प्रियंका र आयुषमानसँग मोःमोको मज्जा, फ्यानहरुको भीड
काठमाडौं । कोका–कोला नेपालद्वारा उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिदै नयाँ वर्षको शुरुवात गर्न कोका–कोला मोःमोःउत्सव संचालन गरिएको छ । कोका–कोला मोःमोःउत्सवको चौथो वार्षिक नारा “कोक र मःमः पर्फेक्ट जोडी” रहेको छ र उपत्यका लगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा संचालन भईरहेको छ । प्रियंका र आयुषमान आफैमा पर्फेक्ट जोडी हुन्, जो अर्को जोडी कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लिँदै यो उत्सवको नयाँ तरङ पैदा गरेको कम्पनीले जनाएको छ । प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी, शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरे । कोका–कोला र मःमःको अनुभव बढाउन आएका फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका छन् । फ्यानहरुले कोका–कोला र मःमको मज्जा लिनुको साथै आफ्नो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।
गणपति माइक्रोफाइनान्सले ३ करोड ३५ लाखको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ३ करोड ३५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार(आज) मात्र संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर सर्वसाधारणमा बिक्री गर्ने छ ।
ललितपुरको कुमारीपाटीमा गरिमा विकास बैंकको नयाँ शाखा
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय जनाएको छ ।
निर्देशित क्षेत्रमा कर्जा नदिए कारबाही गर्छौं, नचलेका खाता डोरमेन्ट गर्नू : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राथमिकताप्रप्त क्षेत्रमा तोकिएको लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय संस्था नियमन गर्र्ने विनियामली संशोधन गर्दै तोकिएको प्राथमिकताप्राप्त क्षेत्रमा २५ प्रतिशत लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई हर्जाना तिराउने भएको हो । राष्ट्र बैंकले बैंकहरुलाई कृषि क्षेत्रमा न्यूनतम १५ प्रतिशत र उर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत लगानी गर्न भनेको छ । त्यसरी तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे नपुग रकमको अधिकतम ब्याजदरको आधारमा हर्जाना लगाउने समेत राष्ट्र बैंकले व्यवस्था गर्ने भएको छ । सक्रिय नभएका खाता डोरमेन्ट गर्नु राष्ट्र बैंकले कारोबार नभएका खाताहरुलाई डोरमेन्ट गर्न पनि भनेको छ । उसले बचत खाता ३ बर्षसम्म र चल्ती तथा कल खाताहरु ६ महिनासम्म कारोबार नभए अनिवार्य रुपमा निष्क्रिय गर्न निर्देशन दिएको हो ।
भारतीय भन्सारले १४० वटा ट्याङ्कर रोक्यो, अनलाइन सेवा सञ्चालन नभए रोकिने
बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए । उनले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए । उनले भने, “हामीले हिजोदेखि भारतीय भन्सारसँग समन्वय गरिरहेका छौँ । सर्भरमा समस्या देखिएकोले बनाइरहेको जानकारी पाइरहेका छौँ ।” भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको उनले बताए । १० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् । भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए । पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भइरहेको जानकारी दिँदै नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले भने, “ट्याङ्कर नेपाल भित्र्याउन हामीले निरन्तर पहल गरिरहेका छौँ ।” उनका अनुसार नेपाल आयल निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण छ । ट्याङ्कर भित्र्याउन वैकल्पिक उपायका बारेमा छलफल भइरहेको बताइएको छ ।
केपी ओलीले किने त्रिशुली–३ बीको १० हजार कित्ता सेयर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी, जनताको लगानी कार्यक्रममा १० हजार कित्ता सेयर खरिद गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले त्रिशुली–३ बीको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । ओलीले जनताको जलविद्युत आयोजना अन्तर्गत त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सेयर खरिद गरेका हुन् । उनले आगामी २ वर्षपछि कम्पनीको १० हजार कित्ता सेयर प्राप्त गर्नेछन् । उनले १० हजार कित्ता सेयरका लागि हाल एक लाख रुपैंयाँ भुक्तानी गरेका हुन भने २ वर्षपछि ९ लाख रुपैंयाँ भुक्तानी गर्नुपर्नेछ । ३७ मेगावाट क्षमताको आयोजनाको एक महिना अघि मात्रै निर्माण आरम्भ भएको थियो ।
प्यान बारे बोर्डको स्पष्टिकरणः एक पटकमा ५ लाखभन्दा बढी कारोबारमा मात्रै अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबारमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने भएको छ । बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत दोस्रो बजारमा पटक पटक नभई एक पटकमा ५ लाखभन्दा बढी सेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने स्पष्टिकरण दिएको हो । बोर्डले आगामी २०७६ वैशाख १ गतेबाट ५ लाखभन्दा बढी कारोबारमा प्यान अनिवार्य र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । यस बारेमा कतिपय लगानीकर्ताहरुलाई केही दुविधा भएकाले बोर्डले बिहीबार उक्त स्टष्टिकरण दिएको हो । अब लगानीकर्ताले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी रुपैयाँको सेयर कारोबार गरे मात्रै प्यान अनिवार्य हुने छ । साथै, उक्त व्यवस्था अनुसार लगानीकर्ताले सेयर खरीद वा बिक्री गर्दा दिनभरीको कारोबार वा पटक पटकको कुल कारोबारमा प्यान ऐच्छिक हुने बोर्डले जनाएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । निकिता पौडेलले राजिनामा गरेपछी बोर्डको अध्यक्ष पद खाली रहँदै आएको थियो । विगत २ वर्षदेखि उपाध्यक्ष पद संहाल्दै आएका भट्टराई एक सफल फिल्म निर्माता तथा अभिनेताका रूपमा स्थापित छन ।