विकासन्युज

नेकपा संसदीय दल ३ नम्बर प्रदेशको उपनेतामा जम्कट्टेल

काठमाडौँ । नेकपा संसदीय दल ३ नम्बर प्रदेशको बैठकले उपनेतामा शालिकराम जम्कट्टेललाई चयन गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका जम्कट्टेल तत्कालीन नेकपा माओवादी केन्द्रका नेता हुन् । यसैगरी नेकपा ३ नम्बर प्रदेशको मुख्य सचेतकमा रामेश्वर फुयाललाई चयन गरिएको छ । तत्कालीन नेकपा एमालेमा उनी प्रदेशको मुख्य सचेतक नै थिए । यसैगरी सचेतकमा बुद्धिमान माझीलाई चयन गरिएको छ । संसदीय दलका नेता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उनीहरुको नाम प्रस्ताव गरेपश्चात सर्बसम्मत चयन गरिएको हो ।

हलेसीबाट काठमाडौं आउँदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना भएको छ । घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा परी मृत्यु भएकामा चारजना पुरुष र २ जना महिला छन् । उनीहरुको नाम खुल्न सकेको छैन–जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए । मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु यता, बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी बर्दियाले जनाएकोे छ । तीव्रगतिका कारण मोटरसाइकल ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो, सरकारले के के गर्यो प्रयत्न ?

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ । चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो । गत वर्ष चीनको निर्यात घट्नुका साथै चिनियाँ उपभोक्ता मागमा समेत कमी आएका कारण कारखानाको उत्पादन न्यून भएको थियो । निर्यात, रोजगारी र नयाँ मागमा भने सुधार आएको तथ्याँक ब्यूरोले जनाएको छ । अमेरिकी राष्ट्रपतिका कारण सिर्जित समस्यासँग जुध्न चीन सरकारले ऋण लगानीमा रहेका नियन्त्रणहरुलाई खुकुलो पार्नुका साथै सरकारी खर्चमा वृद्धि गरेको थियो । तर अधिकारीहरुले भारी ऋणवृद्धि हुन नदिन विस्तारै सरकारी नियन्त्रण अपनाएका थिए । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले पनि नयाँ नयाँ रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा प्रभावशाली भूमिका बढाउने कार्यमा सघाउने प्रतिबद्धता जनाएको थियो । निजी क्षेत्रका प्रक्षेपकहरुले पनि आर्थिक वृद्धि सामान्य हुने बताउँदै आएका थिए । चिनियाँ नेताहरुले अर्थतन्त्रमा सामान्य वृद्धि हुने बताउँदै तर अघिल्लो दशकको दुई अङ्कको वृद्धिजस्तो अवस्था आउन नसक्ने बताएका थिए । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको गत वर्षको आर्थिक वृद्धि तीन दशककै न्यून विन्दु अर्थात् ६.६ प्रतिशतमा आइपुगेको थियो । अमेरिकासँगको जारी व्यापार तनाव कारण सरकारले यस वर्षका लागि ६ देखि ६.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०१९ को पहिलो दुई महिनामा चीनको निकासी अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनका व्यापार वार्ताकारहरुले गत साता बेइजिङमा दुई देशबीच जारी व्यापार तनावका बारेमा वार्ता गरेका छन् । निकै रचनात्मक भनिएको उक्त वार्तामा पनि सहमति छैन । दुबै पक्ष अर्को साता अमेरिकाको वासिङ्टनमा भेट्न र वार्तालाई निरन्तरता दिन सहमत भएका छन् । रासस/एपी

२ वर्षभित्र सामसुङलाई जित्ने हुवावेको अठोट, ‘अमेरिकी प्रतिबन्धले रोकेन व्यापार र नाफाको वृद्धि’

सेन्जेन (चीन) । संयुक्त राज्य अमेरिकाको प्रतिवन्ध र फाइभजी नेटवर्क विस्तारमा देखिएको सुरक्षाको प्रश्नका कारण दबाबमा परेको चीनको सबैभन्दा ठूलो इलोक्ट्रोनिक कम्पनी हुवावेले यी समस्याका बाबजुद व्यापार र नाफामा उच्च सुधार हासिल गरेको छ । अमेरिकाले हुवावेले आफ्ना सामानहरुमार्फत् अमेरिकी नागरिकहरुको गोप्य सूचना चार्ने गरेको आरोप लगाउँदै हुवावेका सामानहरुको आफ्नो देशमा प्रयोगमा लगाएको प्रतिबन्धको थियो । त्यस्तै बेलायतले हुवावेले विकसित गरेको पाँचौं पुस्ताको इन्टरनेट प्रविधि (फाइभजी)ले साइबर सुरक्षामा चुनौती थप्ने निष्कर्ष निकालेको थियो । यसले गर्दा ११ ओटा देशमा हुवावेले गर्न लागेको नेटवर्क विस्तार असफल भएको थियो । यसका बाबजुद हुवावेले २० करिब प्रतिशतको व्यापार वृद्धि हासिल गरेको हो । हुवावे टेक्नोलोजीका अनुसार सन् २०१८ मा हुवावेको वार्षिक आम्दानीमा १९.५ प्रतिशतको वृद्धि देखिएको हो । कुल १०५ अर्ब डलर बराबरको व्यापार प्रगति कायम गर्न सफल भएको हुवावे कम्पनीले यो वृद्धिसँगै हुवावे एक बर्षमै १०० अर्ब भन्दा बढी व्यापार गर्ने पहिलो कम्पनी भएको दाबी गरेको छ । व्यापार वृद्धि भएसँगै हुवावेको नाफा समेत बढेको छ । यसको नाफा २५.१ प्रतिशतले वृद्धि भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । व्यापार र नाफा वृद्धिसँगै हुवावेले अनुसन्धान तथा विकासको क्षेत्रमा गर्दै आएको खर्चमा समेत १३.१५ प्रतिशतले वृद्धि गरी १४.८० विलियन डलर पुर्याएको छ । ‘विश्वव्यापी रुपमै सुरक्षा प्रश्न उठे पनि हुवावेले ५जी विस्तारका लागि ३० ओटा व्यवसायिक करार समेत सम्पन्न गरिसकेको र जसबाट ४० हजार भन्दा बढी स्टेशन निर्माणका लागि प्रविधि पठाइसकिएको जानकारी दिएको छ ।’ हुवावेका अध्यक्ष ग्वाओ पिङले शुक्रबार आफ्नै मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने । सम्मेलनमा अध्यक्ष पिङले बेलायतको साइबर आक्रमणमा हुवावेको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् । ‘साइबर सुरक्षाका लागि विश्वव्यापी मापदण्ड चाहिन्छ, हामी हाम्रो नेटवर्कको सुरक्षा सुनिश्चितताबारे सम्बन्धित देशका अधिकारीहरुसँग निरन्तर छलफलमा छौं ।’ उनले भने । एक चिनियाँ उद्योग विश्लेषकले पश्चिमी मुलुकहरु साइबर सुरक्षामा अनावश्यक चासो राख्ने र त्यसैमा राजनीति गर्ने दाबी गरे । ‘अमेरिकाको प्रतिबन्धले हुवाबेलाई बलियो बन्दै जाने मार्गमा असर गरेको छैन, मेरो विचारमा हुवावे आफ्नो खोज, अनुसन्धान र व्यपार विस्तारमा अघि बढिरहनेछ ।’ यही वर्षको जनवरी र फेब्रुअरी महिनामा पनि हुवावेले अघिल्लो वर्षको सोही समयको भन्दा व्यापारमा दुई अंकको वृद्धि हासिल गरेको र यो वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशतको वृद्धि लक्ष्य लिएको हुवावेले जनाएको छ । सन् २०१८ मा हुवावेले २० करोड भन्दा बढी स्मार्टफोनहरु बिक्री गरेको जनाएको छ । २०२० सम्म सामसुङलाई जित्दै विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादक कम्पनी बन्ने लक्ष्ये रहेको पनि हुवावेले जनाएको छ ।

दराज ‘ब्राण्ड डे’ टाइटनको साथ, सबै घडीहरुमा २० प्रतिशत छुट

अनलाइन शपिङ गन्तव्य दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही अप्रील १ तारिखका दिन प्रख्यात ब्राण्ड टाइटनका साथमा गर्ने भएको छ । एक दिनको लागि मात्र हुने ब्राण्ड डेमा उपभोक्ताहरुले दराजद्वारा टाइटनका खास अफरहरुको फाइदा लिन सक्ने छन् । उक्त अफर दराजको दराज मलमा सहित टाइटनको अधिकृत स्टोरमा मात्र लागू हुनेछ । ब्राण्ड डेमा टाइटनका सबै घडीहरुमा २०% छुट, निःशुल्क वितरण तथा रु २,००० सम्मको संग्रहणीय भौचरहरु प्रदान गरिनेछ । विशेस गरी बिहान १० बजे देखी दिउँसो २ बजेसम्म टाइटनको खास मोडलहरुमा न्यूनतम ३०% छूट प्रदान गरिने जनाइएको छ । साथै ५ हजार रुपैयाँसम्मको कलेक्टीभ भौचरहरु प्रदान गरिनेछ । ५ जना भाग्यशाली उपभोक्ताहरुले २ हजार रुपैयाँको कलेक्टिभ भौचरहरु जित्ने मौका पनि पाउने छन् । के हो ब्राण्ड डे ? ब्राण्ड डे मा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई एक दिनका लागि आकर्षक एवंमविशेष छुट दिने छ । यो उत्सवले अनलाइन शपिङ्गको अनुभूतिलाई अझव्यापक र उत्साहित बनाउने दराजले जनाएको छ । यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना हुन्छ र २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तै गोल्डस्टार, अमेरिकन टुरिस्टर, बाल्ट्रा, शियोमी, मेबलिन्, कन्वर्स्, रङ्गोलि, लोरिअल पेरिस, सलाना र अन्य ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुने छन् ।

डा. डीआर उपाध्यायको ‘हामी बादलभित्र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘हामी बादलभित्र’ सार्वजनिक भएको छ । राजेश पायल राई र मेलिना राइको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुवाष प्रधानले निर्देशनमा रहेको सो गीतको कोरियोग्राफ मनी के राईले रहेका हुन्र । गीतको भिडियोमा मनिषा सापकोटा र रञ्जित पौडेललाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको हो ।   भिडियो हेर्नुहोस् ।

गरिमा विकास बैंकको ४ नयाँ शाखा सञ्चालन

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बीरेन्द्रनगर शाखा कार्यालयको बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले, चप्परगौडी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेलले, बेसीशहर शाखा कार्यालयको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले र बट्टार शाखा कार्यालयको विदुर नगरपालिकाकासञ्जु पंडितले उद्घाटन गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम संचालनमा रहेका छन् ।

पोखरा दोहोरी नाचघरले गर्याे लोकदोहोरी स्रष्टालाई सम्मान

काठमाडौं । ठमेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक श्रस्टाहरुलाई सम्मान गरेको छ । दोहोरी नाचघरमा आयोजना एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन् । समारोहमा लामो समयदेखि लोक गीत संगीत क्षेत्रमा रही नेपाली लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परिवार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, संचारकर्मी अनुषा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण क“डेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक गीत तथा संगीतको विकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए । उक्त अवसरमा पोखरा दोहोरी नाचघरले नै हिजो शुक्रवारदेखि सञ्चालनमा ल्याएको पोखरा थकाली भान्छाघरको वरिष्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गरेका थिए । एउटै स्थानमा दिउँसोको समयमा थकाली परिकारमा मज्जा लिन सकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिन सकिने आयोजकले जनाए । दुई दर्जन कलाकारहरुद्वारा हरेक साँझ गायन तथा नृत्यको कार्यक्रम प्रस्तुत गरिने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका धेरै चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले बताए ।