विकासन्युज

‘बजाज न्यू इयरको क्यूआर’ सार्वजनिक, १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरी क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत पुरस्कार जिताउने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन्।  हरेक दिन सहभागीहरूमध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्न सक्नेछन् । साथै बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् ।  कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्ने कम्पनीले जनाएकाे छ । बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ । ग्राहकहरूले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरू जित्न सक्नेछन् । नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ । 

सभामुखमा अर्याल निर्विरोध निर्वाचित, आजै शपथ

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् । आइतबार (आज) बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । गत शुक्रबार सभामुख पदमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।   सभामुख अर्यालको शपथग्रहण आजै हुँदैछ । आज दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।   शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।

सहचालकले बस ब्याक गर्दा ...

चितवन । बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका–३ नगरवन  सडकछेउमा बस्ने १० वर्षीय इरेस घोस्ले रहेका छन् । नगरवन मार्गमा बाप्र०६००१ख ०४९२ नम्बरको बस गए राति सहचालकले पार्किङका लागि पछाडि सार्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते घोस्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र सहचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

बुद्धभुमी नेपाल हाइड्रोको ४० करोडको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । चैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अब २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम स्थानीयले ७ हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

काठमाडौं । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई  पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी लिई निर्माण व्यवसायीबाट पेस भएको ‘स्पेसिफिकेसन’सहितको ‘डिजाइन’ तेस्रो पक्षको विज्ञबाट जाँच भएकाले निर्माण अगाडि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले बताए । घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए । गत निर्वाचनताका सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेका थिए ।  पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले पुल निर्माण नहुँदा यस भेगका जनताले सास्ती खेपिरहेको बताए । घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडासँग पहिलोपटक वि.सं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि वि.सं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकोमा २०७८ साल चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ साल असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका-१ निर्मल नगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास-१३ र १४, बन्दीपुर-६, आबुखैरेनी-५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन-नारायणगढ सडकमा जोड्ने घुमाउने घाटमा पुल निर्माण थालिएको थियो । तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत ९ करोड ५६ लाख रूपैयाँ थियो । 

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति, ८० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका-३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर-बरङ्जा सडकको पखेर-आलडाँडा खण्ड स्तरोन्नति भएको हो । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत ३ किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०/८१ देखि पखेर-बरङ्जा-३ र ४ हुँदै महेश-धापुङ-ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो ।  निर्माण कम्पनीले वि.सं २०८१ असारमा ५ करोड ८६ लाख ३ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको योजना निर्धारित समयभित्रै सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले बताए । ‘१८ महिनाको ठेक्का अवधि भएको यो योजनाको लक्ष्य अनुसारको भौतिक प्रगति भएको छ । बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा वित्तीय प्रगति भने कम छ,’ उनले भने । वि.सं २०६६ मा मार्ग खुलेको यो सडकलाई ७ मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ । बरङ्जा खर्कटोलका मिलन रोकाका अनुसार यसअघि तीनदेखि ३.५ मिटर फराकिलो कच्ची सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । ‘यसअघि जिप, ट्याक्सी र ट्रयाक्टर मुस्किलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन् । बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको छ,’ उनले भने ।  भिरालो पाखाको घुम्तीमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जादेखि थामडाँडा-सुर्केमेला हुँदै बेनी जोड्ने घुमाउँरो कच्ची सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताए । सडक स्तरोन्नति भएकामा बरङ्जावासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताए । ‘अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकामा खुसी छौँ । पखेरदेखि झाँक्रीपानीसम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो,’ उनले भने ।  बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने रणनीतिक महत्वको यस सडकलाई स्तरोन्नतिका लागि प्राथमिकता दिएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । चालु आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको यस योजनाका निर्माण व्यवसायी जीवन रोकायाले ८० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए । निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरहरूलाई ज्याला दिन समस्या भएको उनले गुनासो गरे । रासस