निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा प्रदर्शन, शिक्षाको नाममा भ्रष्टाचार गरिरहेको अाराेप
काठमाडौं । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्धारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा संयुक्त विद्यार्थी संघ संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका छन् । विश्वविद्यालयले देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक अध्यक्ष वामदेव रेग्मीको भनाई रहेको छ । ‘विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिएर गलत काम गरिरहेको भन्दै सम्बन्धन दिइएका कलेजको पनि भौगोलिक सन्तुलन नमिलेको बताएको छ । सुगम क्षेत्रमा मात्रै क्याम्पस खोल्ने अनुमति दिइएको हुँदा त्यसको विरोधमा संयुक्त विद्यार्थी मिलेर प्रदर्शन गरेका छन् । ‘विश्वविद्यालयले शिक्षाको नाममा भ्रष्टाचार गरिरहेको भन्दै पूर्णरुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् । विश्वविद्यालयले दिएको निजी सम्बन्धन पूर्णरुपमै खारेज गरिनुपर्ने विद्यार्थीको माग रहेको छ । कार्यक्रममा अनेरास्ववियुकी कार्यवाहक अध्यक्ष रश्मी आचार्य, अनेरास्ववियु क्रान्तिकारीका महासचिव उत्तम अधिकारी, नेविसंघका सहमहामन्त्री प्रेमराज जोशी, विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सचिव बद्री अधिकारी, अनेरास्ववियु छैटौँका अध्यक्ष विमल पोखरेल लगायतका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।
सहुलियत कर्जा अन्यौलमा, प्रमाणपत्र धितोमा बैंकहरुको अनिच्छा
काठमाडौं । सरकारले महत्वाकांक्षी योजनाका रुपमा अघि सारेको सहुलियत कर्जाको कार्यक्रम अन्यौलमा परेको छ । सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेट मार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लगायतका सहुलियत पूर्ण कर्जा कार्यक्रम अघि सारेको थियो । तर ऋण लिनेहरुमा प्रक्रियागत अन्यौल र बैंकहरुको अनिच्छाका कारण कार्यक्रम अलमलमा परेको हो । तर नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले भने ऋण कार्यक्रम कार्यान्वयन भएरै छाड्ने बताए । ‘हामीले सुक्ष्म निगरानी गरिरहेका छौं, कर्जा दिन आनाकानी गर्नेहरुबारे सूचना दिनोस, कारवाही गर्छाै’, कायम मुकायम गभर्नर शिवकोटीले भने । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सहुलियतपूर्ण कर्जा कार्यान्वयनका लागि बैंकहरु तयार भएको तर प्रक्रियागत अन्यौलता भने कायमै रहेको बताए । कर्जाका लागि आवश्यक प्रक्रियाबारे ऋण लिन आउनेहरुमा जानकारीको अभाव देखिएको उनले बताए । ‘कस्तो व्यवसायीक योजना बनाउने, कम्पनी कहाँ दर्ता गर्ने, कत्रो कम्पनी बनाउने लगायतका बारेमा अन्यौलता देखिएको छ, हामीले जिल्ला जिल्लाका उद्योग बाणिज्य संघहरु मार्फत सहजीकरणका लागि संयन्त्र बनाउनुपर्ने आवश्यकता महशुस गरेका छौं’, प्रमुख कार्यकारी अधिकृत दाहालले भने । बैंकहरुले शैक्षिक योग्यताको प्रमणपत्र धितोमा राखेर ऋण दिन भने अनिच्छा देखाएका छन् । त्यसो त प्रमाणपत्र धितोमा राखेर ऋण लिनका लागि अपनाउनुपर्ने प्रक्रियाकाबारेमा पनि अस्पष्टता देखिएको छ । प्रमाणपत्र धितोमा राखेर ऋण लिने प्रक्रियाबारे बुझ्न गएकाहरुलाई बैंकका कर्मचारीले त्यस्तो ऋण दिन नसकिने बताउँदै आएका छन् । दाहालले भने राम्रा योजना ल्याउनेहरुलाई प्रमाणपत्र धितोमा राखेर ऋण दिईएको बताए ।‘राम्रा प्रपोजल ल्याउनेलाई ऋण दिएका छौं, अनुभव नभएकाहरुलाई ऋण दिन अलि जोखिम छ’, दाहालले भने । उनले सहुलियत कर्जा प्रवाहका लागि समन्वय तथा व्यवसायीक योजना निर्माणमा सहयोग आवश्यक रहेको बताए । सरकारले शैक्षिक योग्यताको प्रमाण धितोमा राखेर ऋण, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राबिधिक तथा व्यवसायीक शिक्षा कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, महिला उद्यमशिल कर्जा लगायत ७ प्रकारका सहुलियत कर्जा अघि सारेको छ । ब्याज अनुदानमा दिईने यी कर्जाहरुको कार्यान्वयनमा पनि भूकम्प पीडितका दिईएको उपलब्ध गराईएको पुनकर्जा जस्तै असफलताको बाटोमा अघि बढ्ने सम्भावना देखिएको छ ।
