बैतडी– काठमाडौं एसी बस सञ्चालन, प्रतियात्रु भाडा ६४५ रुपैयाँ
बैतडी, २० असोज । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी– काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरु गरेको छ । यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी बिहीबारदेखि बैतडी– काठमाडौं एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए । बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ । “लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौं,” महासचिव कँडेलले भने । बैतडीबाट दैनिक एउटा बस बिहान ७ बजे सदरमुकाम गोठलापानीबाट तथा काठमाडौंबाट बिहान ११ बजे गङ्गबु बसपार्कबाट छुट्ने समितिले जनाएको छ । बैतडीबाट काठमाडौंको भाडा प्रतियात्रु दुई हजार ४३० रुपैयाँ तोकिएको छ । हाललाई बैतडी–काठमाडौं छ वटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छ वटा बस थप्ने तयारी समितिले गरेको छ । यस्तै समितिले बैतडी–महेन्द्रनगरसम्म समेत पहिलोपटक एसी बस सञ्चालनमा ल्याएको छ । बैतडी र महेन्द्रनगरबाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ भने भाडादर प्रतियात्रु ६४५ रुपैयाँ कायम गरिएको छ । सदरमुकाममा अवस्थित बसपार्कमा यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको छ । लामो समयपछि बसपार्क सञ्चालनमा आए पनि यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको बताइएको छ । रासस
‘२५ बुँदे सम्झौताले नेपाललाई भुटानको स्तरमा झारेको छ’
काठमाडौँ, २० असोज । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गरेको सम्झौता राष्ट्रघाति भएको भन्दै नेपाललाई भुटानिकरणमा अगाडि बढाएको बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सम्झौताले नेपाललाई सधैं भारतको पछि लाग्ने बनाएको बताएका छन् । देशभक्त जनगणतान्त्रि मोर्चाले बिहीबार संवाद डबलीमा गरेको ‘२५ बुँदे सम्झौता र राष्ट्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले भने, ‘प्रचण्ड जी भारतको आर्शिवाद थाप्न गएर राष्ट्रघाति सम्झौता गरे तर मागेजस्तो आर्शिवाद पाएनन् ।’ भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले २५ बुँदे सम्झौताले नेपाललाई सिक्मिकरण र भुटानकरणको दिशामा नेपाललाई लगेको बताए । कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारतमा नेपालमाथि गद्दारी गरेको भन्दै २५ बुँदेबारे सत्तासाझेदार नेपाली काँग्रेसलाई समेत जानकारी नगराएको बताए । ‘प्रचण्ड जी राष्ट्रघाति हुन् वा राष्ट्रवादी भन्ने उनले पटक पटक व्यवहारमा देखाएका छन्’ बिजुक्छेले भने ।अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री प्रचण्डले गरेको राष्ट्रघातको विरुद्धमा सडकमा आउनुको विकल्प नभएको बताए । नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले २५ बुँदे सहमतिले नेपाललाई भारतको पुच्छर बनाएको बताएका छन् । मैनालीले सम्झौताको १० नम्बर बुँदा सबैभन्दा खतरनाक भएको बताए । ‘नेपालको परराष्ट्र नीति तटष्थ र पंचशीलका आधारमा हुने भएपनि २५ बुँदे सम्झौताले भुटानको स्तरमा पुर्याइ दिएको छ’ उनले भने । अध्यक्ष मैनालीले ६०१ जनाले संविधान लेखे भन्दैमा नेपाल भारतीय हस्तक्षेपबाट मुक्त नभएको बताए । नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सत्तामा आमूल परिवर्तन नभएसम्म जो ब्याक्ति सरकारमा गएपनि राष्ट्रघातलाई निरन्तरता दिने बताए । ‘नेपालमा भारत निर्भर प्रतिक्रियावादी सत्ता रहेसम्म सरकारमा जो गएपनि राष्ट्रघात भइरहनेछ । यो सत्तामा जो गएपनि राष्ट्रघात गर्नुपर्ने बाध्यता हुन्छ । यो ब्यक्तिको कुरा नभएर सत्ताको कुरा हो’ बास्तोलाले भने । उनले नेपालमा राष्ट्रघातलाई रोक्नलाई सत्तामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता भएको बताए । बास्तोलाले नेपालका नेताहरुले संघर्षको स्तरअनुसार राष्ट्रघात गर्ने गरेको बताए । ‘काँग्रेस, माले–एमाले, प्रचण्डलाई हेर्दा उनीहरुले गरेका संघर्षको स्तरअनुसार राष्ट्रघात गरेका छन् । यो भारत निर्भर राज्य संरचनाका कारणले भएको हो’ बास्तोलाले भने । कार्यक्रममा मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेकपा (मसाल) का प्रबक्ता र जनमोर्चाका संयोजक साध्यबहादुर भण्डारीले २५ बुँदे सम्झौता राष्ट्रघाति भएको भन्दै सडक संघर्ष गर्नुपर्ने बताएका थिए ।
देव: विकास बैंकले धितोपत्र बोर्डमा दियो ५० प्रतिशत हकप्रदको लागि निवेदन
काठमाडौं, २० असोज । देवः विकास बैंकले २ बराबर १ (५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ४४ करोड ५ लाख ४४ हजार ३९ रूपैयाँको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ३८१ रुपैयाँमा कारोबार भएको छ । देवः विकास बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।
डोल्पा र हुम्लामा पुग्यो थ्रीजी सेवा, अब ७५ वटै जिल्लामा, दसै र तिहारको अबसरमा प्रति एमबी १२ पैसामा डाटा अफर
