करोडौंका महलमा बस्ने गरिब भेटिएनन्
गरिबको पर्खाईः इचंगुनारायणमा शहरी गरिबका लागि निर्माण गरिएका अपार्टमेन्ट काठमाडौं । ‘करोडौंका महलमा बस्ने गरिब भेटिएनन्’, झट्ट सुन्दा हासोँ उठ्न सक्छ । तर योे कटु यथार्थ हो । सरकारले करोडौं खर्च गरेर काठमाडौंमा खडा गरेका महलमा बस्ने गरिबहरु अझै फेला पार्न सकिरहेको छैन् । सहरी विकास मन्त्रालयले ११ करोड ७५ लाख खर्चेर काठमाडौंको इचंगुनारायणमा ६ वटा अपार्टमेन्ट निर्माण गरेको छ । त्यहाँ अर्काे एउटा सामुदायिक भवन पनि छ । २३२ परिवारका लागि निर्माण गरिएका यी महलमा बस्ने शहरी गरिबहरु अझै नभेटिएको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताए । ‘करोडौं खर्चेर बनाईएका अपार्टमेन्ट बर्षाैदेखि अलपत्र अवस्थामा छन्, हामीले शहरी गरिबको विवरण पठाउन गरिबी निवारण मन्त्रालयलाई पटक पटक पत्र लेखेका थियौं तर अझै विवरण आएको छैन’, मन्त्री राईले भने । उनले गरिबी निवारण मन्त्रालयले शहरी गरिबहरुको विवरण उपलब्ध गराएमा तत्कालै २३२ परिवारलाई अपार्टमेन्ट वितरण गर्ने जानकारी दिए । ‘करोडौंका भवन प्रयोग विहिन भएका छन्, हामी चिन्तित छौं, विवरण आउने वित्तिकै वितरण गर्छाै’, राईले भने । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बागमति किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापितहरुका लागि इचंगुनारायणमा आवास निर्माणको काम अघि बढाईएको थियो । तर अहिलेसम्म शहरी गरिबहरुको पहिचान नभएपछि ती भवन अलपत्र अवस्थामा पुगेका छन् ।
पर्यटकिय संस्था पनि मर्जरको बाटोमा, सोट्टो र नाट्टा एक हुने
काठमाडौं । पर्यटनका दुई संस्था सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स नेपाल (सोट्टो) र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)ले एक हुने घोषणा गरेका छन् । नाट्टाका प्रथम उपाध्यक्ष अच्चुत शर्मा गुरागाईले एकै प्रकृतिका दुई संस्था मिलेर अगाडि बढ्नुपर्ने भन्दै एकताको हात अगाडि बढाएका छन् । शनिबार राजधानीमा आयोजिन सोट्टो नेपालको ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले भने ‘हामी दुई संस्था एक भएर काम गर्दा संस्था बलियो हुने भएकोले मिलेरै जानुपर्छ । यसका लागि पहिले एकदुईवटा काम मिलेर अर्थात कार्यगत एकता गरौ त्यसपछि संस्था नै मर्ज गरौला’ शर्माले भने । ११ वर्ष पहिले नाट्टासँग केही व्यवसायीले उठाएका मुद्दालाई नाट्टाले वेवास्था गरेको र व्यवसायीबीच धु्र्रवीकरण बढेका कारण दुई संस्था भएको हो । एकै प्रकारको काम गर्ने र एउटै धरातल भएका संस्था मर्जमा जानुपर्ने आवाज व्यवसायीले यस अघि पनि उठाउदै आएका छन् । अब भने यसको वहस सतहमै आइपुगेको भने दुई संस्थाले पहिले कार्यगत एकता गर्ने र त्यसपछि एकढिक्का हुने बचनवद्धता जाहेर गरिसकेका छन् । सोट्टोको ११ वार्षिक साधारण सभाले शनिबार नै मधुु सूदन उपाध्यायको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसििमतको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्वितिय उपाध्यक्षमा मानबहादुर शाही, महासचविमा भुवनबहादुर पाण्डे चयन भएका छन् । निर्विरोधन निर्वाचित भएको सोट्टो कार्यसमिति पदाधिकारीका कोषाध्यक्षमा देवराज खनाल, सचिवमा दिनेश बस्नेत, सह कोषाध्यक्षमा भुवनदेवी महर्जन रहेको छन् । कार्यसमिति सदस्यहरूमा सविन खड्का, इन्दिरादेवी गौतम, कमलबहादुर मगर, गंगाप्रसाद गिरि, आनन्दकुमार क्षेत्री, रामस्वरुप महासेठ र कमल जिसी चयन भएको सोट्टो नेपालले जानकारी दिएको छ ।