बोनस सेयरको खडेरीमा कुमारी बैंकले घोषणा गर्यो १२.७५ प्रतिशत
काठमाडौं । कुमारी बैंकले १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिले लगानीकर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि कुमारीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।
प्रज्ञाले ‘बीस’लार्इ ‘बिस’ लेख्छ, हामीले कारबाही खेप्नुपर्ने ? चिन्तामणि शिवाकोटी
काठमाडौं । नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको भाषिक ‘गल्ती’मा आफूहरु दोषी बन्नु परेको गुनासो गरेका छन् । गत वर्ष राष्ट्र बैंकले निष्काशन गरेकाे २० रूपैयाँकाे नाेटमा ‘बीस’ काे सट्टा ‘बिस’ छापिए पछि अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले केन्द्रीय बैंकका उच्च अधिकारीहरूसँग बयान लिएकाे छ। कामु गभर्नर शिवाकोटीले नेपाल राष्ट्र बैंकको नोट डिजाइन कमिटीमा नेपाल प्रज्ञा प्रतिष्ठानका विज्ञ समेत रहने भन्दै कमिटीले दिएको सुझावका आधारमा आफूहरुले नयाँ नोटमा ह्रस्व ‘बिस’ लेखेको प्रष्ट पारे । उनले प्रज्ञा प्रतिष्ठानले छापेकाे पछिल्लाे शब्दकाेषमा समेत ‘बिस’ नै रहेकाे तथ्य प्रस्तुत गरे । ‘नोट डिजाइन समितिमा गभर्नर, दुई जना डेपुटी गभर्नर, नोट विभागका कार्यकारी निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट एक जना विज्ञ, वन विभागका विज्ञ, पुरातत्व विभागको विज्ञ लगायतको सहभागिता हुन्छ । प्रतिष्ठानका विज्ञले ‘तीन’ बाहेक सबैमा ह्रस्व हुन्छ भनेपछि हामीले ‘बिस’ लेखेका हौं, तर यसले ठूलै हल्ला भयो, अख्तियारमा हामीले मुद्दा खेप्नु परेकाे छ । शिवाकोटीले नेपाली भाषामा विकृति भित्रिएको भन्दै पुरानो पुस्ताले सिकेको भाषा र नयाँ पुस्ताले सिकेको भाषामा फरकपन आउनाले अन्यौलता सिर्जना भएको बताए । भाषा सञ्चारको माध्यम भए पनि यसमा एकरुपता कायम हुनुपर्नेमा उनले जोड दिए । सरकारी क्षेत्रका कर्मचारीहरुले पनि नेपाली भाषामा पत्र लेख्दा भाषामा एकरुपता कायम गर्नुपर्नेमा जोड दिए ।
पश्चिम नेपाल केन्द्रविन्दु भएर ८.५ रेक्टर स्केलको भूकम्प जाने भारतीय अनुसन्धानकर्ताको दाबी
काठमाडौं । पश्चिम नेपाल र भारतकाे सीमानानजिक केन्द्रविन्दु भएर भुकम्प जाने भन्दै अनुसन्धानकर्ता संस्थाको स्रोतको हवाला दिँदै एक भारतीय मिडियाले समाचार लेखेको छ । भारतीय अखबार हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा ‘जहारलाल नेहरु सेन्टर फर एड्भान्स सेन्टर रिसर्च’ नामक अनुसन्धान संस्थाले जनाएको भन्दै हिमालय नजिकै छिट्टै नै ८.५ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणी गरेको हो । रिसर्च सेन्टरका वैज्ञानिक सीपी राजेन्द्रले भने– ‘मध्य हिमालयमा निकट भविष्यमा जुनसुकै बेला ८.५ रेक्टरस्केल आसपासको भुकम्प जानसक्छ ।’ भू–वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अनुसन्धानमा अनुसन्धानकर्ताहरुले गुगल अर्थ र इण्डियन स्पेस एजेन्सीले खिचेको भुगर्भसम्बन्धी तस्वीरको आधारमा उक्त भविष्यवाणी गरेको दाबी समेत गरेको छ । उसका अनुसार पश्चिम नेपालको मोहना खोला भारतको चोर्गाल्लियासम्मको क्षेत्रभित्र केन्द्रविन्दु भई भुकम्प जान सक्नेछ । अनुसन्धान रिपोर्ट भन्छ, ‘हाम्रो निष्कर्ष छ कि यसअघि सन् १३१५ र १४४० को बीचमा मध्य हिमालयको यो क्षेत्रमा भुकम्प गएको थियो र आसपासका ६०० किलोमिटरमा धक्का पुर्याएको थियो । त्यस्तो भुकम्प ६०० देखि ७०० वर्षमा दोहोरिने गर्छ ।’ उक्त अनुसन्धान संस्थाकै एक अनुसन्धानकर्ता अरुण बापत जसले २००४ मा हिन्द महासागरको सुनामीको भविष्यवाणी गरे, उनले भने – ‘हिमालयमा अनुमानित ठूलो परिमाण भूकम्पले सम्भवतः २०१८ वा यसको नजिकको हुन सक्छ।’
