विकासन्युज

७५ हजार घुस सहित भीमफेदी कारागारका जेलर पक्राउ

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई पक्राउ गरेको छ । क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिए । राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा रकम दिएर सरुवा रोक्न तयार भएका थिए । चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो । कारागारसँगैको जेलर निवासबाट घुस लिँदालिँदै अधिकारीलाई पक्राउ गरीएको उपसचिव राईले जानकारी दिए ।

सिद्धार्थ बैंकको थप शाखा देवघाटमा, संख्या १३६ पुग्यो

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको हुन् । बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा बढी पीओएस् मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु

काठमाडौँ । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदानपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारका क्रममा मृत्यु भएको जनसेवा प्रहरीका प्रहरी नायब उपरीक्षक टेकुनन्द लिम्बूले जानकारी दिए । मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना बिहीबार साँझको भए पनि प्रहरीले आज मात्र जानकारी दिएको हो ।

शुरु भयो ‘महिन्द्रा उदय’ मेला, नयाँ मोडलका गाडीबारे जानकारी लिन जानु्स् भृकुटीमण्डप(फोटो फिचरसहित)

(तस्विर: डाेमी शेर्पा) काठमाडौँ । महिन्द्रा कम्पनीले नेपाली अटो बजारमा नयाँ मोडलको ‘एक्स यू भि थ्री डबल ओ’ गाडी भित्र्याएको छ । शुक्रबारदेखि शुरु भई १२ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजित ‘महिन्द्रा उदय’ मेलामा ती गाडी लञ्च गरिएको हो । अग्नी इनकर्पोरेटेड, एमभी दुगड ग्रुप र स्वराज पार्टरले महिन्द्रा ब्राण्डको प्रदर्शनी एकै स्थानमा गरेका हुन् । मेलामा अवलोकनकर्ताहरुले महिन्द्राका नयाँ मोडलका गाडीको बारेमा जानकारी लिन पाउने छन् । मेलामा एक्स यू भि थ्री डबल ओ, महिन्द्रा मराजो, महिन्द्रा जिबो–यूगो, महिन्द्रा स्वाराज नाईन सिक्स थ्री, महिन्द्र प्यूरियो वान फोर, फ्यूरिओ फोर्टीन, ब्वेजो टिपर र रोडमास्टर मेलामा लञ्च गरिएको छ । (तस्विर: डाेमी शेर्पा) ‘महिन्द्रा उदय’ मेला उद्घाटन समारोहमा बोल्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन्– ‘अटो बजारको क्षेत्रमा महिन्द्रा कम्पनीले पुर्याएको योगदान उल्लेखनीय रहेको छ ।’ साथै, अन्य कम्पनीहरुको तुलनामा महेन्द्राको उत्पादन फरक तथा पृथक किसिमको रहनेमा राणाले जोड दिइन् । भृकुटी मण्डपको प्रदर्शनी हलमा महिन्द्राको बस, ट्रक, ट्रयाक्टर लगायतका गाडीहरु एकै छाना मुनी प्रदर्शनीमा राखिएका छन् । (तस्विर: डाेमी शेर्पा) दुगड बर्दश एण्ड सन्सले भित्र्यायो एकसाथ ३ गाडी सो मेलामा दुगड बदर्श एण्ड सन्सले महिन्द्राका ३ नयाँ मोडलका गाडी नेपाली बजारमा एक