दशैं मनाउन पाँँच लाखले उपत्यका छोडे, १५ लाखले गाँउ जान टिकट काटिसके
काठमाडौं २०, असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सबै नाकाबाट मंगलबार १० हजार ६६ सवारीसाधन बाहिरिएका थिए । मंगलबारभन्दा बुधबार नाकाबाट बाहिरिनेको संख्या बढेको समाचार बिहिबारको नेपाल समाचार पत्रमा छापिएको छ । दसैँमा हरेक वर्ष करिब २० लाख सर्वसाधारणले उपत्यका छाड्छन् । त्यसमध्ये करिब १८ लाखले सार्वजनिक यातायात प्रयोग गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष १४ लाखभन्दा धेरै टिकट बिक्री भइसकेको छ । फूलपातीको अघिल्लो दिन, फूलपाती र अष्टमीको दिनमा सबैभन्दा धेरै यात्रु बाहिरिने गर्छन् ।
सांग्रीला होटलद्वारा दसैं भोज प्याकेज सार्वजनिक, अष्टमीदेखि चार दिन ग्राहकको रोजाई अनुसारको विशेष मेनु
काठमाडौं २०, असोज । पाँचतारे होटल सांग्रीलाले दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको छ । होटलले आगामी आइतबारदेखि बुधबारसम्मको चार दिने प्याकेज सार्वजनिक गरको हो । होटलले चार दिन सम्म दसैं भोज नामक प्याकेज सार्वजनिक गरेको होटलकी सहायक विक्री प्रवन्धक बविता पाण्डेले जानकारी दिएकी छन् । उनका अनुसार होटलले दसैंका अष्टमीदेखि एकादशीसम्मको लागि विशेष मेनु सार्वजनिक गरेको छ । यस्तो मेनुमा ग्राहकले रोजेर खाना तथा खाजा खान पाउने छन् । पाँचतारे होटलमा सर्वसाधारणको पनि सहज पहुँच पुग्ने गरी होटलले नयाँ मेनुसहितको प्याकेज ल्याएको छ । होटलका अनुसार सुरुवाती मेनुमा खसीको रक्ती, कलेजो, फोक्सो साधेको ६ सय रुपैयाँमा, चिउरा र समै वजी पाँच सय रुपैयाँमा, कालो भटमास साधेको चार सय पचास, आलुको अचार कालो तिल हालेको चार सय पचास, कुखुराको सेकुवा पाँच सय र खसीको छोयला ६ सय रुपैयाँमा सेवा दिने भएको छ । सुपमा च्याउनेको झोल तीन सय, खशीको खुट्टाको रस तीन सय ५० रहेको छ । मेन कोर्समा थाई भेज ११ सय र ननभेज १४ सय रुपैयाँ तोकिएको होटलले जानकारी दिएको छ । डेजर्टको पनि तीन सय र चार सय ५० को गरी दुई थरी सेवा रहेको छ । होटलका कार्यकारी सेफ महेश राज ढकालका अनुसार स्वादिलो र हाइजेनिक खाना एफोर्टवल प्राइमा सेवा दिएको छ । गत वर्ष पनि आउने यस्तो प्योकजमा यो वर्ष भने ग्राहकले छानेर र मन परेको मेनु रोज्न पाउने गरी हरेकमा शुल्कसहित सार्वजनिक गरेको हो । होटलले हरेक वर्ष दसैंका लागि दसैं भोज नामक मेनु सार्वजनिक गर्ने गरेको छ ।
काबेली ‘ए’ निर्माण एक महिनाभित्रै, ३७.६ मेगावाट जलविद्युत थप हुँदै
काठमाडौं २०, असोज । मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठले बताए । ताप्लेजुङ र पाँचथर सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी गरिरहेको यो अयोजना निर्माणका लागि लगानी समस्या नभएकाले तीन वर्षभित्र काम सम्पन्ने गर्ने लक्ष रहेको श्रेष्ठको भनाइ छ । यसअघि काबेली हाइड्रोपार इनर्जी प्रालिले निर्माण सुरु गरेको थियो । तर उक्त कम्पनीले समझौता विपरीत काम गरेको भन्दै स्थानीयले विरोध जनाएपछि निर्माण हुन सकेको थिएन । कारोबार दैनिकबाट ।
ढकतराजु परीक्षण नहुँदा उपभोक्ता ठगिँदै, कम तौलने बनाउँदा पनि उपभोक्ता बेखवर
काठमाडौं २०, असोज । तरकारी तथा फलफूल नापतौलका सामाग्री नियमित परीक्षण नहुँदा उपभोक्ता ठगिने गरेका छन् । व्यापारीका नापतौल मेसिन वर्षैंदेखि गुणस्तर मापन नहुँदा उपभोक्ता सजिलै ठगिएका हुन् । काभ्रेजिल्लाको प्रमखु व्यापारिक केन्द्र बनेपा, पनौती, धुलिखेलका चोक, अरनिको र बीपी राजमार्गका आसपासमा करिब दुई सयभन्दा बढी व्यापारीबाट उपभोक्ता ठगिँदै आएका छन् । एक किलो फलफूल र तरकारी किन्दा एक सयदेखि दुई सय ग्रामसम्म तौल कम हुने गरेको उपभोक्ताको गुनासो छ । वर्षैदेखि खिईसकेको ढकतराजुले सामान जोख्दा तौल कम हुने भएपनि बाध्यतावश किन्नपरेको उपभोक्ताको भनाइ छ । कतिपय व्यापारीलाई ढकतराजु वार्षीक परीक्षण गर्नुपनर्छ भन्ने समेत थाहा छैन । अन्नपूर्ण पोष्टबाट ।
