भिडियो गेमको व्यापार ४४ अर्ब डलर, अमेरिकामा १५ करोडले खेल्छन्
सान फ्रान्सिस्को । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरु कै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ । “मोबाइलमा होस् वा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो,” एनपीडीका विश्लेषक म्याट पिस्काटेल्लाले बताए । इएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको बिक्रीमा पनि निकै सुधार आएको छ । अघिल्लो वर्ष करिब ६ दशमलब ५ अर्ब अमेरिकी डलरको हार्डवेयर बिक्री भएकामा गत वर्ष ७ दशमलब ५ अर्ब अमेरिकी डलरको सामान बिक्री भएको छ । गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल “रेड डेड रिडेम्पसन २” को बिक्री सर्वाधिक भएको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः “ब्याक अप्स ४” र “कल अफ ड्युटी” रहेका थिए । इएसएका कार्यबाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए । अमेरिकामा करिब १५ करोड मानिसले भिडियो गेम खेल्छन् । यस उद्योगमा दुई लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन् । रासस/एएफपी
सुआहारा कार्यक्रमलाई स्मार्ट टेलिकमको सहयोग
काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले युएसएआईडीद्वारा प्रवर्धित सुआहारा कार्यक्रमलाई सहयोग गरेको छ । यस कार्यक्रम अन्तर्गत सुनौला १ हजार दिनका आमाहरुका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको हो । स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रवर्धित सुआहारा दास्रोबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी कार्यक्रमलाई आधिकारिकता प्रदान गरिएको थियो । दास्रो कार्यक्रममा टेलिकम साझेदारीका रुपमा स्मार्टले रु ९९ व्यालेन्स भएको सीमकार्ड सुआहारा लाभार्थीहरुलाई प्रदान गर्ने भएको छ । सुआहारा दास्रो कार्यक्रम नुवाकोट तथा कपिलवस्तु जिल्लामा लक्षित भई कार्य गर्दै आइरहेको छ । पहिलो चरणको कार्यक्रमका सिलसिलामा स्मार्टले नुवाकोटमा ३५०० सिमकार्ड प्रदान गरिसकेको छ भने आगामी चरणहरुमा आफ्नो कार्यक्रमलाई पाल्पा तथा रुपन्देही जिल्ला लागु गर्ने भएको छ । युएसएआईडीद्वारा सहयोग प्राप्त सुआहारा दास्रोले नेपालका विभिन्न जिल्लाहरुमा गरी १५ लाख घरधुरीहरुमा मातृ तथा बालपोषणको कार्य गर्दै आइरहेको छ । युएसएआईडी लक्षित क्षेत्रमा स्वास्थ्य स्वयंसेविका मार्फत पोषण, स्वास्थ्य, खानेपानी, सम्बन्धि चेतना फैलाउँदै आएको छ । सुआहारा पहिलाको कार्यक्रम ३८ जिल्लाहरुमा सञ्चालित रहदै आएकोमा थप २ जिल्ला धादिङ्ग र पाँचथरमा पनि सञ्चालित रहेको छ । नेपालीमाझ सूचना तथा सञ्चारको सेवाप्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने लक्ष्य रहेको जनाएको छ । स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापनाभई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ ।
त्रिभुवन विमानस्थललाई आन्तरिक मात्रै बनाऔंः पूर्वप्रधानमन्त्री माधव नेपाल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरित मात्रै बनाउने सुझाव सहितको प्रतिवेदन प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमितिले बुधबार प्रतिवेदन प्रस्तुत गर्दै त्रिभुवन विमानस्थललाई आन्तरिक मात्रै बनाउन र निजगढलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्ने सुझाव दिएको छ । एकघण्टा भित्रको दूरीमा २ वटा अन्तर्राष्ट्रिय बिमानस्थल आवश्यक छैन । उपसमितिका संयोजक नेपालले भने–काठमाडौँको विमानस्थललाई आन्तरिक मात्र बनाऔँ र निजगढलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्छ । नेपालका विमानस्थलहरुको अवस्थाबारे अध्ययन गर्नका लागि गठित उपसमितिले प्रतिवेदन तयार गरी अन्तराष्ट्रिय सम्बन्ध समितिमा पेश गरेको हो ।
फागुनमा बुद्ध एयरले २ जहाज भित्र्याउँदै, बैशाख २ देखि काठमाडौँ-कोलकत्ता सिधा उडान
