विकासन्युज

डायलिसिस भन्दापनि मृगौला प्रत्यारोपणलाई जोड दिन आवश्यक छ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौं। शिक्षा तथा स्वास्थ्य समितीको बैठकमा सांसदहरुले  डायलिसिस भन्दा पनि मृगौला प्रत्यारोपणलाई जोड दिनुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले समितीलाई डायलिसिसको लागि रहेको बजेट पर्याप्त नभएको हुनाले सरकारी नीतिहरूहरु मृगौला प्रत्यारोपणमा केन्द्रित हुन आवश्यक रहेको बताए। उनले मृगौला उपचारको लागि देशभरमा पर्याप्त डायलसिस मेसिन नरहेको पनि बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद खगेन्द्रराज अधिकारी र नेपाली कांग्रेस सांसद उमेशलाल श्रेष्ठले ६० बर्ष भन्दा माथिको मृगौला रोगीलाई नि:शुल्क डायलसिस सेवा दिनुपर्ने र ६० बर्ष भन्दा मुनिको मृगौला रोगीलाई प्रत्यारोपणको लागी सरकारी उपचार खर्च प्रदान गर्नुपर्ने सुझाव दिए । देशको अन्य क्षेत्रमा पनि मृगौला प्रत्यारोपण केन्द्र खोल्नुपर्ने र मृगौला रोगी बढ्दै जाँदा बजेट कम भएकोले यसमा ध्यान दिन जरुरी रहेको श्रेष्ठले बताए। देशभरमा सरकारद्वारा सुचिक्रित ५२ अस्पतालमा हाल ४५०० बिरामीहरुले डायलासिस सेवा लिईरहेका छन्। मृगौला रोगीहरुले प्रत्यारोपण गर्दा पछि गएर राम्रो जीवन पाउने र राम्रोसँग काम गरी जिविक आर्जन गर्न सक्ने र देशलाई कम भार पर्न जाने यादवले बताए। गत आर्थिक बर्षमा म्रिगौला रोगीको लागि सरकारले २ अर्बको बजेट छुटाएको थियो, यस बर्ष साढे १ अर्ब बराबरको बजेट मात्र छुटाएको छ।सरकारले विपन्न्न वर्गका मृगौला रोगीलाई उपचार खर्चको रुपमा ४ लाख र उपचार पछिको औषधी खर्चको लागि १ लाख प्रदान गर्दै आएको छ।

अपर तामाकोशीको मूल्य निरन्तर घट्दै, बजारलाई समेत नकारात्मक प्रभाव

काठमाडौं । अपर तामाकोशीकाे मूल्य घट्ने क्रम आज पनि जारी छ । आइतबार ३४२ रुपैंयासम्म पुगेको अपर तामाकोशीको शेयरले बजार बन्द हुने बेलामा करिब १० प्रतिशतकै क्षति व्यहोरेको थियो । सोमबार पनि त्यो क्रमलाई निरन्तरता दिँदा अपर तामाकोशीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले घट्दै २६३ रुपैंयामा झरेको छ । अपरको शेयर आज १० करोड ९१ लाख १८ हजार बराबरको कारोबार हुँदा ४ लाख ३ हजार ८०० कित्ता शेयर कारोबार भएको छ । आज बजारमा ३६ करोड ७७ लाख रुपैंया बराबरको कारोबार हुँदा १२ लाख ६५ हजार ७८६ कित्ता शेयर खरिदबिक्री भएका छन् । बजार परिसूचक भने १०.८६ अंकले घटेको छ ।

कादुरी एग्रिकल्चरलको लगानीमा रुकुमको भूमे गाँउ झिलिमिली

काठमाडौं । रुकुम जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी)लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो । आयोजनाबाट गाउँपालिकाका वडा नं ३ र ४ तथा वडा नं ६ को सीमा, काँडा, महत गाउँमा विद्युत् सुविधा पुगेको छ । यो आयोजनासहित गाउँपालिकामा अहिले ११ वटा विद्युत् आयोजना छन् । नौ वटा वडा रहेको यस गाउँपालिकामा रहेका ती आयोजनाबाट ४५० दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भइरहेको छ । केन्द्रीय प्रशारण नपुगेपनि लघु जलविद्युत् आयोजनामार्फत भए पनि तीन हजार ५३८ घरधुरीमध्ये करीब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको भनाई रहेको छ । उनले गाउँपालिका–४ को तल्लो साकिम, वडा नं ५ को माथिल्लो साकिम र डालिबाङ, वडा नं– ६ को खाम्दै र तमारी तथा वडा नं ८ को पोखरापाटा र नाम्पुमा विद्युतीकरण हुन बाँकी रहेको बताएका छन् । रासस  

स्मार्ट बन्दै ९११ सामुदायिक विद्यालय, दूरसञ्चार प्राधिकरण मार्फत डेढ अर्ब खर्च हुने