साथ भित्र्याएको छ । कम्पनीले भित्रयाएका गाडी मध्येमा फ्यूरिओ फोर्टीन, ब्वेजो टिपर र रोडमास्टर हुन् । दुगडका अध्यक्ष मोतिलाल दुगड हुन् भने उपाध्यक्ष उनकै छोरा विवेक दुगड रहेका छन् । दुगड बदर्श एण्ड सन्सले महिन्द्रासँग विगत २६ बर्षदेखी व्यापारिक सहकार्य गर्दै आएको छ । फ्यूरिओ फोर्टीन फ्यूरिओ फोर्टीन भनेको आईसिबी ट्रक हो । नेपालमा नेपाली बजारमा हालसम्म आईसिबी ट्रक १२ चक्के मात्र उपलब्ध भएका थिए । अहिले भित्रिएको ट्रक ६ चक्के हो । सो ट्रकमा ३५ सय सि.सि. को ईन्जीन जडान गरिएको छ भने ४ वटा सिलिण्डर रहेका छन् । १४० को हर्सपावर एच.पी. रहेको उक्त गाडीको ९ टनसम्म सजिलै बोक्न सक्ने क्षमता रहेको छ । अहिले नेपाली बजारमा भित्रिएको गाडी सो भन्दा निकै कम मूल्यको हुने सोही कम्पनीमा आवद्ध जितेन्द्र के.सी.ले जानकारी दिए । ब्लेजो टिपर ट्वान्टी फाईभ (टीपर) ब्लेजो २५ टिपर एचसिबि सेक्सनमा २ सय ७४ एच पी ईन्जीन भएको पहिलो गाडी भएको छ । यस्तै, क्रेडीविलीटी ४४ प्रतिशतभन्दा माथि हुनु यस गाडीको विशेषता हो । ‘पहिले हाईड्रमा ६ चक्के गाडी मात्र भएकाले अहिले हामीले १० चक्के गाडी भित्र्याएका छौ, अब यो गाडी अग्लो पहाडकालागि राम्रो विकल्प हो’– ब्लेजोका एच ओडी चन्दन रौनियारले भने । रोडमास्टर(ग्रेडर) अहिले नेपाली बजारमा आएको रोड मास्टर ग्रेडरको मूल्य ६२ लाख रुपैयाँ रहेको छ । यो मिनि साईजमा रहेको छ । हालसम्म नेपाली अटो बजारमा १२ फिटको मात्र ग्रेडर चल्थ्यो । पहिलेका ग्रेडर ठूला बाटाकालागि मात्र काम लाग्ने भएकाले कम्पनीले त्यसको विकल्प स्वरुप मिनि ग्रेडर भित्र्याएको हो । पुराना मोडलका ग्रेडरकालागि १ करोड भन्दा बढी मूल्य रहदै आएको पाईन्छ । त्यस्तै, पुराना चाईनिज ग्रेडर खरिद गर्दा समेत कम्तीमा ८५ लाख रुपैया लाग्ने गरेको पाईन्छ । ‘हाल नेपाली बजारमा आवश्यकता परेकाले नै ६२ लाख रुपैया पर्ने ग्रेडर नेपाल भित्र्याएका हौं’– कम्पनीका कम्सट्रक्सन र्ईक्यूप्मेन्टका नेपाल अपरेशनल हेड ताराबहादुर थापाले बताए । दुगड बदर्श एण्ड सन्सका गाडीमा पाईने विषेशता दुगडले ल्याएका गाडीले ईन्धन खपतमा निकै सघाउने देखिन्छ । यसरी सघाउन यसमा रहेको टर्बौ, लोड र लाईट मोडले निकै सघाउने पाईएको छ । टर्बो मोड: टर्बो मोड अफ्ठयारो बाटोमा चलाउनकोलागि प्रयोग गरिन्छ । यस मोडमागाडी सहज पिच नभएको बाटोमापनि सजिलै चल्ने गर्छ । लोड मोडः यो मोड गाडीमा लोड बोक्नको लागि प्रयोग गरिन्छ । भारी लोड राखेको अवस्थामा यो मोड प्रयोग गर्दा गाडी सहज ढङगबाट अघि बढने गर्छ । लाईट मोडः लाईट मोडमा राखेर गाडी समथर भू–भागमा चलाउन सकिन्छ । विशेषतः तराई भेगमा भारी बोक्नको लागि गाडीमा लाईट मोडको प्रयोग गर्नु पर्नेछ । (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा) (तस्विर: डाेमी शेर्पा)