शक्ति बस्नेतले बाचा पुरा गरे, कुशेमा पुग्यो बस
जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेका छन । मन्त्री बस्नेतले चुनावका क्रममा एक बर्षभित्र बस गुडाउने प्रतिवद्धता पुरा गरेपछि जाजरकोट कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयवासी खुशी भएका छन् । सडक निर्माणकार्य थालिएको १२ वर्ष पुग्दासम्म वर्षेनी सडक खन्दै पुर्दै गर्दा विकास नभएको भनी तीव्र आलोचना भएका बेला मन्त्री बस्नेतले पटक–पटक स्थलगत रूपमा अवलोकन गरी केन्द्रबाट पठाएको बजेट सदुपयोग र काममा निगरानी गरेपछि अहिले एक वर्षभित्र यातायात सञ्चालनमा आएको कुशेगाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपाली बताए । एक हप्तादेखि जाजरकोट कुशेगाउँपालिकाको थर्पुमा बस सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । जाजरकोट शिवालय गाउँपालिकाको छेडाचौरदेखि थलहबजार–ढुङ्गील–साँधीबिसाउना हुँदै कुशेगाउँपालिका–६ थर्पुसम्म सडक निर्माण गर्न थालिएको १२ वर्षपछि बस सञ्चालनमा आएसँगै अब यहाँको जीवनस्तर माथि उठ्ने विश्वास लिएको नेपालीले बताए । उत्पादन क्षेत्र, बाक्लो मानवबस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थललगायत स्थानसम्म छिटोभन्दा छिटो सडक पु¥याउने लक्ष्यअनुसार काम भइरहेकाले निरन्तर अनुगमनदेखि गुणस्तरसम्मका काम हेरफेर भइरहेको सांसद गणेशप्रसाद सिंहले बताए । कुशेगाउँपालिकामा सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीको भण्डारका रूपमा चिनिन्छ । जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीले थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने दिनको अन्त्य भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । रासस
सिन्धुलीको प्रादेशिक महोत्सवमा जुनार उद्योगको खोजी, जवाफ कसैले दिएनन्
कमलामाई । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सिन्धुलीमाढीमा प्रादेशिक महोत्सव २०७५ शुरु भएको छ । पुस २२ गतेसम्म चल्ने उक्त महोत्सवको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन् । महोत्सव उद्घाटन गर्न विहान पाँच बजे नै उठेर सिन्धुली हुईकेका अर्थमन्त्री उद्घाटन कार्यक्रममा धैर्यपूर्वक मध्यान्न १२ बजेदेखि ४ मञ्चमा बसेका थिए । पत्रकार महासंघ सिन्दुली शाखाका अध्यक्ष, नगरपालिकाका मेयर, प्रदेश र केन्द्रका सासद्हरु, पूर्वसांसद्हरु, प्रदेशका मन्त्री, पूर्वमन्त्रीहरु, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरु सहित करिव २ दर्जन वक्ताहरुको आलोचना र सरकारसँगको माग सुनेपछि अर्थमन्त्री खतिवडाको बोल्ने पालो आएको थियो । उनले सरकारले राम्रा काम गरेको तर आलोचना गर्नेहरु धेरै भएको बताए । सरकारले गरेका राम्रा कामको पक्षमा बोलिदिने मान्छेको अभाव भएको उनको भनाई छ । २० मिनेट बोलेका अर्थमन्त्रीले सरकारले गरेका राम्रा कामको चर्चा सँगै सिन्धुलीको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा सरकारले थालेका र शुरु गर्ने सोच बनाएका कार्यक्रमको बारेमा बताए । अर्थमन्त्री खतिवडाले राम्रो मन्तव्य राखेको थिए तर ताली बजाउने मान्छे ज्यादै कम भईसकेका थिए । पुसको दिन, साँझ पर्न लागेको थियो । उद्घाटन कार्यक्रमको शुरुमा हजारौ विद्यार्थीले चौर भरिए पनि अर्थमन्त्री बोल्ने बेलामा टाडा टाडाका स्कूलबाट ल्याइएका विद्यार्थीहरु घर फर्किसकेका थिए । चौर खाली भैसकेको थियो । ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेशको आधार’ भन्ने नाराको साथ आयोजना गरिएको प्रादेशिक महोत्सवमा बक्ताहरुले सिन्धुलीको ऐतिहासिक महत्वको बारेमा बढी चर्चा गरे । सिन्धुलीमा कृषि, पर्यटन, जलस्रोत, उद्योगको सम्भावना धेरै भए पनि त्यसको विकासतर्फ खासै काम हुन नसकेको उनीहरुले बताए । एक जिल्ला एक उत्पादन अन्तरगत सिन्धुलीमा खोलिएको जुनार प्रशोधन गर्ने उद्योग समेत नचलेको अधिकांश वक्ताले दुःख व्यक्त गरे । उद्योग वाणिज्य महासंघको वरिष्ठ सदस्य चण्डिराज ढकालले सिन्धुलीमा जुनार प्रशोधन उद्योग ल्याउन आफूले धेरै मिहेनत गरेको स्मरण गर्दै उक्त उद्योग कसरी सुचारु गर्न सकिन्छ भनेर स्थानीय समुदाय अगाडि आउनुपर्ने बताए । उक्त उद्याेगकाे बारेमा धेरैले चासाे राखे तर जवाफ कसैले दिएनन् । उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु वातावरण राम्रो भएमा सिन्धुलीमा लगानी गर्न लगानीकर्ता आउने बताए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने–‘यस मञ्चमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधिहरु हुनुहुन्छ । लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति र कार्यक्रम बनाउनुहोस्, निजी क्षेत्रले लगानी गर्छ । रोजगारी सिर्जना गर्ने, आय आर्जन बढाउने कार्यको जिम्मेवारी निजी क्षेत्रले निर्वाह गर्छ ।’ प्रादेशिक महोत्सव भनिए पनि कमलामाइको प्रदर्शनी चौरमा २५० वटा स्टलहरुले प्रादेशिक प्रतिनिधित्व गरेको देखिन्न । प्रदर्शनीमा स्थानीय कृषि, घरेलु उत्पादन, हस्तकलाका सामाग्री, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनका स्टलहरु राखिएको छ । मेलामा २५० वटा स्टल भएको, प्रतिस्टल भाडा १५ तोकिएको तर केहीले तोकिएभन्दा १÷२ हजार कममा पनि स्टल बुक भएको संघका अध्यक्ष अम्रेशचन्द्र बैद्यवारले बताए । स्टलबाट करिब ३५ लाख रुपैयाँ उठ्ने र टिकटबाट पनि करिव ३५ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । ‘आम्दानी जति धेरै खर्च पनि त्यति धेरै’ उनले भने । मेलामा स्टल राख्नेको व्यापार पनि राम्रो हुने उनको भनाई छ । महोत्सवमा व्यापार प्रवद्र्धनका साथै कला र संस्कृतिको प्रवद्र्धन हुने, विकासको बारेमा हुने वहस हुने, नीति तथा कार्यक्रम बनाउन समेत सहयोग पुग्ने आयोजकको भनाई छ ।
राष्ट्रिय सूचना-प्रविधि एवम् अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना
काठमाडौं । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको आज एक कार्यक्रमका बीच नेपाल ईन्जिनियरिङ परिषदका अध्यक्ष ईञ्जिनियर डिल्लीरमण निरौलाले उद्घाटन गरेका हुन् । सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताहरुको सहभागिता रहेको एनसिआईटी कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए । सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको राणाले बताए । एनसिआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासहरुका बारेमा सम्मेलनमा छलफल गरिएको बताए । कार्यक्रममा अन्तराष्ट्रिय सुचना तथा प्रविधि विज्ञहरुकोसमेत सहभागिता रहेको उनले जनाए । सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित् साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रिजेन्टेशन दिएका थिए । देश तथा विदेशबाट ६० भन्दा बढि ‘पेपर’ प्राप्त भएको र यसमध्थे उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत भएको थियो । मोबाइल कम्युटिगं, स्मार्ट कम्युटिगं, क्लाउड