विकासन्युज

रिचार्जरको अफर, होलीको अवसरमा १ रुपैयाँमा टिसर्ट !

काठमाडौँ । मोबाइलएप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो । रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २०० क्यास व्याकसहित १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ । गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास ब्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास ब्याक पाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालीहरुको हरेक दिनलाई सहज बनाउनका लागि ल्याइएको रिचार्जर नेपालकै सबैभन्दा धेरै फङसन अर्थात मल्टिफङसनिङ एप हो । एउटै एपबाट सामानकिन्नका साथै अरु विभिन्नकिसिमका सेवाहरु पाउन सकिन्छ । मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा डेढ दर्जन बैंकको इ बैंकिंग, इसेवालगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ ।

१२ सय मेगावाट विद्युत् थप हुँदै, कुन आयोजनाको कति ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्यअनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९ मेगावाट विद्युत् मात्रै प्रणालीमा थप भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाअनुसार चालू आवमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए, २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । ती तीनवटै आयोजनाको परीक्षण उत्पादन हुनेक्रममा पुगेको छ । यसै महिनाको अन्त्यसम्ममा ती आयोजनाले परीक्षण उत्पादन शुरु गर्नेछ । यस्तै, चालू आवको अन्त्यसम्म २० मेगावाट क्षमताको तल्लो मोदी, छ दशमलव चार मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, २५ मेगावाट क्षमताको काबेली बि एक पनि निर्माण सम्पन्न हुनेछ । यस्तै तीन दशमलव दुई मेगावाटको गेलुन खोला, आठ दशमलव आठ मेगावाटको रुदी ए, ५ मेगावाटको घलेम्दी खोला, तीन दशमलव तीन मेगावाटको कापडीगाड, २३ दशमलव पाँच मेगावाटको सोलु, सात मेगावाटको माथिल्लो खिम्ती दुई, पाँच मेगावाटकै घट्टे खोला, १० मेगावाटको इवा खोला, चार दशमलव पाँच मेगावाटको विजयपुर खोला, सात मेगावाटको माथिल्लो मार्दी र छ दशमलव छ मेगावाटको रुडी खोला चालू आवको अन्त्यसम्मा सम्पन्न हुने छन् । आव २०७६/७७ मा खानी खोला एक ४० मेगावाट, दोर्दी खोला २७ मेगावाट, मिस्ट्री खोला ४२ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव आठ मेगावाट, रसुवागढी १११ मेगावाट, खानी खोला ३० मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो दोर्दी ए २५ मेगावाट, सिंगटी खोला १६ मेगावाट, अप्पर बलेफी ३६ मेगावाट गरी कूल २३ आयोजना सम्पन्न हुनेछन् । ती आयोजनाबाट ९८२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थप हुनेछ । सरकारको सहजीकरणका कारण निर्माणाधीन आयोजना धमाधम सम्पन्न हुनेक्रममा रहेको भन्दै मन्त्री पुनले आर्थिक वर्ष २०७७/७८ सम्म थप ४५५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने जानकारी दिए । केही आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने क्रममा रहेको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण विद्युत् खेर जाने अवस्थासमेत आउने भएको छ । सोलु करिडोरमा निर्माणाधीन केही आयोजना सम्पन्न हुने चरणमा पुगेको भए पनि प्रसारण लाइन निर्माणमा तोकिएअनुसारको उपलब्धि हुन सकेको छैन । सो प्रसारण लाइनको कूल ३०३ टावरमध्ये हालसम्म १४३ वटा टावरको मात्रै जग तयार भएको छ । यस्तै २१ वटा टावरमा मात्रै तार तान्ने काम सम्पन्न भएको छ । यस्तै दोर्दी करिडोरमा निर्माणाधिन प्रसारण लाइनको अवस्था पनि उस्तै रहेको छ । विद्युत् उत्पादन हुने अवस्थामा आयोजना पुग्दासमेत प्रसारण लाइन निर्माणले गति लिन सकेको छैन । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल गरेको जानकारी दिँदै मन्त्री पुनले भने, “हामीले निरन्तर अनुगमन तथा समस्या समाधानका लागि पहल गरेका छौँ । केही आयोजनामा सकारात्मक सुधार पनि आइरहेको छ ।” अधिकांश प्रसारण लाइनको साझा समस्याका रुपमा वन क्षेत्रको जग्गा प्रयोग नै रहेको छ । डिभिजन वन कार्यालयले रुख कटानको अनुमति नदिँदा एक दर्जन बढी प्रसारण लाइनको काम समस्यामा परेको छ । मन्त्री पुनले मन्त्रालयको सकारात्मक पहलका कारण एक दर्जन बढी प्रसारण लाइन आयोजनाको सकारात्मक सुधार आएको र अरु आयोजनाकोसमेत समस्या समाधान हुने जानकारी दिए । रासस

मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ । सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन् । पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन् । उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ । मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो भनेका छन् । पत्रकार हत्याको यस घटनाप्रति उनले दुःख व्यक्त गरे । पत्रकार स्यान्टियागोलाई गएको शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो । सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पु¥याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्षका थिए । ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए । ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो । पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् । उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन । प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ । यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो । ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन । रासस/एएफपी

इष्टर्न हाइड्रोपावरको शेयर खुला, कस्ले कति भर्न पाउँछन् ?

