विकासन्युज

संंसदमा खानेपानी मन्त्रीको जवाफः ‘मेलम्चीको पानी छिट्टै ल्याउन विकल्पसहित तयारी’

काठमाडौँ । खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताइन् । “अहिले मन्त्रालय दुई वटा विकल्प लिएर अघि बढेको छ, पहिलो सिएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ, यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ, पुनःबोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ”, उनले भनिन् । मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सिएमसीसँग कमिशन मागिएका सम्बन्धमा भइरहेको सार्वजनिक टीकाटिप्पणीको सत्यतथ्य के हो भनी सांसद सङ्ग्रौलाले पूरक प्रश्न राखेका थिए । सांसदका पूरक प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मक रुपमा काम भएको जिकिर गरे । “म आएपछि धेरै काम भएको हो, निर्माण कम्पनी सिएमसीको लापर्वाहीले परिणाम दिन सकिएन, सुरुङ ‘ब्रेक थ्रु’र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया शुरु हुनु, फिनिसिङ अन्तिम चरणमा पुग्नु यसका उदाहरण हुन्”, उनले भने । सिएमसी गएपछि अन्योल छाउनु दुर्भाग्य भए पनि त्यसको भोलिपल्टदेखि नै कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी उनले संसद्लाई दिए । छिटो पानी ल्याउन सरकारका तर्फबाट निरन्तर प्रयत्न भइरहेको बताउँदै मन्त्री मगरले सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको सुनाइन् । दुवै प्रयास समानान्तर रुपमा भइरहेको उनको भनाइ थियो । ‘भेण्डर’को समस्या समाधान गर्न सिएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको जनाइएको छ । ठेक्काको मान्यताभित्र रहेर काम गर्ने गरी आए सिएमसीलाई स्वागत गरिने तर विधि बाहिर गएर काम गर्न नसकिने मन्त्री मगरले बताइन् । “मेरो सफलताको विषय पनि हो मेलम्ची आयोजना, पूर्वसचिवलाई पहिलो प्राथमिकतामा राखेर मेलम्चीको काम गर्न निर्देशन दिएकामा नगरेपछि सरुवा भएको हो”, उनले भनिन् । आफू आएपछि ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा एक अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरले आपत्ति जनाइन् । मेलम्चीको विकल्पका रुपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतका बारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पनि पुगेको उनले प्रतिनिधिसभालाई जानकारी दिइन् । मेलम्चीको पाइप छिटो बिछ्याइ सकेर सडक बनाउने तयारी भइरहेको छ । उपत्यका वरपर जलाधार क्षेत्र घोषणा गर्ने गतिमै मन्त्रालयले काम गरिरहेको उनले बताइन् । मेलम्ची आयोजना हेर्न स्थलगतरुपमा जाँदा बनाइएको कार्ययोजनानुसार नै आफूले पानी आउने मिति घोषणा गरेको जानकारी पनि उनले दिइन् । त्यसअघि पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले गत वैशाखमै पानी आउँछ भनी भाषण भइरहेको थियो किन ढिलाइ भयो, अब पानी आउने प्रष्ट तिथिमिति जानकारी पाऔँ भनी माग गरेका थिए । सांसद महेश बस्नेतले मेलम्चीले पाइप विस्तार गरेको स्थानका सडक असरल्ल छ, कहिले बन्छ भन्दै सरोकार भएका निकायलाई राखेर मन्त्रालयले बहस गर्नुपर्ने सुझाव दिए । सांसद गगनकुमार थापाले पूर्वसचिव ठाकुरले सिएमसीलाई रु तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनी दिएको सार्वजनिक टिप्पणीमा दोषी को हो जान्न पाउने जनताको अधिकार रहेको भनी ध्यानाकर्षण गराए । सांसद प्रेम सुवालले चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौँ उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न राखेका थिए । सांसद बहादुरसिंह लामाले सिएमसी कम्पनीले ९५ प्रतिशत काम गरेको भनिए पनि कागजातको अध्ययन गर्दा ८० प्रतिशत मात्र काम भएको देखिने बताए । रासस

गोर्खाज फाइनान्सको २४औँ वार्षिक साधारणसभा सम्पन्न, पुँजी ८० करोड पुर्याउनेमा दोश्रो

