड एड्भेन्चर्स रहेका छन् । जिल्ला खेलकुद विकास समिति काठमाडौं र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको उक्त च्याम्पियनसिपले अफरोड बाइक राइडिङको क्षेत्रमा नयाँ पहिचान स्थापना गर्ने विश्वास गरिएको इभेन्ट म्यानेजर सन्तोष न्यौपाने बताउछन् ।

काठमाडौंमा थप एक हजार सौर्य सडकबत्ती जडान गरिँदै

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ । आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताए । प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न पहिलो चरणका लागि अहिलेसम्म तीनवटा कम्पनीले फारम भरेका छन् । पहिलो चरणका लागि नाम छनोट भएकामा विके ट्रेडर्स सप्लायर्स, होल ट्रेडर्स र कृष्ण ग्रिल एन्ड इन्जिनियर नाम गरेका कम्पनीले निवेदन दिएका छन् । दोस्रो चरणको छनोटबाट भने तीनबाट एकवटा कम्पनी छनोटमा पर्नेछ । दोस्रो चरणका लागि छनोट भएको कम्पनीले नै सौर्य ऊर्जा जडानको सबै काम गर्ने जिम्मा पाउने जानकारी कामपाले दिएको छ । त्यसका लागि एक महिनाको बोलपत्र आह्वान गरिएको छ । काठमाडौंँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले पहिलो चरणका लागि गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरेको थियो । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिनेछ । त्यस्तै, सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चारसय खम्बा गाडिने कामपाको भनाइ छ । त्यस्तै, दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिनेछ । यसैगरी, ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीनसय सौर्यबत्ती जडान गरिनेछन् । महानगरले पहिचान गरेको तेस्रो चरणमा ३८५ खम्बा राखिनेछ । सो चरणअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने–कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस

नारायणीको बाढीले २८ घर डुबानमा, दुई घरमा क्षति

काठमाडौं, १२ साउन । नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ । यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो । चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए । मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पु¥याएको छ । उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ । यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गोलाघाटमा ड्याममा क्षति पु¥याएकाले अस्थायी मर्मत गरिएको छ । बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ । बुधबार बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस