विषादी खरिदमा ९२ करोड नेपाली रुपैयाँ बिदेशियो, आयात घट्दो क्रममा !
काठमाडौँ । स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रासायनिक विषादी आयात हुँदा गत आर्थिक वर्ष २०७४/०७५ मा ९२ करोड नेपाली रुपैयाँ विदेशिएको छ । तर, अघिल्लो वर्षको तुलनामा विषादी आयात घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३३ लाख १२ हजार ९१७ रुपैयाँको विषादी नेपाल आएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ९२ करोड ४५ लाख ३५ हजार ६२२ रुपैयाँको विषादी भित्रिएको थियो । दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विषादी आयात ७८ करोड ७७ लाख ७ हजार २९५ रुपैयाँले घटेको हो । नेपालमा नै विषादी कारखानाबाट हुने उत्पादन बढेको र विषादीको प्रयोग घटाउनु पर्छ भन्ने जनचेतना बृद्धि हुँदै जानु आयात घट्नुको कारण भएको बताइएको छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा अरु देशको तुलनामा सबैभन्दा धेरै भारतबाट विषादी भित्रने गरेको छ । भारतबाट ८५ करोड ७९ लाख ९३ हजार ६७८ रुपैयाँको २९ लाख ५१ हजार ७०४ केजी विषादी आयात भएको छ । त्यसैगरी चीनबाट ५ करोड ६६ लाख ४२ हजार ६०३ रुपैयाँको ९३ हजार ८९३ केजी, उतर कोरियाबाट ५७ लाख २४ हजार ५७२ रुपैयाँको २ हजार ३९ केजी, साउदी अरवबाट ५ करोड १६ लाख ८९ हजार ९७८ रुपैयाँको ३८७ केजी, थाइल्याडबाट १२ लाख ११ हजार ९२३ रुपैयाँको २५० केजी र बेलायतबाट १२ लाख ६५ हजार ९२ रुपैयाँको १५० केजी विषादी नेपाल आएको थियो । यसैगरी, आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ३३ लाख १२ हजार ९१७ रुपैयाँको विषादी नेपालमा आएको छ । अघिल्लो आर्थिक वर्षमा पनि सबै भन्दा धेरै भारतबाट नै विषादी नेपालमा आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसरी नेपालमा भित्रिएका विषादी तरकारी र फलफूल बालीलाई किराबाट जोगाउनका लागि प्रयोग गरिन्छ । बी एण्ड बी अस्पतालका डा. प्रकाशराज न्यौपानेले नेपालमा विषादीको प्रयोगले बिकराल रुप लिइरहेको बताए । कृषि उपजलाई चाँडै उत्पादन गर्न र हेर्दा राम्रो देखाउनका लागि पनि विषादी प्रयोग गर्ने गरिएको उनले बताए । तरकारी तथा फलफूलमा गलत तरिकाले जथाभावी विषादी प्रयोग भइरहेको उनले बताए । औषधी बेच्न लाइसेन्स चाहिने, तर विषादी बेच्न सबैले पाउने भएकाले पनि जथाभावि प्रयोग भैरहेको डा. न्यौपानेले बताए ।
गुह्येश्वरी मर्चेन्टको नाफा ३ करोड ३४ लाख, सबै सूचक सुधारात्मक
काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैंया खुद मुनाफा कमाएको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले नाफा बढाएर सो आकारमा पुर्याएको छ । फाइनान्सले पुस मसान्तसम्म कुल ३२ अर्ब ९६ करोड निक्षेप संकलन गरी ३९ अर्ब ३ करोड रुपैंया कर्जा प्रवाह गर्दा उक्त फाइनान्सको सीसीडी अनुपात ६८.३० प्रतिशतमा सीमित भएको छ । यो अनुपात भनेको फाइनान्सले अझै ठूलो मात्रामा मर्जा लगानी गर्नसक्ने अवस्था हो । उक्त अवधिमा फाइनान्सले ७ करोड ४५ लाख रुपैंया खुद ब्याज आम्दानी गर्दा ५ करोड ५८ लाख रुपैंया बराबरको प्रशासनिक खर्च गरेको छ । फाइनान्सको पुँजी पर्याप्तता अनुपात २६.४० प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड १०.३४ प्रतिशत, आधार ब्याजदर १२.७६ प्रतिशत र ब्याजको स्प्रेडदर ४.८१ प्रतिशत रहेको छ ।
गुडविल फाइनान्सको साधारण सभा चैत १० मा, ५.२६ % नगद लाभांश वितरण गरिने
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था) को २४ औँ वार्षिक साधारण सभा चैत १० गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको माघ ६ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाको लागि कम्पनीको शेयर नामसारी दाखिल खारेज गर्ने मिति माघ २७ देखि फागुन १० गतेसम्मका लागि बन्द गर्ने निर्णयपनि गरिएको छ । ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको साधारण सभामा ५.२६३ प्रतिशतका दरले ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिने छ । साधारण सभाले अध्यक्षको प्रतिवेदन छलफल सहित पारित गर्ने कम्पनी सचिव स्वयम्भु शाक्यले जनाएका छन् ।