भोजपुर । पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । शेयर प्रभु बैँक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरिद गर्न सकिने अधिकृत राईले जानकारी दिए । हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करीब एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।

आशा लघुवित्तका लगानीकर्ताले कमाए करिब १० प्रतिशत, शाइन रेसुङ्गाको सबैभन्दा बढी कारोबार

काठमाडौं । आइतबारको सेयर बजार सामान्य ५.९९ अंकले बढेर ११६१.४५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत वृद्धि हो । सामान्य अंकले बढेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । त्यस्तै, यूनाईटेड फाइनान्सको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा आइतबारको कारोबार रकममा गिरावट देखिएको छ । बजारमा कुल १७२ कम्पनीको ३७ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । जुन बिहीबारको तुलनामा करिब ११ करोड कम हो । गत बिहीबारको बजारमा कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको कुल कारोबारमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ । संस्थाको एकैदिन ४ करोड ४६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

ताप्लेजुङको फुङलिङमा प्रभु बैंकले सञ्चालन गर्यो नयाँ शाखा

काठमाडौँ । प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा आइतबारदेखि फुङलिङ्ग शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको फुङलिङ्ग शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका बीच समुद्घाटन गरे । बैंकको फुङलिङ्ग शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा ताप्लेजुङ्ग जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंककोसेवा उपभोग गर्न सक्ने छन् ।

साना उद्योग मुलुकको आर्थिक समृद्घिको मुख्य आधारः प्रदेश १ का उद्योगमन्त्री कुशियत

काठमाडौं । प्रदेश नं. १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदिशप्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । यस्ता उद्योगहरू नै मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ प्रदेश नं.१ सरकार केन्द्रित रहने उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारले खेल्नुपर्ने भुमिकाका विषयमा छलफलमा यस्तो बताएका हुन् । मुलुकको संविधान कै मूल मर्म समृद्घि भएको भन्दै उनले अबको प्रमुख काम भनेकै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपले समृद्घि भएकोमा उनले जोड दिए । समृद्घिका लागि आफैसँग भएका स्रोत साधनको खोजी र उपयोगिताबाट मात्रै प्राप्त गर्न सकिने भन्दै उनले स्थानीय स्रोत साधनमा आधारित लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्घनबाट मात्रै समृद्घि सम्भव भएको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भर्खरै मात्र संसदद्वारा पारित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन संशोधन र एकिकरण विधेयकमा लघु उद्यम तथा घरेलु उद्योग लगायत कृषि तथा कृषिसँग सम्बन्धित उद्योग, मत्स्यपालन, मौरीपालन तथा डेरी उद्योगमा समेत विदेशी लगानी खुला गरिएकोमा यसले मौलिक पहिचान भएका लाखौं स्वदेशी उद्योगहरुलाई धराशायी पार्ने भएकाले हाम्रा मौलिक पहिचान भएका बस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योगमा विदेशी लगानीको प्रावधानलाई हटाउनुपर्ने तर्फ जोड दिए । स्वदेशी वस्तुको बजार पहुँचको दायरालाई फराकिलो बनाउन भारत सरकारले समेत सार्वजनिक खरीद प्रक्रियामा २५ प्रतिशतसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । नेपालमा पनि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकामा व्यवस्था गरे बमोजिम १५ प्रतिशतसम्म महंगो भएपनि उपलव्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्थालाई सवै तहका सरकारले प्रभावकारी रुपमा लागु गराउनु पर्ने अध्यक्ष गिरीले ध्यानाकर्षण गराए ।

राष्ट्रिय परिवार योजना सम्मेलन यही चैत ४ र ५ मा हुँदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ। “पहुँचबाहिर परेकालाई समेट्ने” भन्ने मुल नाराको साथ सम्मेलन यही चैत ४ र ५ गते दर्बारमार्गको याक एन्ड यती होटलमा हुने कार्यक्रमको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र् यादवले गर्ने रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजना र संयुक्त राष्ट्रसंघिय जनसंख्या तथा आड्राको सहयोगमा र परिवार योजना संघसंस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना हुन गईरहेको हो। कार्यक्रमको पहिलो दिन परिवार नियोजन सेवाको पुर्त तथा अपरिपुर्त माग, परिवार नियोजन सेवामा पहुँचबाहिर रहेकालाई समेट्ने, परिवार, परिवार नियोजनको साधनको माग सिर्जना र व्यवहार परिवर्तनको बिषयमा उपलब्धी प्रस्तुत हुने सम्मेलनका अध्यक्ष डा. आर पि बिछाले बताए। त्यस्तै कार्यक्रमको दोस्रो दिन नेपाली महिलाहरुको परिवार नियोजनका साधन, मात्री तथा नव शिशुको स्वास्थ्य आवश्यकता पुरा गर्न लागत र लाभको आर्थिक विश्लेषण आधारित हुनेछ।