विकासन्युज

मेगा नीतिः रणनीतिक साझेदार र आक्रामक बजार विस्तार

काठमाडौं । मेगा बैंकले विदेशी लगानीकर्तालाई रणनीतिक साँझेदारका रुपमा भित्र्याउने र आक्रामक बजार विस्तारको रणनीति अघि सारेको छ । बैंकले रणनीतिक साँझेदार मार्फत पुँजी, प्रबिधि भित्र्याउने र आक्रामक बजार विस्तार गर्ने योजना बनाएको हो । पञ्च वर्षीय योजनाको दोश्रो वर्षमा कुदिरहेको बैंकले तीन वर्ष पछि ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाउने लक्ष्य तय गरेको छ । गत आर्थिक वर्ष अर्थात २०७४/७५ मा बैंकको नाफा एक अर्ब ३१ करोड रुपैयाँ नाघेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशत बढी हो । अघिल्लो वर्ष २०७३/०७४ मा बैंकले ७९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्नो नाफा १४४ प्रतिशतले वृद्धि गरी ३ अर्ब २० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड ४५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९४ प्रतिशत बढी हो । गत असाेज मसान्तसम्म बैंकको कूल निक्षेप ६६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा ६२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । रणनीतिक योजनाको अवधिमा बैंकले ऋण र निक्षेपलाई २००/२०० प्रतिशत बढाएर २८ वाणिज्य बैंकमध्ये १५औँ स्थान ओगट्ने लक्ष्य लिएको छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेर २०७५ बैशाख ३० गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो । टुरिजमलाई गाभेपछि बैंकको व्यवसायको आकार, पुँजीगत आधार, शाखा सञ्जाल, ग्राहक संख्या र प्रतिस्पर्धी क्षमतामा वृद्धि भएको छ । त्यसका साथै, २८ वाणिज्य बैंकमध्ये पुँजीका आधारमा मेगा दोश्रो ठूलो बैंक हो । त्यस्तै, बैंकले व्यवसाय र मुनाफामा उच्च वृद्धि हासिल गरेको छ । एनपीएल(गैर प्रदर्शनकारी ऋण) एक प्रतिशतको हाराहारीमा रहेको छ । पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य पुरा गर्न कम्पनीले दर्जनौँ चुनौतीहरुको सामना गर्नुपर्ने देखिन्छ । निरन्तर बढीरहेको कष्ट अफ फण्ड, घटिरहेको प्रतिसेयर आम्दानी र प्रतिसेयर लाभांश, गैर ब्याज आयको न्यूनता जस्ता चुनौती बैंक सामू छन् । बैंकले लगानी योग्य पुँजीको अभाव, ब्यादरमा भइरहेको तीव्र प्रतिष्पर्धाको चुनौतीलाई पनि चिर्नु पर्ने छ । छोटो समयको नाफालाई निरन्तरता दिँदै बैंकले कम्पनीको दिगो वृद्धिलाई बढी जोड दिनुपर्ने देखिन्छ । बैंकले व्यापार प्रवद्र्धनमा विशेष जोड दिँदै एनपीएको समुचित व्यवस्थापन गरी कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार परियोजना लगायतका क्षेत्रहरुमा थप लगानी गर्ने योजना बनाएको छ । “हलो देखि हाइड्रोसम्म”को नारामार्फत २०६६ सालमा स्थापना भएको बैंकले उर्जा र पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको छ । फाईभ स्टार बैंकिङ्को अवधारणामा आएको बैंकमा महिला प्रमुख कार्यकारी अधिकृतले नेतृत्व गरिरहेकी छिन् । बैंकले महिला मात्रै कर्मचारी रहेको शाखा सञ्चालन गरिरहेको छ । सामाजिक उत्तरदायित्वमा पनि बैंकले आफूलाई अब्बल साबित गर्दै आइरहेको छ । बैंकले शिक्षा क्षेत्रलाई विशेष जोड दिँदै “गर्ल चाइल्ड एजुकेसन” नामक कार्यक्रम संचालन गर्दै छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक शाखाबाट एक/एक जना नारीलाई निःशुल्क शिक्षा प्रदान गर्ने योजना बनाएको छ । १०२ वटा शाखा रहेको बैंकले १०२ जना चेलीहरुलाई १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा महिलाहरुको स्तन क्यान्सरको चेक जाँच तथा निःशुल्क स्वास्थ्य उपचार, आँखा शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने छ । यस्ता कार्यक्रमहरु मार्फत बैंकले नागरिकसँगको सम्बन्धलाई सुमधुर बनाई व्यवसाय विस्तारमा समेत जोड्ने प्रयास गरिहेको देखिन्छ । बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि र सुशासनका लागि “मेगा लर्निङ्ग” सेन्टर सञ्चालन गर्दै छ । सेन्टरको माध्यमबाट कर्मचारीलाई तालिम, सेमिनार, अन्तर्क्रियामा सहभागि गराएर गुणस्तरीय सेवा प्रदान गर्ने प्रकृया अघि बढाएको छ । दीर्घकालिन लगानी बढाउँदै बैंकले आफ्नो लगानीलाई दीर्घकालिन प्रकृतिका क्षेत्रमा समेत विस्तार गरिरहेको छ । रेमिट्यान्स कम्पनी, ब्रोकर कम्पनी र मर्चेन्ट बैंकिङमा हात हालिसकेको छ । बैंकले मेगा रेमिटको सञ्जाललाई विदेशमा समेत विस्तार गर्दै व्यवसायमा विविधिकरण गर्दै जाने बताएको छ । बैंकले सेयर ब्रोकर कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । बैंकले “मेगा सेयर क्यापिटल” नामको मर्चेन्ट बैंकिङ कम्पनी खोल्ने प्रक्रिया पनि अघि बढाएको छ । २० करोड चुक्ता पुँजीको कम्पनीले बैंकको आम्दानीको दायरा बढाउने अपेक्षा गरिएको छ । रोजगारीका अवसरहरु सृजना गर्ने उत्पादनमूलक व्यवसाय र क्षेत्रहरुमा लगानी वृद्धि गर्ने बैंकको नीति रहेको छ । साथै, नेपाल सरकारको राष्ट्रिय ढुकुटीलाई मजबुत बनाउन सुशासन र कर भुक्तानीमा थप योगदान दिने कम्पनीले बताएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थातर्फ मेगाले सबैभन्दा बढी कर तिरेको थियो । बैंकले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सम्पत्तिको रुपमा लिई मानव संसाधनको शीप, दक्षता एवं नेतृत्व सक्षमता बढाउने कृयाकलापहरुलाई उच्च प्राथमिकता राखेको छ । बैंकले “मेगा संस्कृति” नामक नयाँ कार्यक्रम संचालन गर्दै छ । जसले कर्मचारीहरुमा संस्थाप्रतिको अपनत्वको भावना, मूल्य र मान्यतालाई अनुसरण गर्ने वातावरण सृजना गर्नेछ ।

