माछापुच्छ्रे बैंकबाट सानिमा जनरल इन्स्योरेन्सकाे सेवा पाइने
काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट सजिलै सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सूर्य नेपालका लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश, ५ अर्ब ५६ करोड विदेशिदै
काठमाडौं । सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाटसम्मानित भएको सूर्य नेपालले लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५को नाफाबाट सेयरधनीलाई ४५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी कर तिरेरको भन्दै यस कम्पनीलाई सरकारले गत मंसिर १ गते सम्मान गरेको थियो । यो कम्पनी हरेक वर्ष नै बढी कर तिर्ने कम्पनी मध्येबाट सम्मानित हुँदै आएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । कम्पनीले लाभांश स्वरुप लगानीकर्तालाई ९ अर्ब १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । यस कम्पनीमा ६१ प्रतिशत लगानी विदेशी छ भने ३९ प्रतिशत नेपालीको छ । लाभांश वाफत यस कम्पनीको प्रवद्र्धक भारतको आईसीटी लिमिटेड ५ अर्ब ५६ करोड रुपैयाँ पाउने छ भने ३ अर्ब ५५ करोड रुपैयाँ नेपाली लगानीकर्ताले पाउने छन् । सूर्य नेपालले प्रवद्र्धक आईसीटी इन्डियालाई लाभांश भुक्तानी दिन करिव ५ अर्ब ५६ करोड रुपैया बराबरको विदेशी मुद्रा सटही सुविधा मागेको छ । लाभांश वाफत सटही भुक्तानी माग गर्ने एनसेलपछि सूर्य नेपाल दोस्रो ठूलो कम्पनी हो । विदेशी मुद्रा संचिति घट्दो क्रममा रहेको बेलामा नेपाल सरकारका लागि ठूला र अधिक नाफा गर्ने कम्पनीहरुलाई विदेशी मुद्रामा लाभांश भुक्तानी दिने कार्य चुनौतिपूर्ण बन्दै गएको छ । सूर्य नेपालले नेपालको चुरोट बजारमा ९० प्रतिशत भन्दा बढी बजार लिएको छ । पछिल्लो समयमा कम्पनीले सलाई, धुप उद्योगमा लगानी विस्तार गरेको छ । यस कम्पनीले विदेशी ब्राण्डका तयारी कपडाको आयात समेत गर्दै आएको छ ।
आइएमई डिजिटल र सिभिल बैंकबीच ‘आइएमई पे’ सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्धारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंक लिमिटेडबीच ‘आइएमई पे’ सम्झौता भएको छ । साेमबार मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएका हो । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिभिल बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न जनाएका छन् । साथसाथै सिभिल बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।
सेयर बजार दोहोरो अंकले बढ्यो, लक्ष्मी लघुवित्तका सेयरधनीले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि नै उकालो लागिरहेको बजारमा नेप्से परिसूचक १०.२७ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.९१ प्रतिशतले बढेर ११४२.०१ अंकमा पुगेको छ । सो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएता पनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ३८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँ घटी हो । मंगलबार कुल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम र कित्ता दुबैको आधारमा नेपाल बैंकको बढी कारोबार भएको छ । बैंकको ३ लाख ८९ हजार ४६९ कित्ता सेयर ११ करोड ४२ लाख रुपैयाँमा किनबेच भएको छ । केहि दिनदेखि यस बैंकको सेयर कारोबारमा सुधार हुँदै आइरहेको छ । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले एकैदिन ९.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ७६१ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांशलाई आगामी पुस १ गते बस्ने वार्षिक साधारणसभाले पारित गर्ने छ । सो प्रयोजनको लागि संस्थाको मंसिर १९ अर्थात भोलिदेखि बुक क्लोज हुँदै छ । त्यसैले लगानीकर्ताहरु यस संस्थाको सेयरमा आकर्षित भएका जानकारहरु बताउँछन् । त्यसपछि ग्लोबल आईएमई बैंकको ३ करोढ ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने निर्णय घोषणा गरेपछि संस्थाको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३१७ रुपैयाँमा पुगेको छ । बजारमा सबैभन्दा बढी विकास बैंकको समूह उकालो लागेको छ । विकास बैंकको सूचक ३२, निर्जीवन बीमा २०.०१, अन्य समूह १८ र जीवन बीमा १५ अंकले बढेका छन् । दुई समूह होटल र ट्रेडिङ बाहेक बाँकी समूह सामान्य अंकले बढेका छन् । होटल र ट्रेडिङ समूह क्रमशः ३.८१ र ०.५१ अंकले घटेका छन् ।
१८ प्रतिशत बोनसपछि मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा १८.२५ प्रतिशत बोनस पश्चात बैंकको सेयर मूल्य समायोजन भएकाे हाे । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५.०३ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ४९८.५२ रुपैयाँ रहेको थियो ।
बोनस पाउने भएपछि ग्लोबल आईएमई बैंकका लगानीकर्ता लाभान्वित, सेयर मूल्य बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बोनस सेयर पाउने भएपछि सो बैंकका लगानीकर्ता निकै लाभान्वित भएको देखिन्छ । मंगलबार बैंकले नेप्सेमा एक सूचना जारी गरी सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त घोषणा बैंकको हालै बसेको संचालक समितिको ३०७औँ बैठकले गरेको हो । बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य ३.२६ प्रतिशतले बढेको छ । बोनस सेयर पाउने भएपछि लगानीकर्तामा खुसी छाएको बढेको सेयर मूल्यले संकेत गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।
गरिमा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्य सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट सो कम्पनीका महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।
‘विकास बजेट कटौती गरेर पेन्सन बाढ्नुपर्ने दिन अब सकिन्छ’-अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीलाई प्रदान गर्दै आएको पेन्सन प्रणाली फेरिने बताएका छन् । निवृत्तिभरण कोष सम्बन्धी अर्थ समितिमा भएको बैठकमा मन्त्री खतिवडाले पेन्सनको मोडेल फेर्ने कार्य योजना प्रस्तुत गरेका हुन् । विकासमा लगाउनु पर्ने अर्बौ रकम कटौती गरेर पेन्सन बाढ्नुपर्ने दिन अब सकिने खतिवडाले बताए । हाल पेन्सनकाे शीर्षकमा वार्षिक ५३ अर्ब रुपैयाँ सरकारले खर्च गरिरहेको छ । वि.सं २०६४/६५ तिर यो ६ अर्ब रहेको थियो । अबको १० वर्षपछि यो रकम बढेर १ खर्ब पुग्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ । यसरी पेन्सनको नामको राज्यलाई धेरै आर्थिक भार पार्न नहुने मन्त्री खतिवडाको भनाई छ । अब नयाँ भर्ना हुने कर्मचारीका लागि योगदानमा आधारित पेन्सनको व्यवस्था गरिनेछ । जसमा कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत गरेर कोषमा जम्मा गरिनेछ । ६० वर्ष पुगेका कर्मचारीलाई सोही कोषबाट पेन्सन सुविधा प्रदान गरिनेछ ।