चिनियाँ टेलिभिजन बिक्री घट्यो, सन् २०१८ प्रतिकूल
वेइजिङ, चीन । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ । तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) का अनुसार चीनमा टेलिभिजन सेटको बिक्रीमा सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.६ प्रतिशतको गिरावट आएको छ । उक्त संस्थाले टेलिभिजन विक्रीबाट भएको औषत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको जनाएको छ । सन् २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजनउत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । चिनियाँ भिडियो उद्योग संगठनका उप–महासचिव पेङ जियानफेङले भने, “घरेलु प्रयोजनका लागि गत बर्ष चिनियाँहरूले ४७ करोड ७४ लाख टेलिभिजन खुद्रारूपमा किनेका थिए । यो अघिल्लो बर्षको तुलनामा शुन्य दशमलब पाँच प्रतिशतको वृद्धि हो ।” यसैबीच सन् २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको र यो अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो । चीनले अर्थतन्त्रमा योगदान गर्नका लागि चीनले कार तथा घरायसी सामानहरूको विक्रीलाई प्रोत्साहन गरेको र यी सामानको उपयोगमा वृद्धि गरेको थियो । रासस÷सिन्ह्वा
काठमाडौं महानगरपालिकाले ८ वटा आकाशे पुल बनाउने, लागत १३ अर्ब
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । यस आर्थिक वर्षमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई स्थानमा मात्रै पुन निर्माणको तयारी गर्नेछ । आगामी दिनमा निर्माण गरिने सबै पुल आवश्यकता अनुरूप एक स्थानबाट अन्यत्र सहजै स्थानान्तरण गर्न सकिने किसिमको हुनेछ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् । कामपाले चालू आव २०७/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो । टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना रहेको छ । सवारी साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । अब निर्माण गरिने पुलमा विज्ञापन राख्न नपाइने कामपाले जनाएको छ । कामपाभित्र सुन्धारा, नयाँ सडक, वीरअस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण रहेको जनाएको छ ।
बैंकको पदचाप पछ्याउँदै एनआईसी एशिया लघुवित्त, प्रतिशेयर आम्दानी २३ रुपैंया माथि
काठमाडौं । एनआइएसी एशिया बैंकले उत्साहप्रद वित्तीय विवरण गरेको एनआईशी एसिया बैंकको सहायक कम्पनी एनआईशी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आश्चर्यजनक प्रगति हासिल गरेको छ । उक्त अवधिमा लघुवित्तले कुल ५ करोड ७७ लाख भन्दा बढी मुनाफा कमाएको छ । यो आकार अघिल्लो त्रैमासको तुलनामा १९१ प्रतिशतले बढी हो । असोज मसान्तमा लघुवित्तको नाफा १ करोड ९७ लाख थियो भने अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त २३ हजार रुपैंयाले घाटा थियो । लघुवित्तले कमाएको उक्त नाफाको आधारमा प्रतिशेयर आम्दानी २३ रुपैंया ५५ पैसा रहेको छ । उक्त अवधिमा लघुवित्तले ३ अर्ब १३ करोड रुपैंया कर्जा प्रवाह गर्दा बचतकर्ताबाट २७ करोड ९३ लाख संकलन गरेको छ । अघिल्लो वर्ष नकारात्मक रहेको लघुवित्तको रिजर्भ समेत ५ करोडले सकारात्मक देखिएको छ ।
तेस्रो त्रैमासको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, आधारदरसँगै ऋणकाे ब्याजदर ‘घट्दै’