ग्यास उद्योगीको आन्दोलनमा यस्तो छ सरकारी एक्सन, वार्तामा कुरा नमिले के हुन्छ ?

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले कमिशन बृद्धिको माग सहित बिक्री बन्द गर्ने सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उद्योगी र बिक्रेताले आन्दोलनको घोषणा गरेपछि सरकारले भने अत्यावश्यक बस्तुमा हडताल नगर्न भनेको छ । यदी त्यसो गरेमा पक्राउ गर्न र ६ महिनासम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जनतालाई थप मारमा पारेर उद्योगीलाई राहत प्रदान नगरिने बताए । ग्यास उद्योगीहरुले पहिले देखी नै कमिशन बृद्धिको माग गरिरहेका छन् । ग्यास उद्योगीहरुले ग्यासमा मुनाफा छैन भनिरहेका छन् । तर, ग्यास उद्योगमा मुनाफा नभएको भए किन नयाँ ग्यास उद्योगका लागि आवेदन दिरहेका छन् त ? उनले भने–मुनाफा नभएको भए नयाँ ग्यास उद्योगका लागि आवेदन आउने नै थिएन । यता, ग्यास उद्योगी र बिक्रेताको माग सम्बोधन गर्न मन्त्रालयले उपसचिव उदयराज सपकोटाको संयोजकत्वमा ५ सदस्यको समिति गठंन गरेको छ ।समितिले ग्यास उद्योगीहरुको समस्या पहिचान गरी समाधान गर्ने प्रवक्ता ढकालले बताए । यता, व्यवसायीहरुले आन्दोलको तयारी गरिरहँदा नेपाल आयल निगमले माग सम्बोधनको तयारी गरेको छ । व्यवसायीहरुको जायज मागको सम्बोधन गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । व्यवसायीको माग सरकार र संसदीय समितीले समेत अध्ययन गरिहेकोले समयमै समस्या समाधान हुने निर्देशक पौडेलले बताए । ग्यास उद्योग संघले बुधबार पत्रकार सम्मेलन मार्फत माग पूरा नभए फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि भन्सार आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने र ३० गतेदेखी सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने संघले चेतावनी दिएको थियो । बिक्रेता महासंघले पनि शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । नेपाल एल पि ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले उद्योगहरुकोसञ्चालन खर्च, ग्यास बिक्रेताहरुको कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेता र वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग गरेका छन् ।

सिलिन्डरको मूल्य तोक्दै नेपाल आयल निगम, थन्किएको सिलिन्डर बिक्री गर्न पाइने !

काठमाडौं । नेपालमा बिक्री भएका एलपी ग्यासका सिलिन्डरमध्ये एक चौथाई भन्दा कम सिलिन्डरमात्र चलनचल्तीमा रहेको पाइएको छ । नेपाल आयल निगमले दिएको तथ्याङ्क अनुसार नेपाली बजारमा १ करोड २२ लाख ग्यास सिलिन्डर बिक्री भएकोमा मासिक करिब ३८ लाख सिलिन्डर मात्र बिक्री हुने गरेको छ । यो करिब २३ प्रतिशत मात्र हो । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले मासिक ४० लाख मेट्रिकटन ग्यास बिक्री हुने गरेको जानकारी दिँदै उक्त परिमाणको ग्यासले २८ लाख ओटा ग्यास सिलिन्डर भरिने बताए । बाँकी करिब ९४ लाख सिलिन्डर प्रयोग नभएको वा न्यून प्रयोग भएको अवस्थामा रहेको भन्दै उनले घरमा थन्किएर रहेका सिलिन्डरलाई बजारमा सर्कुलर हुने वातावरण बन्ने योजनामा निगम लागेको समेत बताए । कसरी ल्याउने बजारमा ग्यास ? नायब कार्यकारी निर्देशक भट्टराईले तत्काल नयाँ सिलिन्डर आउने क्रम रोक्ने तथा पुराना ग्यास सिलिन्डरको बजार मूल्य तोकिदिएर थन्किएर रहेका सिलिन्डरहरुलाई बजारमा सहज रुपमा बिक्री हुने वातावरण बनाउने तयारीमा निगम लागेको बताए । सिलिन्डरको मूल्य निर्धारण नहुँदा अभावका बेला ग्यासको अवैध कारोबार गर्नेहरुलाई पक्राउ गरिए पनि कानूनको अभावमा कारबाही गर्न नसकिएको अवस्था सिर्जना भएको समेत उनले बताएका थिए । हाल ग्यास उद्योगीहरुले आफ्नो सिलिन्डरको मस्ल्य आफैंले तोक्दै आएका छन् । सामान्यतया २१ सय रुपैंया सिलिन्डरको मूल्य लिएर भरिएको ग्याससहित ३५०० रुपैंयामा सिलिन्डर बिक्री हुँदै आए पनि आधिकारिक मूल्य नहुँदा उपभोक्ता ठगिने क्रम रोकिएको छैन । अझ एउटा उद्योगको सिलिन्डरबाट अर्को उद्योगको सिलिन्डर ग्यास साट्ने क्रममा उपभोक्ताले चर्को मूल्य चुकाउन बाध्य हुँदै आएका छन् । नेपाल आयल निगमले नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको सुधारका लागि उलयपुर सिमेन्ट सुधारको मोडल प्रयोग गर्ने बताउँदै निगमको सुधारमा चासो दिने ठूलो समुदाय रहेको भन्दै यसले आफुलाई काम गर्न थप हौसला मिलेको र भार घटेको बताएका थिए ।

