विकासन्युज

नेपाल बङ्गलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफा सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश कर समेत गरी सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंकको ६६औं शाखा धनगढीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले  धनगढी उपमहानगरपालिकामा ६६औं शाखा कार्यालय विस्तार गरी शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेका छन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियाे । बैंकले यस कार्यलाई निरन्तरता दिंदै आगामी दिनहरुमा पनि थप शाखाहरुको संजाल विस्तार गरि सेवा दिने प्रतिवद्धता प्रकट गरेको छ । साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई ग्राहकमुखी बनाउने जनाएकाे छ ।

नेपाल पर्यटन बोर्डको एक अर्ब ७५ करोड बजेट पारित, गत वर्षभन्दा ३८ कराेड बढी

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ का लागि करिब एक अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार प्रवद्र्धनमा ३७ करोड ३५ लाख रुपैयाँ, प्रचारप्रसारमा ३२ करोड ५६ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरिनेछ । त्यसैगरी, पर्यटन सम्पदा तथा संशोधन विकासमा २४ करोड ३९ लाख ५० हजार रुपैयाँ, बोर्डको पोखरा कार्यालयका लागि ७६ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । हिमालयन ट्राभल मार्टका लागि २० करोड रुपैयाँ, बुद्धिष्ट ट्राभल मार्टका लागि १० करोड रुपैयाँ, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ ५० लाख रुपैयाँ तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा तीन करोड रुपैयाँ बजेट छुट्याइएको छ । बोर्डले गतवर्ष एक अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा बजार प्रवद्र्धनका लागि ३३ करोड ८० लाख रुपैयाँ बजेट छुट्याएको थियो । बोर्ड सञ्चालक समिति सदस्य दीपक महतका अनुसार सञ्चालक समितिभित्रको आन्तरिक विवाद र पर्यटन मन्त्रालयले चाँडो निर्णय नदिँदा बजेट स्वीकृतिमा ढिलाइ भएको थियो । बजेट समयमा पारित नहुँदा बोर्डका कतिपय प्रवद्र्धनात्मक काम सुस्त भएको गुनासो हुँदै आएको थियो । बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरी चीन र भारतमा बढी भन्दा बढी पर्यटक आकर्षण गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको छ । रासस

नबिल बैंकको भिसाकार्ड क्यास-ब्याक योजना शुरु, ग्राहकले १० प्रतिशत नगद फिर्ता पाउने

काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड लिने ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड बाक्ने ग्राहकहरुले १० प्रतिशत नगद फिर्ता पाउनेछन् । यस योजना अन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट कारोबारको १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ नगद फिर्ता पाउनेछन् । यो योजना मंसिर १४ गतेदेखि पुस १६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

फिजियोथेरापी सम्मेलनको पहिलो कार्यक्रम नेप्टामा सम्पन्न

काठमाडौं । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । देशभरका करिब ५० फिजियोथेरापीस्टको उपस्थिती रहेको उक्त कार्यक्रममा अस्पतालको प्रबन्ध निर्देशक डा.समता प्रसादले उद्घाटन गरेका हुन् । नेप्टाका अध्यक्ष तथा नेप्टाकनका वैज्ञानिक सत्रका संयोजक सहित ४ अन्तराष्ट्रिय फिजोथेरापिष्टको मुख्य उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा युनिभर्सीटी अफ मेलवर्नबाट आएका सहायक प्राध्यापक स्याली कोवान र डा. मार्गारेट शेरवुन, युनिभर्सीटी अफ सिड्नीबाट डा. ड्यारेन रिड, र मास्ट्रिच युनिभर्सीटी, नेदरल्यनण्ड्सबाट प्रा.डा. युगीन रामेक्रस उपस्थित रहेको थियो । मस्कोलोस्केलेटल, महिला स्वास्थ्यमा फिजियोथेरापी, र बालबालिकाका फिजियोथेरापीको विषयमा प्रस्तुती दिएका थिए । कार्यक्रम काठमाण्डौं विश्वविद्यालय र शंकर होटलमा गरि ३ दिनसम्म आयोजना हुने भएको छ ।

माघभित्र द्रुतमार्गको डीपीआर बन्ने, १० हजार ५०० रोपनी जग्गा अधिग्रहण

काठमाडौं । द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर माघभित्रै बन्ने भएको छ । कोरियाली सुसुङ कम्पनीले माघभित्रै डीपीआरकाे काम सक्ने भएको हो । संसद विकास प्रविधिको बैठकमा नेपाली सेनाको आयोजना प्रमुख योगन्द्र खाँडले द्रुतमार्गको काम धमाधम भैरहेको जानकारी दिए । उनका अनुसार डीपीआर बनाउन असोज १६ गते कोरियाली कम्पनीसँग सम्झौता भएको हो । कम्पनीले कात्तिक ४ गतेबाट काम शुरु गरिसकेको छ । आयोजनाको अधिग्रहण गर्नुपर्ने १५ हजार २९ रोपनी जमिन मध्ये १० हजार ५ सय रोपनी जमिन अधिग्रहण भैसकेको छ । सेनाले १.३७ किमी सुरुङको सट्टा ६.०७ किमीको ३ सुरुङ बनाउन लागेको छ । यस्तो आयोजनाको प्रगती र भावी कार्ययोजना    

मेगा बैंकबाटै ज्योति लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब मेगा बैंक नेपाल लिमिटेडबाट ज्योति लाइफ इन्स्योेरेन्सको बीमा सेवा पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धि दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा पाउने छन् ।

२०१९मा ह्वावेको विन्टरको प्रमोशन, कम्पनी माथि पुर्याउन एक्स क्लुसिभ अफर

काठमाण्डौँ । विन्टर प्रमोशनको हिस्सा स्वरूप ह्वावेले तीनवटा सबै भन्दा चर्चित बजेट स्मार्ट फोन बजार ल्याएको छ । २०१९ को मूल्य घटाएर वाई फाइभ लाइट, नोभा टुलाइट तथा वाई नाइन प्रमोशन गर्ने भएको छ । वाई फाइभ लाइटः १३ हजार ९ सयबाट ११ हजार ९ सय ९०मा उपलब्ध हुने भएको छ । यो स्मार्टफोन एन्ड्रोइड गो प्लाटफर्ममा संचालन हुने छ, जुन एन्ट्री लेभल फोनहरूमा अपटिमाइज्ड स्टक एन्ड्रोइड एक्स पिरियन्स दिने गर्दछ । यो फोनमा लाइटर भर्सन एपहरू, अझ राम्रो सुरक्षा तथा व्यवस्थित रहेको छ । यो फोनमा एलईडी फ्लाल्स सहितको ८ एमपी रियर क्यामरा र १४४०एक्स ७२० रेजलुसन सहितको ५.४५ एचडीको डिस्प्ले रहेको छ । यो तीन स्मार्ट फोनहरू वास्तविक मूल्य भन्दा झण्डै २ हजार रूपैयाँ घटेको छ । ह्वावेले आफ्ना ग्राहकहरू प्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाइँमा पुर्याउन यो एक्स क्लुसिभ अफर ल्याएको छ । क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइन लागि सुपरिचितयी स्मार्ट फोनहरूले प्रयोग कर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।