काठमाडौं, २० असोज । आधुनिक सूचना र प्रविधिको सेवा अब डोल्पा र हुम्ला जिल्लामा पनि पुगेको छ । हिजो (असोज १९ गते) डोल्पाको दुनै र आज ‘२० गते’ देखि हुम्लाको सिमिकोटमा थ्रीजी सेवा शुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको कम्पनीले जनाएको छ । थ्रीजी अहिलेसम्म नेपालमा प्रयोगमा आएको प्रविधि मध्ये अत्याधुनिक हो । टेलिकमले फोरजी सेवा सञ्चालनको लागि तयारी गर्दैछ । ‘नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आए पछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो’ टेलिकमद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल टेलिकमले जीएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो । थ्रीजी सेवा मार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । त्यसै गरी कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसा सम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । नाइट डाटा अफर राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत ४० रुपैयाँमा ५०० एमबी र ८५ रुपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गते सम्म उपलब्ध गराइने छ । नाइट डाटा अफर लिनका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि स्पेशल५००एमबी वा स्पेशल१२००एमबी लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा पठाउनु कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीका प्रबक्ता प्रतिभा बैद्यले बताईन् ।
नेशनल बैंकिङ्गको ५ प्रतिशत लाभांश पास
काठमाडौं, २० असोज । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय पास भएको छ । बिहीवार सम्पन्न बैंकको आठौं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको छ । उक्त सभाले आथिर्क वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७२/७३ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरण छलफल गरी पारित गरेको छ । साधारण सभामा संस्थाका शेयरधनीहरुले संचालक समितिको अध्यक्ष अजय श्रेष्ठले आ.व.२०७२/७३ मा सञ्चालन गरेको नेपालका विद्यमान बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी बैंकिङ् सर्टिफिकेट कोर्स अन्तर्गत लेभल वानको कोर्ष जुनियर एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युटको सञ्चालन पश्चात आगामी आर्थिक वर्षमा लेभल टु को कोर्ष चाटर्ड एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युट थालनी गरिने जानकारी गराएका छन् ।
बजारमा दोहोरो अंकको सुधार, सबै समूह उक्लिए, ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, २० असोज । यो साताको शुरुदेखि नै लगातार बढेको सेयर बजार आज अन्तिम दिन पनि दोहोरो अंकले बढेको छ । लगातार बढिरहेको छ । बिहीबार नेप्से परिसूचक १३ दशमलब २८ अंकले बढेर १८१९ दशमलब ८८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३० कम्पनीको १५ लाख कित्ता सेयर एक अर्ब रुपैयाँमा किनबेच भएको छ । बुधबारको तुलनामा आज कारोबार रकममा पनि सुधार भएको छ । बिहीबार कारोबार भएका ७ वटै समूह सूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०४ अंकले उक्लिएको छ । त्यस्तै बीमा, हाइड्रोपावर, विकास बैंक क्रमशः ६४, २५ र २३ अंकले उकालो लागेका छन् । बाँकी अन्य समूह भने सामान्य अंकले वृद्धि भएका छन् । सो दिन फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अन्य ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक, कुमारी बैंक, कसमस बैंक र जेबिल्स फाइनान्सका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डका १ का लगानीकर्ताले करिब साढे ३ प्रतिशत गुमाएका छन् । बजारमा बैंक अफ काठमाडौं लुम्बिनीको १३ करोड ९३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
सातवटा परियोजना सञ्चालनका लागि जापानको ६१ करोड रुपैयाँ सहयोग
काठमाडौं, १९ असोज । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड रुपैयाँ र सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड रुपैयाँ नगद सहयोग गर्नेछ । त्यस्तै, जापानले गोदामघर निर्माण गर्न तीन करोड रुपैयाँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड रुपैयाँ, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड रुपैयाँ तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ । रासस
मेची राजमार्गको दमक–रबि सडक निर्माणका लागि थप बजेटको माग
काठमाडौं, २० असोज । मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले सडक निर्माणका क्रममा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाललगायत निर्माणका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउन माग गरेको हो । दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द माग) निमार्ण उपभोक्ता समितिका अध्यक्ष रेवतीराज पुरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सुरक्षाका कारण निर्माण कार्यलाई अगाडि बढाउन कठिनाइ भएको भन्दै तत्काल अस्थायी प्रहरी चौकी स्थापना गर्न पनि माग गरेको छ । विकास निर्माणका कार्यलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए। प्रनिनिधिमण्डलमा सहभागी सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले बहुआयामिक विशेषता बोकेको सडकलाई अगाडि बढाउन सरकारको सहयोग आवश्यक भएको बताए । त्यसैगरी, नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री अग्नि खरेलले पूर्वको विकास र त्यहाँको आर्थिक उन्नतिका लागि महत्वपूर्ण मानिएको सडक निर्माणका लागि सबैको एकमत भएकाले त्यसमा सहयोग आवश्यक भएको बताए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले २५ वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सम्पन्न नभएको भन्दै यस क्षेत्रका १२ लाखभन्दा बढी जनसङ्ख्यालाई प्रत्यक्ष सुबिधा हुने सडक सम्पन्न गर्न ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । उनका अनुसार कूल ४० किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि यसै आर्थिक वर्षका लागि प्रधानमन्त्रीसँग रकम मागिएको हो । रासस