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शुक्रबार नक्सालको सेलेब्रेशन ब्याङकेटमा उक्त सभा सम्पन्न गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई तोकिएको न्युनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउने वित्त कम्पनीमा दोश्रो संस्थाको रुपमा रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । फाइनान्सले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा नाफा १७१ प्रतिशतले वृद्धि गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सले ६ करोड ९ लाख खुद नाफा गरेको छ । गत वर्षको पहिलो ६ महिनामा २ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सभामा संस्थाका अध्यक्ष प्रेमबहादुर खापुङले आगामी आर्थिक वर्षमा सेयरधनीलाई निश्चित रुपमा लाभांश वितरण गर्ने बताएका छन् । उनले चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरणलाई आधार मानेर सो कुरा जानकारी गराएका हुन् । २०७४ साल पुस मसान्तमा फाइनान्सले ४ अर्ब निक्षेप संकलन गरेकोमा २०७५ पुससम्ममा ५ अर्ब ५२ करोड निक्षेप पुर्याएको छ । यस अवधिमा फाइनान्सको निक्षेप वृद्धि ३६ प्रतिशतभन्दा बढी छ । यस अवधिमा कर्जा लगानी ३ अर्ब ४२ करोडबाट ४ अर्ब २८ करोड रुपैयाँ बनाएको छ । कर्जा निक्षेप अुनपात (सीसीडी रेसियो) ६९ प्रतिशत रहेको छ । क्यापिटल एडेक्वसी करिव १९ प्रतिशत छ । सीसीडी रेसियो र क्यापिटल एडेक्वसी एकदमै सहज अवस्थामा रहेकोले यस फाइनान्सलाई आगामी दिन पनि व्यवसाय विस्तारमा सजिलो पर्ने देखिएको छ । यस फाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्ति ८९० रुपैयाँ छ । वित्तीय परिसूचकहरु राम्रो देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ मात्र छ । त्यस्तै, संस्थाको तरलता अनुपात ४०.२९ प्रतिशत रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको अनुपात(२० प्रतिशत) भन्दा २ गुणा बढी हो । वित्तीय क्षेत्रमा तरलता संकट हुँदा पनि यस फाइनान्सको व्यवसाय विस्तार राम्रो देखिएको छ । यसैगरी चालु आवमा संस्थाले ७ वटै प्रदेशमा शाखा वित्तार गरेको छ । हाल संस्थाको कुल शाखा संख्या २३ वटा पुगेको छ ।

रुपन्देहीकाे फर्साकिटरमा शाइन रेसुङ्गा बैंकको भिसा डेबिट कार्ड सञ्चालन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले एटिएमको औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको सौ. फर्साकिटरमा शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाँउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले उद्घाटन गरेका थिए । उक्त शाखाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले प्रत्येक नागरिकलाई समृद्धिको अभियानमा सहभागी गराउन बैंकले अघि सारेको एक घर एक खाता अभियान सार्थक हुने बताए । डस्थानीय जेष्ठ नागरिकहरु ९४ वर्षीय हरीप्रसाद अधिकारी, ९३ बर्षीय एकदेव गौतम, ८५ वर्षीय चिनक यादव र ८४ वर्षीय रनबहादुर बिक.लाई बैंकको बचत खाता खोली चेक हस्तान्तरण गरी कदर पत्र र दोसल्ला ओढ्याई सम्मान गरेको थियो भने स्थानीय आमा समुहहरु राधाकृष्ण आमा समुहका अध्यक्ष देबी सापकोटा, मनकामना आमा समुहका अध्यक्ष गोमता न्युरे, बेधानी आमा समुहका अध्यक्ष सीता ढकाल, जुगडीहवा आमा समुहका अध्यक्ष रुक्मिणी थारु, नवदुर्गा आमा समुहका अध्यक्ष गुनेश्वरी थारु, जनकपुर आमा समुहका अध्यक्ष रोमा क्षेत्री, शान्ति आमा समुहका अध्यक्ष शुभद्रा रेग्मी, पश्चिम मैनहिया आमा समुहका अध्यक्ष शुशिला थारु, पुर्व मैनहिया आमा समुहका अध्यक्ष पार्वती थापा र फर्साटिकर आमा समुहका अध्यक्ष राजेश्वरी सिंहलाई सम्मान गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्वसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराउँदै स्थापनाका १० वर्ष पुरा गर्न लाग्दा रु. १ अर्व ६२ करोड चुक्ता पुजी, रु. १६ अर्व ७० करोड निक्षेप, रु. १५ अर्व ७० करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठुलो विकास बैकका रुपमा स्थापित भएको जानकारी दिए । आर्थिक समृद्धिका लागि सरकारले अघि सारेका अनुदानका कार्यक्रम स्थानीय वडा कार्यालयसंगको समन्वयमा किसान तथा उद्यमीका घर घरमा पुर्याउने बताए ।

