विकासन्युज

विभिन्न चार संस्थाको एक करोड ८० लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार वटा बैंक तथा वित्तीय संस्थाको कुल एक करोड ८० लाख ७१ हजार ८६७ कित्ता सेयर सूचिकृत भएको छ । एकैदिन एनआईसी एशिया बैंक, सेञ्चुरी कमर्शियल बैंक, चिलिमे हाइड्रोपावर कम्पनी र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये एनआईसी एशिया बैंक र चिलिमे हाइड्रोको बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सेञ्चुरी बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएको हो । एनआईसी एशियाको ८० लाख ३१ हजार ११७ कित्ता र चिलिमे हाइड्रोको ७९ लाख ३० हजार २२६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यसैगरी, सेञ्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिहीबार मात्रै नेप्सेमा थपिएको हो ।

कामना सेवाको ६५औं शाखा प्रदेश नम्बर २ को सप्तरीमा

काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा सेवा विस्तार गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए । बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

सामूहिक लगानी कोषमा आएर लगानी गर्न गैरआवासीयलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा लगानीको उपयुक्त अवसर भएको भन्दै सामूहिक लगानी कोष मार्फत लगानी गर्न आग्रह गरेका हुन् । उनले भने-तपाईका समस्या र सम्भावना छलफल गरौं भनेर म यहाँ आएको हुँ । नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गर्दै उनले विमानस्थलमा भन्सार जाँचपास सहजीकरण भएको बताए । ठूलो मुलुकमा चेकजाँच हुँदा सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठुलो बनाइएको उनको भनाई छ । विदेशी मुद्रामा लगानी गर्नेलाई विदेशी विनिमयको हेजिङको व्यवस्था भएको भन्दै सबै देशमा पनि पूँजी खाता नियमन गर्ने व्यवस्था भएको उनले स्मरण गराए । करका दरहरु बढेका नभई सुधार गरिएको मन्त्री खतिवडाले बताए । । इतिहासमै पहिलो पटक यति धेरै आर्थिक बृद्धि हुने भन्दै उनले जसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमअफ) को प्रतिवेदनले पनि देखाइसकेकोले वर्तमान सरकार ७ प्रतिशतभन्दा बढि आर्थिक बृद्धि हुने उच्च लक्ष्यमा अघि बढेको बताए । मुल्यबृद्धि चार प्रतिशतको वरिपरि मात्र रहेको भन्दै मन्त्री खतिवडाले आर्थिकबृद्धि समग्रमा वैदेशिक व्यापार बाहेक सरकारको वित्त स्थिति राम्रो भएको गैरवासीय नेपालीलाई उनले स्पष्ट पारे । वैदेशिक व्यापार समस्या अहिले सृजना नभएको नभई विगतको संरचनागत समस्या समेत भएको उनको भनाइ छ । विकासका पूर्वाधार निर्माण, कृषि तथा औद्योगिक क्षेत्रको विकासको प्रभावले वैदेशिक व्यापारको समस्या र उत्पादनको संरचना परिवर्तन गर्दा व्यापार घाटा देखा परेको मन्त्री खतिवडाले बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरुले नेपालमा लगानीका बारेमा चासो राखेका थिए । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका लागि लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार लण्डन भएका हुन् । बेलायतस्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा अर्थमन्त्री खतिवडाले शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

बोर्ड अध्यक्षमाथि ब्राेकरकाे दर्जन बढी आरोप : २५० शाखा खाेल्छु भन्दा नसुन्ने, पूर्वाग्रह राख्ने ?