काठमाडौं । बुद्ध एयरको २ नयाँ जहाज फागुनमा काठमाडौं आइपुग्ने भएको छ । भारतको कोलकत्तामा सिधा उडानका लागि एयरले नयाँ जहाज खरिद गर्न लागेको हो । आगामी बैशाख २ गते एयरले काठमाडौंदेखि कोलकत्ता सिधा उडान शुरु गर्नेछ । कम्पनीले बैशाख २ गतेदेखि परीक्षण उडान शुरु गर्न लागेको हो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार कोलकत्ता उडानको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कोलकत्ता उडानका लागि सबै तयारी सकिसकेका छौं, यसका लागि सबै पक्षको सहयोग जरुरी छ, निर्देशक बस्नेतले भने-हामी शुद्ध हवाई व्यवसायी भएको कारण होटल, पर्यटन, सरकार सबैले सहयोग गर्नुपर्छ ।’ नयाँ आउने एटीआर ७२–५०० सिट क्षमता ७२ हुनेछ । एउटा जहाज फागुनको तेस्रो साता काठमाडौं आइपुग्ने एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले बताए । अर्को जहाज एक हप्तापछि आइपुग्नेछ । उनका अनुसार एटिआरले आन्तरिक उडान समेत गर्नेछ । भरतपुर र पोखरामा एटिआर उडाउने कम्पनीले तयारी गरेको छ । कम्पनीले कोलकत्ता भने हप्तामा ३ उडान भर्नेछ । ३ उडानमा १८० जना यात्रुको लक्ष्य राखेको छ । यसमध्ये १०० जना यात्रु ल्याउन सके कम्पनी सफल हुने निर्देशक बस्नेतको विश्वास छ । काठमाडौंदेखि कोलकत्तासम्म कम्पनीको एटीआर ७२–५०० जहाजलाई १४० मिनेट लाग्नेछ । खर्च कम गर्नका लागि कम्पनीले यस जहाजको प्रयोग गरेको दाबी गरेको छ । बैशाख २ गतेदेखि सोमबार, बुधबार र शुक्रबार काठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने बुद्ध होलिडेजका प्रमुख आस्था बस्नेतले बताइन् । भाडादर भने प्याकेजमै ल्याउने कम्पनीले जनाएको छ । यो उडान सफल भए २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरहरुमा जेट बिमानहरुबाट उडान शुरु गर्ने कम्पनीले जनाएको छ । कोलकत्ता हाम्रो परीक्षण उडान हो, यस उडानलाई सफल बनाउन संख्यात्मक र गुणात्मक पर्यटक भित्र्याउन नेपाल सरकार सहित सबै सरोकारवालाहरु होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरुसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । अहिले भारतको करिब ३ करोड जनसंख्याले अन्तर्राष्ट्रिय भ्रमण गरिहेका छन् । यी मध्ये नेपालमा रहेको पशुपतिनाथमा भारतीय पर्यटकको रुचि भएका कारण उडान सफल हुने कम्पनीले विस्वास लिएको छ । कम्पनीले कोलकोत्ता उडान शुरु गरेपछि हप्तामा ८०० सय उडान पुग्नेछ । आन्तरिक उडानमा ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटिरहेको कम्पनीले अझै दायरा फराकिलो बनाउने तयारी गरिरहेको छ ।
केबलकार सञ्चालनका लागि डीपीआर बन्दै, सञ्चालन लागत ४ अर्ब
गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका-१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताए । दुई महिनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६/७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केबलकार सञ्चालनको योजना शुरु हुने प्रमुख चौधरीले बताए । जिल्लाकोे सदरमुकाम गाईघाटदेखि करीब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै ४ अर्ब लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । तीन अर्ब लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले बताए । बाँकी एक अर्बमध्ये ५० करोड त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय वासिन्दाबाट लगानी गरेर चार वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने कुरा त्रियुगा नगरपालिकाका प्रमुख चौधरी बताउँछन् । केबलकार सञ्चालनमा आएपछि जिल्लाकै सबैभन्दा महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थलको रुपमा रहेको रौता क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुँदा जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने प्रदेश नं १ का सांसद अम्बिका थापा र विमल कार्की बताउँछन् । रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक २०० सम्म भक्तजन पूजा गर्न जाने गरेका छन् भने अन्य प्राकृतिक दृश्यावालेकन गर्नेको सङ्ख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरी बताउँछन् । समुद्री सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ । रौताबाट पूर्वतिर ट्याम्के डाँडा, अरुणबरुण, सङ्खुवासभा क्षेत्र र दक्षिणतिर सप्तरी, सिरहा, धनुषा, सप्तकोशी, इटहरी र विराटनगरसम्म अवलोकन गर्न सकिने हुनाले पनि जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको छ । गाईघाट-बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन भएपछि प्रदेश नं १ र प्रदेश नं २ लगायत अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा रौता क्षेत्रमा पर्यटक आगमन गर्न सहज हुने र जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् । रासस