काठमाडौं । दोस्रो त्रैमासको वित्तीय विवरणसँगै बैंकहरूले आधार ब्याजदर र बचत तथा ऋणमा नयाँ ब्याजदर तालिका सार्वजनिक गर्न थालेका छन् । निक्षेपमा १ महिना अघि नै ब्याजदर घटाए पनि कर्जाको ब्याजदर घटाउन आधार ब्याजदरको गणना आवश्यक भएपछि बैंकहरुले त्यस्तो व्याजदर घटाएका थिएनन् । तर पुस मसान्तसम्मको बैंकहरुको कारोबार एवं गतिविधिका आधारमा आर ब्याजदर तय भएसँगै ऋणको ब्याजदर घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गर्न चालेका हुन् । वाणिज्य बैंकहरुले ३/३ महिनामा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने प्रावधान छ । कर्जाको ब्याजदर गणनामा आधार ब्याजदर र लोनको प्रकृति अनुसारको प्रिमियम दरलाई लिने गरिन्छ । बैंकहरुले आधार ब्याजदर मासिक रुपमा प्रकाशन गर्नुपर्ने भए पनि त्रैमाससको अन्तिमको ब्याजदरले ऋणको दरलाई प्रभावित गर्ने भएकोले यसलाई बढी महत्वपूर्ण मानिन्छ । सोमबार कुमारी बैंक, सनराइज बैंक, सानिमा बैंक, सिभिल बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक लगायतले दोस्रो त्रैमासको अन्त्यको वित्तीय अवस्थाका आधारमा आधार ब्याजदर निर्धारण गरी ऋणमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यस्तै आइतबारमात्रै एभरेष्ट बैंक र एसबीआई बैंकले पनि आधार ब्याजदर सहित नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । अघिल्लो त्रैमास र यस त्रैमासको आधारमा आधार ब्याजदर सबैभन्दा बढी घटाउनेमा सानिमा बैंक अघि देखिएको छ । अघिल्लो त्रैमासको अन्त्यमा १०.५५ प्रतिशत रहेको बैंकको बेसरेट यस दोस्रो त्रैमासको अन्त्यमा ९.७५ प्रतिशत कायम भएको छ । त्स्तै सेञ्चुरी बैंकले ०.७२ प्रतिशत, सिटिजन्स बैंकले ०.६८ प्रतिशत, नेपाल एबीआईको ०.६१ प्रतिशत, एभरेष्ट बैंकको ०.५९ प्रतिशत आधारदर घटेको छ । मेगा, सिभिल कुमारी बैंकको भने सो दर बढेको छ जसले गर्दा ती बैंकका ऋणीहरुको ब्याजदर अझै महँगो बनेको छ । यद्यपि अधिकतम स्प्रेडदरलाई कायम गर्दै कर्जाको ब्याजदरमा लिने प्रिमियम दरलाई समेत समायोजन गर्न वाणिज्य बैंकहरुलाई छुट छ ।
विश्वभरि दुर्लभ चन्द्रग्रहण, यसरी हेर्नुहोस् ‘सुपर ब्लड वुल्फ मुन’
काठमाडौं । विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आज रातो रङ्गको देखिने सुपर ब्लड वुल्फ मुनु चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन्। निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपमा रहेको चन्द्रमा निकै रातो रङ्गको देखिने वैज्ञानिकहरूको भनाइ छ।पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ। पूर्ण चन्द्रग्रहण भनेको के हो ? सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ। यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ। चन्द्रमा रातो देखिएला ? हो त्यस्तै हुनेछ। केही टिप्पणीकारहरूले आज रातिको पूर्ण चन्द्रग्रहणलाई सुपर ब्लड वुल्फ मुनको संज्ञा दिएका छन् ।सुपर भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था बुझ्नु पर्दछ। जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ वुल्फ भन्ने गरिएको छ। अमेरिकाको न्यू योर्क राज्यको सिरक्युज विश्वविद्यालयका सहायक प्राध्यापक वाल्टर फ्रिम्यानले भने, पृथ्वीको वायुमण्डलबाट छरिएको थोरै सूर्यको प्रकाश चन्द्रमामा पुग्न जान्छ। त्यो फेरि पृथ्वीको धार वरिपरि वाङ्गिन जान्छ। त्यस्तो बेला देखिने रातो प्रकाश चन्द्रमामा पर्न गएको हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। यो कहाँ र कहिले देख्न सकिएला ? चन्द्रग्रहण सोमबार ग्रेनिच समय जीएमटी अनुसार ०२ ३५ देखि ०७ ४९ बजेसम्म देखिने छ। तर पूर्ण चन्द्रग्रहण चाहिँ ०५ १२ जीएमटीमा देख्न सकिनेछ। ब्रिटेनमा चाहिँ चन्द्रग्रहणको लगभग पूरै अवधिमा चन्द्रमा क्षितिजमाथि नै देखिनेछ। यो चन्द्रग्रहण उत्तरपश्चिमी फ्रान्स, उत्तरपश्चिमी स्पेन, पोर्चुगल र पश्चिम अफ्रिकाको केही भाग, पूरै उत्तर र दक्षिण अमेरिका, पूर्वी प्रशान्त क्षेत्र र रुसको उत्तर पूर्वी टुप्पोबाट पनि देख्न सकिनेछ। चन्द्रग्रहण हेर्नु सुरक्षित होला ? सूर्यग्रहणलाई सीधै हेर्नु खतरनाक हुनसक्छ। तर चन्द्रग्रहणको बेला निस्किने प्रकाश निकै मधुरो हुने भएकोले चन्द्रग्रहणलाई कुनै उपकरणको सहयता विना नै हेर्न सकिन्छ। त्यो पूरै सुरक्षित हुन्छ। यस्को महत्त्व के छ ? यो चन्द्रग्रहण देखिने क्षेत्रमा बसोबास गर्ने मानिसले सम्भवत सन् २०२९ सम्ममा फेरि यस्तै खालको चन्द्रग्रहण देख्न सक्ने छैनन्। तर त्यो मौसमी अवस्था कस्तो हुन्छ भन्ने कुरामा निर्भर हुन्छ। बीबीसी