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानीः कुन आयोजना कहाँ ? लगानी कति ?

काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । ती उद्योगमध्ये तीन उद्योग सौर्य ऊर्जासँग सम्बन्धित भएका र तीनको क्षमता १७ दशमलव पाँच मेगावाट छन् । यस्तै, जलविद्युततर्फ आठ प्रवद्र्धक कम्पनीले उद्योग दर्ता गराएका छन् । कूल ३३३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको विभागको विवरणमा समावेश छ । ती आयोजनाबाट प्रत्यक्ष रुपमा ४३४ जनाले रोजगारी पाउने छन् । विभागमा दर्ता भएका अधिकांश उद्योग स्वदेशी लगानीमा नै आधारित भएपनि एउटामा भने चिनियाँ कम्पनीको लगानी हुने बताइएको छ । कूल २३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि भन्दै ‘सिचुवान वाइपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी प्रालि’ नामक ऊर्जा कम्पनी दर्ता भएको हो । सोे आयोजनामा ४५ अर्ब लगानी रहनेछ । यस्तै, कास्की जिल्लामा आयोजनास्थल रहने गरी सिटिजन हाइड्रो प्रालि दर्ता भएको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको लागत एक अर्ब दुई करोड ६१ लाख १७ हजार ८११ रहनेछ । सो आयोजनाले २१ जनालाई रोजगारी उपलब्ध गराउने जनाएको छ । बाग्लुङ जिल्लामा पहाडी हाइड्रोपावर कम्पनीले तीन दशमलव पाँच मेगावाट क्षमताको आयोजना स्थापनाका लागि निवेदन दर्ता गरेको छ । सो आयोजनाको लागत रु ६२ करोड ५६ लाख ३३ हजार बराबरको रहने जनाइएको छ । माइखोला हाइड्रोको नाममा तीन मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यका साथ उद्योग दर्ता भएको छ । सो आयोजनाको लागत ५५ करोड ५८ लाख ९० हजार ४८६ रहने गरी विभागमा दर्ता भएको हो । उद्यमी ज्ञानेन्द्रलाल प्रधानले धादिङको आँखु खोलामा आँखु खोला जलविद्युत् आयोजना निर्माण गर्ने गरी उद्योग दर्ता गर्नुभएको छ । सो आयोजनाको लागत छ अर्ब ३० करोड ९६ लाख ४२ हजार ३२३ रहनेछ । कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको सो आयोजनाले ७० जनालाई रोजगारी दिनेछ । यस्तै, २० मेगावाट क्षमताको दोलखा जिल्लामा आयोजनास्थल रहने हिम पर्वत हाइड्रोपावर कम्पनी विभागमा दर्ता भएको छ । आयोजनाको कूल लागत तीन अर्ब २९ करोड छ । आयोजनाले ५२ जनालाई रोजगारी दिनेछ । यस्तै, आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीमा आयोजनास्थल रहने गरी हाइड्रो सपोर्ट प्रालि दर्ता गराउनुभएको छ । सो आयोजनाको क्षमता ५३ दशमलव ५३ मेगावाटको छ । आयोजनाको लागत १० अर्ब ९५ करोड १३ लाख १० हजार रहेको छ । सो आयोजनाले ५१ जनालाई रोजगारी दिनेछ । यस्तै पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने लक्ष्यसहित शिखर हाइड्रोपावर कम्पनी दर्ता भएको छ । आयोजनाको लागत ९० करोड छ लाखको छ । सौर्य ऊर्जा उत्पादन गर्ने गरी तीन नयाँ कम्पनीले विभागबाट स्वीकृति लिएका छन् । तनहुँमा आयोजनास्थल रहने गरी सोलार फर्म प्रालिले पाँच मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएको छ । विभागबाट अनुमति लिएको प्रवद्र्धक कम्पनीले ५० करोड लगानी गर्नेछ । यस्तै, रिडी हाइड्रोपावरले रुपन्देहीको तिलोत्तमामा आठ दशमलव पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको लागत रु ६५ करोड ४६ लाख ६२ हजार ५०० छ । यस्तै अपि पावर कम्पनीले रौतहटको चन्द्रपुर–५ मा चार मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने भएको छ । सो आयोजनाको लागत ३२ करोड १२ लाख ४० हजारको छ । रासस