पारस, ज्ञानेन्द्र र शरद बने रूस्लानको ब्रान्ड एम्बेसडर
काठमाडौं । रुस्लानले ३ क्रिकेटरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई एम्बेसडर नियुक्त गरेको हाे । लामो समयदेखि फुटबल र क्रिकेटसँग सहकार्य गर्दै आएको रुस्लानले समर्थनका साथ जावलाखेल गु्रप अफ इण्डस्ट्रिसका कार्यकारी निर्देशक शशिन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा विश्वास उत्कृष्टता र दृढता नेतृत्वको आधार हुने हुँदा खेलकुदको क्षेत्रमा रुस्लानले आफुलाई दरिलो ढंगले प्रस्तुत गरेको छ । नेपाललाई विश्व सामु चिनाउन यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा विस्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।
बीमाको पहुँच १६ प्रतिशत पुग्यो, ग्रामीण क्षेत्रमा पुग्दैछन् बीमा कम्पनी
काठमाडौं । बीमा पहुँच १६ प्रतिशत पुगेको छ । आर्थिक बर्ष ०७२/०७३ मा बीमा १० प्रतिशत मात्र रहेको थियो । ३ वर्षपछि आर्थिक वर्ष २०७५/०७६ को ६ महिनाको अवधिसम्म बीमा पहुँच १६ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । बीमा पहुँचको दर अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष ०७३/०७४ मा एक प्रतिशतले बढेर ११ प्रतिशत पुगेको थियो । यस्तै, आर्थिक बर्ष ०७४/०७५ मा पेनेट्रेसन दर ३ प्रतिशतले बढेर १४ प्रतिशत पुगेको थियो । पेनेट्रेसन दर बढ्ने क्रम रहेको छ । बीमाको पहुँच बढेसँग बीमालेख संख्या पनि बढ्दै गएको छ । आर्थिक बर्ष ०७२/०७३ मा जम्मा बीमा लेख सङ्ख्या ३२ लाख ४९ हजार ८ सय ७९ रहेको थियो । आर्थिक बर्ष ०७३/०७४ मा जम्मा यो संख्या ३५ लाख ६८ हजार १ सय ९६ कायम रहयो । यस्तै, आर्थिक बर्ष ०७४/०७५ मा बीमालेख सङ्ख्या ४५ लाख ७२ हजार १ सय ४३ कायम रहेको छ । बीमा समिति भन्छ–हाल सो सङ्ख्या बृद्धि भईरहेको छ । पछिल्लो तथ्याङ्क सार्वजनिक हुने तयारी भइरहेको बीमा समितिले जनाएको छ । गत असार मसान्तसम्म १४ प्रतिशत कायम रहेको बीमा पहुँच पछिल्लो ६ महिनामा २ प्रतिशतले बढेको छ । बीमा समितिले कार्यक्रम वृद्धि गरेसँगै बीमाको पहुँचपनि बढेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईका अनुसार–‘पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा बीमा पेनेट्रेसन १६ प्रतिशत रहेको छ ।’ यसरी बीमाको पहँुच बढ्नुमा बजार प्रतिष्पर्धात्मक रहनु र अभिकर्ताको आन्दोलनको सम्बोधन हुनु मुख्य कारण रहेको अध्यक्ष चापागाईँले बताए । ग्रामीण क्षेत्रमा भएको बजार बिस्तार तथा बीमा कम्पनीहरुको क्रियाशीलताका कारण पहँुच वृद्धि भएको उनको भनाई छ । पछिल्ला २ वर्षमा बीमाका बारेमा प्रवाह भएको सकारात्मक सन्देशले पनि पहुँच बृद्धिमा भूमिका खेलेको छ । ‘जीवन बीमातर्फ कम्पनी बृद्धि हुनुले पनि पहुँच अभिबृद्धि भएको होे’-बीमा समितिका सहायक निर्देशक प्रदीप गौतमले बताए । बीमा समितिले सात प्रदेशमा नै आफ्नो कार्यक्रम विस्तार गरेका कारण बीमा पेनेट्रेसन बढ्को हो-उनले भने । बीमा कम्पनी संख्या ३९ पुग्यो हालसम्म बीमा समितिबाट इजाजत लिई सञ्चालनमा रहेका बीमा कम्पनीहरु ३९ रहेका छन् । जीवन बीमातर्फ हाल १९ कम्पनी रहेका छन् । पछिल्लो समय महालक्ष्मी जीवन बीमा कम्पनी थपिएको हो । निर्जीवन बीमातर्फ भने २० वटा कम्पनी रहेका छन् । यसैगरी पुनर्बीमातर्फ भने एक मात्र नेपाल पुनर्वीमा कम्पनी रहेको छ ।
सन् १९७१ पछि बेलायती रोजगारमा उच्च गिरावट, वेरोजगार दर ४.० अनुमान
काठमाडौं । सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछि निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ । यो सन् २०१८ को जुनदेखि अगस्टसम्मको तथ्याङ्कभन्दा एक लाख ४१ हजार बढी र सन् २०१७ पहिलेभन्दा तीन लाख २८ हजारले बढी हो । सन् २०१८ को सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा बेरोजगार जनसङ्ख्या १३ लाख ७० हजार रहेको देखिएको छ । यो तथ्याङ्कमा जुनदेखि अगस्टको तथ्याङ्कभन्दा सामान्य परिवर्तन (बढी) हो भने अघिल्लो बर्ष सोही समयको तुलनामा ६८ हजारले कमी हो । बेलायतको बहिर्गमन प्रक्रियाबारे देखिएको अन्यौलले वेरोजगार दर ४.० रहने अनुमान गरिएको थियो । रासस/सिन्ह्वा