ग्यास सिलिन्डरको मूल्य घट्यो, ३५० सम्म घटाएर प्रतिसिलिण्डर २ हजार बनाए
काठमाडौं २०, असोज । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् । ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् । बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन् । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिदैं आएकोमा असोजबाट २ हजार रुपैयाँमा बिक्री गरेको छ । २३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले २ हजार, २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार, २३ सय पर्ने नारायणीको सिलिन्डर २१ सय ५०, रुपैयाँमा बिक्री भएको संघले जनाएको छ । त्यस्तै त्रिशुल, सुर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर २१ सय मूल्य कायम गरेका छन् । उद्योगीले धरौटीको नाममा मूल्य लिए पनि सर्वसाधारणले धरौटी रकम फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकबाट ।
एनसेलले दियो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत प्रेमकृष्ण श्रेष्ठलाई बाइक
काठमाडौं, १९ असोज । एनसेलले ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ । श्रेष्ठलाई एनसेलको बाग्मती सेल्स टिमले एक कार्यक्रम माझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो । यस अघि यो योजना अन्र्तगत मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेजका संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।
फष्ट माईक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर पास, ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडाैं, १९ असाेज । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न यस माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने संस्थाको प्रस्ताव पारित गरेको छ । साथै, माइक्रो फाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । त्यसै गरी सभाले सर्वसाधरण सेयर धनीहरुका तर्फबाट सञ्चालक पदमा युवराज क्षेत्री, बामदेव गौली र गोर्खाज फाइनान्स लि।लाई निर्विरोध निर्वाचित गरेको छ । फाइनान्सको तर्फबाट एक सञ्चालन आउने छन् ।
हुन्डाईको ‘फ्रि चेक अप क्याप’ योजना, असोज २० गतेदेखि शुरु
काठमाडौं, १९ असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिक्रित बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले ‘हुन्डाइ हाइवे असुरेन्स’– हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याप आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानमा हुन्डाइ गाडीको फ्रि चेक अप क्याप स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरु सँग मनाउने उद्देश्यले हुन्डाई गाडिमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको आयोजकले बताएका छन् । यस फ्रि चेक अपमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडिको फ्रि चेक अप क्याप गराउनुको साथै आवश्यक लुब्रिक्यान्ट तथा कुलल्यान्टको मात्रा कम भएमा निस्शुल्क थप व्यवस्था गरिदिने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका बिभिन्न स्थानबिर्तामोड(काँकरभित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), डालीमा रिसोर्ट पार्किंङ (कुरिनटार), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) फ्रि चेक अप पोइन्टको स्थापना गरीएको छ । यसका साथै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटरसम्म रोडसाइड असिसट्यान्टको पनि व्यवस्था गरिने कम्पनीले जनाएको छ । कार्यक्रम असोज २० देखी २२ गते सम्म बिहान १० बजे देखी साझ ६ बजे सम्म सञ्चालन हुनेछ ।