सैनामैनामा ज्येष्ठ नागरिकलाई घरमै भत्ता, नगरपालिका-बैंकबीच सम्झौता

रुपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रोे भएकाले घरमै वितरणको व्यवस्था गरिने उनको भनाइ छ । नगरको शिक्षा स्वास्थ्य र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिनेगरी काम अगाडि बढेको छ, उनले भने, “विपन्न र ज्येष्ठ नागरिकको सेवामा विशेष हेक्का राखेको छौँ ।” सैनामैना नगरका पाँच हजार ९२४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् तीमध्ये तीन हजार १२९ जना ज्येष्ठ नागरिकले भत्ता लिँदै रहेको नगरका उपप्रमुख बिना रानाले जानकारी दिए । नगरपालिकामा एकल महिला भत्ता बुझ्नेको सङ्ख्या दुई हजार चार छ भने १८ जना लोपोन्मुख आदिवासी, ३२० जना पूर्ण अपाङ्गता भएका, ४५३ जना दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको नगरका सामाजिक सुरक्षा शाखाका केशव अर्यालले जानकारी दिए ।

बेलायतकी महारानी एलिजाबेथ आउँदा तामझाम भएको मेघौली विमानस्थल गौचरन बन्ने खतरा

भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न सकेन । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन । विमानस्थल यतिबेला गौचरनमा परिणत हुने खतरा बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष गोविन्द तामाङले टाइगरटप्स होटल बन्द भएपछि विमानस्थल अस्तव्यस्त बनेको बताए । “विमानस्थल नियमिति सञ्चालनका लागि विभिन्न निकायमा पहल भइरहेको छ”, तामाङले भने, “होटल व्यवसायी र वायुसेवाबीच तालमेल नमिलेका कारण पनि विमानस्थल सञ्चालन हुनसकेको छैन ।” उनले भरतपुर विमानस्थल साँघुरो भइरहँदा त्यसको विकल्पमा मेघौली विमानस्थल भएको बताए । राजनीतिक दलको चुनावी नारादेखि चितवनको पर्यटन प्रवद्र्धनका योजनामा जिल्लाको निकै पुरानो मेघौली विमानस्थल छुटेको हुँदैन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही क्षेत्रबाट चुनाव लडेपछि सो विमानस्थल नियमित हुने आशा स्थानीयवासीको थियो । “विमानस्थल नियमित हुने छाँट छैन”, स्थानीयवासी दीपक थापामगरले भने, “कमिसनको खेलका कारण विमानस्थल सञ्चालन हुनसकेको छैन ।” नेपाल एयरलाइन्सले यहाँबाट उडान भर्दा भरतपुर विमानस्थलभन्दा सस्तो भाडा छ, तर पनि नियमित नभएको उनले गुनासो गरे । “कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगरटप्स जङ्गल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे”, विगतको अनुभव सुनाउँदै थापामगरले भने । उनले चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको मेघौलीलाई नेपाल सरकारबाटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नराखिनु विडम्बना भएको बताए । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमीनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार दैनिक एउटा विमान मेघौली विमानस्थलबाट सञ्चालन हुनसक्ने अवस्था रहे पनि विविध कारणले नियमिति सञ्चालन सम्भव नभएको बताए । “कहिलेकाहीँ ‘गु्रप चार्टर’ हुने बेला भरतपुरबाट नै कर्मचारी गएर उडान भर्ने गरेका छन्”, उनले भने, “गत वर्ष यही समयमा नियमित उडान गर्ने भनेको विमानस्थलले यात्रु कम भएपछि बन्द गरेको हो ।” विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् । “यो क्षेत्रमा विदेशी पर्यटक लगातार आइरहेका छन्”, पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भने, “हप्ताको तीन दिनमात्र सञ्चालन गरेका कारण नेपाल एयरलायन्सको विमान पनि नियमित हुन सकेन ।” उनले सधैँ चर्चा भए पनि मेघौली विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि ठोस योजना बन्न नसकेको बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि मेघौली विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको मेघौलीका पर्यटन व्यवसायी दिलीप पाण्डेको गुनासो छ । विमानस्थल नियमित भए चितवन आउने आधा पर्यटक मेघौली आउने उनले बताए । नेपाल आउने विदेशी पर्यटकको २० प्रतिशत मात्र चितवन आउने गरेका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ३३ प्रतिशत पर्यटक चितवन भित्र्याउने लक्ष्य राखिएको छ । रासस