एसइई कक्षा १० को परीक्षा चैत्र १० गते देखि सुरु हुने (तालिकासहित)

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ। सार्वजनिक गरेको सूचना अनुसार आगामी यहि चैत्र १० गते देखि सुरु हुने भएको छ । समयतालिका तल हेर्नुहोस् !  

स्मार्ट काठमाडौंमा अब ट्वाइलेट पनि स्मार्ट, गठन भयो कार्यदल

काठमाडौं । स्मार्ट काठमाडौं बनाउने घोषणा गरेका मेयर विद्या सुन्दर शाक्यले अब ट्वाईलेट पनि स्मार्ट बनाउने भएका छन् । स्मार्ट ट्वाईलेट निर्माण तथा सञ्चालनका लागि महानगरमा आइतबार २ वटा कार्यदल गठन भएका छन् । महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा बसेको “अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति”ले कार्यदल गठन गरेको हो । यीमध्ये प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्नेछ भने सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेको संयोजकत्वमा गठित समितिले शौचालय निर्माणका लागि स्थान पहिचान गर्ने र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्नेछ । डंगोलको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजस्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख बसन्त आचार्य र कानुन महाशाखाकी शाखा अधिकृत शरि वाग्ले सदस्य छन । त्यस्तै काफ्लेको अध्यक्षतामा गठित कार्यदलमा निर्देशक रविनमान श्रेष्ठ, इञ्जिनियरहरु निर्मलराज बराल, निशा कोइराला र प्रमिला पराजुली सदस्य छन । नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको अधिकार सम्पन्न समिति गठन गरेको छ । यस समितिमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्न सक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पूरा गराउने क्रममा यही समितिले कार्यदल गठन गरेको हो । २०७४ सालको स्थानीय निर्वाचन हुनुअघि महानगरले सडक विभागसँगको समन्वयमा ४० ठाउँमा शौचालय निर्माण गर्ने तयारी गरेको थियो । सडक विस्तारका क्रममा पहिचान गरिएका स्थानको अवस्था परिवर्तन भएकोले तत्काल काम अघि बढेको थिएन । पछि जनप्रतिनिधिको वहाली भइसकेपछि शौचालय निर्माण तथा सञ्चालन गर्ने ठाउँको पहिचान जनप्रतिनिधिमार्फत गराउनु पर्ने भएकोले पनि काम अघि बढ्न सकेको थिएन ।