काठमाडौँ महानगरले थाल्यो अनुगमन, बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय तोकिएको छ । लिखित सहमति गर्दा पनि रकम फिर्ता नगर्ने सहकारीका विवरणसहित प्रहरीसमक्ष उजुरी गरी थप कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले जानकारी गराए । न्युरोड, पुतलिसडक र बानेश्वर क्षेत्रका कम पूँजी भएका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता नगरेको पाइएको पनि उनको भनाइ थियो । न्युनमत १० हजारदेखि एक करोडसम्म बचतकर्ताको रकम फिर्ता नगरेको अनुगमनको क्रममा पाइएको पनि विभागले जनाएको छ । कामपामा रहेका सहकारी धेरैले विवरण समेत नबुझाएकाले अनुगमन गरी कानूनी प्रक्रियामा शुरु गरिएको हो । हाल कामपा भित्र एक हजार ८५६ सहकारी संस्था छन् । पहिलो छ महीनामा सहकारी संस्थालाई वार्षिक साधारणसभा समयमै गर्न र विवरण अद्यावधिक गर्न सूचित गरिएको र विभिन्न सूचनामार्फत सहकारी, कानून, प्रचलित मूल्य–मान्यता र सिद्धान्तलाई कार्यान्वयन गर्न पटक÷पटक सूचना समेत सार्वजनिक गरे पनि धेरैले अझै विवरणसमेत बुझाएका छैनन् । कामपाअन्तर्गतका सहकारीमध्ये ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । प्रमुख ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो । अनुगमनका क्रममा सहकारीका पाँच वर्षसम्मका सबै हिसाबकिताब हेरिनाका साथै आवश्यकताअनुसार निर्देशन दिने, सुधार नभए सञ्चालकलाई कार्वाही गर्ने र सहकारी खारेजीसम्मको कदम चालिने विभागको योजना छ । ‘सहकारी संस्था ठगी गर्ने संस्था हो र बचत फिर्ता दिन सक्दैन’ भन्ने जुन छाप परेको छ त्यसलाई चिर्न प्रभावकारी अनुगमन गरिएको हो, उनले भने । अनुगमनकै क्रममा साना सहकारीलाई एकीकृत गरी भएका सहकारी सङ्ख्या घटाएर ७०० बनाउने तयारी पनि कामपाकोे छ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएको र तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । एक हजार ८५६ सहकारीलाई घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारी विरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्योट भइसकेको विभागले जनाएको छ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाइने प्रमुख ढकालले बताए । हाल कामपामा रहेका सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ । कामपाका सहकारीमा करीब दुई लाख सदस्य जस्मा आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ । सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरुपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने छ । रासस

जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिमा आज भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिएका हुन् । । बोलपत्र आजै खोल्ने निगमको कार्यतालिका थियो । बैठकमा सांसदहरुले कम मूल्यमा बोलपत्र हाल्नेलाई पन्छाएर बढी मूल्य कबोल गर्नेलाई दिन लागेकाप्रति आपत्ति जनाएका थिए । सांसद सूर्य पाठकले निगममा लोडरको काम गर्नेले पनि ‘ठूलाले खाने जहाज, सानाले खाने कागज’ भनेको प्रसङ्ग कोट्याउँदै कम मूल्य कबोल गर्नेलाई छनोट नगर्ने हो भने बोलपत्रको प्रक्रिया किन गरेको भनी प्रश्न गरे । सांसद मीना सुब्बाले निगमकै आर्थिक नियमावलीअनुरुप पनि ठेक्का प्रक्रिया अघि नबढेको प्रति टिप्पणी गरिन् । चार कम्पनीले मर्मतका लागि ठेक्का हालेकामा बढी कबोल गर्ने कम्पनीलाई दिने गरी तयारी गरिनु आपत्तिजनक रहेको उनले बताइन् । सांसद प्रेम आलेले एक अर्ब ५३ करोड राज्यलाई घाटा हुनेगरी जाहाज मर्मत गर्ने कम्पनीको नाम छनोट गर्न नहुनेमा जोड दिए । एउटा विचौलियाले सरकारलाई घुमाएको सुनिएकाले स्विकार्न नसकिने उहाँको आरोप थियो । सांसद विरोध खतिवडाले बोलपत्र आह्वानमै गल्ती भएकाले गल्तीलाई बोर्ड बैठकले उल्टाउने कि व्यक्तिले भनी प्रश्न गरे । बैठकमा सांसदहरु लेखराज भट्ट, राजेन्द्रकुमार केसी, पार्वती विसङ्खे, पार्वती डिसी चौधरीलगायतले बोलपत्रका बारेमा थप अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नियम कानूनभित्रै रहेर बोलपत्रको प्रक्रिया अघि बढाइएको बताएका थिए । रासस