बेलायतमा अर्थमन्त्री खतिवडाले भने-‘नेपाल लगानीको लागि उपयुक्त गन्तव्य’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल(बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा स्पष्ट पारे । मन्त्री खतिवडाले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका लाभहरुबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए । नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गरेकाले त्यसै मार्फत ठूला व्यवसायी तथा लगानीकर्तालाई सोही बोर्ड मार्फत एकद्वार सेवा उपलब्ध गराउने पनि उनले स्पष्ट पारे । सम्बन्धित कानूनको परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवद्र्धन गर्ने मैत्रीपूर्ण वातावरणको निर्माण गरेको उनले बताए । लगानी सम्मेलन बाहेक वैदेशिक लगानी प्रर्बद्धनका नियमित क्रियाकलाप के–के छन् भन्ने जिज्ञासामा अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कुटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेभसाइत मार्फत लगानी प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्नेलगायत सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेट मार्फत यसको सम्बोधन गर्ने विषयमा संघमा आवद्ध संस्थालाई प्रष्ट पारे । कार्यक्रममा नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाए । चैत १५ र १६ गते नेपाल ठूला लगानी कर्ता आकर्षित हुन भन्नको लागि आयोजना हुन लागेको लगानी सम्मेलनको पूर्व तयारी स्वरुप खतिवडा बेलायतमा रहेका छन् ।

गुडविल फाइनान्सको नगद लाभांश पारित, निक्षेप र कर्जा दुबैमा वृद्धि

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न फाइनान्सको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष(आव)को मुनाफाबाट सेयरधनीलाई सो मात्रा अर्थात ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आवमा ६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, चालु आवको दोस्रो त्रैमासिकमा संस्थाले ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन प्रथम त्रैमासिकको तुलनामा २ करोड ७० लाख रुपैयाँ बढी हो । संस्थाले चालु आवको असोज मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, चालु आवको असोज मसान्तमा ५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले पुस मसान्तसम्ममा ५ अर्ब ४२ करोड रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ बाट वृद्धि गरी ४ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ जम्मा रहेको छ ।  त्यस्तै, आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा संस्थाको मूल्य आम्दानी अनुपातमा वृद्धि भएको छ । त्यसैगरी, व्याज आम्दानी तथा कर्जा तथा सापट, कुल कर्जा/निक्षेप र कुल संचालन खर्च तथा कूल सम्पत्तीमा वृद्धि भएको छ । आव २०७३/७४मा १२.८८ प्रतिशतले बढेको संस्थाको आधार व्याजदर २०७४/७५ मा १३.५७ प्रतिशतले बढेको छ । संस्थाले निक्षेप र कर्जा दुबैमा वृद्धि भएपनि संस्थाको खुद नाफामा भने गिरावट देखिएको छ । आव २०७३/७४को तुलनामा २०७४/७५मा संस्थाको खुद नाफा ६.३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १५.१७ प्रतिशत बढी नाफा कमाएको संस्थाले गत वर्ष जम्मा ८.८३ प्रतिशत कमाएको छ ।