अब बैंकका डेपुटी सीईओलाई पनि कुलिङ पिरियड

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका डेपुटी सीईओमाथि पनि कुलिङ पिरियडको प्रावधान राखेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन इ.प्रा. निर्देशन नं ६ को बुँदा नम्बर २० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको जनाएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतलाई मात्र त्यस्तो व्यवस्था थियो । त्यस्तै एउटा कार्यकालमा सञ्चालक छाडेका जोकोहीले पनि सोही कार्यकालमा सञ्चालक हुन नपाउने तथा छ महिनासम्म अर्को कम्पनीको सञ्चालक हुन नपाउने व्यवस्था संशोधन गर्दै पहिलो व्यवस्था मात्रै कायम गरेको छ । त्यस्तै, प्रमुख कार्यकारी छाडेको छ महिनासम्म सोही कम्पनीको सञ्चालक बन्न समेत नपाउने व्यवस्था गरिएको छ । यद्यपि समस्याग्रस्त संस्थाको हकमा भने समस्याग्रस्तबाट मुक्त भएको २ बर्षसम्म सो नियम लागु नहुने समेत राष्ट्र बैंकले स्पष्ठ पारेको छ ।

वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी सिफारिस

काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्ति आयोगका अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । आइतबार बसेको परिषद बैठकले समावेशी आयोगमा पुर्व अर्थ सचिव शान्तराज सुवेदीलाई सिफारिस गरेको हो । पौडेलले यस अघि स्थानीय तह पुनंसरचना आयोगको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी स्थानीय स्वशासनका विज्ञ मानिन्छन् । यसैबिच समावेशी आयोगमा सिफारिस भएका सुवेदी पुर्व अर्थ सचिव हुन् । मधेशी आयोगको अध्यक्षमा डा. विजय कुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद थारु र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको हो ।

धनगढीमा टाटाको नयाँ उत्पादन एनआरजी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकलमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ । रावत कन्सर्न प्रालि मार्फत सो नयाँ उत्पादन सार्वजनिक गरिएको हो । ग्राहकहरुको बढ्दो आकांक्षालाई ध्यान दिंदै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरु गरेको हो । जसलाई नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल(सियुभी) को रुपमा राखिएको छ । १.२ लिटरको रिभोट्रोन इञ्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिशनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । मालावार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रुप रेल पनि हुने जनाइएको छ । आइतबारदेखि नै बिक्री शुरु गरिएको टाटा एनआरजी धनगढीको शोरुममा पेट्रोल संस्करण २९.५५ लाखको शुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीले द्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।  

बारामा वोमी माइक्रोफाइनान्सले शुरू गर्याे पशुपालन तालिम कार्यक्रम

काठमाडौं । बारा जिल्लामा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पशुपालन तालिम कार्यक्रम सञ्चालन गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित जैतापुरमा २७ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । पशुपालन तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकास प्रसाद दाहाल तथा प्रभातकुमार यादवले बताएका छन् । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बारा जिल्लामा सिमरा तथा परवानीपुर गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

नेपालको सिटिजन्स र भारतको एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । नेपालको सिटिजन्स बैंक र भारतको एक्सिस बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम  एक्सिस बैंक लिमिटेड मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभरका ८१ वटा शाखाहरुबाट प्राप्त गर्न सक्ने भएका छन् । सिटिजन्स बैंकसँग यस अघि कतारको दोहा बैंक, यू.के कोक्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसंग सम्झौता गरि विप्रे्रषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणाली मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ । यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइएमई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट,सिजिमनिर मुक्तिनाथ रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।