कम्प्युटिगं, ग्रिन कम्प्युटिगं, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किगं, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइीसटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले रिसर्चपेपर प्रस्तुत गरेका थिए । आइटी विद्यार्थी, सरोकारवाला र सूचना तथा प्रविधिमा अनुशन्धानरत व्यत्तिहरुको लागि यो महत्वपुर्ण प्लाटफर्म भएको एनसिआइटीका प्रिन्सिपल खकुरेलले विश्वास व्यक्त गरे । उनले भने,‘यो सम्मेलनले मुलुकको सुचना तथा प्रविधिका क्षेत्रमा फलदायी भएको छ ।
नबिकरणीय उर्जा र उद्यमशीलताबारे छलफल, नवीकरणीय ऊर्जालाई बिर्सन नहुनेमा जोड
काठमाडौँ । उद्यमशीलताको विकास गर्दा नवीकरणीय ऊर्जालाई बिर्सन नहुने आज राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को आयोजनामा आज आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चार माध्यमको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीले यस्तो बताएका हुन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्का महासचिव पदम दुलालले नवीकरणीय ऊर्जा ग्रामिण क्षेत्रमा बढी प्रयोग भइरहेको उल्लेख गर्दै गाउँमा साना तथा घरेलु उद्योगले राम्रो काम गरिरहेको बताए । उनले उनीहरुका काम कारवाहीका विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । परिसङ्घका कार्यकारी निर्देशक पूर्ण रञ्जितकारले हरेक ‘घर ऊर्जा घर, हरेक बस्ती ऊर्जा बस्ती’ हुनुपर्ने नीति सरकारले अघि सारेको बताउँदै विसं २०८५ सम्म हरेक परिवारले ऊर्जाबाट भात पकाउन सक्ने हुनुपर्ने लक्ष्य लिएको जानकारी दिए । उनले उद्योगको विकास गर्ने योजना बनाइरहँदा नवीकरणीय ऊर्जालाई समेत सँगसँगै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यक्रम अधिकृत उमेश आचार्यले राष्ट्रिय ऊर्जामा वैकल्पिक ऊर्जाको योगदान दुई दशक अघि शून्य दशमलव पाँच प्रतिशत रहेकोमा अहिले बढेर तीन दशमलव दुई प्रतिशत रहेको जानकारी दिँदै नेपाल सरकारको स्वेतपत्रले समेत प्राथमिकतामा राखेको जानकारी दिए । उनले नवीकरणीय ऊर्जामा व्यावसायिक योजनाअनुसार अनुदान दिने गरिएको बताए । जलवायु परिवर्तनलगायत विभिन्न कारणले विश्वभरिनै नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइएको बताउँदै आचार्यले अब यो वैकल्पिक नभई सधैँका लागि प्रयोग बढाउने गरी कार्यक्रम अघि बढिसकेको उल्लेख गरे । परिसङ्घका सल्लाहकार गणेश शाहले नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज) का अध्यक्ष सीताराम भट्टराईले उद्योग व्यवसायको प्रवद्र्धनका लागि सहकार्य गर्न तयार रहेको बताए । समन्वय भएमा पत्रकारितामार्फत व्यावसायिक क्षेत्रका समस्या र सफलताका कुरा बाहिर ल्याउन सहज हुने उल्लेख गरे ।
दुई लाख बढी घरेलु तथा साना उद्योगमा २४ लाखलाई रोजगारी
काठमाडौँ । नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा रहेका बताए । कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभएपनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेका महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले जानकारी दिए । नेपालमा सञ्चालित उद्योगमा कूल ३५ हजार ३०० करोड लगानी रहेको भन्दै महासङ्घका कर्याकारी निर्देशक भट्टराईले घरेलु उद्योगको विकासमा सरकारको कम ध्यान पुगेको बताए । विसं २०४७ मा सङ्घको रुपमा स्थापना भएको संस्था २०५३ सालमा महासङ्घ बनेको थियो । महासङ्घका ३५ हजार सदस्य रहेका छन् । महिला