आयल निगमकाे कार्यकारी निर्देशकका लागि ५ जना सर्टलिष्टमा
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा पाँच जना परेका छन् । निगमको कार्यकारी निर्देशका लागि आवेदन दिएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यावसायिक कार्यायोजना र मामला अध्ययनसमेतको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने पाँच जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो । छनोट हुनेमा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का र सुरेन्द्रकुमार पौडेल रहेका छनोट तथा सिफारिश समितिले जनाएको छ । पाँच जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका आधारमा छनोट गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । छनोट भएका उम्मेदवारबाट यही पुस १९ गते मन्त्रालयमा व्यावसायिक कार्ययोजना र मामला अध्ययनको प्रस्तुतीकरण लिइनेछ । तीमध्ये निगमलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने योजना पेश गर्ने योग्यतम् उम्मेदवारलाई निगमको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिश गरिनेछ । निगमको डिपोका लागि जग्गा खरीद प्रक्रियामा भएको अनियमितापछि सरकारले पूर्वप्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको थियो । (रासस)
दक्षिणकालीमा बन्दैछ ६ सय रोपनीको फुटवेयर जोन, १७० जुत्ता उद्योग एकै थलोमा
काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ६ सय रोपनी क्षेत्रफलमा फैलिएको बिशाल फुटवेयर जोन निर्माण हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको अगुवाईमा जुत्ता चप्पल उद्योग मात्रै रहने फुटवेयर जोन निर्माणको काम अघि बढेको हो । फुटवेयर जोन निर्माणका लागि एसोसियसनले दक्षिणकाली नगरपालिकामा ६ सय रोपनी जमिन खरिद गरिसकेको छ । पुस महिनाभित्रै फुटवेयर जोनको शिलान्यस हुने एसोसियसनका पुर्व अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए । ‘यहि महिना शिलान्यस गरेर डोजर चलाउन सुरु गर्छाै, सरकारले पूर्वाधार बनाईदिन्छ, हामी उद्योग खोल्छौं’, श्रेष्ठले भने । आगामी ३ बर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योगहरु फुटवेयर जोनमा सर्नेछन् । जोनमा १७० वटा उद्योग स्थापना हुनेछ जसमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना हुनेछन् । जग्गा खरिदको काम सम्पन्न भैसकेको श्रेष्ठले जानकारी दिए । तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको योजनामा फुटवेयर जोनको अवधारणा अघि बढेको थियो । त्यसलाई नविन्द्रराज जोशी र सुनिल बहादुर थापाले समेत अपनत्व लिएर अघि बढाएका थिए । फुटवेयर जोनका लागि सरकारले बहुवर्षिय योजनामा राखेर बजेट विनियोजन गरिरहेको छ । फुटवेयर जोन स्थापनाका लागि एक सय भन्दा बढी जुत्ता चप्पल उद्योगी सहभागी भएका छन् । दक्षिणकालीको फुटवेयर जोन हटौँडापछिको दोश्रो उद्योग ग्राम हुनेछ ।
टाटा मोटर्सको ‘विंगर मिनीबस’ सार्वजनिक, मूल्य ३० लाख ८० हजार, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस” सार्वजनिक गरेको छ । ३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तीन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको टाटा मोटर्सका भिपि(प्रडक्ट लाइन एससिभि), बिनय पाठकले बताए । समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले भने, “टाटा मोटर्ससँगको हाम्रो सम्वन्ध अगस्ट १९८२ देखिको हो । यी वर्षहरूमा, टाटा मोटर्सले नेपाली बजारमा उसको स्थान विस्तार गरेको छ र सिप्रदीमा रहेर हामीले यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र विक्रीपछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्नेछौं । रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि सुबिधा प्रदान हुने कम्पनीले जनाएको छ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मद्दत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल पुनः नियुक्त
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पाैडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ ।
संसदमा सरकारी बैंकको आलोचना, सेवा प्रभावकारी भएन
काठमाडौँ । सरकारी बैंकको सेवा प्रभावकारी नरहेको नागरिक स्तरमा गुनासो थियो । यो गुनासो अब संसदमा पनि पुगको छ । शुक्रबार संसद बैठकमा सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गरिन् । उनले सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनको सेवा प्रभावकारी नभएको, नागरिकले हैरानी मात्रै पाएकाले राष्ट्र बैंकले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गरे । उनले एटिएम मेसिनमा पैसा नराखी नागरिकलाई दुःख दिने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिइन् ।
उद्योगपति दुगडको ७५ औं जन्मोत्सवमा “द रेनेसेन्स म्यान” नामक आत्मकथा विमोचन
काठमाडौं । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५ औं जन्मोत्सव पारेर “द रेनेसेन्स म्यान” आत्मकथा समेटिएको पुस्तक विमोचन गरिएका छन् । विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ । किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र १३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागि रहेका छन् । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ । के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना ग¥यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदान गर्दै आएको छ ।
संसदमा गर्जिए गगनः कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन माग
काठमाण्डौ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता दिन माग गरेका छन् । सांसद थापाले कर्मचारी समायोजन अध्यादेशका कारण देशव्यापी रुपमा कर्मचारी आन्दोलित भएको भन्दै विगतमा नै ल्याइएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । प्रदेश लोक सेवा आयोग, कर्मचारी समायोजन ऐन ल्याइएको भए हाल समस्या नआउने भन्दै उनले सरकारले कर्मचारी समायोजनमा ध्यान नदिइएकामा आपत्ति जनाए । उनले अध्यादेश फिर्ता लिएर तीन वटै तहको कर्मचारी समायोजनसम्बन्धी ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफूहरु सरकारसँग मिलेर नै काम गर्न तयार रहेकाले आवश्यक कानून ल्याउन अनुरोध गरे ।
तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं।गुरुङ जातिको नयाँ बर्ष “तमु ल्होसार” पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो। उक्त दिन गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।