१ लाख घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल पक्राउ
काठमाडौं। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित आइतबार साँझ पक्राउ परेका छन्। लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराइदिन्छु भनी उनले घुस लिएको खुलेको छ। उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकका रूपमा कार्यरत थिए । पूर्वस्वस्थ्यमन्त्री दीपक बोहराको पालामा उनी केही दिनका लागि स्वास्थ्यसेवा विभागको निमित्तमहानिर्देशकसमेत बनेका थिए । डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।
प्रधानमन्त्री ओली १ करोड १३ लाख रुपैयाँको पुरस्कारबाट सम्मानित
काठमाडौं । युनिभर्सल पिस फेडरेशन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर (करिव १ करोड १३ लाख रुपैयाँ) राशीको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको छ । राजधानीमा आयोजित एशिया प्यासिफिक शिखर सम्मेलनको समापन अबसरमा आइतबार संस्थाकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त स्वर्ण अवार्ड र सम्मानपत्र हस्तान्तरण गरिन् । प्रधानमन्त्री ओलीले पुरस्कार पाएपछि मन्तब्य दिँदै उक्त रकम बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्ने बताए । ‘मैले ब्यक्तिगत रुपमा यो पुरस्कार पाएको हैन,’ उनले भने,‘ राज्यले पाएकाले त्यसको रकमबाट बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गर्ने छु । ’ प्रधानमन्त्री ओलीले शुसाशनबिना विकास सम्भव नहुने बताउँदै आफू शुसासन स्थापनामा प्रतिबद्ध रहेको बताए । युपिएफले सुशासन र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका विश्वका नेताहरु मध्येबाट उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त, वासलात २ खर्ब नजिक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार(आज) बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सीईओ पदमा नियुक्त गरेको हो । उनकाे कार्यकाल ४ वर्षकाे लागि ताेकिएकाे छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात नवनियुक्त सीईओ न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाई सकेको छ । नवनियुक्त सीईओ न्यौपाने आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । उनले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गर्दै आएका छन् । साथै, उनी चार्टड एकाउण्टेण्ट समेत हुन् । सीईओमा नियुक्त भएकै दिन न्यौपानेलाई बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । साथै, उनले सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्तलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि”भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हर हमेसा प्रतिबद्ध रहने प्रण उनले गरेका छन् । गत असाेज मसान्तमा यस बैंककाे वासलात १ खर्ब ९५ अर्ब रूपैयाँ छ । यस बैंकमा सर्बसाधारणकाे निक्षेप १ खर्ब ६३ अर्ब रूपैयाँ छ । १४ लाखभन्दा बढि ग्राहक रहेकाे बैंकले जनाएकाे छ । २६८शाखा तथा २८१ एटीएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।