मात्रै ११ हजार छन् । उत्पादनमूलक सहकारी एशोसिएट सदस्य हुने व्यवस्था र १९ वस्तुगत सङ्घ रहेका जनाइएको छ । औद्योगिक व्यवसाय ऐन २०६३ अनुसार पाँच लाख पूँजी र नौ जना कामदार भएका तथा २० किलोवाट भन्दा कम विद्युत् खपत गर्ने उद्योग यसमा पर्छन् । घरेलु उद्योगमध्ये सेवामूलक उद्योगमा ४५ प्रतिशत रहेका कार्यकारी निर्देशक भट्टराईले बताए । ऊर्जा र सञ्चार क्षेत्रमा भने न्यून लगानी छ । सबैभन्दा बढी प्रदेश नं ३ मा ३७ प्रतिशत उद्योग सञ्चालनमा छन् । प्रदेश नं ५ मा १७, प्रदेश १ मा १४, प्रदेश ४ मा ९ सुदूरपश्चिममा ६ र गण्डकी प्रदेशमा ९ प्रतिशत उद्योग सञ्चलालनमा छन् । अमेरिकाले नेपालका ७७ वस्तुमा सन् २०२५ सम्म भन्सार नै नलिने घोषणा गरेको जानकारी दिँदै उनले अहिले पश्मिनालगायत न्यून मात्रै वस्तु निर्यात भइरहेको बताए । महासङ्घले साना तथा घरेलु उद्योगको लगानीको वातावरण प्रभावकारी हुन नसकेको बताएको छ । कर्जा लिनदेखि विभिन्न काममा साना उद्योगीलाई समस्या परिरहेको महाङ्घको भनाइ छ । महासङ्घका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि साना तथा घरेलु उद्योगको विकास जरुरी हुने औंल्याउँदै ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नारालाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए । “साना तथा घरेलु उद्योगीलाई वित्तीय पहुँच नहुनु ठूलो समस्या छ”, प्रजापतिले भने, “ऋण पाउन र व्यापार प्रवद्र्धनमा समेत हामी सक्तनौं, समस्यामा पर्छौं ।” उद्योगमा सिप र दक्ष कामदारको सधै अभाव रहने गरेको महासंघको भनाई छ । नेपाल नविकरणीय उर्जा परिसंघका सल्लाहकार तथा पुर्व मन्त्री गणेश शाहले देशलाई परनिर्भरताबाट स्वावलम्वी बनाउन उद्यमशिलताको विकास जरुरी रहेको औंल्याए । नयाँ प्रविधिको विकाससँगै प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिंदे शाहले दाता आउँदा खुसी हुने नभई रोजगारदाता आउँदा खुसी हुने अबस्था सिर्जना गर्नु पर्नेमा जोड दिए ।
ऊर्जामन्त्रीलाई प्रश्न-लालपूर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन्
काठमाडौँ । ‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपूर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा सुन्नुहुन्छ र समस्याको समाधान गर्न पहल गर्नुहुन्छ भन्ने सुनेका कारण आफूले फोन गरेको बताउँदै राइनले आफ्नो समस्याको पोको फुकाए । उनले भने ‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने नै हो र ?’ राइनले त्यतिमात्रै भन्नु भएन गाउँपालिकाका पदाधिकारीले स्थानीय तहको निर्वाचनमा भोट नदिएको भनेर जानाजान छुटाएको समेत गुनासो गरे । अन्यत्र बसोबास गर्ने स्थान र आफ्नो नाममा जग्गा नभएका कारण सार्वजनिक जग्गामा बस्दै आएको राइनको भनाइ थियो । उनले भने, ‘पुर्खादेखि बस्दै आएको जग्गा छाडेर कहाँ जाऊ कहीँ कतै पनि हाम्रो आफ्नो भन्ने जग्गा छैन । के हामीले बिजुली बाल्नै नपाउने हो त ?’ राइनले मन्त्री पुनलाई आफ्नो कुरा मात्रै सुनाउनु भएन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । पछिल्लो पटक सरकारले लालपूर्जा नभएकालाई समेत विद्युतको मिटर उपलब्ध गराउने व्यवस्था गरेको छ । जग्गाधनी प्रमाणपत्र नै नभएकालाई समेत मिटर उपलब्ध गराउने निर्णय तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । सोही निर्णयका आधारमा प्राधिकरणले भूमिहीन र सुकुम्बासीलाई समेत मिटर उपलब्ध गराउँदै आएको भए पनि केही जिल्लामा लालपुर्जा नभएकालाई मिटर दिइँदैन । महोत्तरीका राइनको गुनासो सुनेपछि मन्त्री पुनले भने, ‘तपाईँले मिटर पाउनुहुन्छ । त्यसको आवश्यक व्यवस्थाका लागि महोत्तरी वितरण केन्द्रलाई आवश्यक निर्देशन दिन्छौँ । वितरण केन्द्रमा सम्पर्क राख्नुहोला र मिटर पाए नपाएको खबर गर्नुहोला ।’ मन्त्री पुनको उत्तर सुनेपछि राइनले खुशी हुँदै भन्नुभयो-मन्त्रीज्यू यहाँलाई धेरैधेरै धन्यवाद छ । हरेक शुक्रबार मन्त्री पुनले पैसा नलाग्ने फोन नम्बर ११५१ मा नागरिकका गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने गर्दै आउनु भएको छ । सोही क्रममा मन्त्री पुनले शुक्रबार देशका विभिन्न स्थानका १२ जनासँग संवाद गरे । सप्तरी कृष्णसार गाउँपालिकाका सञ्जीवकुमार चौधरीले पनि मन्त्री पुनलाई आफ्नो गुनासो सुनाए । उनले प्रसारण लाइनको टावर निर्माण भइरहेका कारण ४० वर्ष पुराना आँपका रुख काट्नुपर्ने अवस्था आएकाले त्यसको क्षतिपूर्ति पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा राखे । यस्तै चौधरीले बाङ्गोटिङ्गो हुने गरी गाडिएका वितरण लाइनका पोल सिधा पार्न पटकपटक प्राधिकरणको स्थानीय कार्यालयलाई भने पनि त्यसको सुनुवाइ नभएकोमा मन्त्री पुनसमक्ष गुनासो गरे । बूढानीलकण्ठका सञ्जीव कुइँकेलले बूढानीलकण्ठ–१३ को नयाँ बस्ती नजिक वितरण लाइनका लागि पोल गाड्नका लागि निवेदन दिएको तर तोकिएको स्थानमा पोल नगाडी अन्यत्रै गाडेको भन्दै समस्या समाधान गरिदिन आग्रह गरे । यस्तै धादिङ धुनीबेँसीका समरबहादुर सार्कीले भने मस्र्याङ्दी काठमाडौँ प्रसारण लाइनको एउटा टावर सार्न प्राधिकरणलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै समस्या समाधान गरिदिन आग्रह गरे । सिन्धुली तिनपाटन गाउँपालिकाका छत्रबहादुर रानाले २०७२ सालमा नै विद्युतको पोल गाँडेको भए पनि हालसम्म विद्युतीकरण हुन नसकेको र प्राधिकरणको स्थानीय कार्यालयले ध्यान नदिएको बताए । रानाको गुनासो सुन्ने बित्तिकै मन्त्री पुनले सिन्धुली वितरण केन्द्रलाई तत्काल निर्देशन दिए र समस्या समाधानका लागि पहल गरिहाल्न समेत आग्रह गरे । सामाखुशी बालाजुका शिव दुवाडीले हरेक दिनजस्तो झ्याप्प झ्याप्प विद्युत् काटिने समस्याका कारण व्यापार व्यवसाय गर्नसमेत समस्या भएको बताए । मन्त्री पुनले बालाजु वितरण केन्द्रका प्रमुखलाई समस्या समाधान गर्न निर्देशन दिने जानकारी गराए । दाङका अर्जुन केसीले समयमा नै मिटर रिडिङ नभएको, हरेक दिनजस्तो एकाध घण्टा विद्युत्भार कटौती हुने गरेको गुनासो गरे । मकवानपुर भीमफेदीका बुद्धिराज सिँजाली मगरले केही थान पोल आवश्यक परेकाले प्राधिरणको स्थानीय वितरण केन्द्रमा निवेदन दिएको भए पनि सुनुवाइ नभएको समस्या राखे । कञ्चनपुरका देवराज जोशीले महाकाली नदीमा जलयात्रा सञ्चालनका लागि पहल गर्न मन्त्री पुनको ध्यानाकर्षण गराए । मन्त्री पुनले सबैको गुनासोलाई उचित सम्बोधन गरिने प्रतिबद्धता जनाए । नागरिकका गुनासा सुन्ने र त्यसलाई समाधान गर्ने लक्ष्यका साथ नियमित रुपमा नै हरेक शुक्रबार एक घण्टा मन्त्री पुन हटलाइनमा उपस्थित हुने गरे । सार्वजनिक कार्यक्रम पर्दा वा मन्त्रालयको काम विशेषले उपत्यका बाहिर रहँदा मात्रै नियमित हुन नसकेको भए पनि त्यसलाई नियमित गराउन लागिपरेको बताए । नागरिकका कस्ता समस्या छन्, त्यसको समाधानका लागि के कस्तो पहल गर्नुपर्छ भन्ने जानकारी हटलाइनबाट प्राप्त गर्न सकिने भएकाले यसलाई नियमित रुपमा अगाडि बढाउने सोचमा मन्त्री पुन छन् । रासस