काठमाडौं । सरकारले ९११ वटा सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्ने भएको छ । कम्युटरको माध्यमबाट शिक्षा प्रदान गर्नका लागि सरकारले सामुदायिक विद्यालयहरुलाई प्राविधिक सहयोग गर्ने भएको हो । सरकारले दूरसञ्चार प्राधिकरण मार्फत ९११ विद्यालय छनोटको तयारी शुरु गरेको हो । प्राधिकरणले विद्यालयहरुमा २४ वटा कम्युटर, प्रोजेक्टर साउण्ड सिस्टम र निःशुल्क इन्टरनेटको सुविधा प्रदान गर्ने भएको हो । यसको लागि प्राधिकरणले विद्यालय छनोटको प्रक्रिया अघि बढाएको छ । माग गरिएको आवेदनमा २ हजार भन्दा बढी विद्यालय सहभागी भएको प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेलले बताए । उनका अनुसार हाल मापदण्ड बनाएर विद्यालय छनोटको काम भइरहेको छ । प्रदेश नम्बर २, ६, र ७ नम्बर प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ६ वटा विद्यालय छनोट गरिनेछ भने प्रदेश नम्बर १, ३, ४ र ५  मा ४ वटा विद्यालय छनोट गरिनेछ । यसरी छनोट गरिएको विद्यालयलाई करिब १५ देखि २० लाख रूपैयाँ बराबरको प्राविधिक सामाग्री प्रदान गरिनेछ । विद्यालयले कम्युटर साइन्स पढाउने जनशक्ति भने आफैं प्रदान गर्नुपर्नेछ । यी जनशक्तिलाई तालिम भने प्राधिकरणले तालिम प्रदान गर्नेछ । विद्यालय छनोट गर्दा विद्यार्थी संख्या, पिछडिएको क्षेत्र, दलित जनजाति विद्यार्थीको बाहुल्यातालाई प्रथामिकतामा राखिने छ । सामाग्री खरिद गर्नका लागि प्राधिकरणले कार्यविधि स्वीकृत गरिसकेको छ । अबको ४५ दिनभित्र खरिद प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ । यसको लागि करिब डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि प्रत्येक प्रदेशको २ जिल्लाका विद्यालयलाई २-२ वटा कम्युटर वितरण गर्ने कार्यक्रम खारेज गरी यो कार्यक्रम लागू गरिएको हो । सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाले २ कम्प्युटर वितरण कार्यक्रम खारेज गरी २४ कम्युटर प्रदान गर्ने निर्णय गरेका हुन् । सामुदायिक विद्यालयहरुलाई स्मार्ट विद्यालय बनाउनका लागी सो कार्यक्रम ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले १ वर्षभित्र नै सबै विद्यालयहरुमा सामाग्री पुर्याउने तयारी गरेको छ ।

चीनको अर्थतन्त्रको गति २८ वर्ष यताकै न्यून, अमेरिकासँगको व्यापार युद्धको असर

बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ । अर्थविज्ञहरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् । “वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,” एनबीएसका आयुक्त निङ जिझेले बताए । चिनीया प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनीया अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गरे । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाब तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो । दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता शुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनीया उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ । चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ । चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ । प्रधानमन्त्री लीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताउनुभएको थियो, तर तथ्याङ्कहरु भिन्न रुपमा देखिएका छन् । गतवर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो । “ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ,” क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले बताए । ऋण प्रवाहमा भएका कडाईले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०.२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८.२ प्रतिशतको झिनो वृद्धि भएको थियो । कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६.६ प्रतिशतबाट घटी भई गतवर्ष ६.२ प्रतिशत कायम भएको छ । विज्ञहरुले चिनीया सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनीया सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६.९ प्रतिशतबाट घटाई ६.८ प्रतिशत कायम गरेको छ । रासस/एएफपी

गुहेश्वरीले भैरहवामा खोल्यो ११ औं शाखा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले भैरहवा, रुपन्देहीमा ११ औं शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेशलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको कार्यक्रममा उपस्थिति रहेको थियो । चाँडै नै बुटवल रुपन्देहीमा नै १२ औं शाखा विस्तार हुने संस्थाद्वारा प्रेस विज्ञप्ती मार्फत जनाइएको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल, चुच्चेपाटी, अजरअमर रोड, हेटौँडा, आदर्श नगर, वीरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुर, जनकपुर, धनुषा र नारायणगढ चितवनमा रहेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले ०७५ पौष मसान्तसम्म निक्षेप संकलन ३ अर्ब ३० करोड तथा कर्जा २ अर्ब ९० करोड प्रवाह गरी ५ करोड २६ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड ९७ लाख रहेको छ । बैकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, Internet Banking सेवा, ECC सेवा, IPS सेवा, Safe Deposit Locker सुविधा विभिन्न विप्रेशन (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा सेवा दिइदै आएको छ ।

स्ट्याण्डर्ड चार्टर्डको सिइओमा दस्तिदार नियुक्त

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड(एससीबी नेपाल) मा नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो । जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।

तेह्रथुमको लम्बु खोलामा मोटरेबल पुल निर्माण सम्पन्न

काठमाडौं । तेह्रथुमको म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले जानकारी दिएका छन् । रु पाँच करोड ९८ लाख ४७ हजार २६१ मा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्यादभन्दा ढिला गरी भए पनि पुल निर्माणको काम सकेको हो । ४८ मिटर लम्बाइ र छ मिटर चौडाइ रहने उक्त पुल स्टिल प्लेटमाथि आरसिसी स्ल्याब लगाएर बनाइएको छ । पुल निर्माणको काम सम्पन्न भएको पुलमा कार्यरत इञ्जिनीयर अमरेन्द्र चौधरीले बताएका छन् । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । पुल बनेसँगै वारिपारिका सडक स्तरोन्नतिको कामसमेत अघि बढ्ने भएको छ । छथर गाउँपालिका क्षेत्रको सडक स्तरोन्नति गरी अबलगत्तै म्याङलुङदेखि छथर गाउँपालिकासम्म सिधा यातायात सञ्चालन गर्ने तयारी रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूको भनाइ रहेको छ । रासस