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएसन सम्बद्ध ५० ओटा ब्रोकर कम्पनीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथि एक दर्जन भन्दा बढी आरोपहरु लगाएका छन् । सबै कम्पनीहरुका सञ्चालकहरुले अध्यक्ष रेवतबहादुर कार्कीकाथि ब्रोकरहरुप्रति अत्यन्तै पूर्वाग्रही भएको, अनावश्यक आरोप लगाएको, झुटा कारबाहप्हरु गरेको र आफुलाई ब्रोकरहरुको महाशत्रु घोषणा गरी संसदीय समितिमा गैरजिम्मेवारपूर्ण आरोप लगाएको भन्दै यसबाट सम्पूर्ण व्यवसायीहरु हतोत्साहित र चिन्तित भएको बताएका छन् । धितोपत्र बोर्डका अध्यक्षमाथि ब्रोकरहरुले लगाएको आरोपहरु अर्थ समितिको बैठकमा कपोलकल्पित, झुटो र भ्रमपूर्ण आरोप लगाएको ।  ब्रोकरको काम राफसाफ गरिदिने मात्र भएको कार्यक्षेत्र विस्तार गर्न नदिएको । ब्रोकरहरु प्रतिस्पर्धी बन्न नसकेको भन्ने आरोप लगाएको धितोपत्र बजारको विकासको सन्दर्भमा ब्रोकरहरुको दिएका वस्तुगत सुझावहरु वेवास्ता गरेको । २५० ठाउँमा शाखा विस्तार गर्ने ब्रोकरको प्रस्तावलाई छलmलमै नल्याएको । धितोपत्र बजारमा कतिओटा ब्रोकर आवश्यक छ भन्ने अध्ययन नगरेको । गुणात्मक भन्दा संख्यात्मक आकार वृद्धिमा ध्यान दिएको । चुक्ता पुँजी १० गुणा भन्दा बढी बढाउन र पुँजीकोष ५ करोड माथि पुर्याउन बाध्य पारिएको तर प्रतिफल बढाउन ध्यान नदिइएको । २५ बर्षसम्म पनि राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केटको विकास नगरेको । मासिक ३००० रुपैंयामा कर्मचारी राखेको र व्यवसायी भागेको भन्ने झुटो आरोप लगाएको । वर्षौदेखि सञ्चालित परियोजनाको शेयर नबिक्ने अवस्थामा ल्याइपुर्याएको । आफैंलाई धितोपत्र व्यवसायीको महाशत्रु घोषणा गरेको र ब्रोकरहरुलाई शत्रुतापूर्ण व्यवहार गरेको । मार्जिन लेन्डिङको सम्बन्धमा प्रचारबाजी गर्ने तर पूर्वाधार पुर्याएका ब्रोकरहरुलाई स्वीकृति नदिने काम गरेको । अनावश्यक र अनधिकृत रुपमा ब्रोकरहरुलाई कारबाही गरी हतोत्साहित बनाएको ।

कीर्तिपुरमा १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बन्दै

काठमाडौं। कीर्तिपुर नगरपालिकाले १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बनाउने भएको छ । नगरपालिकाले कीर्तिपुर नगरपालिका वडा नं ६ ईट्टागालमा हस्पिटल बनाउन लागेको हो । सामुदायिक सरकारी हस्पिटलका रुपमा २५ रोपनी क्षेत्रफलमा अस्पताल बन्न लागेको किर्तिपुर महानगरपालिका मेयर रमेश महर्जनले बताए । हस्पिटलले सबै किसिमको सेवा सुविधा दिने मेयर महर्जनले बताए । कीर्तिपुर स्थित बिष्णुदेवी हेल्थपोस्टको शाखाको रुपमा उक्त हस्पिटललाई विस्तार गर्न लागेकाे हाे । नजिकै दुईवटा हस्पिटल भएकोले अन्य ठाउँका मानिसहरुलाई पनि सजिलैसँग सेवा उपलब्ध होस् भन्ने उदेश्यको साथ उक्त हस्पिटलको शाखाको रुपमा ईट्टागलमा अस्पताल बन्न लागेको मेयर महर्जनले बताए । हस्पिटल बनेपछि वडा नं ४,५,६,८ को सेवाग्राहीहरुले सजिलै सेवा पाउने मेयर महर्जनले विश्वास व्यक्त गरे । चारै नाकामा हस्पिटल बन्दै काठमाडाैं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ ओटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएकाे छ । काठमाडाै‌काे पूर्वतर्फ भक्तपुरकाे साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको छ । उक्त हस्पिटल थापाथलीस्थित प्रसूति गृह हस्पिटलकाे शाखाको रुपमा विस्तार गरिन लागेकाे हाे । प्रसुति गृहमा बिरामीको अत्यधिक चाप रहेकाे र उपत्यका बाहिरबाट आउने बिरामीहरु ट्राफिक जामका कारण ढिलाेमात्र अस्पताल पुग्नाले मातृ शिशुकाे स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै मृत्युदर समेत उच्च हुने गरेकाेले नाकाहरु मै अस्पताल खोलेर सेवा दिन लागिएकाे बताइएकाे छ । पहिलाे चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेकाे थानकाेट क्षेत्रमा हस्पिटल बनाइने बताइएकाे छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गाैतमकाे नेतृत्वमा गएकाे जर्मन विज्ञ टाेलीले सम्भाव्यता अध्ययन समेत गरेर गएकाे मेयर घनश्याम गिरीले बताए । उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएकाे छ । हाल नगरपालिकाकाे स्वामित्वमा थानकाेटमा ८ काेठे भवनसहितकाे जग्गा छ । त्याेसँगै अर्काे भवन बनाएर हस्पिटल सञ्चालन गर्ने याेजना रहेकाे मेयर गिरीकाे भनाई छ । उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि विस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयराेग लगायतका सेवा समेत  उपलब्ध गराउने छ । काठमाडाै‌ंकाे भित्रने र बाहिरिने सबैभन्दा बढी चाप याे नाकामा रहेकाेले पहिलाे चरणमा याे क्षेत्रलाई लिइएकाे हाे । हस्पिटल बनेपछि उपत्यका बाहिरका सेवाग्राहीहरुले समय मै सेवा पाउने विश्वास मेयर गिरीले व्यक्त गरे ।

निर्माणको चरणमा नेपाल कै ठूलो पञ्चासे केबलकार, १० हजार नेपालीले रोजगारी पाउने

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण प्रारम्भ हुने भएको छ । १० हजार नेपालीलाई रोजगारी प्रदान गर्ने सो परियोजना गृहकार्यपछि निर्माणको चरणमा प्रवेश गर्न लागेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै बृहत पर्यटकीय गन्तव्य बिस्तार गरी बसाई लम्ब्याउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केबलकारको परिकल्पना गरिएको कम्पनीका अध्यक्ष शर्माले बताए । पर्यटन क्षेत्रलाई व्यसायिकरण गर्ने कर्पोरेट जोइन्ट भेन्चर कल्चरको प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण गर्ने तथा सामुहिक आयआर्जन गर्न योगदान पुर्याउने उद्देश्य रहेको अध्यक्ष शर्माको भनाई छ । सबै तहका जनताको लगानी, प्रभावित क्षेत्र पञ्चासे वरपरका साविकका गाविसमा बसोबास गर्ने एकाघरका लागि योगदानमा आधारित १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन, केबरकार मात्र नभई एकीकृत विकास योजना, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिई त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट शेयर पूँजी संकलन गर्ने कम्पनीले जनाएको छ । ८.५ किलोमिटर लामो पञ्चासे केबरकार छिट्टै निर्माण प्रारम्भ हुने जनाइएको छ । १० अबै रुपैयाँको योजना मध्ये ३ अर्ब केबलकारमा र बाँकी रकम अन्य संरचनामा खर्च हुने कम्पनीले जनाएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजना सहित अघि बढेको कम्पनीका अध्यक्ष शर्माले बताए । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र पैदल यात्रा गरी जाने गरेका छन् । पोखरा-२३ स्थित घाँटीछिनामा केबलकारको तल्लो स्टेशन राखिने कम्पनीले जनाएको छ ।

नेप्सेमा समान्य वृद्धि हुँदा चौतारी लघुवित्त र नविल बैंकको कराेडाैंकाे काराेबार

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबारको सूचक ०.८४ अंकले बढेर १११३.०७ अंकमा पुगेको छ । समान्य वृद्धि भएको बिहीबारको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र नविल बैंकको एक करोड बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्तको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नविल बैंकको एक करोड ३९ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । यी दुबै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेकाले लगानीकर्ताहरु यी संस्थाको सेयरमा आकर्षित भएका हुन् । चौतारी लघुवित्तले आफ्नो तेस्रो वार्षिक साधारणभा आगामी चैत १६ गते डाकेको छ । यस संस्था मर्जर वा एक्वीजिसनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने तयारीमा रहेको छ । त्यस्तै, नविल बैंक पनि आगामी फागुन २७ गते आफ्नो ३४औँ वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद(करसहित) गरी ३४ प्रतिशत लाभांश पारित गर्ने भएको छ । बिहीबारको बजारमा कुल १५५ कम्पनीको १६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी बीमा कार्यक्रम गरिँदै

वीरगञ्ज । यहाँस्थित त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिँदैछ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि झण्डै ८९ करोड विनियोजन गरेको छ । सो अभियानअन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । अभियानको पहिलो चरणमा साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको बताइएको छ । अभियानअन्तर्गत प्रदेश २ को आठवटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ । प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रूणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने विश्वास लिएको छ । रासस